भीम बुढाथोकी

रोल्पा जिल्लाको उत्तरपूर्वी सीमाक्षेत्रमा अवस्थित सुनछहरी गाउँपालिका प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक सौन्दर्यको अनुपम खानी हो। यसै गाउँपालिकाको वडा नम्बर १ (साविकको सेरम गाविस) अन्तर्गत पर्ने घुस्बाङ लेक क्षेत्रमा रहेको किलाचन दह (जसलाई तिलाचन दह पनि भनिन्छ) र त्यहाँ अवस्थित वराह मन्दिरले यस क्षेत्रको पहिचानलाई अझ रहस्यमय र गौरवशाली बनाएको छ। यो क्षेत्र केवल एउटा भौगोलिक बिन्दु मात्र होइनकी यसले बोकेको नामकरणको पृष्ठभूमि, उत्पत्तिको रोमाञ्चक रहस्य र धार्मिक महिमाले जो कोहीलाई पनि अचम्मित पार्छ।

सुनछहरी नाम रहन गएको इतिहास पनि यसैको प्रकृतिसँग गहिरो रूपमा जोडिएको छ। यस गाउँपालिकाको मध्यभागबाट बग्ने र खस्ने प्रख्यात सुनछहरी झरनाको नामबाट नै यस समग्र गाउँपालिकाको नामकरण गरिएको हो। करिब १२५ मिटरभन्दा बढी उचाइबाट कडा चट्टानमा ठोक्किएर कलकल बग्ने यो झरनाको मुहान मानव बस्तीभन्दा टाढा पूर्ण रूपमा कञ्चन छ। स्थानीय जनविश्वास र जनश्रुति अनुसार यो झरना खस्ने स्थान वरपर सुनका कण वा खानी रहेको मानिन्छ।जसको पानी र छालसँगै बगेर लुङ्ग्री वा सुवर्णवती नदीमा सुनका अंश भेटिने गरेको जनविश्वास छ। यही सुवर्णमय पानीको छहरा र प्रकृतिको सुनौलो रूपका कारण यस क्षेत्रको नाम सुनछहरी रहन गएको हो।

सुनछहरीकै काखमा रहेको घुस्बाङको किलाचन वा तिलाचन दह र वराह मन्दिरको उत्पत्तिबारे जोडिएको रहस्य निकै रोचक छ। विसं १९८० को दशकको आसपासमा हाल दह रहेको यो समथर लेक क्षेत्रमा स्थानीय बासिन्दाहरूले गोठ राखेर भेडाबाख्रा चराउने गर्दथे। एक दिन जेठ महिनाको साँझतिर घुस्बाङका मतसिंह घर्तीमगर र अमर बुढाथोकी क्षेत्री आफ्ना भेडा बथानसँगै सोही स्थानमा बास बसिरहेका थिए। राति सुतिरहेको बेला मतसिंह घर्तीमगरको सपनामा एक अलौकिक तथा अदृश्य शक्ति प्रकट भयो र चेतावनीपूर्ण वाणीसहित भन्यो, “अब यो ठाउँ छोडेर अन्यत्र जानू, हामी यो ठाउँमा आउदैछौ।” बिहान उठेपछि उनले आफ्ना साथीलाई यो सपनाको कुरा सुनाए तर साथी अमरले त्यसलाई सामान्य कुरा ठानेर खासै विश्वास गरेनन्। तर दिउसोको समयमा अचानक मौसममा भीषण फेरबदल आयो।उज्यालोामै भयानक चट्याङसहित असिनापानी र हुरीबतास चल्न थाल्यो। त्यो प्रलयकारी चट्याङको प्रहारबाट गोठमा रहेका अधिकांश भेडाहरू त्यही मर्न पुगे। मरेका भेडाहरू निकालेर व्यवस्थापन गर्ने क्रममा जमिनमा एक्कासी पानीको मूल फुट्न थाल्यो र थोरै समयमै त्यसले एउटा ठूलो दहको रूप लियो। प्रकृतिको यो अदभुत र रहस्यमय लीलापछि स्थानीयहरूले यसलाई साधारण ठाउँ नभई दैवी शक्ति भएको पवित्र स्थलको रूपमा मानेर वराह देवताको बासस्थानका रूपमा पुज्न थाले।

यस दहको नामकरणसँग जोडिएको अर्को एउटा ऐतिहासिक तथा भाषिक रहस्य पनि उत्तिकै प्रचलित छ। परापूर्वकालमा गाउँघरमा कोही मानिसको मृत्यु भएमा उसको आत्मा वा शवलाई स्वर्ग जाने बाटोको रूपमा यसै उच्च लेक क्षेत्रलाई मान्ने चलन थियो। त्यसबेला गोठाला जाँदा वा यात्रा गर्दा मानिसहरूले त्यस ठाउँमा मरेका आफन्त वा पितृहरूको सम्झनामा विशेष भेटी वा चिनो चढाउने गर्दथे। स्थानीय मगर खाम भाषामा ‘भेटी’ लाई ‘किला’ भनिन्छ भने ‘चढाउने वा राख्ने काम’ लाई ‘चन’ भनिन्छ। यही खाम भाषाका शब्दहरूको बाट मरेका व्यक्तिको स्मृतिमा किला (भेटी) चन (चढाउने) ठाउँको अर्थमा यसलाई ‘किलाचन’ भनिन थालियो।जुन पछि रूपान्तरण हुदै ‘तिलाचन’ समेत भन्न थालियो। मन्दिर परिसरमा उपलब्ध अभिलेख अनुसार यहाँ विसं १९९१ मा पूजाको स्थापना गरिएको र विसं १९९९ मा यो दहको भौतिक स्वरूप तथा मन्दिरको थप ऐतिहासिक पाटो स्थापित भएको पाइन्छ। यहाँ साउन पुर्णिमाको दिन रोल्पा र बागलुङका स्थानीय बासिन्दा तथा क्षेत्री-मगर समुदायले वर्षेनी आलोपालो रूपमा विशेष पूजाआजा गर्दै आएका छन्।

धार्मिक र ऐतिहासिक दृष्टिले अत्यन्तै महत्त्वपूर्ण मानिने यो किलाचन दहले नेपालको सांस्कृतिक विविधता र प्रकृतिको गहिरो सम्बन्धलाई दर्शाउछ। चारैतिरबाट लेकाली जङ्गल, जडीबुटी, बुकीफूल र धवलागिरी माछापुच्छ्रे लगायतका हिमशृङ्खलाहरूको मनमोहक दृश्यले घेरिएको यो ठाउँ आन्तरिक तथा बाह्य पर्यटनका लागि एक अद्भूत गन्तव्य हो। यस दहमा निष्ठापूर्वक पूजाआजा गर्नाले मनोकांक्षा पूरा हुने र प्राकृतिक प्रकोपबाट सुरक्षित भइने जनविश्वास यस क्षेत्रमा गहिरो रूपमा बसेको छ। ओझेलमा परेको यस ऐतिहासिक धरोहरको राज्यको तर्फबाट उचित संरक्षण, पदमार्ग निर्माण र प्रचारप्रसार हुन सकेमा सुनछहरीको यो रहस्यमय भूमिले रोल्पा जिल्लाको मात्र नभई लुम्बिनी प्रदेशकै धार्मिक पर्यटनमा एक नयाँ स्वर्णिम अध्याय थप्ने निश्चित छ

फेसबुकमा प्रतिक्रिया दिनुहोस...