मध्यपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस मुसिकोट खलंगा बहुमुखी क्याम्पस रुकुम पश्चिमद्वारा आयोजित बहुविषयक राष्ट्रिय सम्मेलन शुक्रबार एक औपचारिक समारोहका बीच मुसिकोटमा भब्य रुपमा समुद्घाटन गरिएको छ । कर्णालीमा शैक्षिक गुणस्तर र समावेशी शिक्षा : उच्च शिक्षण संस्थाको भूमिका” भन्ने मूल नाराका साथ आयोजना गरिएको दुईदिने राष्ट्रिय सम्मेलनको मध्यपश्चिम विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा. डा. नारायण प्रसाद पौडेलले भर्चुअल रुपमा समुद्घाटन गर्नुभएको हो ।
समुद्घाटन समारोहलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै उपकुलपति प्रा. डा. पौडेलले उच्च शिक्षालाई समाज रूपान्तरण, अनुसन्धान प्रवर्द्धन र राष्ट्रिय विकाससँग जोड्न आवश्यक रहेको बताउनुभयो। उहाँले कर्णाली जस्तो प्रचुर सम्भावना बोकेको क्षेत्रको विकासका लागि विश्वविद्यालय, अनुसन्धानकर्ता र स्थानीय समुदायबीच सहकार्य अपरिहार्य रहेको धारणा राख्नुभयो । उपकुलपति प्रा. डा. पौडेलले विश्वविद्यालय केवल प्रमाणपत्र वितरण गर्ने संस्था मात्र नभै समाजमा व्याप्त समस्या समाधान गर्ने अनुशासन, निष्ठा, ज्ञानले भरिपूर्ण नवप्रवर्तनको केन्द्र बन्नुपर्नेमा जोड दिनुभयो । मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत आङ्गिक क्याम्पसको इतिहासमा पहिलोपटक राष्ट्रिय सम्मेलन आयोजना गरी विश्वविद्यालयको गरिमा बढाएकोमा रुकुम पश्चिम स्थित मुसिकोट क्याम्पसको सराहाना गर्दै उपकुलपति पौडेलले जारी सम्मेलन बौद्धिक बहस सिर्जना गर्न कोशेढुंगा सावित हुने बताउनुभयो । उहाँले विपन्न वर्ग, समुदायलाई कसरी उच्च शिक्षाको मूल प्रवाहीकरण गर्न सकिन्छ भन्नेमा बहस केन्द्रित हुने अपेक्षा राख्दै संस्कृति आदानप्रदान, अनुसन्धानमुखी शिक्षा, प्रविधिमैत्री सिकाइ तथा स्थानीय आवश्यकतामा आधारित अध्ययन, अनुसन्धानलाई आगामी दिनमा प्राथमिकतामा राखिने स्पष्ट पार्नुभयो ।
कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत ग्र्याजुएट स्कूल अफ साइन्स एण्ड टेक्नोलोजीका डीन सहप्रा. डा. दिपकराज अधिकारी, कर्णाली प्रदेश सरकारका पूर्व सचिव समेत रहेका पूर्व विद्यार्थी समाज मुसिकोट क्याम्पसका अध्यक्ष भरतकुमार शर्मा लगायतले कर्णाली क्षेत्रको शैक्षिक अवस्था, अनुसन्धानको आवश्यकता, समावेशी विकास र स्थानीय सम्भावनाको उपयोगबारे आ-आफ्ना धारणा राख्नुभएको थियो । उपप्रा. हर्कबहादुर ओलीको स्वागत मन्तव्यबाट सुरु भएको सम्मेलन उद्घाटन समारोहको अध्यक्षता क्याम्पस प्रमुख डम्बरबहादुर खड्का र संचालन पूर्व क्याम्पस प्रमुख मुकुन्द प्रसाद शर्माले गर्नुभएको थियो । सम्मेलनमा शिक्षा तथा शिक्षण पद्धतिगत नवप्रवर्तन, व्यवस्थापन, उद्यमशीलता, आर्थिक विकास, मानविकी तथा सामाजिक विज्ञान एवम् सूचना प्रविधि सम्बन्धी विषयमा विभिन्न प्रस्तोताद्वारा अनुसन्धान पत्र प्रस्तुत गरिने सम्मेलन आयोजक समितिका संयोजक एवम् पूर्व क्याम्पस प्रमुख बुद्धिप्रसाद गौतमले जानकारी दिनुभयो ।
उद्घाटन सत्र पश्चात् उच्च शिक्षाको चुनौती र समाधानबारे प्यानल छलफलमा गोपीराम केसी, मुकुन्दप्रसाद पोखरेल, कमप्रसाद देवकोटा र शिवप्रसाद ओलीले धारणा राख्नुभएको थियो भने मूल वक्ताका रुपमा मध्यपश्चिम विश्वविद्यालयका सहप्रा. डा. दिपकराज अधिकारी र खुला विश्वविद्यालयका डा. जीवन खनालले प्रस्तुतीकरण गर्नुभएको थियो । यसैगरी प्राविधिक सेसनमा मुख्य दुई ट्र्याक अन्तर्गत रही दर्जनौं अध्येताहरुले पेपर प्रस्तुती गरेका छन् । उद्घाटनका सन्दर्भमा विभिन्न कलाकर्मीहरुले सांस्कृतिक प्रस्तुति गरेका थिए । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका अध्यक्ष गणेश केसीको नेतृत्वमा पन्चेबाजा र मयुर नाचका कलाकार टीमले क्याम्पस प्राङ्गनमा सांस्कृतिक झाँकी प्रस्तुत गरेका थिए । विश्वविद्यालय अनुदान आयोगको सहयोग र विभिन्न स्थानीय सरकार तथा शैक्षिक संस्थाको सहकार्यमा सञ्चालन भइरहेको सम्मेलनमा देशभरका अनुसन्धानकर्ता तथा विभिन्न क्षेत्रका विज्ञहरूको भौतिक एवम् भर्चुअल रुपमा सहभागिता रहेको छ । सम्मेलनले कर्णाली क्षेत्रको प्राज्ञिक बहसलाई राष्ट्रिय स्तरमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्याउने सम्मेलनको प्रस्तुती शत्रका सहजकर्ता समेत रहेका मध्यपश्चिम विश्वविद्यालयका सूचना अधिकारी शेरबहादुर केसीले बताउनुभयो ।


