बाहिरबाट हँसिलो, खुसी र सक्रिय देखिने व्यक्ति भित्रभित्रै गहिरो मानसिक तनाव र निराशासँग जुधिरहेको हुन सक्छ। यस्तो अवस्थालाई सामान्यतया ‘स्माइलिङ डिप्रेसन’ भनिन्छ। यो छुट्टै आधिकारिक मानसिक रोगको निदान नभए पनि डिप्रेसनका लक्षण लुकाएर सामान्य जीवन बिताइरहेका व्यक्तिको अवस्था बुझाउन यो शब्द प्रयोग गरिन्छ।

 

केम्ब्रिज विश्वविद्यालयकी मानसिक स्वास्थ्य अनुसन्धानकर्ता डा. ओलिभिया रेमेसका अनुसार बाहिर खुसी देखिए पनि भित्रभित्रै निराश र उदास महसुस गर्नु यसको मुख्य विशेषता हो। यस्तो समस्या भएका व्यक्ति काममा उत्कृष्ट हुन सक्छन्, सामाजिक गतिविधिमा सहभागी हुन सक्छन् र अरूसँग हाँसिखुसी व्यवहार गर्न सक्छन्। तर उनीहरूभित्र गहिरो दुःख, शून्यता र निराशा लुकेको हुन सक्छ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार डिप्रेसनले विश्वभर करोडौँ मानिसलाई प्रभावित पारेको छ। डिप्रेसन भएका सबै व्यक्ति एउटै प्रकारको व्यवहार देखाउँदैनन्। कतिपयले आफ्ना भावना लुकाएर सामान्य देखिने प्रयास गर्छन्। यसलाई ‘मास्किङ’ वा ‘क्यामफ्लाजिङ’ भनिन्छ।

मानिसले किन लुकाउँछन् डिप्रेसन ?

आफू कमजोर देखिने डर, अरूलाई बोझ बन्ने चिन्ता, सामाजिक तथा पारिवारिक अपेक्षा र काम वा सम्बन्धमा नकारात्मक असर पर्ने डरले मानिसहरूले मानसिक समस्या लुकाउन सक्छन्। पूर्णतावादी स्वभाव भएका व्यक्तिले आफूले सबै कुरा राम्रोसँग गर्नुपर्छ भन्ने अपेक्षाका कारण पनि आफ्नो पीडा व्यक्त नगर्न सक्छन्। कतिपयलाई आफू डिप्रेसनमा रहेको जानकारीसमेत हुँदैन।

डिप्रेसनका सात लुकेका सङ्केत

1. रुचि र आनन्द हराउनु: साथीभाइसँग भेटघाट गर्ने, मनपर्ने कार्यक्रम हेर्ने वा व्यायाम गर्नेजस्ता गतिविधि बोझ लाग्नु।

2. हातखुट्टा भारी हुनु: सामान्य दैनिक काम गर्नसमेत असामान्य रूपमा धेरै प्रयास गर्नुपर्ने महसुस हुनु।

3. योजना बारम्बार रद्द गर्नु: अरूका अगाडि सामान्य देखिए पनि एक्लै हुँदा मनस्थिति खस्किएर भेटघाटबाट टाढिनु।

4. धेरै सुत्दा पनि थकान हुनु: पर्याप्त निद्रापछि पनि शारीरिक तथा मानसिक रूपमा थकित र शिथिल महसुस हुनु।

5. आलोचना वा अस्वीकृतिप्रति संवेदनशील हुनु: सामान्य टिप्पणी वा कसैले योजना रद्द गर्दा पनि अत्यधिक दुःख लाग्नु।

6. सधैँ रमाइलो वा सहयोगी देखिनु: आफ्ना समस्या लुकाउन अत्यधिक सामाजिक बन्नु, काममा डुब्नु वा अरूलाई सहयोग गर्न आफ्नै सीमाभन्दा बढी प्रयास गर्नु।

7. नकारात्मक सोच बढ्नु: आफूलाई मूल्यहीन ठान्नु, आत्मविश्वास गुमाउनु र निरन्तर आत्मआलोचना गर्नु।

कसरी सहयोग लिने ?

डिप्रेसनका लक्षण लामो समयसम्म बेवास्ता गर्दा समस्या गम्भीर बन्न सक्छ र आत्महत्याको जोखिमसमेत बढ्न सक्छ। त्यसैले बाहिरबाट सामान्य देखिएकै आधारमा कसैको मानसिक अवस्था राम्रो छ भनेर निष्कर्ष निकाल्नु हुँदैन।

मानसिक स्वास्थ्यसम्बन्धी समस्या अनुभव गरिरहेका व्यक्तिले विश्वासिलो साथी, परिवारका सदस्य वा स्वास्थ्यकर्मीसँग आफ्ना भावना साझा गर्नु उपयोगी हुन्छ। आवश्यकताअनुसार मनोपरामर्श, औषधि तथा सामाजिक सहयोग प्रभावकारी हुन सक्छन्।

मुख्य कुरा, मुस्कुराइरहेको व्यक्तिभित्र पनि गहिरो पीडा लुकेको हुन सक्छ। त्यसैले अरूको व्यवहार मात्र होइन, उनीहरूको भावना बुझ्ने प्रयास गरौँ। समस्या लुकाउन बाध्य पार्ने होइन, खुलेर बोल्न सक्ने वातावरण बनाउनु मानसिक स्वास्थ्यप्रतिको हाम्रो साझा जिम्मेवारी हो। बिबिसी नेपाली सेवाको सहयोगमा ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस...