भीम बहादुर बुढाथोकी
समय सधै एउटै रफ्तार अनि एउटै चेतना र एउटै भूगोलमा मात्र सीमित रहेर बग्दैन। यसले समयक्रममा इतिहासका अनेकन पाटाहरूलाई बदल्छ। पुराना पानाहरूलाई उल्ट्याउँछ, स्थापित साम्राज्यहरूलाई भत्काउँछ र मानिसका सोचहरूलाई निरन्तर परिमार्जित गर्दै एउटा नयाँ चेतनाको भव्य क्षितिजमा पुर्याएर छोडिदिन्छ। परिवर्तन प्रकृतिको नियम मात्र होइनकी यो मानव सभ्यताको सबैभन्दा गतिशील र अनिवार्य चरित्र पनि हो। हिजोका दिनहरूमा हाम्रा राजनीतिक गल्लीहरूमा, गाउँका चौतारीहरूमा, बौद्धिक विमर्शहरूमा र चिया पसलका पुराना बेन्चहरूमा कुन पार्टी ठूलो, कुन विचार श्रेष्ठ वा कुन सिद्धान्त अचुक भन्ने बहस निकै पेचिलो अनि उग्र र कहिलेकाही त शत्रुतापूर्ण बन्ने गर्दथ्यो। सत्ताको केन्द्रमा रहेको राजतन्त्रको आफ्नै सयौ वर्ष पुरानो विरासत र ऐतिहासिक दम्भ थियो जसले आफूलाई ईश्वरको अवतार र अकाट्य शक्तिको प्रतीक ठान्दथ्यो। त्यसका विरुद्ध संसद र सडकबाट लामो तथा कष्टपूर्ण र गौरवशाली सङ्घर्ष गर्ने नेपाली कांग्रेस र नेकपा एमाले जस्ता राजनीतिक शक्तिहरूको आफ्नै स्थापित सुधारवादी एजेन्डा, जनआधार र संगठनको घर थियो। त्यति मात्र होइनकी देशको कुनाकाप्चाबाट उत्पीडित वर्ग र क्षेत्रका आवाजहरूलाई समेट्दै समग्र व्यवस्था र राज्यको ढाँचा नै जगैदेखि बदल्ने उद्घोषसहित उठेको १० वर्षको दीर्घकालीन जनयुद्धको आफ्नै क्रान्तिकारी वेग, अद्वितीय त्याग र ध्वंसात्मक एवं निर्माणकारी क्षमता थियो।
समय अझ अगाडि बढ्दै जाँदा र प्रविधिको विकाससँगै विश्वव्यापीकरणको लहर भित्रिदा नागरिक चेतनाका नयाँ, अपूर्व र डिजिटल झिल्काहरू देखिए। जसले गत भदौ २३ र २४ गतेको बहुचर्चित सामाजिक सञ्जालको बलमा उठेको र युवाहरूको स्वतःस्फूर्त सहभागिता रहेको जेन्जी (Gen-Z) आन्दोलनको रूप लियो जहाँ नयाँ पुस्ताले पुराना स्थापित भाष्यहरूलाई चुनौती दिदै आफ्नो भविष्य आफै खोज्ने र निर्माण गर्ने आँट गर्यो। यही जनआकांक्षा, बदलिदो वैश्विक परिवेश र पुराना दलहरूको कार्यशैलीप्रतिको तीव्र असन्तुष्टिको उर्वर जगमा वर्तमान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जस्ता नयाँ राजनीतिक शक्तिहरूको उदय भयो जसले वैकल्पिक राजनीति, डिजिटल सुशासन, राइट टु रिजेक्ट र राइट टु रिकल जस्ता आधुनिक १०० कार्यसूचीका व्यवस्थापकीय नाराहरू अगाडि सारे।
यी सबै कालखण्ड, विचार, आन्दोलन र राजनीतिक शक्तिहरूका आ आफ्नै वैचारिक अडान, फरक शैली, बेग्लाबेग्लै मनोविज्ञान र छुट्टाछुट्टै गन्तव्यहरू थिए। दलीय सांगठनिक, जातीय र सैद्धान्तिक सङ्कीर्णताका घेराहरू हिजोका दिनमा र आज पनि कतिपय ठाउँमा यति बलिया, अभेद्य र अग्ला देखिन्छन् कि सतही रूपमा हेर्दा लाग्छकी यी फरक फरक विचारका धारहरू कहिल्यै एक ठाउँमा आउन सक्ने छैनन्।यिनीहरूका बीचको गहिरो खाडल कहिल्यै पुरिने छैन र यिनीहरू सधै एकअर्काका शत्रु नै रहिरहनेछन्। मानौ ती इतिहासका फरक कालखण्ड, क्रान्ति र विचारहरू रुकुम र जाजरकोटको सिमानामा रहेको रिम्नामा भेट हुनुअघिका दुई विशाल नदी सानी भेरी र ठूली भेरी जस्तै थिए। आ आफ्नो उद्गम स्थलबाट आफ्नै गति, आफ्नै गहिराइ, आफ्नै रङ, आफ्नै तापक्रम र आफ्नै प्राकृतिक अहङ्कार बोकेर बेग्लाबेग्लै दिशाबाट बगिरहेका ती दुई नदीको जस्तै अस्तित्व हिजो र आज हाम्रा फरक फरक राजनीतिक दल, क्रान्ति, विद्रोह र आन्दोलनहरूको देखिन्छ।
पहाडका कठोर कन्दरा, अग्ला छाँगा, गहिरा खोच र चट्टानहरूलाई फोर्दै आफ्नै सुसाहट र बेजोडको वेगमा दगुरिरहेका सानी भेरी र ठूली भेरीको रिम्नासम्म पुग्दा आ आफ्नो छुट्टै नाम छ।छुट्टै पहिचान छ र छुट्टै ऐतिहासिक अस्तित्व छ। सानी भेरी नदीको कुरा गर्दा यो धौलागिरी हिमशृङ्खलाको काखमा रहेका पुथा र सिस्ने हिमालका पग्लिएका कञ्चन हिउँका थोपाहरूबाट सुरु हुन्छ। यसको प्रवाहमा एउटा अलग्गै शितलता छर यसको बगाइमा रुकुमका पहाडी खोचहरूको रैथाने सुगन्ध र कष्टकर भूगोलको कथा लुकेको छ। यसले बाटोमा साना–साना खोलानाला, छहरा र मूलहरूलाई आफूभित्र समाहित गर्दै आफ्नो आकार बढाउँदै लैजान्छ। तर रिम्ना नपुग्दासम्म यसको अहंकार र पहिचान केबल सानी भेरीमै सीमित रहन्छ। यो नदी पहाडी क्षेत्रका खेतीयोग्य जमिनहरूलाई सिञ्चित गर्दै, स्थानीय संस्कृति र सभ्यताको साक्षी बन्दै अगाडि बढ्छ। यसको आवाजमा एउटा छुट्टै लय छ र एउटा छुट्टै आग्रह छ।
अर्कोतर्फ ठूली भेरी नदीको स्वरूप झन् विशाल र भयानक छ। तिब्बतको नजिकै रहेको मुकुट हिमाल र डोल्पाका उच्च हिमाली भेषहरूबाट उत्पत्ति भएर बग्ने यो नदीले आफ्नो बाटोमा उपल्लो र तल्लो डोल्पाका कठोर, फुस्रा र सुक्खा भूगोलहरूलाई चिर्दै अगाडि बढ्छ। यसको बगाइमा डोल्पा र जाजरकोटका विकट गाउँहरूको रोदन, त्यहाँको कठोर जीवन सङ्घर्ष र हिमाली हुरीको गर्जन सुनिन्छ। ठूली भेरीको पानी अलि धमिलो, अलि बढी उग्र र यसको गहिराइ नाप्न गाह्रो हुने खालको हुन्छ। यसले आफ्नै बाटोमा पर्ने जगदुल्ला जस्ता ठूला खोलाहरूलाई आफूभित्र विलय गराउँदै ल्याउँछ। रिम्ना आइपुग्नु अघिसम्म ठूली भेरीलाई आफ्नो नाम, आफ्नो लम्बाई र आफ्नो शक्तिको ठूलो घमण्ड हुन्छ। उसलाई लाग्छ कि यो भूगोलमा म नै सबैभन्दा शक्तिशाली र सर्वोपरि प्रवाह हु।
नेपाली राजनीतिको ऐतिहासिक पृष्ठभूमि र यसका विभिन्न घटकहरूलाई हेर्ने हो भने हामी ठ्याक्कै यही प्राकृतिक चरित्र त्यहाँ पाउँछौ। २००७ सालको क्रान्तिदेखि २०४६ साल हुदै आजसम्म आइपुग्दा नेपाली कांग्रेसले आफूलाई प्रजातन्त्रको जेठो र एकमात्र मियो ठानिरह्यो। उसको आफ्नै एउटा गौरवशाली इतिहास थियो।बिपी कोइरालाको वैचारिक उचाइ थियो र राष्ट्रियता, प्रजातन्त्र एवं समाजवादको आफ्नै मौलिक त्रिवेणी थियो। कांग्रेसलाई लाग्थ्यो कि देशको लोकतान्त्रिक रूपान्तरण केबल मेरै बाटो र मेरै विचारबाट मात्र सम्भव छ। ठीक त्यसैगरी वामपन्थी विचार र विशेषगरी नेकपा एमालेले माक्र्सवाद, लेनिनवाद र मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद (जinternal democracy) को जगमा आफूलाई सर्वहारा वर्गको सच्चा संवाहक दाबी गर्यो। उसले संगठनको शक्ति, वर्ग सङ्घर्षको परिमार्जित रूप र सामाजिक न्यायको आफ्नै बलियो धार निर्माण गर्यो। यी दुवै शक्तिहरू लामो समयसम्म नेपाली राजनीतिको सानी भेरी र ठूली भेरी जस्तै आ आफ्नो किनार समातेर एकअर्कालाई निषेध गर्दै र संसदको अङ्कगणितमा मात्र रुमल्लिदै बगिरहे।
यही प्रवाहका बीचमा जब २०५२ सालमा माओवादी जनयुद्धको सुरुवात भयो र त्यसले नेपाली राजनीतिको स्थापित शान्त बहावलाई एउटा ठूलो बाढीले झै खलबलाइदियो। गाउँगाउँबाट उत्पीडित, जनजाति, दलित, महिला र उपेक्षित क्षेत्रका जनतालाई संगठित गर्दै हतियारको बलमा राज्यसत्तालाई नै ढाल्ने उद्देश्य बोकेको त्यो जनयुद्धको वेग ठूली भेरीको वर्षायामको बाढी जस्तै अभूतपूर्व र भयानक थियो। त्यसले पुराना सामन्ती संरचनाहरू, सांस्कृतिक कुरुतिहरू र केन्द्रीकृत राज्य व्यवस्थाका जगहरूलाई जरैदेखि हल्लाइदियो। जनयुद्धको विचार र शैली परम्परागत संसदीय राजनीतिको धारभन्दा पूर्णतः फरक थियो। त्यसैले हिजो कांग्रेस, एमाले, राजतन्त्र र माओवादीका बीचमा कुनै पनि बिन्दुमा मेल हुन सक्दैन भन्ने आम बुझाइ थियो। यी शक्तिहरू एकअर्काका लागि अस्तित्वको लडाइ लडिरहेका थिए।
समय कहिल्यै पनि पुराना राजनीतिक दलहरूको ऐतिहासिक दस्तावेज र पुराना नेताहरूको भाषणमा मात्र चित्त बुझाएर बस्दैन। २०७२ सालको संविधान निर्माणपछि जब देशमा राजनीतिक एजेन्डाहरू सकिएको र अब आर्थिक समृद्धिको युग सुरु भएको भाष्य निर्माण गरियो तब जनताले डेलिभरी र सुशासन खोज्न थाले। तर पुराना दलहरूले पुरानै कार्यशैली, भ्रष्टाचार, नातावाद र कुशासनको चक्रलाई निरन्तरता दिएपछि आम जनतामा विशेषगरी नयाँ पुस्तामा एक किसिमको गहिरो निराशा र तीव्र आक्रोश संकलन हुदै गयो। यही आक्रोशको जीवन्त अभिव्यक्ति थियोकि २०८२ को गत भदौ २३ र २४ गतेको जेन्जी (Gen-Z) आन्दोलन।
यो आन्दोलन कुनै पुराना दलको ह्विप अनि कुनै राजनीतिक नेताको निर्देशन वा कुनै परम्परागत घोषणापत्रको जगमा उठेको थिएन। यो त टिकटक, फेसबुक,
ट्विटर र इन्स्टाग्राम जस्ता आधुनिक डिजिटल प्लेटफर्महरूबाट संगठित भएको नयाँ पुस्ताको एउटा वैचारिक आँधीबेहरी थियो। सन २००० पछि जन्मेका इन्टरनेटको दुनियाँमा हुर्केका र विश्वलाई नजिकबाट नियालेका युवाहरू जब सडकमा ओर्लेकी तिनीहरूको हातमा कुनै दलको झन्डा थिएन।केवल राष्ट्रिय झन्डा र सुशासनको माग थियो। तिनीहरूले हिजोको राजतन्त्रको निरङ्कुशता देखेका थिएनन्।तर तिनीहरूले प्रजातन्त्रका नाममा नेताहरूले गरेको बेथिति भोगिरहेका थिए। तिनीहरूले जनयुद्धको राप र ताप सुनेका मात्र थिए।तर त्यसको नाममा भएको सहिदहरूको सपनाको व्यापार उनीहरूले प्रत्यक्ष देखिरहेका थिए। त्यसैले भदौको त्यो गर्मीमा युवाहरूले सडकबाटै पुराना दलहरूको सिन्डिकेट र वैचारिक जडतालाई कडा झापड हाने। यो आन्दोलन नेपाली राजनीतिक इतिहासमा एउटा नयाँ र पृथक थियो जसले नदीहरूको शान्त बहावलाई पूर्णतः चुनौती दियो।
यही युवा चेतनाको मध्यमवर्गीय असन्तुष्टि र वैदेशिक रोजगारीमा रहेका लाखौ नेपालीहरूको परिवर्तनको हुटहुटीलाई क्यास गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदय भयो। घण्टी चुनाव चिह्न लिएर चुनावी मैदानमा उत्रिएको यो दलले कुनै परम्परागत राजनीतिक वा आर्थिक दर्शन जस्तै समाजवाद वा पुँजीवादको कुरा गरेन। उसले सिधै डेलिभरी, कागजात र कार्यसम्पाद, भ्रष्टाचार नियन्त्रण र मेरिटोक्रेसीको कुरा गर्यो। रास्वपाको आगमनले नेपालका पुराना र स्थापित दलहरूलाई सोच्न बाध्य बनायो। यसले संसद्मा पुगेर प्रश्न सोध्ने शैली र जनताका मुद्दाहरूलाई प्रस्तुत गर्ने तरिकामा एउटा नयाँ आयाम थप्ने कोशिशमा छ ।यसरी हेर्दा नेपाली राजनीतिको क्यानभासमा हिजोको राजतन्त्र, कांग्रेस, एमाले, माओवादी, जेन्जी आन्दोलन र रास्वपा यी सबै आ आफ्नै विचार, शैली र पहिचान बोकेका फरक फरक नदीका धारहरू हुन्।
तर प्रकृतिको र इतिहासको नियम अत्यन्तै अनौठो, दूरगामी, शाश्वत र अकाट्य हुन्छ। जब ती दुई नदी सानी भेरी र ठूली भेरी पहाड र कन्दराहरू छिचोल्दै रुकुम पश्चिम र जाजरकोटको सिमानामा पर्ने पवित्र सङ्गम स्थल रिम्नामा आइपुग्छन् तब त्यहाँ एउटा महाकाव्यात्मक रूपान्तरण घटित हुन्छ। रिम्नाको त्यो सङ्गम विन्दुमा आइपुगेपछि ती दुवै नदीले आफ्नो पुरानो, सङ्कुचित, अहङ्कारयुक्त र एकल पहिचानलाई सदाका लागि तिलाञ्जली दिन्छन्। त्यहाँ पुगेपछि सानी भेरीले म हिमालको कञ्चन र शितल पानी हुँ तब त्यसैले म आफ्नो अलग्गै अस्तित्व राख्छु भन्न पाउँदैन। त्यहाँ पुगेपछि ठूली भेरीले म डोल्पाको विशाल भूगोल र भयानक वेग बोकेर आएको हु तब त्यसैले मेरो नाम ठूलो हुनुपर्छ भनेर जिद्दी गर्न पाउदैन।
रिम्नाभन्दा तल झरेपछि न त्यहाँ सानी भेरीको एकल अस्तित्व बाँकी रहन्छ न त ठूली भेरीको अलग्गै गौरव बाँकी रहन्छ। त्यो संयुक्त कञ्चन र शक्तिशाली प्रवाह केवल भेरी नदीको एउटै साझा, शान्त र विशाल नामले चिनिन थाल्छ। रिम्नाभन्दा तल बग्ने भेरी नदी हिजोका ती दुई नदीको योगफल मात्र होइनकी यो त एउटा नयाँ गुणात्मक पहिचान हो। यसको पानीमा अब दुवै नदीको विशेषता मिसिएको छकी यसको गतिमा दुवैको शक्ति समाहित भएको छ र यसको गन्तव्य अब कुनै स्थानीय खोच होइन।बरु अनन्त महासागर बनेको छ। त्यो एकल नाम वा त्यो साझा रूप र त्यो विशाल स्वरूप नै वास्तवमा प्रकृतिको सुन्दर लोकतन्त्र, सहअस्तित्व र एकताको जिउँदो महाकाव्य हो। रिम्नाबाट अगाडि बढेको त्यो भेरी नदी सुर्खेत र बर्दियाका फाँटहरूलाई हराभरा बनाउदै, कर्णालीमा मिसिदै अन्ततः संसारकै सबैभन्दा ठूलो, अनन्त र अगाध महासागरमा पुगेर समाहित हुन्छ।जहाँ पुगेपछि उसको उचाइ, गहिराइ र शक्तिको मापन कसैले गर्न सक्दैन। महासागरमा पुगेपछि त झन् त्यसको दलीय वा क्षेत्रीय पहिचानको नामनिसान समेत बाँकी रहदैन।
आज हाम्रो देशको राजनीति, समाज, आम नागरिक र समग्र नेतृत्वले प्रकृतिले सिकाएको यही शाश्वत सत्य र रिम्नाको सङ्गमले दिने दूरगामी सन्देशलाई अत्यन्तै गम्भीरतापूर्वक र भावुक भएर आत्मसात गर्नुपर्ने बेला आएको छ। हिजोका दिनमा राजनीतिक दलहरू र तिनका सिद्धान्तहरू सानी भेरी र ठूली भेरी जस्तै आ आफ्नै ढिपी, नाम र अहङ्कारमा विभाजित थिए। इतिहासको एउटा कालखण्डमा ती क्रान्ति, आन्दोलन र नयाँ विचारहरूको उदय आवश्यक र अनिवार्य थियो होला। राजतन्त्रको अन्त्य गर्नका लागि कांग्रेस,एमालेको शान्तिपूर्ण सङ्घर्ष र माओवादीको सशस्त्र जनयुद्ध दुवैको आ आफ्नो ठाउँमा ऐतिहासिक भूमिका थियो। यदि जनयुद्धले उत्पीडित वर्गलाई जगाउने काम नगरेको भए र कांग्रेस,एमालेले लोकतान्त्रिक मूल्यमान्यताको रक्षा नगरेको भए आजको यो संघीय लोकतान्त्रिक गणतन्त्र सम्भव हुने थिएन। ठिक त्यसैगरी यदि गत भदौको जेन्जी आन्दोलनले सडकबाट र रास्वपाले संसदबाट पुराना दलहरूलाई खबरदारी नगरेको भए राजनीतिक दलहरूको स्वेच्छाचारिता र भ्रष्टाचार अझै कति संस्थागत हुने थियो होला भन्न सकिदैन।
तर अब प्रश्न उठ्छकी के हामी जीवनभर इतिहासभरि नै केबल नदीकै रूपमा छुट्टाछुट्टै बगिरहने त? के हामी रिम्नाको सङ्गममा आइपुगेपछि पनि आ आफ्नो पुरानो नाम र अहङ्कारकै डम्फु बजाइरहने त? आज देश विकास र समृद्धिको एउटा यस्तो नयाँ र संवेदनशील मोडमा उभिएको छकी जहाँ हिजोकै विभाजनका कुरा गरिरहनु, हिजोकै विचारका पुराना र मक्किएका खाडलहरू खनिरहनु र हिजोकै आग्रह पूर्वाग्रहको धूलो उडाएर एक अर्कामाथि हिलो छ्यापाछ्याप गरिरहनुको अब कुनै औचित्य र तुक बाँकी छैन। रिम्नाभन्दा माथिको भूगोलमा नदीहरू छुट्टिनु प्रकृतिको स्वभाव र भौगोलिक बाध्यता थियो होला।तर रिम्नाभन्दा तल पुगेपछि पनि म छुट्टै बग्छु, म सानी भेरी नै रहन्छु वा म ठूली भेरी नै रहन्छु भन्नु प्रकृतिको नियमविपरीतको विनाश, घमण्ड र अन्ततः सुकाउ मात्र हो। ठिक त्यसैगरी देशले आर्थिक रूपान्तरण, सुशासन र युवा रोजगारी खोजेको आजको आधुनिक युगमा पनि राजनीतिक दलहरू आफ्नै पुराना सङ्कुचित र परम्परागत घेराभित्र मात्रै रुमल्लिरहनु भनेको देशलाई दीर्घकालीन अस्थिरता, गरिबी र वैचारिक अनिकालतर्फ धकेल्नु हो।
आजको युगमा देशका वास्तविक मालिक अर्थात् आम जनता सबैभन्दा माथि र सबैभन्दा ठूला हुन् भन्ने शाश्वत सत्यलाई नेपालका सबै विचार, पुराना key तथा नयाँ पार्टी, क्रान्तिकारी र वैकल्पिक सिद्धान्तहरूले कुनै पनि किसिमको बहानाबाजी विना अनि विना सर्त स्वीकार्नै पर्छकी जनताभन्दा ठूलो कुनै नेता हुन सक्दैन।जनता भन्दा पवित्र कुनै पार्टी हुन सक्दैन र जनताको सुख, समृद्धि, स्वास्थ्य, शिक्षा एवं राष्ट्रको स्वाधीनताभन्दा सर्वोपरि कुनै पनि वाद वा सिद्धान्त हुन सक्दैन। हिजोका दिनमा राजतन्त्र, संसदीय व्यवस्था, जनयुद्ध, युवा विद्रोह वा नयाँ वैकल्पिक राजनीतिको विभिन्न नाम र नारामा विभाजित भएका विचारहरू अब देश र जनताको बृहत्तर हितका निमित्त परिमार्जित, परिष्कृत र रूपान्तरित हुनै पर्छ। नयाँपन, प्रविधिको आधुनिक चेतना र सामूहिक राष्ट्रिय सङ्कल्प सहित ती सबै संकुचित विचारहरू राष्ट्रिय एकताको एउटै महासागरमा समाहित हुन जरुरी भइसकेको छ।
हामीले इतिहासमा विचार र सिद्धान्तका नाममा धेरै लडाइँहरू लड्यौ। छिमेकी गाउँका दाजुभाइहरू एउटा पार्टीको झन्डा बोकेकै आधारमा मारामार गरे।एउटै परिवारभित्र वैचारिक भिन्नताका कारण बोलचाल बन्द भयो।गाउँका चौतारीहरू दलका आधारमा बाँडिए।विद्यालय र विश्वविद्यालयहरू राजनीतिक अखडा बने र विकासका योजनाहरूमा समेत दलीय भागबन्डा गरियो। यो दलीय र सैद्धान्तिक अतिवादले हामीलाई राजनीतिक रूपमा अधिकार त दियो होला।तर आर्थिक र सामाजिक रूपमा हामीलाई कङ्गाल बनायो। आज हाम्रा देशका लाखौ ऊर्जाशील युवाहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको लामो लाइनमा उभिएर खाडीका मुलुकहरू र युरोप अमेरिका पलायन हुन बाध्य छन्। मलेसिया र कतारको मरुभूमिमा ५० डिग्रीको तापक्रममा पसिना बगाउँदै गर्दा ती युवाहरूलाई कसैले सोध्दैन कि तिमी हिजो कांग्रेस थियौ कि एमाले, माओवादी थियौ कि रास्वपा, वा जेन्जी आन्दोलनका सहभागी थियौ? त्यहाँ त केबल एउटै साझा परिचय हुन्छकी ऊ एउटा गरिब र विवश नेपाली हो जसको देशमा रोजगारी छैन अनि जसको देशमा सुशासन छैन र जसको देशका नेताहरू अझै पनि पुरानै विचारको लडाइँमा व्यस्त छन्।
यो दारुण अवस्थालाई बदल्नका लागि अब नेपाली राजनीतिमा एउटा ठूलो वैचारिक रूपान्तरण र एकताको खाँचो छ। पुराना दलहरूले आफ्नो इतिहास, त्याग र अनुभवको भारीबाट अहङ्कार पैदा गर्नुको साटो विगतका गल्तीहरूबाट पाठ सिक्नुपर्छ। तिनीहरूले स्वीकार गर्नुपर्छ कि केवल इतिहासको ब्याज खाएर सधैभरि राजनीति चल्न सक्दैन। समयसँगै आफ्ना नीति, विचार र संगठनलाई परिमार्जन नगर्ने हो भने इतिहासका ठूला ठूला शक्तिहरू पनि सङ्ग्रहालयको वस्तु बन्न पुग्छनकी जसरी संसारबाट र नेपालबाट राजतन्त्रले आफनो अस्तित्त्व गुमाउनु पर्यों ।अर्कोतर्फ नयाँ शक्तिहरू र आन्दोलनकारी युवाहरूले पनि केबल आवेग, आक्रोश र पुराना दलहरूलाई गाली गरेर मात्रै देश बन्न सक्दैन भन्ने सत्यलाई बुझ्न जरुरी छ। आक्रोशले आन्दोलन त जन्माउन सक्छ।तर देश निर्माणका लागि धैर्यता, दूरदर्शिता, परिपक्वता, स्पष्ट नीति र दीर्घकालीन योजनाको आवश्यकता पर्दछ। गालीको राजनीतिले केही समयका लागि ताली पाउन सक्छ।तर त्यसले भोको पेट भर्न र देशको अर्थतन्त्रलाई बलियो बनाउन सक्दैन। त्यसैले पुरानाको अनुभव र नयाँको उर्जा जबसम्म एक ठाउँमा मिसिँदैनन् तबसम्म देशले सही दिशा पाउन सक्दैन।
विविधताका बीचको बलियो एकता नै नेपाली समाजको असली जग, सौन्दर्य र शक्ति हो। नेपाल जस्तो बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र भौगोलिक विविधता भएको देशमा फरक फरक विचारहरू आउनु स्वाभाविक मात्र होइनकी यो लोकतन्त्रको सुन्दर गहना पनि हो। हिजो युद्ध, आन्दोलन र अधिकार प्राप्तिको नाममा बगेका रगत र पसिनाका धाराहरू अब शान्ति, स्थिरता, सुशासन, उद्यमशीलता र आर्थिक विकासको साझा नदीमा परिणत हुनै पर्छ। सानी भेरी र ठूली भेरी मिसिदा जसरी नदीको शक्ति झन् प्रवल, गम्भीर र उपयोगी भएर जान्छ। त्यो सङ्गमपछि नदीले आफ्नो संहारकारी रूप छोड्छ र कल्याणकारी रूप धारण गर्दछ। त्यसले तल्लो तटीय क्षेत्रका तिर्सनाहरू मेट्छ।बाँझो रहेका विशाल फाँटहरूलाई सिञ्चित गर्छ।गाउँगाउँमा हरियाली ल्याउँछ र नयाँ जीवनको सञ्चार गर्दछ।
नेपाली राजनीतिमा पनि फरक फरक पृष्ठभूमि, फरक कालखण्ड र फरक विचारहरूको यो सङ्गमले अब निषेध, बदला र प्रतिशोधको राजनीति होइनकी बल्कि राष्ट्रिय निर्माण, सामाजिक न्याय र समृद्धिको नयाँ उर्जा पैदा गर्नुपर्छ। विचारहरूमा विविधता हुनु लोकतन्त्रको प्राण हो।तर जब कुरा राष्ट्रियताको आउछ जब कुरा अन्तर्राष्ट्रिय सम्बन्धको आउछ जब कुरा देशको सार्वभौमिकता र आम जनजीविकाको आउँछ तब सबै राजनीतिक दल, नेता र नागरिकहरूको एउटै स्वर, एउटै लय र एउटै सङ्कल्प हुनुपर्छ। जसरी रिम्नाबाट बगेको भेरी नदी महासागरतर्फ बढ्दा बाटोमा जस्तै सुकै अवरोध आए पनि चट्टानहरू तेर्सिए पनि कसैले रोकेर रोकिदैन त्यसरी नै नेपाली जनताको सुखी, समृद्ध र आत्मसम्मानित बन्ने आकाङ्क्षाको गतिलाई अब कुनै पनि पुराना वा नयाँ राजनीतिक दाउपेच, सङ्कुचित स्वार्थ वा वैचारिक जडताले रोक्न सक्नुहुदैन र रोक्न दिइने पनि छैन।
हामीले हाम्रा विद्यालयहरूमा, विश्वविद्यालयहरूमा र समाजमा अब यस्तो शिक्षा र चेतनाको विकास गर्नुछकी जसले युवाहरूलाई विभाजन होइन बरु एकता सिकाओस्। ३ दिन सैद्धान्तिक र ३ दिन जीवनोपयोगी, श्रममा आधारित, व्यावहारिक, व्यावसायिक र प्राविधिक शिक्षाको जग बसाल्नु छ ताकि हाम्रा विद्यार्थीहरू विद्यालय छोड्दा केबल एउटा राजनीतिक दलको कार्यकर्ता मात्र बनेर होइन।बरु देश निर्माण गर्ने दक्ष र स्वावलम्बी नागरिक बनेर निस्कन सकून्। जब नागरिक सक्षम र आत्मनिर्भर हुन्छ तब उसलाई राजनीतिक दलहरूले आफ्नो स्वार्थका लागि सधैभरि भ्रममा राख्न सक्दैनन्। शिक्षाको मूल उद्देश्य नै मानिसलाई संकुचित सोचको बन्धनबाट मुक्त गरेर राष्ट्रिय हितको बृहत् महासागरमा समाहित गराउनु हुनुपर्छ।
त्यसैले आजको समयको सबैभन्दा प्रधान, अनिवार्य र ऐतिहासिक माग भनेको निर्मम आत्मसमीक्षा र बृहत् राष्ट्रिय एकता हो। हिजोका गल्ती कमजोरीहरूलाई उदार दिलले बिर्सेर पुराना आग्रह र प्रतिशोधका भावनाहरूलाई तिलाञ्जली दिएर नयाँ पुस्ताको भावना, प्रविधिप्रतिको आकर्षण र आधुनिक चेतनालाई समेत कदर गर्दै नयाँ युगको नयाँ आर्थिक खाका कोर्नका लागि सबै विचार र शक्तिहरू देश र जनताको हितमा केन्द्रित भएर एकै ठाउँमा उभिनै पर्छ। हामी इतिहासको एउटा यस्तो मोडमा छौ जहाँबाट पछाडि फर्कने कुनै बाटो छैन। यदि हामी अझै पनि पुरानै सानी भेरी र ठूली भेरीको अहंकारमा बाँचिरह्यौ भने हामी राष्ट्रिय रूपमा कहिल्यै बलियो हुन सक्ने छैनौ र समयको तीव्र बहावले हामीलाई किनारामा मिल्काइदिनेछ।
रुकुम र जाजरकोटको सिमानामा बग्ने रिम्नाको त्यो अविरल, शान्त र कञ्चन बगाइले हामीलाई निरन्तर यही शाश्वत सन्देश दिइरहेको छ कि तिमीहरू हिजो जहाँबाट जसरी जुन आन्दोलनबाट जुन दर्शनबाट र जुन नाममा बगेर आए पनि अब अगाडिको यात्रा साझा हो अनि गन्तव्य साझा हो र पहिचान पनि साझा हो। आउनुहोस् हामी सबै मिलेर दलीय, सांगठनिक, जातीय र वैचारिक सङ्कीर्णताको सानी र ठूली भेरीको साँघुरो बन्धनबाट माथि उठौ। देश र नेपाली जनतालाई सर्वोपरि ठान्दै विकास, सुशासन र आर्थिक समृद्धिको महान् सपना बोकेर एउटै विशाल ,कञ्चन र गौरवशाली भेरी नदी बन्दै राष्ट्रिय एकताको त्यो अनन्त महान र मर्यादित महासागरतर्फ दृढताका साथ अगाडि बढौ। इतिहास वर्तमान र भविष्यले आज हामीसँग यही एउटै पवित्र, जिम्मेवार, दूरगामी र भावुक एकताको माग गरेको छ। यही एकता नै हाम्रा वीर सहिदहरूप्रतिको सच्चा श्रद्धाञ्जली र आगामी पुस्ताप्रतिको हाम्रो असली जिम्मेवारी हुनेछ।

