बैंक तथा वित्तिय संस्थाबाट कर्जा लिएर समयमै नतिर्दा कालो सूचीमा पर्ने संख्या पछिल्लो दिनमा बढ्दै गएको छ । पछिल्लो पाँच वर्षको छोटो अवधिमै कालोसूचीमा रहेका ऋणीको संख्या झन्डै आठ गुणाले बृद्धि भएको छ भने वार्षिक औसत ६६.५ प्रतिशतले समस्या बढिरहेको छ ।

नेपालको समग्र आर्थिक गतिविधिमा आएको सुस्तता र व्यावसायिक मन्दीका कारण उद्योगी व्यवसायीहरू संकटमा पर्दै जाँदा कर्जा सूचना केन्द्रको आम्दानी र नाफा भने क्रमिक रूपमा बढेको पाइएको छ । देशको व्यावसायिक वातावरण शिथिल बन्दै जाँदा र ऋणीहरू कालोसूचीमा पर्ने क्रम तीव्र हुँदा त्यसको प्रत्यक्ष सकारात्मक प्रभाव केन्द्रको वित्तीय आम्दानीमा देखिएको हो ।
पछिल्लो वर्ष अर्थात् आर्थिक वर्ष २०८१/८२ मा भने अघिल्लो वर्षको तुलनामा नाफामा केही गिरावट आएको छ । समीक्षा वर्षमा केन्द्रको नाफा ५.२३ प्रतिशत (अर्थात ४ करोड २२ लाख ६८ हजार रुपैयाँ) ले घटेर ७६ करोड ५५ लाख ९३ हजार २०८ रुपैयाँमा सीमित भएको छ । नाफामा केही संकुचन आए पनि कालोसूचीमा पर्ने ऋणीहरूको संख्या भने निरन्तर बढेको छ ।

यस वर्ष ५३ हजार ५७१ जना नयाँ ऋणी थपिएका छन् भने १८ हजार ७४ जना कालोसूचीबाट हटेका छन् । यससँगै कुल कालोसूचीमा रहेका ऋणीको संख्या १ लाख २९ हजार ९७४ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ३७.५ प्रतिशतको वृद्धि हो । बजारमा आएको सुस्तताले गर्दा व्यवसायीहरूको ऋण भुक्तानी क्षमता कमजोर बन्दै गएको छ भने व्यावसायिक संकटका कारण चेक अनादर (चेक बाउन्स) का घटनाहरू पनि असाध्यै बढेका छन् । व्यवसायीहरू आर्थिक मन्दी र दायित्व भुक्तानीको चक्रव्यूहमा फस्दा कर्जा सूचना केन्द्रको आम्दानीको दायरा भने फराकिलो बन्दै गएको देखिन्छ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस...