नारायणी उर्लिएर पुल छुँदा

आहा सञ्चार |

पूर्ण ओली रुकुम पश्चिम असोज ११ गतेको बिहान नौ बज्दा आकाशमा बादल फाट्न सुरु गरिसकेको थियो । सजिलोसँग सास फेर्न समेत मौका नदिई चार दिनदेखि निरन्तर परेको वर्षाले थकित बनाएको मौसम एकाएक खुलेर घाम लाग्न थालेको थियो ।

रुकुम पश्चिममा चुनदेवी काँग्रेस विस्तारको सुरसार

आहा सञ्चार |

मेगराज खड्का नेपाली काँग्रेस अहिले केन्द्र देखि स्थानीय स्तरसम्म संस्थापन र इतर पक्ष विच खुलमखुला फरक फरक सांगठनिक गतिविधी भैरहेका छन । काँग्रेस सभापति गगन थापा तर्फको संस्थापन पक्षले महाधिबेशनको घोषणा गरेर

एआईबाट मानवजातिको अस्तित्व नै समाप्त हुन सक्छ ?

आहा सञ्चार |

एआई नियन्त्रणबाहिर गएर मानवजातिको अस्तित्व नै समाप्त हुन सक्ने जोखिमबारे शोधकर्ता तथा प्रविधि विज्ञहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्। केही हालैका अनुमानले आगामी एक दशकभित्र एआईका कारण मानवजाति समाप्त

राजनीति

कला/साहित्य

  • नारायणी उर्लिएर पुल छुँदा

    पूर्ण ओली

    रुकुम पश्चिम

    असोज ११ गतेको बिहान नौ बज्दा आकाशमा बादल फाट्न सुरु गरिसकेको थियो । सजिलोसँग सास फेर्न समेत मौका नदिई चार दिनदेखि निरन्तर परेको वर्षाले थकित बनाएको मौसम एकाएक खुलेर घाम लाग्न थालेको थियो । पश्चिमी क्षेत्रमा अझै पनि भारीदेखि अति भारी वर्षा हुने भनेर मौसम विज्ञान विभागले सूचना जारी गर्न छोडेको थिएन । मोबाइलमा फोनको कल ब्याक टोनमा पनि सतर्क रहन जनचेतनामूलक घण्टी बजिरहेको थियो ।

    चितवनतिरका साहित्यिक व्यक्तित्वहरूसँग भेट्ने धोको केही दिनदेखि मनमा थाँती रहेको थियो । गैँडाकोटस्थित आफ्नो घरमै आउन टङ्कराज ढकाल ‘तितेपाती’ले निम्तो गर्नुभएको थियो । उहाँको सँगसँगै गोविन्द विनोदीलाई पनि भेट्ने मन थियो तर उहाँको फोन उठिरहेको थिएन । भरतपुरको पिपलचोकदेखि गैँडाकोटसम्म हिँडेरै जान म थियो, तर जुवाइँले मान्नुभएन । अस्मिताको स्कुटीमा पुर्‍याइदिने हुनुभयो ।

    नारायणघाट पुगेर नारायणीको पुलमा पुगेपछि मात्रै नदीको वास्तविक रूप देखियो । सातवटा ठुला नदी मिलेर बनेकोले नारायण नदीलाई सप्तगण्डकी नामले पनि चिनिन्छ । यसलाई नेपालकै सबैभन्दा गहिरो र तीव्र वेग भएको नदी भनेर पनि चिनिन्छ ।

    पुलको मुखसम्म आइपुग्दा पनि नारायणी त्यति भयावह देखिएको थिएन । पुल सुरु भएदेखि दश पन्ध्र मिटरसम्म वरिपरिको बारमा अग्ला जस्तापाता ठड्याइएको हुँदा नदीलाई छेकिदिएको थियो । यदि त्यहीँबाट नारायणीको डरलाग्दो रूप देखेको भए सायद जुवाइँलाई यतैबाट फर्काइदिने थिएँ । तर पुलमा केही अगाडि बढिसकेपछि मात्र नदीको रौद्र रूप देखिएकोले अब फर्कन मिल्ने अवस्था थिएन ।

    बिच पुलमा पुगेपछि नारायणी नदी नदी होइन दन्त्यकथाको राक्षसजस्तो सम्पूर्ण तागतका साथ पूरै बगरमा लडीबुडी गरेको जस्तो देखियो । यसभन्दा माथिका भेटेजतिका जीव निर्जीव सबै सोहोरेर ल्याइरहेको थियो र नारायणी नदीको निकै लामो पुलमा उक्लने प्रयत्न गर्दै थियो ।

    पानीको रङ माटो र लेदोले कालो–खैरो भएको थियो । त्यसमा रूखका हाँगाहरू, सिङ्गै रूख, बगेर आएका काठका ठूला टुक्रा र चिनिन नसकिने संरचनाहरू मच्चिँदै, घुम्दै, एकआपसमा ठोक्किँदै तलतिर दौडिरहेका थिए । पानीको सतहमा बनेका भुमरीहरू एकछिन देखिन्थे, अर्कोछिन आफैँभित्र हराउँथे । हावाले भेलका बाछिटा उडाएर अनुहारमा हान्दा चिसोले ल्याइरहेको थियो । तलतिर हेर्दा आँखा रिङ्थे । जिउमा काँडा फुल्थे र मुटु काँप्थ्यो ।

    त्यतिबेला मनमा एउटा अनिष्टले टाउको उठायो, यति ठूलो भेलले यो पुल थाम्ला त ?

    निकै लामो पुललाई अड्याइरहेका पिलरहरूतिर हेरेँ । विशाल भेलका अगाडि ती पिलरहरू अस्वाभाविक रूपमा साना देखिन्थे । विभिन्न ठोस पदार्थले घनत्व बढाएको पानीले तिनलाई ठेलिरहेको थियो । वर्षौँदेखि जतिसुकै ठुलो भेललाई पनि पन्छाएर ठिङ्ग उभिएको पुल आज आफ्नै सामर्थ्यको परीक्षा दिइरहेको जस्तो लाग्यो । कल्पनामा एउटा पिलरलाई मनले ढाल्यो । त्यसपछि अर्को, अनि अर्को । त्यसपछि फलाम र कङ्क्रिटको सिङ्गो संरचना गर्ल्यामगुर्लुम भेलमा मिसिएको दृश्य आँखैअगाडि आउन थाल्यो । रसुवा बाढीले १ महिनापहिले यस्तै ३२ वटा पक्की पुलहरू बगाइदिएको थियो । वेत्रावतीको पुल र धादिङबेँसी जोड्ने पुल बगाएको युट्युब भिडियोहरू एकपछि अर्को गरी आँखामा नाच्न थाले ।

    मनले तुरुन्तै कामना गर्‍योः त्यस्तो कहिल्यै नहोस् ।

    जुवाइँले मलाई गैँडाकोटको मिलचोकनजिकै तितेपातीको घरमा छोड्नुभयो र फर्किनुभयो । उहाँ फर्किएपछि मेरो ध्यान फेरि पुलतिरै अड्कियो । केही बेरपछि अस्मितालाई फोन गरेर जुवाइँ घर पुग्नुभयो कि पुग्नुभएन भनेर सोधेँ । उहाँ अझै कोठामा नपुगेको खबरले मन झन् आत्तियो ।

    यता तितेपातीले मलाई हार्दिकतापूर्वक स्वागत गर्दै आफ्नो घरभित्र लगेर कुराकानी सुरु गर्नुभयो । बाहिर नारायणी उर्लिरहेको थियो, भित्र नदी र बस्तीका कुरा चलिरहेका थिए ।

    मैले गैँडाकोटको पूर्वतिरको बस्ती पूरै डुबानमा परेको बताएँ । उहाँले नदीको बाटोमै बस्ती बसाल्दा हुने जोखिमका उदाहरणहरू सुनाउन थाल्नुभयो । साउनको दोस्रो हप्तातिर वेत्रावती हुँदै गोसाइँकुण्ड पुगेर फर्किनुभएको आफ्नो यात्रा सुनाउनुभयो । देवीघाट, बट्टार, विदुर, वेत्रावती हुँदै देखेका दृश्यहरू शब्दमा उतार्नुभयो । सिन्धुपाल्चोकको जुरे पहिरोले सिँगै गाउँ नै बगाएर पुर्‍याएको क्षतिको प्रसङ्ग आयो । मेलम्चीले पुर्‍याएको अर्बौँको धनजनको क्षतिको कुरा आयो ।

    उहाँको तर्क थियोः हाम्रा पुर्खाले नदी किनारमा खेत बनाए, तर बस्ती अलि माथि बसाए । अहिले हामी खेत र बस्तीको भेद नै मेट्दै नदीको सम्भावित बाटोमै घर बनाइरहेका छौँ ।

    उहाँले दिएका उदाहरणहरूले मेरो मनलाई सम्झाउनुभन्दा झन् डर रोपिरहेका थिए ।

    मेरो ध्यान बारम्बार नारायणीको पुलमा पुग्थ्यो । यतिखेरसम्म पुल बाँकी रहेको होला कि नहोला ? मनमा एउटै प्रश्न घुमिरहेको थियो ।

    विनोदीलाई भेट्न चाहनुको कारण केवल भेटघाट थिएन । उहाँसँग साहित्यिक सम्बन्धको एउटा पुरानो भावनात्मक गाँठो पनि थियो । उहाँ उपचाररत हुँदा भवानी खतिवडाले उहाँका र आफ्ना पुस्तकहरू सङ्कलन गरेर बिक्री गरी आएको रकम उहाँको उपचारमा सहयोग गरिरहनुभएको थियो । त्यसै क्रममा मलाई पनि उहाँका पुस्तकहरू उपलब्ध गराइएका थिए । मैले रुकुममा साथीभाइलाई अनुरोध गरेर ती पुस्तकहरू बिक्री गराई रकम पठाइदिएको थिएँ । त्यो रकम पनि उहाँकै उपचारमा प्रयोग भएको थियो । आज भौतिक रूपमै भेटेर शुभकामना दिन चाहन्थेँ ।

    तर बाहिर नारायणीले अर्को कथा लेखिरहेको थियो ।

    तितेपातीसँग साहित्यिक संस्थाका गतिविधि, साहित्यकार र दलगत सम्बन्धका विषयमा पनि लामो कुराकानी भयो । उहाँले गैँडाकोट प्रज्ञा प्रतिष्ठानको आफूले देखेको अवस्था सुनाउनुभयो । प्रज्ञा सदस्यका रूपमा नियुक्त भएपछि पटकपटकका बैठकमा नबोलाइएको, कार्यक्रमबारे जानकारी नदिइएको र साहित्यिक भ्रमणमा समेत आफूलाई जानकारी नदिइएको उहाँको गुनासो थियो । संस्थाको नेतृत्व र गतिविधि दलगत प्रभावमा परेको आफ्नो बुझाइ सुनाउँदै उहाँले अन्ततः प्रज्ञा सदस्यबाट राजीनामा दिएको बताउनुभयो । आजभोलिका साहित्यकारहरू पनि कुनै न कुनै राजनीतिक दलसँग जोडिएर त्यहीअनुसार लेख्ने गरेको र त्यस्तो प्रवृत्ति आफूलाई मन नपर्ने बताउनुभयो ।

    यी कुराहरू सुनाउँदा तितेपाती नै नारायणीको भेलमा रुपान्तरित भएको र आफूले नारायणीको पुलजस्तै सन्निकटबाट गडगडाहटका शब्दहरू सुनिरहेको जस्तो अनुभूति भयो । यही भेल उर्लिएर आफैँ भाँचिएँ भने ?

    त्यसै कुराकानीका क्रममा तितेपातीले नारायणी पुलको इतिहास पनि सुनाउनुभयो ।

    पुल बन्नुअघि नारायणी पार गर्ने यात्रुको भर डुँगामै थियो । पूर्वी र पश्चिमी नेपाल जोड्ने एउटा प्राकृतिक बाधा बनेर नदी उभिएको थियो । डुँगाबाट मान्छे वारपार हुन्थे, तर जोखिम कम थिएन । कतिले त्यही नदीमा ज्यान गुमाए, हिसाब छैन । पछि फेरी चल्यो । सवारी साधन पनि वारपार हुन थाले । तर त्यो सुविधा पनि सहज र सस्तो थिएन ।

    धेरै वर्षपछि मात्र नारायणीमाथि पुल बन्न सक्यो । त्यो पुल केवल मान्छेहरू वारिबाट पारि पुग्ने कङ्क्रिट र फलामको पुल मात्र थिएन । त्यसले नदीले छुट्याएको भूगोललाई जोडेको थियो । पूर्व र पश्चिमलाई एउटै सडक सञ्जालमा ल्याइदिएको थियो । मानिसको यात्रा, सामानको ओसारपसार, व्यापार, रोजगारी र सम्बन्ध—सबैका लागि त्यो पुल एउटा जीवनरेखा बनेको थियो । यो पुल बनेदेखि नेपालको विकासले अर्को फड्को मारेको थियो ।

    तर तितेपातीले पुलको आयु सकिएको कुरा पनि सुनाउनुभयो । निर्धारित आयु पूरा भइसकेको पुलमाथि वर्षौँदेखि सवारी गुडिरहेका थिए । उता नारायणी भने हरेक वर्ष आफ्नो पुरानो स्वभावसहित आउँथी । वृद्धावस्थाले जीर्ण र कमजोर बनिरहेको पुलसँग जिस्किन्थी । पौँठेजोरी खेल्थी । तर्साउनसम्म तर्साएर शरदतिर शान्त हुन्थी ।

    तितेपातीका यी कुरा सुनेपछि बिहान देखेको दृश्य फेरि आँखाअगाडि आयो । यदि आज यही पुललाई केही भयो भने ?

    पूर्व र पश्चिम फेरि अलग हुन सक्छन् । पूर्व पश्चिमको आत्मीय सम्बन्ध टुट्न सक्छ । समग्र विकासको गतिमा फेरि अर्को अवरोध सिर्जना हुनसक्छ । मानिसहरूलाई जोड्न दशकौँ लगाएर बनाइएको एउटा पुल एउटा यस पटकको भेलको अगाडि कमजोर हुन सक्छ । यस पटकको पौँठेजोरीमा नारायणीको अगाडि जीर्ण पुलले घुँडा टेक्ने अवस्था आउन सक्छ ।

    बिहानको उर्लँदो नारायणी र जीर्ण भनिएको पुल सम्झँदा मेरो मुटु फेरि काँप्यो ।

    केहीबेरपछि तितेपातीले आफूले लेखेको तस्बिरै तस्बिर नामको कृति दिनुभयो । नातिनीले हाम्रो तस्बिर खिचिदिइन् । भाउजूले फलफूल खुवाउनुभयो । त्यसपछि म भरतपुरतिर लागेँ । विनोदीसँग भेट हुने आशा अब मरिसकेको थियो । फर्कँदै गर्दा बारम्बार एउटै प्रश्न अगाडि आयोः के नारायणीको पुल बाँकी नै होला ? के म पारि पुगेर अभिभावकीय दायित्व पूरा गर्न सकुँला ?

    तितेपातीको घरबाट नदी किनारतिर आइपुग्दा नारायणीको सतह बिहानभन्दा अझै माथि चढिसकेको रहेछ ।

    पुलको मुखमा मानिसहरूको घुइँचो थियो । कोही डुबान भएको क्षेत्र हेर्दै थिए, कोही बाढी हेर्दै थिए, कोही पुलतिर हेरेर नढलोस् भनी कामना गर्दै थिए । सुरक्षाकर्मी र ट्राफिक प्रहरीहरू भारी सवारी रोक्नमै व्यस्त थिए । भ्याएसम्म यस्तो जोखिममा पुलमा नजानुहोस् भनेर यात्रीहरूलाई सम्झाइबुझाइ गरिरहेका थिए । हलुका सवारी मात्र पालैपालो मात्र पुल तर्न दिइरहेका थिए । पुलको छेउमा पारि जान नपाएका सवारी साधनको निकै बाक्लो र लामो पङ्क्ति थियो ।

    धेरै सवारी साधनहरू र यात्रीहरू पुलको छेउबाटै फर्किरहेका थिए । तर मसँग भने फर्कने विकल्प थिएन ।

    पारिपट्टि देवकुमारी र छोरी अस्मिताहरू थिए । अस्मिताको डेलिभरी नजिकिएको थियो । दुई दिनपछि हुने प्रसवका लागि आवश्यक व्यवस्थापन र सहयोगकै क्रममा म त्यहाँ आएको थिएँ । केही गरी पुल बन्द भयो र म यहीँ अड्किएँ भने उनीहरू के गर्लान् ? के सोच्लान् ? तसर्थ ट्राफिक प्रहरीको आँखा झुक्याएर भए पनि मैले पुल तर्नैपर्थ्यो ।

    रौद्र रूप धारण गरेको नारायणीलाई फेरि हेरेँ । पानीको वेगले आँखा घुमाइरहेको थियो ।

    पुलमाथि पाइला राख्नेबित्तिकै मनले अनायास भन्यो, ‘छिटो कुद् । वार कि पार भनेको यही हो । सके पुगियो, नसके सकियो ।’  मनको आदेशअनुसार हिम्मतसाथ अघि बढेँ । देब्रे हातमा मोबाइलको भिडियो खोलेर बाढीतिर सोझ्याउँदै हिँडे ।

    भेलले सिर्जना गरेको वेगवान् बतासले टोपी नै उडाउने बल गरिरहेको थियो । भेलको बाछिटाले जिउका लुगा भिजाइरहेको थियो । पुलमुनिबाट उठेको गर्जनले वरिपरिको आवाजलाई दबाइरहेको थियो ।

    मैले तल हेरेँ । त्यहाँ कालो बादल मडारिएझैँ मडारिइरहेको उन्मत्त शक्ति थियो ।

    बोक्रा ताछिइसकेका तर जरैसित उखेलिएका बडेमानका रूखहरू बगिरहेका थिए । काठका ठूल्ठूला टुक्रा पानीमा ठोक्किँदै घुमिरहेका थिए । लेदोले भरिएका अनेकौँ संरचनाहरू भेलसँगै मच्चिइरहेका थिए । पानीका भुमरीहरू कहिले पुलका पिलरतिर धसिन्थे, कहिले एकाएक फन्को मारेर तलतिर हराउँथे ।

    पुलका पिलरहरूतिर हेर्न मन लागेन । तर घरी घरी आँखा त्यतै जान्थे ।

    ती पिलरहरूले त्यति ठूलो भार कसरी थामिरहेका होलान् भन्ने लाग्थ्यो । पानीको एउटा ठूलो लहर आउँदा पुल हल्का हल्लिएजस्तो लाग्थ्यो । सायद त्यो मेरो मनमा लुकेर बाहिर चिहाइरहेको डर थियो । सायद तीव्र गतिको हावाको कमाल थियो । सायद पुल साँच्चिकै हल्लिएको थियो । त्यो क्षण त्यसको सत्य छुट्याउने सामर्थ्य मसँग थिएन ।

    म केवल हिँडिरहेको थिएँ । पुलमाथि । पुलमाथि होइन विशाल भेलको माथि माथि ।

    भेलका छालहरू केही मिटर तलै भए पनि हात बढायो भने छोइहालिन्छ जस्तो । भेलको एउटा ठूलो छाल उचालियो भने पुलमाथि आइपुग्छ जस्तो । कुनै रूख पुलको पिलरमा ठोक्कियो भने त्यसको कम्पन मेरो खुट्टासम्म आइपुग्छ जस्तो ।

    मलाई आफू हिँडिरहेको भन्दा पुलले मलाई बोकेर हिँडिरहेको जस्तो लाग्यो । एउटा मन भन्थ्यो छिटो अघि बढ् । अर्को मन भन्थ्यो ज्यान बचाउने भए खुरुक्क फर्किहाल् ।

    तर फर्कनुभन्दा अगाडि बढ्नु नै उचित थियो । मनको आदेश शिरोपर गरेर अगाडि बढिरहेँ । बिच पुलतिर आइपुग्दा पछाडितिर हेरेँ । अगाडि हेरेँ । तल हेरेँ । चारैतिर पानीको साम्राज्य । लाग्यो म यतिखेर नारायणीको पुलमाथि होइन हावाले हल्लाइरहेको विशाल समुन्द्रमाथिको पानीजहाजमा छु ।

    आधा पुल पार गरिसकेपछि भने मनमा केही साहस आयो—अब त पुल भाँचिन थाले पनि दौडेर पार गर्न सकिन्छ । अचम्म ! केही मिनेटअघि जसको हरेक पाइलामा मृत्युको डर मिसिएको थियो, त्यही पुलमा अब म अलि छिटो हिँड्न सक्ने भएको थिएँ ।

    मैले मोबाइल हेरेँ । तर मोबाइल स्विचअफ भइसकेछ ! यतिखेर मोबाइलले पनि धोका दिएछ । वा मोबाइल खस्ने डरले बेसरी पक्रँदा स्विचअफ नै भयो होला ।

    फेरि मोबाइल अन गरेँ । त्यसपछि भिडियो सुरु भयो । पुलको पल्लो छेउबाट नारायणीलाई कैद गर्दै आनन्दपूर्वक अगाडि बढ्न थालेँ ।

    पुलको पल्लो किनारपट्टि बाढी हेर्ने रमिते मानिसहरूको भीड थियो । सबैको हात हातमा मोबाइलहरू तेर्सिरहेका थिए । कसैको हातमा क्यामेराहरू पनि थिए । धेरैको मोबाइलमा आफू पनि कैद भएको ठानी म मख्ख परेँ ।

    पुलको रेलिङ समाप्त भएर नारायणघाटको सडक सुरु भयो । खुट्टाले जमिन छोएपछि बल्ल लाग्योः म बाँचेँ । एउटा महायुद्धमा शत्रु पक्षलाई पराजित गरेर फर्किएझैँ अनुभूति भयो ।

    भूपिनले अस्ति नै भेट्ने आश्वासन दिनुभएको थियो । उहाँको सम्झना आयो । गोविन्दर विनोदीझैँ पो हुने हो कि भन्ने संशय पालेर फोन गरेँ । उहाँले घरमै भएको बताएपछि आँखा अस्पत्तालतिर मोडिएँ । मालपोत चोकमा भूपिन मलाई पर्खिरहनुभएको रहेछ । उहाँले आफ्नै बाइकमा राखेर एउटा चिया पसलमा लैजानुभयो ।

    चियाको कप अगाडि राखेर हामी साहित्यका कुरा गर्न थाल्यौँ । उहाँले आफ्ना कृतिहरू र साहित्यिक यात्राबारे सुनाउनुभयो । हजार वर्षको निद्रा, सुफ्लाको हवाइजहाज, मैदारो, अप्पो दिवो भवः लगायतका कृतिको चर्चा परिचर्चा भयो । मैदारो मदन पुरस्कारका लागि छनोट भएको कृति पनि हो ।

    मैले कवि डाँडाको प्रसङ्ग निकालेँ । उहाँले कवि डाँडाको अवस्थिति, त्यसको नामकरण र त्यहाँसँग जोडिएका कविहरूबारे बताउनुभयो । साहित्यकारहरूका बसाइँसराइका कुरा भए । मेरो साहित्यिक यात्राबारे पनि उहाँले सोध्नुभयो । मैले आफ्नो पछिल्लो अवस्थाबारे सुनाएँ ।

    भूपिन वसन्तकालीन नारायणीझैँ सौम्य रूपमा प्रस्तुत हुनुभयो । उहाँका मधुर वाणीहरू शीतकालीन नारायणीको शान्त गतिले बगिरहेका थिए । भर्खर अगाडिको नारायणीको रौद्र रूप मैले चटक्कै बिर्सिएँ । सो ठाउँमा सयौँचोटि देखेको स्थिर र निलो नारायणीले प्रतिस्थापन गर्‍यो ।

    चिया पिएर सकियो । म हिँडेरै पिपलचोक जाने विचारमा थिएँ तर उहाँले मान्दै मान्नुभएन । आफ्नो बाइकमा राखेर पिपलचोकसम्म छोडिदिनुभयो । भूपिनले समय निकालेर यतिसम्म सहयोग गर्नुहोला भन्ने विश्वास नै गरेको थिइनँ । स्मृतिभरि भूपिनसँगको भेटको मिठासले भरियो ।

    भोलिपल्ट बिहानै उठेर नारायणी पुललाई केही भयो कि भनी समाचारहरू हेरेँ । नारायणी यथास्थितिमा फर्कँदै रहिछन् । नारायणीसँगको पौँठेजोरीमा फेरि पनि पूर्व र पश्चिम जोड्ने पुलले जित हासिल गरेछ । आफू बाँचेको भन्दा यो पुल बाँचेकोमा अत्यन्तै खुसी लाग्यो । लेखको कभर फोटो च्याटजीपीटी एआईबाट निर्माण गरिएको हो । 

     

स्वास्थ्य

  • आठबिसकोटका करार स्वास्थ्यकर्मीहरुले दिए सामूहिक राजीनामा

    रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाअन्तर्गत विभिन्न स्वास्थ्य संस्थामा कार्यरत ३६ जना करार स्वास्थ्यकर्मीहरुले आज सामुहिक राजीनामा दिएका छन । नगरपालिकालाई आफुहरुको सेवा–सुविधा वृद्धि तथा विभेद अन्त्यको माग गर्दै पटक पटक ज्ञापन पत्र बुझाएपनि सुनुवाई नभएपछि आज सामुहिक राजीनामा दिएका हुन ।

    सम्बन्धित निकाय र ब्यक्तिहरुबाट आफ्ना मागहरुको सुनुवाई हुनुको साटो करार स्वास्थ्यकर्मीहरुलाई अपमानजनक अभिब्यक्ति दिएपछि सामुहिक राजीनामा दिईएको पत्रमा उल्लेख छ । ‘स्थानीय सरकारले तपाईहरुको माग पुरा गर्न सक्दैनौं, मन लागे काम गर्नुहोस, मन नजाने करार सेवा रद्ध गछौं भनेर भनियो, त्यसपछि जिम्मेवारी र सेवामा नरहनेगरी सामुहिक राजीनामा दिएको छौं’ राजीनामा पत्रमा भनिएको छ ।

    गत असार २ गते नगरपालिकालाई विभिन्न पाँच बुँदे माग राख्दै ज्ञापन पत्र बुझाइएको र आफ्नो माग सम्बोधन नभएपछि सामुहिक राजीनामा दिने चेतावनी दिएका थिए । स्वास्थ्यकर्मीहरूले नेपाल सरकारको हालैको बजेट भाषणअनुसार तलब स्केल तथा प्रोत्साहन भत्ता लागू गर्नुपर्ने, कार्यालय समयभन्दा बढी काम गरेबापत अतिरिक्त भत्ताको व्यवस्था गर्नुपर्ने, प्रयोगशालामा कार्यरत कर्मचारीलाई सङ्घीय स्वास्थ्य ऐनबमोजिम २५ प्रतिशत जोखिम भत्ता उपलब्ध गराउनुपर्ने, रात्रिकालीन सेवामा खटिने स्वास्थ्यकर्मीलाई नाइट भत्ताको व्यवस्था गर्नुपर्ने तथा सम्पूर्ण करार कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनुपर्ने माग अघि सारेका थिए ।

     

आहा विचार

आहा कुराकानी

खेलकुद

  • बुद्धिराज स्मृति कपमा विशाल र शिखरको जोडि बिजेता

    दोस्रो बुद्धिराज स्मृती कप खुला पुरुष डबल ब्याडमिन्टन प्रतियोगितामा २४ टिमको प्रतिष्प्रधा विच विशाल विष्ट र शिखर केसीको टिम विजयी भएको छ । रुकुम पश्चिमको मुसिकाकोट नगरपालिका वडा नम्बर ५ सेरिगाउँमा आयोजना गरिएको प्रतियोगिता मंगलबार सकिएको हो । विजेताले २५ हजार रुपैयाँको साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छन ।

    उपविजेता बनेको कमल पुन र कुष्ण राणाको टिमले टिमले नगद १८ हजारको साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गर्दा सान्तवना भएको दुई टिम, जिवन पुन र सोनाम ओली तथा जनक खड्का र सञ्जय वस्नेतको टिमले समान ८÷८ हजार रुपैयाँको साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गरको आयोजक मुसिकोट युवा क्लवले जानकारी दिएको छ । स्वर्गीय बुद्धिराज शर्माको सम्झनामा उहाँका छोरा महेन्द्र, दिनेश र अशोक तथा गौतम परिवारको समन्वयमा मुसिकोट युवा क्लव मुसिकोट ५ सेरिगाउँले प्रतियोगिता आयोजना गरेको हो । छोरा महेन्द्र शर्माका अनुसार गत वर्षदेखि बुद्धिराज स्मृती कपको सुरुवात गरिएको थियो ।

    आगामी वर्षहरुमा खेल मैदानलाई थप व्यवस्थित गरेर प्रतियोगितालाई संचालन गर्ने गरी तयारी गरिरहेको उहाँको भनाई थियो । कार्यक्रममा मुसिकोट नगरपालिकाका पूर्व प्रमुख देविलाल गौतम, मुसिकोट नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष समिरजङ मल्ल र नेकपा माओवादी केन्द्रका नेता तथा समाजसेवी बुद्धिप्रसाद शर्मा लगायतको सहभागीता रहेको थियो ।

आर्थिक

  • बैंक तथा वित्तीय संस्थाबाट कालोसूचीमा पर्ने ऋणी ८ गुणाले बृद्धि

    बैंक तथा वित्तिय संस्थाबाट कर्जा लिएर समयमै नतिर्दा कालो सूचीमा पर्ने संख्या पछिल्लो दिनमा बढ्दै गएको छ । पछिल्लो पाँच वर्षको छोटो अवधिमै कालोसूचीमा रहेका ऋणीको संख्या झन्डै आठ गुणाले बृद्धि भएको छ भने वार्षिक औसत ६६.५ प्रतिशतले समस्या बढिरहेको छ ।

    नेपालको समग्र आर्थिक गतिविधिमा आएको सुस्तता र व्यावसायिक मन्दीका कारण उद्योगी व्यवसायीहरू संकटमा पर्दै जाँदा कर्जा सूचना केन्द्रको आम्दानी र नाफा भने क्रमिक रूपमा बढेको पाइएको छ । देशको व्यावसायिक वातावरण शिथिल बन्दै जाँदा र ऋणीहरू कालोसूचीमा पर्ने क्रम तीव्र हुँदा त्यसको प्रत्यक्ष सकारात्मक प्रभाव केन्द्रको वित्तीय आम्दानीमा देखिएको हो ।
    पछिल्लो वर्ष अर्थात् आर्थिक वर्ष २०८१/८२ मा भने अघिल्लो वर्षको तुलनामा नाफामा केही गिरावट आएको छ । समीक्षा वर्षमा केन्द्रको नाफा ५.२३ प्रतिशत (अर्थात ४ करोड २२ लाख ६८ हजार रुपैयाँ) ले घटेर ७६ करोड ५५ लाख ९३ हजार २०८ रुपैयाँमा सीमित भएको छ । नाफामा केही संकुचन आए पनि कालोसूचीमा पर्ने ऋणीहरूको संख्या भने निरन्तर बढेको छ ।

    यस वर्ष ५३ हजार ५७१ जना नयाँ ऋणी थपिएका छन् भने १८ हजार ७४ जना कालोसूचीबाट हटेका छन् । यससँगै कुल कालोसूचीमा रहेका ऋणीको संख्या १ लाख २९ हजार ९७४ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ३७.५ प्रतिशतको वृद्धि हो । बजारमा आएको सुस्तताले गर्दा व्यवसायीहरूको ऋण भुक्तानी क्षमता कमजोर बन्दै गएको छ भने व्यावसायिक संकटका कारण चेक अनादर (चेक बाउन्स) का घटनाहरू पनि असाध्यै बढेका छन् । व्यवसायीहरू आर्थिक मन्दी र दायित्व भुक्तानीको चक्रव्यूहमा फस्दा कर्जा सूचना केन्द्रको आम्दानीको दायरा भने फराकिलो बन्दै गएको देखिन्छ ।

भिडियो / मनोरञ्जन