आज ‘अन्तर्राष्ट्रिय युवा दिवस’। हरेक वर्ष युवाका ठूला-ठूला कुरा र नारा घन्किन्छन्, तर आजको दिन केवल भाषणमा सीमित नभई नेपालको वास्तविक सामर्थ्य र समयको घडीलाई हेर्ने दिन हो।
राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार नेपाल अहिले आफ्नो इतिहासकै सबैभन्दा अनुकूल ‘जनसांख्यिक लाभांश’ (Demographic Dividend) को स्वर्ण युगमा छ।
के हो त यो जनसांख्यिक लाभांश ?
सामान्य र सरल भाषामा भन्नुपर्दा, देशमा साना बालबालिका र वृद्धभन्दा कमाउन र काम गर्न सक्ने (१५ देखि ६४ वर्ष) उमेर समूहको जनसङ्ख्या बढी हुनु नै जनसांख्यिक लाभांश हो।
नेपालमा अहिले कुल जनसङ्ख्याको ६५.२% (करिब १ करोड ९० लाख) मानिसहरू सक्रिय जनसंख्याको रुपमा छन। आश्रित जनसङ्ख्या (बालबालिका र वृद्ध) २०५८मा ८४.७% थियो २०७८ पुग्दा घटेर ५३.३% मा झरेको छ। अर्थात्, १०० जना काम गर्ने व्यक्तिले ५३ जनालाई मात्र पाल्नु परेकाे छ, यो तथ्याङ्क कुनै पनि राष्ट्रको काँधमा समृद्धिको झण्डा गाड्न पर्याप्त ऊर्जा हो।
तर, यो अवसर सधैँ रहँदैन ! जनसङ्ख्या विज्ञहरूका अनुसार नेपालले पाएको यो जनसांख्यिक वरदानको घडी सन् २०१९/२०२१ बाट सुरु भइसकेको छ र यो सन् २०५०/५५ (वि.सं. २१०८) सम्म अबकाे ३ दशक मात्र यस प्रकारकाे जनसांख्यिक लाभ कायम रहनेछ। किनकि नेपालमा अहिले जन्मदर ऋणात्मक अर्थात घट्दाे क्रममा छ, जन्मदर घट्दै जाँदा जनसंख्या वृद्धिदर पनि घटिरहेकाे छ २०६८ जनगणना अनुसार जनसंख्या वृद्धिदर 1.35% थियो भने २०७८ काे जनगणना ०.९२% मात्रै छ र याे अझै घट्दै जाने देखिन्छ.. नाेट: युवाशक्ति अर्थात् जनसांख्यिक लाभांशलाई सदुपयोग गर्ने प्रभावकारी नीति नभइ जन्मदर घट्न थाल्यो भने देशलाई हुने दिर्घकालिन हानिहरु धेरै छन!
इतिहासलाई फर्केर हेर्ने हो भने, कुनै पनि देश रातारात धनी बनेका होइनन्; उनीहरूले यही जनसांख्यिक लाभांशको स्वर्णिम अवधिलाई कसरी सदुपयोग भन्ने कुराले उनीहरूको भाग्य तय गरेको हो।
सन् १९६० को दशकमा दक्षिण कोरियाको प्रतिव्यक्ति आय नेपालको जस्तै दयनीय अवस्थामा थियो। तर, कोरियाले आफ्ना युवाहरूलाई उच्चस्तरीय प्राविधिक शिक्षा र औद्योगिकीकरणमा जोड्दै सन १९६५-१९९० बिचमा करिब ९% उच्च आर्थिक वृद्धिदर हाँसिल गरेकाे थियाे यसरी छोटो समयमै विश्वको १० औँ ठूलो अर्थतन्त्र बन्ने अभूतपूर्व छलाङ मार्यो।
सन् १९६५ मा मलेसियाबाट अलग हुँदा सिङ्गापुरसँग न त प्राकृतिक स्रोत थियो, न त पर्याप्त खानेपानी नै थियो, ली कुआन यू (Lee Kuan Yew) को नेतृत्वमा युवाहरूलाई विश्वस्तरीय शिक्षा र अंग्रेजी भाषामा दक्ष बनाइयो। वैदेशिक लगानी आकर्षित गर्न अनुकुल वातावरण बनाइयो र युवाहरूलाई बहुराष्ट्रिय कम्पनीहरूमा उच्च पदमा काम गर्न योग्य बनाइयो। CPF (Central Provident Fund) बनाइ युवा श्रमशक्तिको बचतलाई पूर्वाधार र आवास निर्माणमा लगानी गरियो, ३-४ दशकभित्रै सिङ्गापुर तेस्रो विश्वको देशबाट प्रथम विश्वको वित्तीय केन्द्र (Financial Hub) बन्यो।
अर्कोतर्फ, चीनले आफ्नो ठूलो युवा श्रमशक्तिलाई उत्पादन र पूर्वाधार निर्माणमा पूर्ण रूपमा परिचालन गरेर ८० करोडभन्दा बढी नागरिकलाई गरिबीको रेखाबाट माथि उठाउँदै पुँजी,प्रविधि र अाैद्योगिकरणकाे विकासमा अग्रगामी छलाङ मार्दै उदयमान विश्व महाशक्ति रुपमा अगाडि बढ्दै छ।
यी पूर्वी एसियाली राष्ट्रहरूको चमत्कार कुनै जादु थिएन, यो त युवाको सही उमेरमा शिक्षा, सीप र स्वदेशमै रोजगारी सिर्जना गरी जनसांख्यिक लाभांशलाई आर्थिक समृद्धिमा बदल्ने दृढ राजनीतिक इच्छाशक्तिको परिणाम थियो।
विडम्बना! नेपालले यो अनुकूलता पाए पनि यसलाई ‘लाभांश’ बनाउनुको साटो दिनहुँ विमानस्थलबाट हजारौँ युवा खाडी र पश्चिमा देशमा ‘निर्यात’ गरिरहेको छ। घट्दो जन्मदरले स्पष्ट सङ्केत गर्छ—अबको ३० वर्षपछि नेपालकाे जनसंख्या तीव्र गतिमा बुढ्यौली (Aging population) तर्फ जानेछ। यदि हामीले यही ३ दशकमा देश बनाउन सकेनौँ भने, नेपाल धनी हुनुअघि नै वृद्ध हुनेछ।
जनसांख्यिक लाभलाई उपयोग गर्न अब के गर्ने केही सुझावहरु:
१.सीपमूलक र प्राविधिक शिक्षा: डिग्री बोकेर बेरोजगार बस्ने होइन, बजारको माग अनुसारको सीप र नवप्रवर्तन (Innovation) मा लगानी गर्नुपर्छ।
२.स्वदेशमै रोजगारी र उद्यमशीलता: युवाका नयाँ सोच र ‘स्टार्टअप’ लाई प्राथमिकता दिँदै कृषि आधुनिकिकरण, प्रविधि र उद्योगमा लगानी बढाउनुपर्छ।
३.सबल युवा नीति: सरकार यस बिषयमा गम्भीर हुनुपर्छ, युवालाई केवल भोट बैंक वा श्रमको स्रोत मात्र नठानी, राष्ट्रको नीति निर्माण र नेतृत्व तहको मुख्य साझेदार बनाइनुपर्छ र इतिहासमा एक पटक प्राप्त हुने दुर्लभ जनसांख्यिक लाभांशलाई सदुपयोग गर्न सरकारले प्रभावकारी नीति तर्जुमा गर्नुपर्छ र प्रभावकारी रणनीति बनाइ लगानी गर्नुपर्छ। युवा आफैले पनि सम्झिनु पर्छ हामी राजनीतिक परिवर्तनको गाेटी मात्रै हाेइनाैँ देशकाे सम्बृद्धीका सम्वाहक पनि हाैँ!
इतिहासले कुनै पनि देशलाई यस्तो जनसांख्यिक लाभकाे वरदान एक पटक मात्र दिन्छ। यो समय पछुताउने वा युवा पलायनको मूकदर्शक बन्ने होइन, युवा शक्तिको भरपुर सदुपयोग गरी देशमा राेजगरी सिर्जना गरी आर्थिक वृद्धि गर्ने र समृद्ध नेपाल निर्माण गर्ने बेला हो। तमाम युवाहरूमा अन्तर्राष्ट्रिय युवा दिवसको हार्दिक शुभकामना!

