श्रीनगर एग्रीटेक इण्डष्ट्रिजको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो । कम्पनीले गत असोज २६ गतेदेखि २९ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २५ लाख १० हजार ४९३ कित्ता आईपीओ निष्काशन गरेको थियो ।

सो आईपीओमा १८ लाख ९८ हजार ३३३ जनाले २ करोड ५ लाख ६८ हजार २१० कित्ताका लागि आवेदन दिएका थिए। जसमध्ये १८ लाख ६९ हजार ३३० आवेदन स्वीकृत भएको छ भने २६ हजार ६३६ आवेदन रद्द भएको छ । मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ । यस अनुसार २ लाख ५१ हजार ४९ जनाले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन् ।

यसरी बाँडफाँट गर्दा शेष रहेको ३ कित्ता शेयर सोही लगानीकर्ताहरुमाझ वितरण गरिएको छ । जसअनुसार ३ जना आवेदकले थप एक कित्ता अर्थात कुल ११ कित्ताका दरले शेयर प्राप्त गरेका छन्।

फेसबुकमा प्रतिक्रिया दिनुहोस...