रुकुम पश्चिममा रोम विधान अनुमोदनका लागि प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापनपत्र बुझाईएको छ । अन्तर्राष्ट्रिय फौजदारी अदालतसम्बन्धी रोम विधान अनुमोदनको माग गर्दै मानवअधिकारकर्मी तथा नागरिक समाजका प्रतिनिधिहरूले जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमका प्रजिअ निशानराज गौतम मार्फत प्रधानमन्त्री बालेन्द्र साहलाई ज्ञापन पत्र बुझाएका हुन ।
ज्ञापन पत्र बुझ्दै प्रजिअ गौतमले रोम विधान अनुमोदन सम्बन्धी नागरिक समाजको यो मागलाई तत्काल सम्बन्धित निकायमा पु¥याउने प्रतिबद्धता जनाए । मुलुकमा संक्रमणकालीन न्यायसँग जोडिएका कतिपय विषयहरूलाई सकेसम्म चाँडो समाधान गर्नुपर्ने आवश्यकता रहेको समेत उनको जोड थियो ।
ज्ञापन पत्रमा मानवअधिकार संजालका प्रतिनिधि अधिवक्ता गणेश हमाल, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का जिल्ला प्रतिनिधि जीवन खडका, गैसस महासंघका अध्यक्ष भीमराज ओली, नेपाल बार एसोशिएसनका जिल्ला सचिव टेक बहादुर खडका, र अन्तर पार्टी महिला संजालका अध्यक्ष हिमकुमारी केसीले लगायत जिल्ला स्थित सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।

