रुकुम पश्चिमको चौरजहारी नगरपालिका नगर कार्यपालिकाको कार्यालयसँग सम्बन्धित जानकारीको लागि एआई च्याटबोट प्रयोगमा ल्याउने तयारी गरेको छ । नगरपालिका कार्यालयसँग सम्बन्धित जानकारी सहज रूपमा प्रदान गर्न एआई च्याटबोट प्रयोगमा ल्याउन लागिएको हो ।
यसको प्रयोग र प्रारम्भमा देखिएका त्रुटिहरू पहिचान गर्न बुधबार कर्मचारीहरूसँग अभिमुखीकरण कार्यक्रम समेत सम्पन्न गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिनुभयो । एआई च्याटबोट प्रविधिमा आधारित कम्प्युटर प्रोग्राम हो । यसले मानिसहरूसँग कुराकानी गर्नसक्छ । यो लेखेर वा बोलेर दुबै माध्यमबाट काम गर्नसक्छ । सेवाग्राहीले घरबाटै चाहिएको जानकारी प्राप्त गरी आवश्यक तयारी गर्न सहज हुनेछ । यसबाट सेवाप्रवाहको सरलीकरणमा नवीतम सूचना प्रविधिको उपयोग हुनेछ ।
नगरपालिका कार्यालयबाट प्राप्त गर्न सकिने सेवा, आवश्यक कागजात, लिने प्रक्रिया, लाग्ने दस्तुर, प्रतिवेदन, सम्पर्क नम्बर लगायतका आवश्यक जानकारी यसले सहज रूपमा उपलब्ध गराउने छ । चौरजहारी नगरपालिका कार्यालयसँग सम्बन्धित रहेर खोजेको जानकारी तथ्यमूलक रूपमा एआई च्याटबोटले प्रदान गर्नेछ ।
