आहा सञ्चार संबाददाता
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रुकुम पश्चिममा कर्मचारी अभाव हुँदा चालु आर्थिक वर्षको बजेट तथा योजना कार्यान्वयनमा समस्या देखिएको छ । रुकुम पश्चिम सहित सल्यान, जाजरकोट र डोल्पा जिल्ला समेत हेर्ने यस कार्यालयमा दरबन्दी अनुसार कर्मचारी नहुँदा चालु योजनाहरुको सम्झौता समेत हुन सकेको छैन ।
संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त करिब २५ करोड बजेट र दुईसय बढि योजनाहरु रहेको यस कार्यालयमा प्राविधिक कर्मचारी अपुग हुँदा काम प्रभावित भएको हो । एउटा जिल्लामात्र हेर्ने साविकको कार्यालयभन्दा अहिले दरबन्दी समेत कम भएको र चार जिल्ला हेर्नुपर्ने थप जिम्मेवारी हुँदा समस्या भएको डिभिजन प्रमुख जगरनाथ दासले बताए । ‘भूगोल, योजना र बजेट अनुसार दरबन्दी नै कम छ ।’ उनले भने, ‘भएको दरबन्दी अनुसार पनि कर्मचारी पुर्ति नहुँदा समस्या झन बढेको छ ।’ चारजना इन्जिनियरको दरबन्दीमा दुईजना, चारजना नायब सुब्बा सरहको खानेपानी तथा सरसफाई टेक्निसियनमा दुईजना र खरिदार सरहको टेक्निसियनमा दुईजनाको पद रिक्त रहेको उनले जानकारी दिए । भएका प्राविधिक कर्मचारीहरु पनि अन्य जिल्ला पठाउनुपरेकोले उपभोक्ताहरु सम्झौता गर्न आउँदा सम्झौता कागज तयार गर्ने कर्मचारी समेत नभएको उनको भनाई छ । आर्थिक वर्ष सकिन करिब दुईमहिना मात्र बाँकी रहँदा दुईसय योजनामा ३५ योजनाहरुको मात्र सम्झौता भएको कार्यालयले जनाएको छ ।
अन्य जिल्लामा रहेका सम्पर्क एकाईमा समेत प्रर्याप्त कर्मचारी पठाउन नसकेकोले उपभोक्ताको गुनासो आउने गरेको छ । कर्मचारी पठाएमा सम्बन्धित जिल्लामै सम्झौताको काम हुने भएपनि भुक्तानी लिन सबै जिल्लाबाट मुसिकोटमा रहेको डिभिजन कार्यालय रुकुम पश्चिम आउनुपर्ने बाध्यता रहेको उपभोक्ताको दुःखेसो रहेको छ । जाजरकोटको नलगाड नगरपालिका –८ स्थित काफलधारा खानेपानी योजनाका उपभोक्ता सरिता सिंहले आफू भुक्तानी लिन आएको दुईदिन भएपनि काम गर्ने कर्मचारी नहुँदा त्यत्तिकै बस्नुपरेको बताईन । पहिले सम्झौता गर्नै समस्या र काम गरेपछि भुक्तानी लिनेबेला समेत झन्झट व्यहोर्नुपरेको उनको भनाई छ ।
फेसबुक प्रतिक्रियाहरु