एक्कबहादुर केसी
भाग १ । झगडा बिमेल, मनमुटाव, अर्थात आपसी फाटो पार्ने खासमा मुख्य दुई कुरा हुने गर्दछन । एउटा स्वास्नी मान्छेका कारणले र अर्को श्रीसम्पतीका कारणले । रामायण महाभारत जस्ता काण्डहरु देउताको पालामा भएको ज्वलन्त उदाहरण मान्न सकिन्छ ।
यो नाटकमा राजनीतिको रंग भेट्न सकिन्न, फगत मान्छेका समाजमा हुने व्यवहारिक घटनाहरु छताछुल्ल रहेको पाउन सकिन्छ । त्यसैले यो कहानीमय नाटकको मौलितकता भन्नु व्यवहारिक जीन्दगीको झलक दिने खाले रहेको छ ।
र लाग्दछ यर्थातपरक, त्यति हुँदा हुदै पनि यो नितान्त कथ्यमा आधारित हो र यहाँ समेटिएका सबैखाले परिघटनाहरु र पात्रहरु कपोलकल्पित मात्र हुन् । कोहि कसैको व्यक्तिगत घटनासित मेल खाने वा नामनामेसी मिल्न गएछ भने पनि त्यसलाई संयोगमात्र सम्झिनु पर्नेछ । साथै यो नाटकलाई रुकुम पश्चिमको मुसीकोट खलंगाबाट प्रकाशित हुने राष्ट्रिय साप्ताहिक पत्रिका ‘आहा सञ्चार’ मा हरेक हप्ताको पहिलो र अन्तिम अंकमा धाराबाहिक भएर आउनेछ । कहानीमय यस नाटकमा सम्बाद भन्दा भूमिका लेखकले बढी भावनाका तरंगतरेलीलाई पस्किन चाहेको छ । साथै यसका कमीकमजोरी बिद्धान पाठकहरुले मनन गर्नुहुने नै छ । त्यसैले यसले पूर्णता पाएको छ भनी लेखकले किमार्थ ठोकुवा गर्न खोज्दैन ।
साँखगाउँ देखि थोरै अघिल्तीर एउटा स्यानो बस्ती छ–बुकिडाँडा । त्यस अगाडि पट्टी नाप्चाखोला बग्दछ र त्यसपारी पट्टी चौतारा गाउँ छ । यी दुबै गाउँको विचमा बग्दछ नाप्चा खोला । त्यसउसले यी दुई गाउँ ढिकी जाँतो पिधेको आवाज सुन्न सम्म नसकिएतापनि भाले बासेको चाँहि सुन्न सकिन्छ । धेरै टाढाको कुरो नहेनछ भनी बुझ्न सकिने भयो ।
साँख गाउँबाट तेर्छैतेर्छै पहिले बुकिडाँडा कलिकति खरखर्यानको पाखो छिचोल्दै अली पर तिर पुगेपछि खहरेखोला नाम पहिले नै बताईसकियो नाप्चाखोला त्यहाँ देखि अगाडि थोरै पातल, पाखो तेर्छै तेर्छै हिडेर भेटिने त्यो चौतारा गाउँ यस बिचमा अर्को कुनै गाउँ छैन ।
सुख्खा समय जेठामासको दिन थियो त्यो । नाप्चाखोला पुग्नु अघि बाटोमै एउटा बिसाउनी छ र दुईतीन वटा लाखरीका रुखहरुले सितल छाहारी दिई राखेका छन । सायद समय त्यस्तै अपराह्नको तीन बजी सक्नु पर्ने, घारीपट्टी दम्सीलामा दुईवटा गोरु चरिराखेका थिए । सुकेका खरघाँसका बुटाहरु चरपचरप पार्दै । एउटी केटी भने त्यहि एक कुनामा छट्पटाउदै गरेकी थिई । उसलाई एक्कासी प्रसव पीडाले अत्तालिने बनाईराखेको थियो । सुनसान परिवेश रहेको थियो । यसलाई सहयोग गर्ने त्यतीखेर कोहि थिएन । हिजो आज जस्तो हुन्थ्यो भने दोजिया भएकी महिला कयौपटक अस्पताल, स्वास्थ्यचौकीहरुमा चेकअप गराउने गथ्र्ये होला ! अस्पतालमै बच्चा जन्माउन जान्थ्ये होला तर जुनजमाना अलि पुरानै भएकोले दुरजराजका गाउँ बस्तीमा अस्पताल या क्लिनिकहरुको नामनिसानै भेट्न सकिदैन्थ्यो । यहाँसम्मकी कोहिकोहि कामकाजी महिलाहरु त बनजंगलमा नै घाँसदाउरा गर्न गएको बखद उतै सुत्केरी भएर बच्चा काखी च्यापी घर फर्किन्थे पनि ।
त्यो केटीलाई पनि आज त्यस्तै भयो ।
एक्कासी सुत्केरी व्यथाले च्याप्यो । त्यस व्यथाले च्याप्दाको पीडाले नारीहरु कति छटपटिन्छन कति अत्तालिन्छन त्यो यहाँ बताईराख्नु नपर्ला ! त्यस केटिको घर बुकिडाँडामा हो । नाम चाँहि ‘बुदी’ । संयोगै ठान्नु पर्छ । खोला पारिपट्टीको पाखोमा एउटा ऐसिलु झुङमा लुकेर एउटी महिलाले भने बुदीको एकएक चर्तीकला बडो नियालेर हेरिराखेकी थिई । मानवताको कर्तव्य र धर्म सम्झेकी भए आएर बुदीलाई साथ सहयोग दिदा पनि हुन्थ्यो । तर त्यस महिलालाई यो झण्झेट सरिक रहने परोपकारी भावना जागेन ।
जे होस केहि बेरको छटपटी उठबस तर तारङतुरुङ पछि सजिलै बुदी बच्चा पैदा गरि, भगवानको सोझो नजर लाग्यो । “जिस्का कोहि नही, उस्का खुदा है यारो”
अलिछिन पछि बुदी दुईटा गोरु लखेट्दै घरमा पुगी । बदीले आमालाई भनी, –
बुदी ः– आमै ! उछीति भएर आँए ।
चौतारा गाउँकी भविसरा ः–उछीति भएकी छैन्यौं नानु ! लौ यो शिसुलाई दुध चुसाउ ।
यति भन्दै भविसराले आफ्नो गुन्युको एउटा फेरले लपेटलापेट पार्दै बुदीका पछिपछि लाग्दै आएकीले कस्सो यति उद्धार गर्न सकि ।
गोरुलाई किलामा बाँध्दै गरेकी बुदीका आमा बुढीले यसो भनिः –
बुदीकी आमा ः– बच्चालाई स्याहार ।
बाँकी अर्को अंकमा ।