उपेन्द्रलाल कामी
भूमिका
विश्व राजनीतिक रंगमञ्चको आँखिझ्यालबाट हेर्दा नेपाल अहिले एउटा नितान्त नयाँ विषम परिस्थितिको ऐतिहासिक मोडमा पुगेको छ। यहाँको नयाँ युवा पुस्ता, विशेष गरी Gen Z समुहको युवा पुस्ताले, परम्परागत राजनीतिक संस्कृतिलाई चुनौती दिंदै सडकमा उत्रिएर वलिदानी समेत दिइसकेको छ । यो आन्दोलन केवल सामाजिक सञ्जाल प्रतिबन्ध वा राजनीतिक असन्तुष्टिको प्रतिक्रिया मात्र होइन, बरु पुराना संरचना, विशेषाधिकार र शासनशैली विरुद्धको आक्रोशको रूप हो । जनताको वास्तविक समस्या एव भावनालाई सम्बोधन नगरी खोक्रो राष्ट्रवादको राग अलाप्ने शासकीय प्रवृत्ति र अरु देशभित्र बितण्डता मच्चाइदिएर आफ्नो बलियो राजनीतिक प्रभाव जमाउन खोज्ने उपद्रो साम्राज्यवादका बिशेषतालाई मध्यनजर गरेर सच्चा देशभक्तिले चाल्नुपर्ने कदमको बारेमा केही चर्चा गर्न खोजिएको छ ।
खोक्रो राष्ट्रवाद – शासकको कर्तुत छोप्ने वस्त्र
जनबिरोधी, भ्रष्ट, अधिनायकवादी शासकहरु सत्तामा रहँदा आफ्नो कुर्सी जोगाउन असक्षमता र कर्तुतलाई छोप्ने वस्त्रको रुपमा प्रयोग गर्ने र प्रतिपक्षमा रहँदा जनतालाई भड्काउने अस्त्रको रुपमा प्रयोग गर्ने खोक्रो राष्ट्रवादको चारित्रिक बिशेषता कस्तो हुन्छ भन्ने बारेमा पहिला बुझ्न जरुरी छ । जुन चारित्रिक बिशेषता यस्तो रहेको हुन्छ ।
• नारा–केंद्रीतता – वास्तविक काम नगरी केवल राष्ट्रवादका आकर्षक नारा, भाषण वा प्रदर्शनमा मात्र सीमित हुन्छ।
• जनताको जीवनसँग सम्बन्धहीनता – गरिबी, बेरोजगारी, शिक्षा, स्वास्थ्य, समानता जस्ता वास्तविक समस्याहरूलाई सम्बोधन नगरी सतही गौरवका कुरा मात्र गर्छ।
• देखावटी देशप्रेम – वास्तविक बलिदान वा योगदान नगरी झण्डा, गान, रीतिरिवाज वा बाहिरी प्रतीकलाई मात्र जोड दिन्छ।
• आलोचनामा असहिष्णुता – शासकको गलत कदमप्रति गरिने कुनै पनि प्रश्न, आलोचना वा सुधारको प्रयासलाई “देशद्रोह” भनेर दबाउने प्रवृत्ति हुन्छ ।
• भावनात्मक उन्माद – तर्क, तथ्य वा विवेकभन्दा बढी भावनालाई भड्काएर जनतालाई भ्रमित बनाइन्छ।
• सत्ताप्रेमी चरित्र – प्रायः यस्तो राष्ट्रवाद शासक वर्ग वा राजनीतिक दलले आफ्नो सत्तामा जान वा सत्ता टिकाउन प्रयोग गर्छ, जनताका अधिकारलाई होइन।
• अन्तर्राष्ट्रिय सम्बन्धमा अहंकार – वास्तवमा कमजोर भएर पनि आफूलाई बलियो देखाउने, अनावश्यक द्वन्द्व निम्त्याउने प्रवृत्ति हुन्छ।
• समानता र न्यायको अभाव – जातीय, वर्गीय, क्षेत्रीय वा लैङ्गिक विभेदलाई ढाकछोप गर्ने तर वास्तविक समानतामूलक राष्ट्र निर्माण तर्फ उदासीन रहने गरेको हुन्छ ।
सारमा, खोक्रो राष्ट्रवाद देशको प्रगति र जनकल्याण भन्दा बढ्ता सत्तास्वार्थ, नारा, र भावनात्मक प्रदर्शनमा केन्द्रित रहेको हुन्छ ।
नेपालको नयाँ संबिधान -२०७२ लाई जारी गर्दा मधेसवादी दलको आन्दोलनलाई कारण बनाएर भारतले गरेको अघोषित नाकाबन्दीको सामना गर्नेदेखि लिएर कालापानी-लिपुलेक- लिम्पियाधुरालाई समेटेर नेपालको चुच्चे नक्शा जारी गर्ने सम्मको नेतृत्व गरेका निवर्तमान प्रधानमन्त्री केपि शर्मा ओलीले पहिला राष्ट्रवादी नेताको राम्रो पहिचान बनाएका थिए । यसैको आवरणमा भ्रष्टाचारीलाई संरक्षण गर्ने, उत्पीडित जाति- समुदायको अधिकारप्रति अनुदार बन्ने, देशको गरिबी-बेरोजगारीबाट उत्पन्न जनताका दैनिक समस्याप्रति गैरजिम्मेवार बन्ने, नातावाद – कृपावाद (नेपोटिज्म) मौलाउन दिएर अन्ततः म नै सर्वोपरि हो भन्ने अहंकारले ग्रसित भइ खोक्रो राष्ट्रवादको आवरणमा आफ्नो असक्षमता लुकाएर छिमेकी राष्ट्रहरुसंग पनि सम्बन्ध बिगार्दै जाँदा अन्ततः आफ्नो पदसंगै देशलाई खरानीको उपहार दिएर सत्ताच्युत हुनुपर्यो । खोक्रो राष्ट्रवादको यो पनि एउटा भद्दा र दुखान्त नमुना हो ।
उपद्रो साम्राज्यवाद : आन्तरिक प्रभुत्व र शोषण
उपद्रो साम्राज्यवाद भन्नाले कुनै शक्तिशाली राष्ट्र वा साम्राज्यले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा अन्य राष्ट्र, जाति वा समुदायलाई आफ्नो अधीनमा राख्दै राजनीतिक, आर्थिक, सांस्कृतिक र सैनिक नियन्त्रण गर्ने नीति वा अभ्यासलाई जनाइन्छ। यसको केही प्रमुख विशेषताहरू यस प्रकार छन् :
• राजनीतिक नियन्त्रण – कमजोर राष्ट्रलाई प्रत्यक्ष उपनिवेश बनाउने वा कठपुतली सरकारमार्फत नियन्त्रण गर्ने।
• आर्थिक शोषण – प्राकृतिक स्रोतसाधन, श्रमशक्ति र बजारलाई आफ्नो स्वार्थअनुसार प्रयोग गर्ने।
• सांस्कृतिक वर्चस्व – आफ्नो भाषा, धर्म, संस्कृति, शिक्षा प्रणालीलाई थोपरि स्थानीय पहिचानलाई कमजोर पार्ने।
• सैनिक हस्तक्षेप – विद्रोह दबाउन वा नियन्त्रण कायम राख्न सेना पठाउने वा सुरक्षा सम्झौताको नाममा सैनिक उपस्थिति राख्ने।
• आफ्नो स्वार्थलाई “सभ्यता” वा “विकास” को नाममा लुकाउने – उपनिवेश वा हस्तक्षेपलाई औचित्य दिन “सभ्यता फैलाउने”, “प्रगति ल्याउने” भन्ने बहाना गर्ने।
• असमान सम्झौता थोपर्ने – व्यापार, कर, जमिन, स्रोतमा आफ्नो नियन्त्रण कायम गर्न असमान सम्झौता गर्न बाध्य पार्ने।
• स्थानीय प्रतिरोधलाई दमन गर्ने – जनताको विद्रोह, स्वतन्त्रता आन्दोलनलाई हिंसात्मक दमन गर्ने।
• विभाजन र शासन नीति (Divide and Rule) – स्थानीय समुदायहरूलाई जाति, धर्म, क्षेत्रका आधारमा फुटाएर कमजोर बनाउने।
सारमा, उपद्रो साम्राज्यवादले कमजोर राष्ट्रको सार्वभौमिकता, आत्मनिर्भरता र पहिचानलाई नष्ट गर्दै आफ्नो शक्तिशाली राष्ट्रको प्रभुत्वलाई कायम गर्छ ।
दोस्रो विश्वयुद्धमा जापानको हिरोसिमा र नागाशाकीमा परमाणु बम विस्फोट गराइ लाखौंलाखको
नरसंहार गरेर महाशक्ति राष्ट्रको रुपमा उदाएको अमेरिकाको अर्थतन्त्र सेवा क्षेत्र, उच्च प्रविधि-हतियार उद्योग, वित्तीय बजार, कृषि उत्पादन र उपभोक्ता बजारमा आधारित छ। यसको साथै एशियाबाट चीन भारत पनि बिकास र समृद्धिमा उदयीमान शक्ति राष्ट्रको रुपमा गुणात्मक फड्को मार्दै गइरहेका छन भने रुस, जापान, कोरिया, लगायत युरोपेली राष्ट्रहरु पनि बिकास र समृद्धिमा तिव्र गतिले आफुलाई सशक्तीकरण गर्दै गइरहेको हुँदा अब अमेरिकाले चाहे जस्तो आफ्नो एकछत्र साम्राज्य कायम गर्ने अवस्था छैन ।
उसले आफ्नो प्रतिस्पर्धी र गरिब देशहरूमा हिंसात्मक खालका जातीय, क्षेत्रीय, धार्मिक साम्प्रदायिक भड्काव सृजना गराएर आफ्नो प्रभावकारी राजनीतिक उपस्थिति जनाउन चाहन्छ । इजरायल-इरान युद्ध, रुस-युक्रेन युद्ध , एक चीन नीति बिरुद्धको स्वतन्त्र तिब्बत, ताइवान आन्दोलन लगायतका विश्वभर जति हिंसात्मक गतिविधिहरु छन् ती सबैलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सघाउने काम अमेरिकाले गर्दै आइरहेको छ । यो उसको एकछत्र साम्राज्यमाथि आएको संकटको बाध्यात्मक अवस्थाले गर्दा विभिन्न देशहरुमा कुनै न कुनै रुपको उपद्रो मच्चाएर आफ्नो साम्राज्यवादको अस्तित्व कायम गर्न चाहने भएको हुँदा यो अहिले उपद्रो साम्राज्यवादमा परिणत भएको छ ।
स्वाभिमानी राष्ट्रवाद अबको बाटो
स्वाभिमानी राष्ट्रवाद भन्नाले आफ्नो देश, जाति, संस्कृति, भाषा, इतिहास र पहिचानप्रति आत्मसम्मान, आत्मनिर्भरता र आत्मगौरव सहितको राष्ट्रप्रेमलाई बुझिन्छ । यसमा अन्धो वा खोक्रो भावना भन्दा फरक रूपमा, विवेकपूर्ण, न्यायपूर्ण र समतामूलक ढंगले देशलाई अगाडि बढाउने सोच समावेश हुन्छ । कुनै शक्तिसंग घुँडा टेकेर झुक्ने , भुस्याहा कुकुरले झैं जथाभावी भुक्ने, कसैको दान लिनका लागि दैलो- दैलो ढुक्ने र राष्ट्रलाई संकट पर्दा डराएर लुक्ने प्रवृत्तिलाई स्वाभिमानी राष्ट्रवादले निरुत्साहित गरेर सच्चा देशभक्तिपूर्ण भावनालाई स्थापित गरिदिन्छ ।
स्वाभिमानी राष्ट्रवादमा आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र बिकास गरेर सबल राष्ट्र निर्माण गर्ने उद्देश्यमा आधारित उत्पादन, सीप, ज्ञान र स्रोतलाई राष्ट्रिय हित अनुकूल परिचालन गर्ने बिषय अन्तरनिहित हुन्छ । समता र सामाजिक न्यायको सिद्धान्तमा आधारित सबै वर्ग, जाति, भाषा, धर्मलाई समान सम्मान दिने र आफ्नो इतिहास, संस्कृति र योगदानप्रति आत्म गौरव गर्दछ । देशभित्रका बिभिन्न जात-जाति, भाषा, धर्म, संस्कृतिका समुदायलाई अधिकार सहित एकताबद्ध गर्दै छिमेकी राष्ट्रसंग समदूरीको सम्बन्ध राखेर शक्ति राष्ट्रहरुसंगको पारस्परिक सहकार्यलाई गतिशील सन्तुलन मिलाएर अघि बढ्ने योजना स्वाभिमानी राष्ट्रवादमा हुन्छ भने भावनामा मात्र सीमित नभई व्यवहारमा आत्मनिर्भर विकास, प्रगतिशील सोच र स्वतन्त्र नीतिमा जोड दिएको हुन्छ ।
संक्षेपमा भन्नुपर्दा, स्वाभिमानी राष्ट्रवाद भनेको– न त आत्मसमर्पण गर्ने निर्बल राष्ट्रवाद हो, न त अरूलाई तुच्छ ठान्ने अन्धराष्ट्रवाद हो, बरु आत्मसम्मानमा आधारित विवेकशील राष्ट्रवाद हो । यसलाई प्रगतिशील राष्ट्रवाद पनि भन्न सकिन्छ । अबको नयाँ Gen-Z युवा पुस्ताले खोक्रो राष्ट्रवाद र उपद्रो साम्राज्यवादलाई तह लगाउन क्रान्तिकारी बिचारमा आधारित प्रगतिशील राष्ट्रवादलाई अवलम्बन गरेर सुशासन र समृद्धिको यात्रा तय गर्नुपर्दछ । अनि मात्र हाम्रो राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै हामीले स्वाभिमानी नेपालीको वास्तविक पहिचान दिन सक्नेछौँ । अस्तु ।

