विनोद सिर्पाली
त्रिवेणी ६,रुकुम पश्चिम
“विचार सहि वा गलत हुनुले सबै कुराको निर्धारण गर्दछ ! “(क. माओत्सेतुङ्ग)
केही साता अघि मात्रै चिनियाँ कम्युनिस्ट पार्टिले आफ्नो शतबार्षकी अर्थात चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको एकसय बर्षगाठ मनाएको छ । यतिबेला बिश्वशक्ति राष्ट्र हरुको ध्यान चाईनातिर केन्द्रीकृत छ । वर्तमान चिनियाँ
कम्युनिष्ट पार्टीका प्रमुख तथा चिनियाँ राष्ट्रपति सी चिनफिङले उक्त समाहरोमा पुरै चिनियाँ नागरिक बिपन्न बाट सम्पन्न भएको उदघोष गर्नु भयो । र एक चीन नीतिमा कटिबद्ध भएको समेत प्रष्ट पार्नुभयो । साथै कुनैपनि राष्ट्रको हेपाहा प्रवृति बिरुद्व डटेर सामना गर्ने समेत उदघोष गर्नु भयो । मानव जातिका लागि विश्वमा भएका थुप्रै क्रान्तिहरु जस्तै युरोपको औधोगिक क्रान्ति, फ्रान्सेली राज्य क्रान्ति, रुसको समाजवादी क्रान्ति मध्येको एउटा अभुतपुर्व परिवर्तनकारी क्रान्ति चिनियाँ नयाँ जनवादी क्रान्ति पनि थियो भन्ने कुरा चिनियाँ कम्युनिस्ट पार्टीले पुष्टि गरिदियो । अझ चिनमा नयाँ संस्कारको विकासका क्रममा १९६६–१९७६ सम्म चलेको दस बर्षे महान सांस्कृतिक क्रान्तिको पनि चिनियाँ श्रीवृद्धिको ठुलो भुमिका रहयो ।
हामी बाचिरहेको संसार २१ औ शताब्दी अझ भन्नूपर्दा यसलाई प्रबिधि को युग भन्दापनि अन्यथा नहोला, आज हामिलाई प्रबिधिले एउटा कोठामा कैद गरिरहेको छ । संसारमा आज सबै चिजको उच्चतम विकास भएतापनी मान्छेले स्वयं आफुलाई विकास गर्न नसकिरहेको अवस्था छ । यो अझ दक्षिण एसियाको हकमा वा नेपालको हकमा त झन यो विषय प्रधान विषय बनेर देखापरेको छ । हामी संसार भरिका मानिस एउटै हौ भन्ने चेतनाको विकास हामिमा कहिले हुन्छ होला ? कथित जातपात भन्दा अगाडि यो धर्तिमा हामी मानिसको रुपमा विकसित भएका थियौं भन्ने कुरा हामिले कहिले बुझ्ने ? संसारमा थुप्रै परिवर्तनकारी क्रान्तिहरु भए । जस मध्ये तात्कालिक नेकपा माओवादीको नेतृत्वमा भएको जनयुद्ध पनि एक गौरबशाली अभुतपुर्व क्रान्ति थियो । जसमा हजारौं नेपालीहरुले आफ्नो सुन्दर जीवन समर्पित गरे । नेपाल लगाएत संसारका उपेक्षित, उत्पीडित, गरिव, किसान, मजदुर र पिछडा वर्गको लागि जबर्जस्त उदाएको महान शक्ति थियो माओवादी जनयुद्ध । जसले नेपालका शोषक सामान्तहरुको निद हराम बनाएको थियो र विश्वब्यापी रुपमा एउटा तरङ्ग सिर्जना गरेको थियो ।
जनयुद्धले नेपाली उत्पिडित जनको लागि आशाको नयाँ किरण छरेको थियो । नेपालको सन्दर्भमा सबैभन्दा धेरै उत्पीडनमा पारिएको, हेपिएको र जुलुमका अनन्त श्रीङ्खलाहरुबाट थिचिएको समुदाय भनेको दलित समुदाय हो । यो समुदायको मुद्वालाई आज सम्म कुनै पनि राजनीतिक पार्टी हरुले मुख्य मुद्दाको रुपमा उठाउन सकेका थिएनन् । तात्कालिन माओवादी पार्टिले जनयुद्धका दौरान मानिसले मानिसमाथी जातकै कारण गरिने उत्पीडन र अत्याचारका विरुद्व आगो ओकल्यो । माओवादी जनयुद्वका मुख्य मुद्वाहरु मध्येको एउटा मुद्दा “उपेक्षित, उत्पिडित दलित समुदायको पुर्ण मुक्ती र बिशेषाधिकार“ पनि थियो । जनयुद्धको नेतृत्व गरिरहेको माओवादीले दलित मुक्तिको सवाललाई जब पेचिलो बनाउदै लग्यो तब दलित समुदायका युवा युवतीहरु ठुलो संख्यामा जनयुद्धमा सामेल भए र आफ्नो समुदायको तर्फबाट बलिदानको कोटा चुक्ता गरे । नेपालीजनको अभुतपुर्व त्याग, तपस्या र बलिदानको जगमा माओवादी आन्दोलनले अपेक्षाकृत उचाई हासिल ग¥यो । जनयुद्धको राप तापले खारिएको माओवादी पार्टी जनआन्दोलन ०६२÷०६३ को सफलता सङ्गै १२ बुदे सम्झौता मार्फत शान्ति प्रकृयामा आएर राजनीतिक गतिबिधि शुरु ग¥यो तब जाति, क्षेत्र, लिङ्ग र बर्गिय मुक्तिका सवालहरु विस्तारै ओझेलमा पर्दै गए । संसद र संसदिय राजनीतिलाई खसिको टाउको देखाएर कुकुरको मासु बेच्ने थलोको रुपमा चित्रित गर्दै आएको माओवादी पार्टी अन्ततः ०६४ को संविधानसभा निर्वाचनसङ्गै संसदिय राजनीतिको दौडमा सहभागी भयो । नेपालको इतिहासमा पहिलोपटक भएको संविधानसभाको निर्वाचनमा जनताले भारी मतका साथ माओवादी पार्टीलाई विजयी बनाएर पठाए तर दुर्भाग्य संविधानसभाबाट नयाँ संविधान जारी गर्ने युगिन दायित्व माओवादीले पूरा गर्न सकेन । संबिधानसभाबाट संविधान बन्न नसकेपछि पहिलो संबिधानसभा विघटन भयो । पहिलो संविधानसभा विघटनको संघारसम्म आइपुग्दा माओवादी पार्टी आन्तरिक रुपमा विभाजन भएर टुक्राटुक्रा बनिसकेको थियो भने माओवादी पार्टीभित्रको विभाजनलाई प्रतिनिधित्व गर्ने गरि ‘क्यास माओवादी’ र ‘ड्यास माओवादी’ प्रष्ट रुपमा सतहमा देखापरेका थिए ।
२०७० मा फेरि दोस्रोपटक संबिधानसभाको निर्वाचन भयो । “संविधानसभाबाटै संविधान, एकीकृत नेकपा माओवादीको अभियान“ भन्ने नारा तय गरेर निर्वाचनमा होमिएको माओवादी आफ्नै पार्टीभित्रको आन्तरिक कलह र बिभाजनका कारण दोस्रो संविधानसभाको निर्वाचनमा नराम्ररी पराजित भयो र तेस्रो दलको रुपमा खुम्चियो । दलित, जनजाति, मधेसी, मुस्लिम र उपेक्षित उत्पीडित वर्गको मुक्तिदाताको रुपमा उदाएको माओवादी पार्टी आफै अस्तित्व रक्षाको चरणमा पुगेपछि दलित समुदायको मुक्ती र समतामूलक समाज निर्माणको मुख्य आधार मानिएको “विशेषाधिकारको“ एजेन्डा पनि कमजोर बन्यो र माओवादी पार्टीले त्यो एजेन्डा छाडिदियो ।
माओवादी पार्टी कमजोर भएसङ्गै जनयुद्वका दौरान जातिय, क्षेत्रीय मुक्ती आन्दोलनको रापतापले बिस्थापित भएको संभ्रान्त वर्ग बिस्तारै समाजमाथी हाबी हुन थाल्यो । जसलाई समानता, स्वतन्त्रता र सदभाव कहिल्यै प्रिय् लागेन, जसले समुदायमा जहिले पनि उत्पीडन र जुलुमको विरासतमा खाडल पार्न उद्यत रहयो त्यही संभ्रान्त वर्गले नै शान्ति, सदभाव, समानता र भाइचाराको गफ लगाउने उल्टो बिन्दुमा नेपाली समाज फर्कन बाध्य भयो ।
आज समय पुरै बदलिएको छ । उत्पिडन, जुलुम र थिचोमिचोमा पर्दै आएको समुदायले कहिलेकाही बोलेको सुन्नासाथ, लेखेको देख्नासाथ मुलुकमा जातीय द्वन्द बढाउन खोजेको, अस्थिरता थोपर्न खोजेको जस्ता सतही कुतर्क पेश गर्छन र आफुलाई शान्ति र सदभावको एक्लो मसिहाको रुपमा व्याख्या गर्न थाल्छन । जब उत्पीडित समुदाय बोल्न शुरु गर्छ तब सामान्तहरुको निद हराम हुन शुरु गरिहाल्छ । आफुलाई पढेलेखेको वताउने व्यक्तिहरुबाटै जातीय मुक्तिको सवालमा बिरोधाभाषपुर्ण अभिव्यक्ति आईरहेको छ । संसारमा सबैखालका विभेदहरुको अन्त सचेतनाबाट मात्रै संभव छ । समाजमा सचेतना फैलाउने ताकत शिक्षासङ्ग मात्रै छ । तर पढेलेखेका मानिसहरुबाटै उत्पीडित समुदायको इतिहास र त्यसको मुक्तिको सवालमा यस्ता अनावश्यक तर्कहरु पेश हुन्छन भने हाम्रो समाज हामी कसरी परिवर्तन गर्न सक्छौ ?
केही समय अघिदेखि चोक, चौतारी, चिया पसल र क्याफेहरुमा रुपा सुनार माथी गरिएको जातिय विभेद र उनले गरेको साहासिक प्रतिकारको कदमले फेरि पनि कथित उच्च जातिय अहंकार र हिन्दु धर्मका पण्डितहरुले सिर्जना गरेको वर्ण ब्यबस्थाको निद्रा हराम भयको छ । समाजको एउटा कित्ता विभिन्न तर्क कुतर्कहरु गरेर घटनालाई उल्टो दिशातिर तोडमोड गर्ने प्रयत्न गरिरहेको छ भने समाजको एउटा कित्ता न्यायको पक्षमा, मानवताको पक्षमा सतिसाल बनेर उभिएको छ ।

नेपालमा जातिय समस्या
विगतदेखी वर्तमानसम्म हेर्दा जातिय उत्पिडन र मुक्तिको सवाल कहिल्यै पनि नेपालका कुनैपनि राजनितीक पार्टीको प्रमुख मुद्वा बन्न सकेन । राजनीतिक संघर्षको बेला जातिय उत्पिडन र मुक्तिको सवाललाई प्रमुख मुद्वा बनाएका राजनीतिक शक्तिहरुले पनि एउटा राजनीतिक कोर्ष पूरा गरेपछि यसलाई अलपत्र छाडिदिने काम गरे । अन्ततः नेपालमा जातिय उत्पिडन अन्तको मुद्वा हाम्रो समाजको लागि पिलोको खिल बनेर रह्यो र पटकपटक बल्झिने गरेको छ । समतामूलक समाज निर्माणको महत्वपूर्ण कडिको रुपमा रहेको समानताको यो मामलालाई राजनीतिक शक्तिहरुले सामान्य तरिकाले बुझ्ने गरे जुन कुराले गर्दा नेपाली समाजलाई उन्नत सभ्य र विकसित बनाउने प्रयस कहिल्यै पनि सफल भएन र नेपाली समाज माथि उठन सकेन ।
हाम्रो राज्यव्यवस्था नै सदियौ देखि जातव्यवस्थामा आधारित छ । यो कुरालाई हाम्रो देशका राजनितीक पार्टि र तिनका लिडर हरुले राम्रोसँग बुझेका छन, तर यसलाइ सैद्धान्तिक र राजनितीक तवरले कहिल्यै पनि दस्तावेजिकरण गरेर अग्रभागमा बहस गर्ने साहास गरेनन् । सबै चिजको कमाण्ड राजनीती हो भन्ने कुरा हामी चिनियाँ सांस्कृतिक क्रान्ति बाट सजिलै बुझ्न सक्दछौ । तर यहाका पार्टी र नेतृत्व ले यसलाई किनाराको मुद्दा बनाए जुन सबैभन्दा जब्बर हिसाबले उठाउनु पर्ने मुद्वा थियो र छ । मुलतः नेपाली समाज मनुस्मृति र हिन्दुवर्णाश्रममा आधारित भयर संरचनागत हिसाबले चलिआएको समाज हो । त्यहि आधारमा १९१० को पहिलो लिखत कानुन जंगबहादुरले बनाए र त्यहि देखि झनै यो बिषय संस्थागत हिसाबले बलियो भयर समाजमा जगडियो । त्यो कानुनले दलितको जमिन राख्ने हक खोसिदियो । नेपाली नागरिकता पाउने हक खोसिदियो, सम्पति कमाउन र राख्न पाउने हक समेत खोसिदिएपछि समाजमा दलितहरुको जीवन सदियौ देखि नारकिय बन्दै आएको छ । विगत देखि वर्तमानसम्म दलित समुदायमाथि जुन शोषण, दमन र उत्पिडनको शृङ्खला चलाईयो त्यो राज्यव्यवस्थाद्वारा नै चलाईयो । पटकपटकको राजनीतिक क्रान्ति पश्चात् निर्माण गरिएको राज्यसत्ताले उत्पीडित, उपेक्षित जाती, क्षेत्र, वर्ण र लिङ्गका कुरा कहिल्यै पनि सुनेन वा सुन्नै चाहेन ।

उत्पीडन छ, अत्याचार छ, विभेद छ भन्ने कुरा हाम्रो देशका ठुलबडा र जान्नेसुन्नेहरुलाई राम्रोसँग थाहा छ तरपनी उनिहरु यो बिषयलाई गुपचुप बनाईराख्न चाहान्छन । किनकि मानिसको लागी सबैभन्दा ठूलो शिक्षालय भनेको परिवार र यहि समाज हो । परिवार र समाजबाट सिकेको संस्कार नै ब्यक्तिबाट अभिव्यक्त हुने हो । जब ब्यक्ति गलत संस्कारमा हुर्कन्छ तब बिश्वबिद्धालयको शिक्षाको कुनै औचित्य हुँदैन । यहाँ हरेक संरचनामा विभेद छ, कहाँ छ र विभेद नभएको ? निजामतीमा, जङ्गिमा निजि संस्था हरुमा जतासुकै विभेद ले जकडिएको छ । तर किन मानिसहरु किन आजको दिनमा पनि विभेद सहिरहेका छन ? मुख्य प्रश्न यहि हो ।
दलित भित्र पनि विभेद छ, अझ भन्नू पर्दा दलित भित्र पनि महिलाहरु झन पिडित छन, झन विभेद सहेर बाचिरहेका छन।आज संसार मै दक्षिण एसिया किन हरेक हिसाबले पछाडि परेको छ ? अझ दक्षिण एसियामा पनि नेपाल झन किन यो हालतमा बाचिरहेको छ ? यो बिषयमा बहस छलफल हुन जरुरी छ । यी सबै कुराको हल राजनीतिक हिसाबले खोजिनुपर्छ र समाधान पनि राजनीतिक हिसाबले गरिनुपर्छ।सबै बिषयको कमाण्ड राजनीतिले गर्ने हो भने राजनीतिक रुपमै यी बिषयहरु सम्बोधन हुन जरुरी छ । नेपालमा बेलाबेलामा राजनीतिक परिवर्तनहरु भए ७ साल, ३६ साल, ४६ साल, ६२÷६३ साल तर कहि न कहि सम्झौतामा मात्र टुंगिए । जातीय मुद्दा त झनै कतै पनि अग्रभागमा परेन फलस्वरूप आज जातीय उत्पिडनले बिकराल रुप लिदै छ । रुपाको सन्दर्भमा उठेको कुराले निकैबेर घोत्लिन बाध्य पारेको छ । बौद्विक जमातले समेत कोठा र कोटालाई दाजेर बहस गर्नु अत्यन्त दुःखद छ । समाजका टाठाबाठा भनिने मानिसहरु कोटामा अल्झिएर बहस गरिरहेका छन तर कोटा मात्रै समस्या समाधानको बाटो होईन । कोटाले केहि हदसम्म पछाडी परेको समुदायलाई राज्यको पहुँचसम्म पु¥याउन मद्दत मात्रै गर्छ सारमा समस्याको समाधान गर्दैन । आरक्षण र कोटा भनेको त संभ्रान्त वर्ग अघाएर बचेको हिस्सा मात्रै हो ।
आरक्षण र कोटाले सबै समस्या हल गर्ने भए किन आज भारतका दलितहरुको समस्या ज्युकात्यु छ त ? आरक्षण पाएको ७० बर्ष सम्म पनि किन भारतका दलितहरुको अवस्था फेरिन सकेन ? दलित समुदायलाई विशेष अधिकार सहित राजनीतिक दलहरुले यसलाई राजनीतिक एजेन्डा नबनाए सम्म दलित मुक्ति सम्भव छैन भन्ने कुरा मेरो बुझाई छ ।

दलित समुदायले आरक्षण वा कोटाको रुपमा प्राप्त गर्ने जम्मा ९% सहुलियतले दलित समुदायको समस्या वास्तविक अर्थमा समाधान गर्न सक्तैन । कोटा वा आरक्षण भनेको राहत मात्रै हो, राहतले जीन्दगी चल्दैन । सदियौदेखी उत्पीडन र शोषण दमनमा राखिएको दलित समुदायको मुक्तिको बिषयलाई कोटा संग जोडिनु दुर्भाग्यपुर्ण छ । अब मुलकमा आमुल परिवर्तनका लागि एउटा ठुलो सास्कृतिक क्रान्तिको आबश्यकता टड्कारो रुपमा देखापरिरहेको छ । त्यस्तो खालको सास्कृतिक क्रान्तिले मात्र सदियौ देखि मडारिएको जातको कालो बादल अन्त्य हुने छ । चिनियाँ सांस्कृतिक क्रान्तिले चिनलाई कायपलट गरेको इतिहास हाम्रो सामु छर्लङ्ग छ । चिनियाँ सांस्कृतिक क्रान्तिले चिनमा जरा गाडेर बसेको पुरातन चिन्तन र रुढीबाद कसरी सफा गरेको थियो ? दस बर्षसम्म चलेको चिनियाँ सास्कृतिक क्रान्तिले पुराना कुरिति र कुसंस्कारका संरचनाहरु जरैदेखि उखेलेर फालिदियो । चिनियाँ सास्कृतिक क्रान्तिका क्रममा मात्र करिब ३२ हजार चिनियाँको ज्यान गएको थियो र चिनमा एउटा नया युगको शुरुआत भएको थियो । आजपनि चिनियाहरु माओत्सेतुङ्गलाइ श्रद्धा पुर्वक सम्झन्छन, जसको बिचारले आज चिन यो अवस्थामा आइपुगेको छ । आजको दिनमा देश विदेशमा भए गरेका महानतम क्रान्तिहरुबाट शिक्षा लिएर मानव मुक्तिको बाटोमा आफुलाई समर्पित गर्नु हरेक युवाको दायित्व हो ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto

तिहारको शुभकामना । Happy Tihar


This will close in 20 seconds