‘माओवादी आन्दोलनमा लागेको भए मेरो धेरै व्यक्तित्व विकास हुन्थ्यो, कांग्रेसले मेरो खोजी नै गरेन’

नेपाली कांग्रेसका नेता, पूर्वकेन्द्रीय सदस्य तथा रुकुम पश्चिमका पूर्वजिल्ला सभापति मानबहादुर नेपालीले पार्टीभित्र आफूलाई ओझेलमा पारिएको भन्दै गम्भीर असन्तुष्टि व्यक्त गर्नुभएको छ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा दलिततर्फबाट सहमहामन्त्री पदमा चुनाव लडेर पराजित हुनुभएका नेता नेपालीले ग्लोबल टिभीको एक ताजा अन्तरवार्तामा क्रममा आफ्नो राजनीतिक पृष्ठभूमि, नेतृत्व क्षमता र पार्टीप्रतिको पछुतोबारे धारणा सार्वजनिक गर्नुभएको हो ।

अन्तरवार्ताका क्रममा नेता नेपालीले आफू बुबाको आग्रह र प्रभावका कारण मात्र नेपाली कांग्रेसको राजनीतिमा प्रवेश गरेको बताउनुभएको छ । उहाँका अनुसार बुबा पहिले पञ्चायतसँग सम्बन्धित हुनुभएको र पछि कांग्रेसमा लागेकाले आफू पनि सोही पार्टीमा जोडिन पुगेको तत्कालीन समयको स्मरण गर्दै उहाँले यदि सो बेला आफू माओवादी आन्दोलनमा लागेको भए आफ्नो व्यक्तित्व अझ धेरै विकास गर्न सकिने रहेछ भन्ने पछुतो अहिले लागेको स्वीकार गर्नुभएको छ ।

वि.सं. २०६४ देखि कांग्रेसभित्र अवसर नपाउँदा माओवादीका साथीहरूले निरन्तर सम्पर्क गरे पनि आफू माओवादीमा नभएको उहाँको भनाइ छ । माओवादी सहकर्मीहरूसँगको संवाद उल्लेख गर्दै उहाँले संघर्ष र पसिना नबगाईकनै अर्को पार्टीबाट अवसर लिन आउनु राजनीतिमा न्यायोचित नहुने अडान लिएको बताउदै तपाईको पार्टीमै धेरै अवसर नपाएका नेताहरु भएका कारण बरु उहाँहरुलाई समेट्न अनुरोध गरेको उहाँको भनाई छ । आफू रुकुम पश्चिमको जिल्ला सभापति हुँदा नेकपा (एमाले) र नेकपा (माओवादी) का नेताहरूभन्दा एक इन्च पनि कमजोर साबित नभएको दाबी उहाँले गर्नुभएको छ । जिल्लामा अन्य प्रमुख दलका नेतृत्वसरह प्रभावकारी भूमिका निर्वाह गरे तापनि नेपाली कांग्रेसले आफ्नो कहिल्यै उचित मूल्याङ्कन र खोजी नगरेको भन्दै उहाँले दुःख व्यक्त गर्नुभयो ।

टिभिको अन्तरवार्ताका क्रममा यस प्रसंगमा उहाँले ब्यक्त गरेका कुरा जस्ताको तस्तै पढ्नुहोस ।
मलाई एउटा आज पछुतो चाहिँ के छ भने त्यतिबेला मेरो बाउ पञ्चायतसँग अलिकति सम्बन्धित भएको हुनाले म कांग्रेस भएको हो ।
मलाई लाग्छ त्यतिबेला म माओवादी मुभमेन्टमा गएको भए म मेरो व्यक्तित्व मैले धेरै विकास गरेर लैजान सक्थे ।
म त जसले मेरो बाउले त्यतिखेर कांग्रेस तिर लाग भनेर म लागेको मान्छे हो । मलाई बिचमा माओवादीका धेरै साथीहरुले मैले अवसर नपाउदा नपाउदा सम्पर्कमा आउनुहुन्थ्यो ६४ देखि अनि मैले उहाहरुलाई भनिराछु तपाई त्यत्रो लड्नुभयो संघर्ष गर्नुभयो ।
पसिना नबगाएर पनि तपाईसँग म अवसर लिन आउछु ? त्यस्तो कुरा हुदैन नि राजनीतिमा तपाईहरुको यत्रो साथीहरु सेटल भा छैनन् । म त अप्सनको लागि राजनीतिमा लागेको मान्छे होइन ।
मैले त एउटा कुरा नारायण सर मैले दावाका साथ भन्छु, म सभापति हुदा एमाले र माओवादीमा भएका नेताको भन्दा मान बहादुर नेपाली एक इन्च पनि कमजोर सभापति ल्यायो भन्ने कुराको फिलिङ मैले गराएको होइन ।
तर मेरो खोजी भएन यो पार्टीमा, कहिलै खोजेन यो पार्टीले ।

भिडियोमा हेर्नुहोस ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस...