भिम बुढाथोकी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय प्रस्थान कक्षमा हरेक दिन एउटा यस्तो दृश्य दोहोरिन्छकि जसले हेर्ने जुनसुकै नेपालीको छाती पनि चस्स पारेर दुख्छ। एकातिर वैदेशिक रोजगारीका लागि मरुभूमिको तातो हावा खान हिडेका उर्जावान युवाहरूको लामो लाइन हुन्छ भने अर्कोतिर आँखाभरि आँसु र मनभरि अनिश्चितता बोकेर उनीहरूलाई बिदाइ गर्न आएका वृद्ध आमाबुबा, श्रीमती र दूधे बालकहरू हुन्छन्।

यो केवल एउटा विमानस्थलको दृश्य मात्र होइन।यो त सिंगो नेपालको वर्तमान अवस्थाको ऐना हो। आज हाम्रो देश नेपाल युवा निर्यात गर्ने मुलुकका रूपमा चिनिन थालेको छ। आफ्नै माटोमा पसिना बगाएर देश बनाउनुपर्ने उमेरका लाखौ नेपाली हातहरू अरू नै देशको विकासका लागि श्रम बेच्न बाध्य छन्। तर यो रहर होइन, बाध्यता हो। यो बाध्यताभित्र कति आँसु, कति पीडा र कति रोदन लुकेका छन्, त्यसको लेखाजोखा कुनै तथ्यांकले राख्न सक्दैन।

गाउँमा रोजगारीको कुनै अवसर छैन। उद्योगधन्दाहरू प्रायजसो बन्द छन्। कृषि क्षेत्र सम्मानित र व्यावसायिक बन्न सकेको छैन। राजनीति केवल कुर्सीको तानातानमा अल्झिएको छ। यस्तो अवस्थामा एउटा सर्वसाधारण नेपाली युवासँग देशभित्रै बसेर केही गर्ने विकल्पहरू निकै साँघुरा छन्। परिवारको ऋण तिर्नु पर्ने, बिरामी आमाबुबाको उपचार गर्नु पर्ने र छोराछोरीलाई राम्रो विद्यालयमा पढाउनु पर्ने जिम्मेवारीले उसलाई थिचेको हुन्छ।

जब स्वदेशका सबै ढोकाहरू बन्द देखिन्छन् तब उसले राहदानी (पासपोर्ट) बनाउछ र मेनपावर कम्पनीको चक्कर काट्न थाल्छ। जायजेथा बन्धक राखेर चर्को ब्याजमा ऋण काढेर उनीहरू खाडीका मुलुक वा मलेसियाको टिकट काट्छन्। विमान चढ्नु अघि उनीहरूले सोचेका हुन्छन्की दुई-चार वर्ष दुःख गर्छु, ऋण तिर्छु अनि स्वदेश फर्किएर केही गर्छु।तर मरुभूमिको त्यो ५० डिग्रीको तापक्रममा पुगेपछि मात्र थाहा हुन्छ कि सोचेजस्तो सजिलो छैन।

नेपाल सरकार गर्वका साथ भन्छ कि देशको अर्थतन्त्र रेमिट्यान्स (विप्रेषण) ले धानेको छ। कुल गार्हस्थ्य उत्पादन (GDP) को ठुलो हिस्सा विदेशमा रहेका नेपालीहरूले पठाएको पैसाबाट आउछ। तर के हामीले कहिल्यै सोचेका छौकी त्यो पैसा कुन मूल्यमा आइरहेको छ?

त्यो रेमिट्यान्स केवल पैसा मात्र होइनकी त्यो त नेपाली युवाहरूको रगत र पसिना हो। कतिपय युवाहरू कार्यस्थलको असुरक्षा, अत्यधिक गर्मी र मानसिक तनावका कारण सधैका लागि अस्ताउँछन्। हप्तामा कतिपय नेपालीका शवहरू बाकसमा बन्द भएर त्रिभुवन विमानस्थलमा ओर्लिन्छन्। एउटा परिवारले आफ्नो घरको खम्बा गुमाउछ।एउटी आमाले छोरो गुमाउछिन् र देशले आफ्नो भविष्य गुमाउछ। यो भन्दा ठुलो त्रासदी एउटा राष्ट्रका लागि अरू के हुन सक्छ?

वैदेशिक रोजगारीले आर्थिक रूपमा केही राहत त दिएको होला।तर यसले नेपाली समाजको जग नै हल्लाइदिएको छ। लामो समयसम्म श्रीमान्-श्रीमती टाढा बस्नुपर्दा पारिवारिक विखण्डन बढेको छ। डिभोर्सका घटनाहरू, आपसी अविश्वास र सामाजिक विकृतिहरू मौलाउदै गएका छन्।

चाडपर्व आउदा गाउँघर सुनसान हुन्छन्। दशै तिहार जस्ता ठुला चाडबाडमा वृद्ध आमाबुबा दैलोमा बसेर टोलाउन बाध्यछन् किनकि उनीहरूका छोराहरू सात समुद्रपारि कसैको अधिनमा काम गरिरहेका छन्। बालकालिकाले बुबाको काख र माया पाउन सकेका छैनन्, जसका कारण उनीहरूको मानसिक विकासमा समेत नकारात्मक असर परिरहेको छ। गाउँमा कसैको मृत्यु हूदा मलामी जाने युवासम्म भेटिन छाडेका छन्। यो रित्तोपनले हाम्रो संस्कृति र सामाजिक सद्भावलाई बिस्तारै खोक्रो बनाउदै लगेको छ।ब्रेन ड्रेन र देशको भविष्य

वैदेशिक रोजगारीमा जानेहरू मात्र होइनकी उच्च शिक्षाका नाममा विकसित मुलुकहरू (जस्तै: अमेरिका, अस्ट्रेलिया, क्यानडा, युरोप) तिर पलायन हुने विद्यार्थीहरूको संख्या पनि डरलाग्दो छ। देशका उत्कृष्ट दिमागहरू, डाक्टर, इन्जिनियर र बौद्धिक युवाहरू स्वदेशमा भविष्य नदेखेर बाहिरिइरहेका छन्।

यदि देशका ऊर्जावान् र बौद्धिक युवाहरू सबै बाहिरिने हो भने यो देश कसले बनाउँछ? वृद्ध र बालबालिका मात्र बाँकी रहने हो भने भोलिको नेपाल कस्तो होला? यो एउटा गम्भीर प्रश्न हो।जसको उत्तर राज्य सञ्चालकहरूसँग छैन।

नेपालीहरू विदेशिनुको मुख्य कारण राज्यको नीतिहीनता र रोजगार सिर्जना गर्न नसक्नु नै हो। नेताहरू भाषणमा युवाहरू देशका कर्णधार हुन् भन्न थाक्दैनन्।तर व्यवहारमा उनीहरूलाई खाडी पठाएर कमिसन खाने र रेमिट्यान्समा मोज गर्ने प्रवृत्ति हाबी छ।अब यो अवस्थालाई सधैका लागि निरन्तरता दिन सकिदैन। यदि देशलाई साच्चै समृद्ध बनाउने हो भने सरकारले स्वदेशमै आत्मसम्मानपूर्वक बाँच्न सक्ने वातावरण निर्माण गर्नुपर्छ। कृषिको आधुनिकीकरण, उद्योगधन्दाको स्थापना, पर्यटन क्षेत्रको विकास र सूचना प्रविधिको प्रवर्द्धन गरेर देशभित्रै लाखौ रोजगारी सिर्जना गर्न सकिन्छ।

युवाहरूलाई खाडीको मरुभूमिमा पसिना बगाउन पठाउनु भन्दा आफ्नै पहाड र तराईका फाँटहरूमा पसिना बगाउने वातावरण मिलाउनु पर्छ। देश दुखेको बेला विदेशिने मनहरूलाई स्वदेशमै रोक्न सके मात्र भोलिको नेपाल सुन्दर र समृद्ध बन्न सक्छ। राहदानी बोकेर लाइन लाग्ने युवाहरूको लाम होइनकी स्वदेशमै उद्यम गरेर देश विकासमा जुटेका युवाहरूको लाम नै आजको नेपालको वास्तविक आवश्यकता हो .

फेसबुकमा प्रतिक्रिया दिनुहोस...