काठमाडौँ । प्रेस काउन्सिल नेपालले विभिन्न ५ मातृभाषामा अनुवाद गरी पत्रकार आचारसंहिता सार्वजनिक गरेको छ । यो सहित नेपाली मिडियामा विभिन्न ८ मातृभाषाका आचारसंहिता प्रयोगमा आएका छन् । काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेत, भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुर र राष्ट्रिय समाचार समातिका अध्यक्ष धर्मेन्द्र झाले भोजपुरी, राई वान्तावा, तामाङ, डोट्याली, लिम्बु भाषामा अनुवादित पत्रकार आचारसंहिता सार्वजनिक गर्नुभयो । यसअघि काउन्सिलले थारु, मैथिली र नेपाल भाषामा अनुवादित आचारसंहिता सार्वजनिक गरिसकेको छ ।

कार्यक्रममा बोल्दै भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले स्थानीयपन नहुने र मौलिकता छोडियो भने मातृभाषा नरहने बताउनुभएको छ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले देशका विभिन्न भूभागमा बोलिने मातृभाषाको प्रबद्र्धनमा पत्रकारिताको महत्वपूर्ण योगदान रहने बताउनुभयो । उहाँले सञ्चारको सबैभन्दा नजिकको र बुझिने भाषा नै मातृभाषा भएकाले यसको प्रबद्र्धनका निम्ति काउन्सिलले काम गरेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाले देशका धेरै भुभागमा अझै पनि नेपाली भाषा बुझ्ने समुदाय नभएकाले मातृभाषामा पत्रकारिता गर्नु जरुरी भएको उल्लेख गर्नुभयो । कार्यक्रमको सहजीकरण काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले गर्नुभएको थियो ।

फेसबुक प्रतिक्रियाहरु
adv.