हरिविष्णु ओली
शिक्षा प्रणाली कुनै पनि देशको मेरुदण्ड हो। तर जब यही मेरुदण्ड कमजोर हुन्छ, त्यसको असर सम्पूर्ण राष्ट्रमा पर्छ। एउटा चर्चित भनाइ छ—कुनै देश कस्तो छ भनेर जान्न त्यस देशका विश्वविद्यालयहरू हेरे पुग्छ। यो भनाइ प्रायः Nelson Mandela जस्ता दूरदर्शी नेताहरूको शिक्षा सम्बन्धी दृष्टिकोणसँग जोडेर पनि बुझिन्छ, जसले शिक्षालाई राष्ट्र रूपान्तरणको मूल आधार मानेका थिए।
हाम्रो सन्दर्भमा हेर्दा, विश्वविद्यालयहरूमा देखिएको अनियमितता, पक्षपात र ‘च्याप्टर कन्ट्र्याक्ट’ जस्ता अभ्यासहरूले शिक्षा क्षेत्रलाई नै कमजोर बनाइरहेका छन्। आजकल एउटा विषय पढाउन पाँच–पाँच जना प्राध्यापक नियुक्त गर्ने प्रवृत्ति बढ्दै गएको छ। सतही रूपमा हेर्दा यो अवसर बाँडफाँड जस्तो देखिए पनि यसको गहिरो असर शैक्षिक गुणस्तरमा पर्छ। एउटा विषयको अध्ययन क्रमबद्ध (sequential) र समन्वित हुनुपर्छ। तर जब फरक–फरक व्यक्तिले च्याप्टर अनुसार पढाउँछन्, विषयको निरन्तरता टुट्छ, सन्दर्भ हराउँछ, र विद्यार्थी अन्योलमा पर्छन्। यो अभ्यास केवल शैक्षिक कमजोरी मात्र होइन, भ्रष्टाचारको एउटा सूक्ष्म रूप पनि हो। किनकि धेरैजसो अवस्थामा यस्ता नियुक्तिहरू योग्यता भन्दा पनि ‘आफ्नो मान्छे’ राख्ने उद्देश्यले गरिन्छ। कार्यकर्ता व्यवस्थापनको नाममा शिक्षालाई नै साधन बनाइन्छ। यसले विश्वविद्यालयलाई ज्ञान उत्पादन गर्ने केन्द्र नभई ‘रोजगारी बाँड्ने स्थल’ बनाइदिन्छ। सबैभन्दा ठूलो क्षति विद्यार्थीलाई हुन्छ। उनीहरू ज्ञान लिन आएका हुन्छन्, तर व्यवस्थागत कमजोरीका कारण गुणस्तरीय शिक्षा पाउँदैनन्।
जब विद्यार्थीलाई सही मार्गदर्शन र शिक्षण प्राप्त हुँदैन, उनीहरू आधा–अधुरा ज्ञानसहित बाहिरिन्छन्। यही विद्यार्थी पछि शिक्षक, कर्मचारी वा नीति निर्माता बन्छन्। दुःखको कुरा, उनीहरूले पनि त्यही प्रणाली दोहोर्याउन थाल्छन्। किनकि उनीहरूले विश्वविद्यालयमै त्यही सिकेका हुन्छन्—कामभन्दा पहुँच ठूलो, योग्यता भन्दा सम्बन्ध बलियो। यसरी भ्रष्टाचारको चक्र निरन्तर चलिरहन्छ। यस अवस्थाबाट बाहिर निस्कन सुधारको सुरुवात विश्वविद्यालयबाटै हुनुपर्छ। केही महत्वपूर्ण उपायहरू यस्ता हुन सक्छन्:
#एक विषय–एक जिम्मेवार शिक्षकको नीति लागू गरिनुपर्छ, ताकि विषयको निरन्तरता कायम रहोस्।
#पारदर्शी र प्रतिस्पर्धात्मक नियुक्ति प्रक्रिया अनिवार्य गरिनुपर्छ।
#शिक्षण गुणस्तर मूल्यांकन प्रणाली कडाइका साथ कार्यान्वयन गरिनुपर्छ।
#राजनीतिक हस्तक्षेपको अन्त्य गरिनुपर्छ।
#डिजिटल प्रबिधिमा आधारित विद्यार्थी केन्द्रित शिक्षण पद्धति अपनाइनुपर्छ। यदि विश्वविद्यालय शुद्ध र सक्षम बन्न सके, त्यसको सकारात्मक प्रभाव विद्यालयदेखि सरकारी संयन्त्रसम्म पुग्छ। किनकि विश्वविद्यालय नै त्यो ठाउँ हो जहाँबाट भविष्यका जनशक्ति तयार हुन्छन्।
अन्तमा, विश्वविद्यालय सुधार्नु भनेको केवल एउटा संस्थाको सुधार होइन, यो समग्र राष्ट्र निर्माणको आधार तयार गर्नु हो। यदि हामीले यहीँ सुधार गर्न सकेनौं भने, भ्रष्टाचारको जरो झन् गहिरो हुँदै जानेछ।

