एक्काइसौ शताब्दीको विश्वमा शिक्षाको परिभाषा केवल अक्षर ज्ञान र कक्षाकोठाको अनुशासनमा सीमित छैन। आजको शिक्षाले विद्यार्थीलाई जीवनोपयोगी सीप, मानसिक सन्तुलन र सिर्जनात्मक सोच प्रदान गर्नुपर्छ। नेपाल जस्तो विकासोन्मुख मुलुकका लागि जनशक्ति नै सबैभन्दा ठुलो पूँजी हो। तर लामो समयदेखि हाम्रो शिक्षा प्रणाली केवल ‘घोकन्ते विद्या’ र हप्ताको छ दिनसम्म विद्यालयको चार पर्खालभित्र बाँधिने परम्परामा अल्झिएको छ। यसै सन्दर्भमा सरकारले विद्यालय तहमा शनिबार र आइतबार गरी दुई दिने बिदा दिने अभ्यासको बहस र प्रयोग सुरु गरेको छ। यो कदमलाई केवल बिदाको संख्या थपिएको रूपमा मात्र नहेरी यसलाई विद्यार्थीको सर्वाङ्गिण विकास र राष्ट्रिय समृद्धिको एक रणनीतिक आधारको रूपमा बुझ्नु आवश्यक छ।

वैश्विक अभ्यास र व्यावहारिक सिकाइको पाठ:

विश्वका विकसित र समृद्ध मुलुकहरू जस्तै– फिनल्यान्ड, नर्वे, जापान र क्यानडाको शैक्षिक इतिहासलाई हेर्ने हो भने त्यहाँ विद्यार्थीलाई दिइने ‘खाली समय’ (Leisure Time) लाई अत्यन्त महत्त्व दिइन्छ। फिनल्यान्ड, जसको शिक्षा प्रणाली विश्वमै उत्कृष्ट मानिन्छ।त्यहाँ विद्यालयका घण्टाहरू कम छन् र बिदाका दिनहरू बढी छन्। उनीहरूको स्पष्ट मान्यता छकी “कम पढाइ, बढी सिकाइ”  वास्तविक सिकाई हो । दुई दिने बिदाको समयमा त्यहाँका विद्यार्थीहरू कुनै दबाब बिना प्रकृतिसँग घुलमिल हुन्छन्, खेलकुदमा रमाउँछन् र आफ्ना अभिभावकसँग व्यावहारिक काममा सहभागी हुन्छन्।

त्यसैगरी जापानमा ‘हप्ताको दुई दिन बिदा’ को अवधारणाले विद्यार्थीहरूलाई सामाजिकीकरण र सामुदायिक सेवामा लाग्न प्रेरित गर्छ। यसले उनीहरूमा अनुशासन, सामूहिक भावना र श्रमको सम्मान गर्ने संस्कार बसाल्छ। जब एक युवाले विद्यालय बाहिरको संसारलाई नजिकबाट चिन्ने मौका पाउँछ तव उसमा समस्या समाधान गर्ने क्षमता (Problem-solving skills) को विकास हुन्छ। यही व्यवहारिक ज्ञान नै ती देशहरूको आर्थिक र सामाजिक संवृद्धिको मुख्य कडी हो।

नेपालको सन्दर्भ: युवा जनशक्ति र सिर्जनात्मकता;

नेपालमा दुई दिने बिदाले विशेष गरी विद्यार्थी र युवा जनशक्तिमा एउटा नयाँ उर्जा भर्ने निश्चित छ। हप्ताको छ दिनसम्म निरन्तर विद्यालय जाँदा विद्यार्थीहरूमा आउने मानसिक थकान (Academic Burnout) ले उनीहरूको सिर्जनात्मक क्षमतालाई भुत्ते बनाइरहेको हुन्छ। आइतबारको बिदाले उनीहरूलाई ‘रिचार्ज’ हुने मौका दिन्छ।

यो अतिरिक्त बिदाको समयलाई यदि व्यवहारिक शिक्षासँग जोड्ने हो भने नेपालका विद्यार्थीहरूले निम्न फाइदाहरू लिन सक्छन्:

१) स्व-अध्ययन र अनुसन्धान: विद्यार्थीले आफ्नो रुचि अनुसारको विषय जस्तै चित्रकला, संगीत, प्रविधि वा लेखनमा समय खर्चिन पाउँछन्।

२)सीपमूलक तालिम: युवाहरूले यो समयमा छोटो अवधिका प्राविधिक सीपहरू सिक्न सक्छन् जसले उनीहरूलाई विद्यालय तह पार गर्दा नै आत्मनिर्भर बन्न सहयोग गर्छ।

३)पारिवारिक र सामाजिक सामीप्यता:

हाम्रा संस्कार, संस्कृति र कृषि कार्यमा सहभागी हुँदा विद्यार्थीले आफ्नो माटो र पहिचानलाई बुझ्ने अवसर पाउँछन्।

४)आर्थिक समृद्धिको ढोका:

आर्थिक  संवृद्धि र पर्यटनमा गरिए को लगानीको प्रभावले शिक्षामा गरिएको यो परिवर्तनले अप्रत्यक्ष रूपमा देशको अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पार्छ। दुई दिने बिदाको संस्कृतिले आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्छ। जब विद्यार्थी र अभिभावक सँगै घुम्न निस्कन्छन् तव यसले स्थानीय बजार, यातायात र पर्यटन क्षेत्रमा चहलपहल बढाउँछ। समृद्धिको यात्रा भनेको केवल कलकारखाना खोल्नु मात्र होइनकी बरु नागरिकको जीवनस्तर उकास्ने र पैसाको परिचालन बढाउने वातावरण सिर्जना गर्नु पनि हो।

यसका साथै दुई दिने बिदाले इन्धनको खपत कम गर्ने र विद्यालयको सञ्चालन खर्चमा कटौती गर्ने जस्ता वातावरणीय र आर्थिक लाभहरू पनि प्रदान गर्छ,जुन नेपालजस्तो मुलुकका लागि सान्दर्भिक छ। नेपालको समृद्धि तब मात्र सम्भव छ जब यहाँको शैक्षिक प्रणालीले प्रमाणपत्र मात्र बोकेका बेरोजगार होइनकी बरु सीप र सोच बोकेका उद्यमशील नागरिक उत्पादन गर्छ। शनिबार र आइतबारको बिदाले विद्यार्थीलाई पुस्तकको भारीबाट मुक्त गरी समाज र जीवनको खुला किताब पढ्ने अवसर दिन्छ। यो परिवर्तनलाई विद्यालय, अभिभावक र सरकारले सही ढङ्गले व्यवस्थापन गर्न सकेमा नेपालको युवा जनशक्ति विश्व बजारमा प्रतिस्पर्धी र स्वदेशमै स्वरोजगार बन्न सक्षम हुनेछ। अतः दुई दिने बिदा केवल आरामको समय होइनकी यो समृद्ध नेपाल निर्माणका लागि ऊर्जा सञ्चय गर्ने र व्यावहारिक सीप निखार्ने एउटा उर्वर अवसर हो ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस...