शिक्षा केवल अक्षरहरूको खेती र प्रमाणपत्रहरूको सङ्ग्रह होइन।यो त एउटा सुकोमल मस्तिष्कमा भविष्यको उज्यालो छर्ने पवित्र र धैर्यपूर्ण अनुष्ठान हो। जब वैशाखको नयाँ बिहानीसँगै साना नानीबाबुहरू काँधमा झोला र मनमा रङ्गीन सपना बोकेर विद्यालयको प्राङ्गणमा प्रवेश गर्छन्।उनीहरूका आँखामा एउटा सुन्दर संसारको चित्र र हृदयमा असीमित कौतूहल हुन्छ। विद्यालय उनीहरूका लागि एउटा यस्तो दोस्रो घर हो जहाँ उनीहरूले स्नेह, सुरक्षा र अपनत्वको न्यानो छहारी पाउँछन्। तर विडम्बना नै मान्नुपर्छकि जब वर्षको अन्त्य चैत महिना नजिकिन्छ तव बालसुलभ उत्साह बिस्तारै एउटा अज्ञात भय र मानसिक दबाबमा बदलिन्छ। ‘परीक्षा’ शब्दले खुसीको सञ्चार गर्नुको साटो एउटा प्रशासनिक त्रास र मनोवैज्ञानिक बोझ सिर्जना गर्न थाल्छ। अझ पछिल्लो समय शैक्षिक गुणस्तर सुधार्ने नाममा स-साना बालबालिकालाई उनीहरूको परिचित परिवेश र मायालु वातावरणबाट अलग्याएर अपरिचित र भौगोलिक रूपमा कठिन एवं अपाएक केन्द्रहरूमा पुर्‍याएर लिइने एकीकृत परीक्षाले शिक्षाको वास्तविक दर्शनलाई नै कतै न कतै ओझेलमा पारेको आभास हुन्छ। वास्तविक शिक्षा त त्यो हो, जसले बालबालिकालाई आफ्नै आँगनमा निर्धक्क भएर आफूले सिकेका कुराहरूलाई सृजनशील रूपमा प्रस्फुटन गर्ने सामर्थ्य दिन्छ न कि कसैको डरमा उनीहरूको आत्मविश्वासलाई कुण्ठित पार्छ।

हामीले बिर्सन नहुने शाश्वत सत्य के हो भने शैक्षिक गुणस्तर चैतको परीक्षा हलमा गरिने प्रशासनिक कडाइमा होइन बरु वैशाखको पहिलो दिनदेखि फागुनको अन्तिम दिनसम्म कक्षाकोठाभित्र हुने शिक्षणको जीवन्तता र सिकाइको गहिराइमा लुकेको हुन्छ।

पालिका स्तरीय कक्षा ५ र ८ का आधारभूत तहका परीक्षाहरूलाई ‘मर्यादित’ बनाउने बहानामा बालबालिकालाई मानसिक सास्ती दिने गरी केन्द्रहरू एकीकृत गर्नु एउटा प्रशासनिक सक्रियता त होला।तर यो कुनै दीगो शैक्षिक समाधान भने पक्कै होइन। बालबालिकाले वर्षभरि जुन शिक्षकको स्नेह र जुन भौतिक वातावरणमा आफूलाई ढालेका हुन्छन्  तर परीक्षाको घडीमा अचानक उनीहरूलाई त्यहाँबाट विस्थापित गर्दा उनीहरूको स्वभाविक प्रस्तुति र मानसिक सन्तुलनमा गम्भीर असर पर्छ। परीक्षाको ती केही घण्टामा गरिने धूमधामको अनुगमन र देखावटी कडाइले कागजी नतिजामा केही अङ्क तलमाथि पार्ला।तर यसले विद्यार्थीको चेतना, सीप र संस्कारमा कुनै गुणात्मक परिवर्तन ल्याउन सक्दैन। वास्तविक शैक्षिक उपलब्धि त एउटा निरन्तर साधना हो जुन केवल कक्षाकोठाको चार पर्खालभित्र हुने प्रभावकारी र बालमैत्री शिक्षणबाट मात्र सम्भव छ।

त्यसैले वास्तविक सुधारका लागि नगर तथा पालिकाहरूले शैक्षिक सत्रको आरम्भदेखि नै एउटा दूरगामी र वैज्ञानिक ‘शैक्षिक कार्य-योजना’ को खाका कोर्नु अनिवार्य छ। यस पवित्र अभियानमा शिक्षा विकास तथा समन्वय इकाईदेखि स्थानीय शिक्षा शाखाहरू, विद्यालय व्यवस्थापन समिति, विद्यालय प्रशासक र शिक्षकहरूको एउटै लय र एउटै सुर हुनुपर्छ। यो योजनाभित्र केवल बिदा र परीक्षाका मितिहरू मात्र होइनकी बरु शिक्षकको पेसागत क्षमता निखार्न दिइने नियमित तालिम, नवीन शिक्षण विधिको अभ्यास र निरन्तर रूपमा गरिने प्राज्ञिक निरीक्षणका पाटाहरू समेटिनुपर्छ। जब शिक्षकले समयको पदचाप अनुसार नयाँ प्रविधि र सीपयुक्त तालिम पाउँछन् र उनीहरूलाई गल्ती औँल्याउनका लागि होइन कि सुधारका लागि रचनात्मक पृष्ठपोषण प्रदान गरिन्छ तब कक्षाकोठा आफैँमा एउटा ऊर्जावान् सिकाइ केन्द्र बन्छ। अनुगमनको परिभाषा पनि बदलिनुपर्छ।यो त शिक्षकको आत्मबल बढाउने र शिक्षणमा देखिएका चुनौतीहरूलाई काँधमा काँध मिलाएर समाधान गर्ने एउटा सहयोगात्मक सेतु हुनुपर्छ। जब विद्यालयभित्रै एउटा बलियो आन्तरिक जवाफदेहिता र गुणस्तरीय शिक्षणको संस्कार बस्छ तब परीक्षाको समयमा कसैले कसैलाई शङ्का गर्नुपर्ने वा बालबालिकालाई सास्ती दिनुपर्ने अवस्था नै रहँदैन।

एक्काइसौँ शताब्दीको यो गतिशील समयमा हाम्रो शिक्षा केवल पाठ्यपुस्तकका रटिएका परिभाषा र निर्जीव अक्षरहरूमा मात्र सीमित रहनु भनेको हाम्रा बालबालिकाको सुनौलो भविष्यमाथि अन्याय गर्नु हो। अहिलेको युग सूचना प्रविधि र जीवनोपयोगी सीपको युग हो। विद्यालयहरूमा उच्च गतिको इन्टरनेट, आधुनिक कम्प्युटर ल्याब र डिजिटल शिक्षण सामग्रीको पहुँच पुर्‍याउनु अब कुनै विलासिता होइन।बरु यो त शिक्षाको अनिवार्य प्राण भइसकेको छ। जब बालबालिकाले प्रविधिको माध्यमबाट संसारलाई चियाउने अवसर पाउँछन् तव उनीहरूमा आलोचनात्मक सोच र समस्या समाधान गर्ने अद्भुत सामर्थ्यको विकास हुन्छ। यसका साथै शिक्षालाई दैनिक जीवन र माटोसँग जोड्न ‘जीवनोपयोगी सीप’ को समायोजन हुनुपर्छ जसले उनीहरूलाई नैतिकता, श्रमको सम्मान, धैर्यता र व्यावहारिक ज्ञान सिकाओस्। पालिकाहरूले साना र वितरणमुखी ‘टुक्रे’ योजनामा स्रोत र साधन छर्नुको सट्टा विद्यालयहरूलाई प्रविधिमैत्री बनाउन र गुणस्तरीय शिक्षण सामग्री जुटाउन लगानी गर्ने हो भने मात्र वास्तविक शैक्षिक रूपान्तरणको सपना साकार हुन सक्छ। प्रविधिले शिक्षालाई केवल सरल र रोचक मात्र बनाउँदैन।यसले हाम्रा बालबालिकालाई विश्वव्यापी प्रतिस्पर्धामा खरो उत्रन सक्ने गरी तयार समेत पार्छ।

शैक्षिक उपलब्धि हासिल गर्नका लागि परीक्षाको बेला देखाइने कृत्रिम सक्रियता र क्षणिक कडाइभन्दा वर्षैभरी गरिने पद्धतिगत सुधार र इमानदार प्रयास नै सबैभन्दा दीगो र भरपर्दो बाटो हो। स-साना बालबालिकालाई ‘मर्यादा’ का नाममा कठिन र अपाएक केन्द्रहरूमा दौडाएर दिइने मानसिक बोझलाई शैक्षिक सुधारको मानक मान्न कदापि सकिँदैन। बरु उनीहरूले आफ्नै विद्यालयमा कसरी निर्धक्क, मर्यादित र उत्सवको रूपमा परीक्षा दिन सक्छन् भन्ने वातावरण बनाउनु नै सबैभन्दा ठूलो प्रशासनिक र प्राज्ञिक सफलता हो। पद्धति सुधारौँ, शिक्षण शैली बदलौँ र प्रविधिलाई सिकाइको अभिन्न अङ्ग बनाऔँ।यसो गर्दा नतिजा त स्वतः सुन्दर र अर्थपूर्ण आउने नै छ। बालबालिकालाई डराएर होइनकि सिकाएर उनीहरूको असीमित क्षमतामा अटल विश्वास गरेर नै हामी एउटा समृद्ध र विवेकशील समाजको जग बसाल्न सक्छौँ। वैशाखदेखि नै बुनिएको मेहनतको जगमा उभिएको शिक्षाले मात्र चैतको परीक्षालाई एउटा वास्तविक खुसी र उपलब्धिको उत्सव बनाउन सक्छ। हाम्रो साझा लक्ष्य बालबालिकालाई ‘कठिन’ पार्नु होइन, उनीहरूलाई भविष्यको ‘सक्षम’ नागरिक बनाउनु हुनुपर्छ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस...