हरि जिज्ञासु
हाम्रो नेपाली समाजमा पहिले देखिनै मंसिर महिनामा विवाह गर्नुपर्छ भन्ने एउटा बलियो धारणाले जरो गाडेको देखिन्छ । त्यसैले अरु महिनाहरु भन्दा मंसिर महिनामा धेरै जोडीहरु बैवाहिक बन्धनमा बाँधिएका हुन्छन् । प्रेम विवाह होस् या मागि विवाह होस् विवाहको लागि मंसिर कुर्नुपर्ने प्रचलन नेपालमा छ । सडक बजारमा हिड्ने युवा युवतीहरु मंसिर महिनाको सुरुवात हुनेक्रममा अब त मंसिर महिना आउदैछ भनेर व्यंङ्गे हान्ने गर्छन् ।

भनिन्छ नी विवाह हतार गरेपछि पुर्सदमा पछुताउँनु पर्छ भनेर । नेपाली समाजमा धार्मिक कुरामा अडिक रहेर लगन लाई महत्व ठान्दै मंसिर महिनामा नै हतार हतारमा विवाह गर्ने प्रचलन छ । प्राय हतारमा विवाह गरेका जोडीहरु आफ्नो जीवनसाथीसंग त्यति सन्तुस्टी नभएको गुणासो सुन्नमा आउने गरेको छ । कतिपय जोडीहरुले वैवाहिक जीवनलाई राम्रैसँग अगाडि बढाएका होलान त्यो आफ्नो ठाउँमा छ । तर मंसिरमा विवाहको लगन जुट्छ भन्ने धार्मिक विश्वासले गर्दा उमेर नपुगेका भाई बहिनीहरु पनि मंसिर महिनामा वैवाहिक बन्धनमा बाँधिएका घटनाहरु पनि सुन्नमा आउने गर्छन् । कतिपय जोडिहरुको केटा र केटीको मन्जुरी विना मंसिर महिनामा लगन जुट्छ भन्ने विश्वासले अभिभावकहरुले नै विवाहको कुरो अगाडि बडाएको कुरा पनि सुन्नमा आउछ । यसले के देखिन्छ भने हाम्रो संस्कारले नै हामीलाई आफ्नो इच्छानुसार विवाह गर्न बन्देज लगाएको छ भन्ने कुरा पुष्टी हुन्छ ।

विवाह भनेको एउटाले अर्कोलाई आफ्नो जीवनको अन्तिम सास रहुन्जेलसम्म साथ दिनको लागि एक हुने कुरा हो । त्यसैले विवाहलाई धन, मान, इज्यत, जात सुन्दरता लगायतका कुराहरुसँग तुलना गरेर एक हुनु भन्दा पनि एक अर्का प्रतिको मायामा बलियो विश्वासमा हुनु आवश्यक छ । विवाह आज एकसंग गरेर भोली अर्कोसँग सजिलै एक हुने कुरा होइन् । आज संसारमा धेरै जोडीहरु कोही श्रीमतीबाट अलग भएर अर्को विहे गरेको रेकर्ड छ । कोहीले श्रीमानलाई छोडेर परपुरुषसँग विवाह गरेको रेकर्ड छ । यसले सम्बन्धबाट छुटिएर अर्को सम्बन्ध गाँस्नेहरुलाई त त्यति घाटा नहोला तर उनीहरुबाट जन्मिएका नाबालकहरुलाई त पक्कै असर पर्नेगर्छ । अहिले धेरै जसो अभिभावकको सहमतीमा गरीएको विवाहहरु टुटफूट भएको देखिन्छ । धेरै जसो मागी विवाहमा अभिभावकको ज्वाई मन पर्छ तर छोरीलाई मन परेको हुँदैन । यसले गर्दा छोरी भोलीका दिनहरुमा ज्वाईँबाट अलग भएर बस्न चाहान्छे । यसले गर्दा वैवाहिक जीवनमा गाँसीएका व्यक्तिहरुमा चिसोपना आउँछ । मंसिरमा लगन जुट्छ भन्ने अन्ध विश्वासले बालबालिकाहरुलाई पनि प्रभाव पारेकोले धेरै जसो कम उमेरका युवायुवतीहरु पनि मंसिर महिनालाई नै कुरेर विवाहका लागि भाग्छन् । उनीहरुलाई थाहा छैन, हामी यदि परिपक्व र आफ्नो खुट्टामा आफै उभिने भएपछि हामीले विवाहको लागि मंसिर महिना नै कुर्नु पर्दैन भन्ने कुरा । विवाहलाई हाम्रो समाजका केही संस्कारहरुले पनि बन्देज लगाएको छ । कतिपय अभिभावकको आफ्नो छोरा छोरीलाई आफ्नै थर र आफ्नै संस्कारको केटा केटीसंग विवाह गरिदिने निदो हुन्छ । केही युवा युवतिहरुको आफ्नै थर आफ्नै संस्कारको व्यक्तिसँग विवाह गर्ने चाहाना भएपनि, केहीको त्यस्तो धारणा हुँदैन । उनीहरु आफूले मन पराएका मान्छेसँग विवाह गर्न रुचाउँछन् । यस्तो अवस्थामा अभिभावकले बल गरेर जवरजस्ती विवाह गरिदिनु पनि राम्रो पक्ष हैन । यसले पछि गएर बैवाहिक जीवनमा नराम्रो असर पर्न जान्छ । आफ्नो संस्कारमा हुर्केका व्यक्तिसँग विवाह गर्दा केही रहनसहनको कुराले त बैवाहिक जीवनलाई बलियो बनाउला तर उनीहरुसँग मनभित्र देखिको प्रेम एक अर्काप्रति गाँसीएको छैन भने पछि गएर त्यो बैवाहिक जीवनमा केही समस्या आउन सक्छ ।

विवाहलाई हल्का रुपमा सम्झेर विवाह बन्धनमा बाँधिनेहरु पछि गएर ठूलो जन्जालमा पर्छन् । यसमा वालक हुन् या परिपक्व उमेरका युुवाहरु । जीवन साथी भनेको आवश्य परेको बेला यौन प्यास मेटाउने र अरु मान्छेहरुले गरेको जस्तै सन्तान उत्पादन गर्ने मात्रै हैन । जीवनलाई सार्थक बनाउनको लागि श्रीमानले श्रीमतीलाई साथ दिनु पर्छ र श्रीमतीले श्रीमानलाई साथ दिनुपर्छ । यदि एकले अर्कालाई जीवनभरी साथ दिने अटुटलाई विर्से र वैभाहिक जीवनको जहाजलाई अगाडि बडाउने हो भने त्यो जहाज दुर्घटनामा पर्न बेर हुँदैन । सबै भन्दा पहिलो कुरा बैवाहिक जीवनमा बाँधिनको लागि आफू परिपक्व छु छैन ? आफुसँग बैबाहिक बन्धनमा बाँधिन चाहाने व्यक्तिले आफूलाई भित्र मनदेखि माया गर्छ या गर्दैन ? विवाह पछि देखा पर्ने समस्याहरुलाई दुवै जना मिलेर सुल्झाउन सकिन्छ सकिदैन ? बैवाहिक बन्धनमा बाँधिन चाहेको आफ्नो प्रीय साथीले आफ्नो जीवनको एक मुठि सास रहुन्जेलसम्म आफूलाई साथ दिन्छ या दिँदैन भन्ने कुरालाई केन्द्रविन्दु मानेर बैवाहिक जीवनमा बाँधिनु उपयुक्त होला । यसको लागि कुनै पनि जोडीले मंसिर महिना नै कुर्न पर्दैन । अथवा कुनै तिथी मिती कुर्न पर्दैन । जीवनको अन्तिम घढीसम्म संगै बाच्ने अटुट विश्वास भए पुग्छ । लेखक जिज्ञासु बोलावट मासिकका सम्पादक हुन ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto