एक्कबहादुर केसी
‘जाजा भैसी चित्रिपाटन चरण चर्लाइ बुकी, मैले खाने मुलपानीय बग्दै छकी सुकी’ यसरी गीतमा बोलिएको जस्तो चित्रिपाटन पुग्नलाई सहज रहेनछ । अनकन्ठार मात्र होईन एकछांगे चरिलोट्ने भीर । पाटनमा पुग्दाको अनुभवमा चराचुरुगीं समेत भेट्न सकिदैनथ्यो, थोरै लेकाली जंगलमा पाईने गाँरेकौवा देख्न सकिन्थ्यो ।
गएको चैत्र ३० गते शुत्रबारका दिन म लगायत पूर्ण ओली, मनलाल ओली, खगेश्वर भण्डारी यति चार जना मुसीकोट देखि आठविसकोट राडितीर एउटा सानो जीपमा चढेर गएका थियौं । पहिला सानीभेरी नदि किनारैकिनार त्यसपछि ठुलीभेरी किनारैकिनार हुँदै आठविसकोट नगरपालिकाको राडिबजारमा पुगीदो रहेछ । त्यहाँ विहानको खाना खाई कत्ति पनि अलमल नगरेर बजार नजिकैको ठुलोभेरी नदिको फलामे झोलुंगेपुल पार गरी पारी पट्टीको जाजरकोट जिल्लामा पर्ने एउटा सानो छपरा बस्तीमा पुग्यौं र थोत्रा खटरा जीपमा तल्लु बजारतीर लाग्यौं । गाडिवालाहरुको मनपर्दी भाडा असुल गराई एबम भेटेजति यात्रुहरु गुन्दु्रक खाँदेझैं गाडिमा कोच्ने त्यो सिलसिला देख्दा लुट्न सम्म लुट भन्ने गीतको सम्झना आयो ।
रुकुमको सानोभेरी गाउँपालिका, सिम्लीबजार छोडेदेखि कहिकतै पिच रोड भेटिदो रहनेछ । जाजरकोटको तल्ल्लोबजार पुगेपछि त्यहाँदेखि अगाडि गोतामकोट जानलाई हामी पैदलै उकालो चढेका थियौं । ठुलोभेरी नदिमा बेलीब्रिज पुलको निर्माणकार्य लगभग पुराहुने संघारमा रहेको छ । नदिमा हिमपाईप विछ्याएर यतिबेला गाडिहरु फेरी जाजरकोट एरियाबाट रुकुम प्रबेश हुँदा रहेछन । गोतामकोट पुग्नलाई पनि कच्चा बाटो बनेको तर गाडिहरु भने खासै चल्ने गरेको देखिएन । फर्किदा चाँहि जीप भेटेर तल्लुबगर झर्न पाइएको थियो । सडक कटिङ निकै साँधुरो थियो । निकै उकालो चढाईपछि हामी गोतामकोट गाउँमा पुग्यौं, गौतमखलकको उद्गम भूमी गोतामकोट । गाउँ ठुलै रहेछ र पुरानो बस्ती पनि । घरहरु अधिकांस ढुंगाले छानो छुवाएको एवम टिनका छाना भएको पनि देखिन्थ्ये । चौतारागाउँ नजिक एउटा थुम्कोमा पुरानो मन्दिर जो यतिबेला त्यस क्षेत्रलाई थोरै स्तरउन्नती गर्ने क्रममा रहेछ । त्यहाँ पुग्न सिमेन्ट ढलान गरिएको तीन सय आसपासका खुट्कीला चढ्नु पर्दो रहेछ ।
जे होस हामीलाई जतिसक्दो अगाडि बढ्नपर्ने भएकोले एकछिन थोरै समय लिई मन्दिर एरियाको बातावारण बुझी त्यहाँबाट अगाडि बढिहाल्यौं । नयाँडाडा बास बस्न जाने कुरो थियो, फोन गरि बुझ्दा नयाँ डाडाको एउटा मात्र होटले साहुजीले भोलीपल्टको नयाँ बर्ष मान्नलाई साँझ गाउँ झर्ने र त्यहाँ अन्य कुनै वासको बन्दोबस्त नभएकोले हामीले नयाँडाडा पुग्ने योजना स्थगित गर्यांै । साँझको झिसमिसेमा हामी गोतामकोटको टुप्पो मगा भन्ने गाउँमा पुग्यौं । रात कटाउनलाई त्यही गाउँमा बास बस्नुपर्ने अवस्था आईसकेको थियो । मगा गाउँका ६९ बर्षिय रुपे भण्डारी संग भेट भयो । भलाकुसारी गर्दै गर्दा आजको बसाई उनकै घरमा हुने भयो । आज उनको घरमा भण्डारी लगायत बुहारी र सानो फुच्चे नाती मात्र रहेछन । जे होस बुहारीको चालचलन लक्षिणकै रहेछ । सुविस्थाका साथ बस्नखान पाईयो ।
सोको भालीपल्ट भन्नाले २०८१ सालको बैशाख १ गते नयाँ बर्षको दिन विहान हामी छ बजे नै हामी उकालो चढ्न थाल्यौं । साथै पदप्रदर्शक बनाएर उनै रुपे भण्डारीलाई साथमा लियौं । गाईड गर्ने स्थानीय पाको ब्यक्तिलाई साथमा नलिएको भए सायद हामी चार हजार ५० मिटर उचाईको चित्रिपाटनको चुचुरोलाई चुम्न सकिने अवस्था रहनेछ । किनकी शुरुमा घनघोर जंगलको बाटो असाध्यै अफ्ठेरो जता हेर्यो भिर पहरा मात्र, उकालो कति हो की ! बाटोभरी कहि कतै पनि पिउने पानी भेट्न नसकिने । बोतलमा बोकेको पानीले कति टिकोस ? अन्य खाने बस्तु भने साथमा बोकेकै थियौं । रुपे भण्डारीको बुहारीले पनि मकैका रोटी र चटनी बनाएर दिएकी थिईन । मगा गाउँको माथी बस्ती थिएन जंगल मात्र । तर यतिखेर भूकम्पको निहुँ पारेर त्यस जंगामा रहेका ठुला ठुला ठिंङेका रुखहरु, सल्लाका विभिन्न प्रजातीका ठुला ठुला रुखहरु मनपरी गरि ढालेर सखाप बनाउदै गरेको स्थिति देखियो ।
बाटो साघुँरो एकछांगे भिर यस प्रसंगलाई बारबार कति दोर्याई राखौं ? कतैकतै त यस्तो पनि दृष्य पनि देखियो केहि काठका भाटाहरु तेस्राएर माथीबाट माटो थुपारेर हिड्न मिल्ने बनाएको । यस्तोमा पनि गोतामकोटेहरुले भैसी लगायतका लालाबालाहरु पाटन लिएर लान्थेरे । कुनै अफ्ठरो गौंरो साधुरो गल्छेडोमा कुनै पशु थल्लीएर बस्यो भन्देखी त्यसलाई भीरदेखि लडाएर बाटो खुलाउने चलन थियो भने उनै रुपे भण्डारीले हामीलाई कहाली लाग्दो कहानी सुनाउनु भयो ।
थलिएको भैसी या गाई गोरुलाई नपञ्छाएको अवस्थामा त्यसको पछाडी हिड्ने अरु पचास साठी गोटा पशु चौपायहरुले निकास पाउर्दैन्थ्य रे । हो त्यसैले त मैले त्यो परिस्थितिलाई एउटा अत्यन्त कष्टकर जीवनकार्यशैली दर्साउने क्याराभान नामको चलचित्रसीत दाँज्न खोजेको हो । निकै उकाले जंगल एरिया छिचोलीसकेपछि एक ठाउँती धजा हाल्ने र त्यसदेखि माथी एउटा ठुलैमानको चाख्लो ढुंगा रहेछ त्यसलाई जुगा फाल्ने ठाउँ भनिदो रहेछ । बर्षातको समयमा अति जुगा लाग्ने भएकोले त्यसै चौखेढुंगामा बसी जुगा फाल्ने गरिन्थ्यो रे । त्यहि भएर यस ठाउँलाई जुगा फाल्ने ठाउँ भन्दा रहेछ । यहाँ देखि माथी अब जंगल एरिया समाप्त भएको देखियो । बाटो देखि अल्ली परतीरको खोल्सीमा पानी पाउदो रहेछ । हाम्रो साथीहरु सहित रुपे भण्डारी पानीको खोजीमा त्यसतर्फ लागे म भने सरासरै उकाले चढी राखे । अलीअली हिड्न लाईकको बाटो थियो । नांगो बाटो पहरामात्र गग्य्रान र ढुंगाहरु मात्रै भएको निर्जनभूमी । अलीमाथीतीरको दम्सीलो ठाउँतीर पुगेर सुस्ताए । साथीहरु पनि आउनुभयो बोतममा खोबिल्टोको पानी बोकेर । पारदर्शी पलाष्टीकका बोटलभित्रको पानीमा किरा हुन की या कसिंगर सजिलै बाहिरबाट देख्न सकिन्थ्यो तरपनि त्यहि पानी खाए, प्यास ठुलो की पानी, जिव्रो खोटी परेपछि नखाई नहुने ।
चित्रीपाटनको धुरीमा पुग्न अझै केहि उकालो चढ्नुपर्ने हुन्थो । बाटोमा कतैकतै ठुल्ठुला ढुंगाका ओढारहरु भेटिन्थ्ये । त्यसमा पनि ढुंगाकै फुगोगारो जोडेर त्यस भित्र त्यहाँ पुग्ने गोठालाहरु ओत राल्ने या रात विताउने गर्दा होलान । स्याला सोत्तर विछाएको, आलो बालेको निसाना देखिएको थियो । ठुल्ठुला ढुंगाका खाप एबम खाल्डाहरुमा परेका बस्तुभाउका सेताम्य हाडखोरहरुपनि देखिन्थे ।
दिउसोको दुईबजेतीर हामी धुरीमा पुग्यौं । त्यहाँका मानिसहरुले यसलाई पाटन भन्दारहेछन । थोरै समथर र दम्सिलो सतह रहेछ । कतैकतै सेताम्य हिउ पनि जमिराखेको अवस्था थियो । यो ठाउँलाई तेर्छाकुला भन्दारहेछन । यस ठाउँमा थान बनाएका रहेछन । अर्थात ढुंगाहरु थुपारेर त्यसमा काठमा स्याक्राहरु गाडेर राताप्याला धजा बाँधेको, मै पनि एउटो प्यालो कपडा त्यसैमा लिएर बाँधी दिए जुन कपडा अल्ली पर तीर जमिनमा त्यतिकै परिराखेको थियो । हुनसक्छ त्यसलाई त्यहाँ चल्ने चिसो हावाले उठाएर पुर्याएको होला ।
हिजोआजको सुख्खा समयले गर्दा यत्रतत्रको वातावरणलाई छपक्क टुईटोले ढाँकेर कहिकतै स्पष्ट देख्न सकिएन, हिमालहरु देख्न सकिएन, दक्षिणतर्फ दुरदराजका पहाडहरुको दृष्याअवलोन गर्न सकिएन । अर्कोतर्फ त्यहाँ छिनछिनको मौसम परिवर्तनले गर्दा तुरन्तै कतातीरबाट चिसो कुहिरो दर्गुन थालिहाल्यो र शरिरमा ससनाना बरफका भुईलाहरु टासिन थाले । कठ्यांगिदो जाडोको साना गर्दै आदी घण्टाको छोटो समयमै हामीले त्यहाँनीर फोटा खिचायौं, भिडियो गरायौं । अर्को कुरा यसको केहि दिन अघि यस ठाउँमा आएर ओली जमातले त्यहाँ एउटा कासको घण्ट राखेको रहेछन । बसा र शिवलिंगलाई सजाएका रहेछन । त्यस्तै थानमा ब्यानर लट्काएको थियो र त्यसमा चित्रालेखीको बारेमा केहि कुरा लेखिएको थियो । ओली खल्यानको कुल देवता चित्रालेखी रहेछन । त्यसपछि हामी त्यहाँ देखि फर्कियौं । राती आठ नौं बजेतीर भोक प्यास र थकानका साथ उनै उथप्रदर्शक रुपे भण्डारीकै घरमा वास बस्यौं । यसरी हाम्रो ऐतिहासिक गन्त्व्य चित्रिपाटनको यात्रा पुरा गरियो ।