मनाङको मनाङ ङिस्याङ गाउँपालिका–९, खाङसारस्थित तिलिचो युवा क्लबले आफ्नो पाँचौँ वार्षिकोत्सवका अवसरमा खुला खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ। क्लबका अनुसार प्रतियोगिता आगामी साउन १६ गते बिहान १० बजेदेखि तिलिचो आधारभूत विद्यालय, खाङसारको खेलमैदानमा सञ्चालन हुनेछ। प्रतियोगितामा विभिन्न क्लब, सङ्घसंस्था, समूह तथा समाजलाई सहभागिताका लागि आह्वान गरिएको छ।

प्रतियोगिताका लागि टोली दर्ताको अन्तिम मिति साउन १५ गते साँझ ५ बजेसम्म तोकिएको छ। प्रतियोगिताअन्तर्गत पुरुषतर्फ भलिबल तथा महिला र पुरुष दुवैतर्फ डोरी तान्ने खेल समावेश गरिएको छ। आयोजकका अनुसार भलिबल प्रतियोगिताको दर्ता शुल्क रु. ७,००० निर्धारण गरिएको छ। प्रतियोगितामा प्रथम हुने टोलीलाई रु. १ लाख, द्वितीय हुने टोलीलाई रु. ५० हजार र तृतीय हुने टोलीलाई रु. २५ हजार नगद पुरस्कार प्रदान गरिनेछ। त्यसैगरी डोरी तान्ने प्रतियोगिताको दर्ता शुल्क रु. ५,००० तोकिएको छ। उक्त प्रतियोगिताको विजेता टोलीलाई रु. २५ हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

तिलिचो युवा क्लबले वार्षिकोत्सवका अवसरमा मात्र नभई अन्य समयमा पनि स्थानीय खेलकुदको संरक्षण, प्रवर्द्धन तथा युवाबीच आपसी सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले यस्ता प्रतियोगिताहरू आयोजना गर्दै आएको जनाएको छ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस...