ग्लोवल मनी वीक २०२६ को अवसरमा स्मार्ट मनी टक भन्ने नारासहित श्री जनकल्याण माध्यमिक विद्यालय मुसिकोट नगरपालिका–१२, काँशपोखरीको स्कुलमा वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
व्यक्तिले आफ्नो आम्दानी, खर्च, बचत, ऋण, बीमा, लगानी, र आर्थिक योजना जस्ता विषयहरूबारे जानकारी यस कार्यक्रम मार्फत दिईएको छ । त्यस्तै व्यक्तिलाई सचेत र जिम्मेवार आर्थिक व्यवहार अपनाउन प्रेरित गर्दै अनावश्यक खर्च घटाउने र भविष्यका लागि योजना बनाउने बानी विकास गर्न सघाउ पुर्याउन कार्यक्रमको आयोजना गरिएको हो । यस्ता कार्यक्रममार्फत युवा पुस्ता आर्थिक रूपमा आत्मनिर्भर बन्ने तथा सही वित्तीय निर्णय लिन सक्षम हुने आयोजकको भनाई छ । डिजिटल युगमा बढ्दो अनलाइन ठगीलाई मध्यनजर गर्दै डिजिटल बैंकिङ, मोबाइल वालेट र साइबर सुरक्षा सम्बन्धि कार्यक्रममा सहभागी श्री इन्भेष्टमेन्ट एण्ड फाईनान्स कम्पनीका प्रमुख मुख्य प्रशिक्षक अभरण कुमार यादवले जानकारी गराउनुभयो ।
सहभागीहरूले यस्ता कार्यक्रमले वित्तीय ज्ञान अभिवृद्धि गर्न र दीर्घकालीन आर्थिक निर्णयमा सचेत बन्न सहयोग पु¥याउने बताएका छन् । आयोजकले यस प्रकारका पहलले भविष्यमा आर्थिक रूपमा सक्षम नागरिक तयार पार्न महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

