काठमाडौं : हास्यकलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले एउटा फिल्म खेलेको १० लाख रुपैयाँ पारिश्रमिक लिएका छन्। सुदर्शन थापाको निर्देशनमा बन्ने नयाँ फिल्मका लागि केदारले १० लाख पारिश्रमिक लिएका हुन्। केदारसँग निर्माण टिमले मंगलबार नै सम्झैता गरिसकेको छ। केदार घिमिरे उक्त फिल्मका लागि आफूले उक्त रकम लिएको स्विकार्छन्। भन्छन्, ‘दश लाख लिएको हुँ तर त्यसमा कर म आफैँले तिर्नुपर्ने हुन्छ।’ कर तिरेर आफ्नो हातमा जम्मा आठ लाख ५० हजार रुपैयाँ बाँकी रहने उनी बताउँछन्। नाम छनोट नभइसकेको यस फिल्ममा पूजा शर्मा र सुदर्शन थापाको लगानी रहनेछ। सुदर्शन र पूजाले यसअघि फिल्म ‘म यस्तो गीत गाउँछु’ निर्माण गरेका थिए, जुन व्यावसायिक रूपमा सफल मानिन्छ। यस फिल्ममा पूजा शर्मा मुख्य भूमिकामा प्रस्तुत हुँदै छन् भने नायकको खोजी भइरहेको छ। फिल्मका लागि पूजाले राम्रै शारीरिक कसरत गरिरहेको बताएकी छन्। #थाहा खबरबाट
