भीम बुढाथोकी
आज हामी एक्काइसौ शताब्दीको यस्तो संवेदनशील मोडमा उभिएका छौ जहाँ विज्ञान र प्रविधिको अभूतपूर्व विकासले मानव जीवनका हरेक आयामलाई आमूल रूपमा फेददेखि टुप्पसम्म बदलिदिएको छ। यसैक्रममा कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स वा एआई) को तीव्र विस्तारले संसारभर ठूलो हलचल ल्याएको छ। एकातर्फ यसले मानव क्षमतालाई विस्तार गर्न र कार्यक्षमता बढाउन मद्दत पुर्याएको छ भने अर्कातर्फ यसले मानिस भित्रको मौलिक सिर्जनशीलता, खोजमूलक सोच र अन्तरनिहित प्रतिभा माथि गम्भीर संकट उत्पन्न गरेको छ। आज शिक्षक, विद्यार्थी ,व्यापार, व्यवसाय, वाणिज्य र समग्र अर्थतन्त्रका क्षेत्रहरू पनि यसैको पासोमा पर्दै गएका छन्। एआई प्राविधिको अत्यधिक परनिर्भरताले मानिसको आफ्नै मष्तिष्कले सोच्ने र सिर्जना गर्ने क्षमतालाई क्रमशः कमजोर बनाउदै लगेको छकी जसले देशको दीर्घकालीन स्वाभिमान र स्वावलम्बनमाथि नै प्रश्नचिन्ह खडा गरेको छ।
पछिल्लो समय विद्यालयदेखि विश्वविद्यालयसम्मका शैक्षिक गतिविधिहरूमा एआईको प्रयोग डरलाग्दो रूपमा बढ्दै गएको छ। विद्यार्थीहरू आफ्नो गृहकार्य, परियोजना कार्य वा अनुसन्धानमूलक लेखहरू तयार पार्दा आफ्नो मौलिक तर्क वा पसिना बगाउनुको सट्टा सीधै एआईका उपकरणहरूमा निर्भर हुन थालेका छन्। प्रश्न देख्ने बित्तिकै उत्तर खोज्ने र कपि पेस्ट गर्ने बानीले गर्दा विद्यार्थीहरूको सिर्जनशील शक्ति र बौद्धिक क्षमता धराशायी बन्दै गएको छ। यो समस्या केवल विद्यार्थीमा मात्र सीमित छैनकी उनीहरूलाई सहजीकरण गर्ने शिक्षकहरूमा समेत पाठयोजना बनाउन वा नयाँ तरिकाले सोच्न एआईप्रतिको परनिर्भरता झागिदै गएको छ। यदि शिक्षा दिने र लिने दुवै पक्ष यसरी नै प्रविधिको कठपुतली बन्दै जाने हो भने समाजमा मौलिक चिन्तन गर्ने सिर्जनशील जनशक्तिको खडेरी पर्ने निश्चित छ। यसले देशलाई आत्मनिर्भर होइनकी बौद्धिक रूपमा कमजोर र परजीवी समाजतर्फ धकेलिरहेको छ।
व्यापार, व्यवसाय र प्रशासनिक क्षेत्रको अवस्था पनि यस भन्दा भिन्न छैन। मानिसहरू सामान्य पत्रपत्रिका तयार पार्न, बजारको विश्लेषण गर्न वा व्यावसायिक योजना बनाउन समेत अल्छी मान्न थालेका छन् र सबै जिम्मा एआईलाई सुम्पिरहेका छन्। यस किसिमको अत्यधिक परनिर्भरताले मानिसलाई अल्छी, सिर्जनशीलताविहीन र संकटको सामना गर्न नसक्ने कमजोर बनाउदै लैजान्छ। यस्तो गम्भीर परिस्थितिबाट देश र समाजलाई सही मार्गमा डोर्याउन अब हामीले परम्परागत ढोकाहरू बन्द गरेर नयाँ नीतिगत र व्यावहारिक बाटो समात्नु अपरिहार्य भइसकेको छ।
यसखाले चुनौतीलाई सम्बोधन गर्न नेपाल सरकारका राष्ट्रिय नीति तथा योजनाहरूमा पनि शिक्षालाई रोजगारमुखी, जीवनोपयोगी र प्रविधिसँग सन्तुलित गर्ने कुराहरू उठ्दै आएका छन्। राष्ट्रिय शिक्षा नीति तथा सरकारका वार्षिक नीति तथा कार्यक्रमहरूले शिक्षालाई समता र समृद्धिको आधार बनाउने, शिक्षा र रोजगारीबीच तालमेल कायम गर्ने तथा समयसापेक्ष पाठ्यक्रमको पुनरावलोकन गर्ने कुरालाई जोड दिएका छन्। तर नीतिगत कागजातमा मात्र सीमित नभई यसलाई धरातलमा उतारी पाठ्यक्रममै आमूल परिवर्तन गर्नुपर्ने बेला आएको छ। परम्परागत रटानमुखी र सैद्धान्तिक शिक्षा प्रणालीले मात्र अबको युगको माग धान्न सक्दैन। यसलाई सुधार गर्न पाठ्यक्रमको ढाँचालाई पूर्ण रूपमा व्यावहारिक बनाउनुपर्छ।जहाँ ५० प्रतिशत सैद्धान्तिक (Theoretical) र ५० प्रतिशत प्रयोगात्मक (Practical) शिक्षाको अनिवार्य व्यवस्था गरिनुपर्छ।
सैद्धान्तिक ज्ञानले सैद्धान्तिक आधार मात्र तयार पार्छ।तर जीवन र व्यवहार चलाउने असली कला प्रयोगात्मक शिक्षाले मात्र सिकाउछ। त्यसैले शैक्षिक हप्तालाई वैज्ञानिक रूपमा विभाजन गरी ३ दिन सैद्धान्तिक र ३ दिन पूर्ण रूपमा प्रयोगात्मक वा व्यवहारिक सिकाइका लागि छुट्याउनु पर्छ। विद्यार्थीहरूलाई केवल किताबी किरा बनाउनुको सट्टा घरव्यवहार कसरी सम्हाल्ने, घरायसी तथा व्यावहारिक कामहरू कसरी गर्ने, सामान्य मर्मतसम्भार, माटोको चिनारी, कृषि, खेतीपाती, स्थानीय स्तरमा गरिने उत्पादनमूलक तथा सिर्जनशील कामहरूको व्यवहारिक ज्ञान दिनु अनिवार्य छ। विद्यार्थीहरूले विद्यालयको तहबाटै बारीमा गएर माटोको किसिम बुझ्ने, बिरुवा रोप्ने, घरायसी सरसफाइ र आत्मनिर्भर बन्ने सीपहरू प्रयोगात्मक रूपमा सिक्न पाउनुपर्छ।
जबसम्म शिक्षाले मानिसलाई श्रमसँग, माटोसंग र व्यवहारिक धरातलसँग जोड्दैन तबसम्म त्यो शिक्षा अधुरो हुन्छ। सरकारले ल्याएका डिजिटल नेपाल फ्रेमवर्क वा आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी नीतिहरू को उद्देश्य प्रविधिको सही र नैतिक प्रयोगमार्फत देशको सामाजिक-आर्थिक विकास गर्नु हो न कि नागरिकलाई प्रविधिको दास बनाउनु। एआई र प्रविधि आफ्ना ठाउँमा अत्यन्त उपयोगी औजार हुन्।तर तिनीहरूलाई आफ्नो मौलिक बुद्धि र सिर्जनशीलता बन्धक राखेर प्रयोग गर्नु घातक हुन्छ। हामीले एआईलाई आफ्नो मालिक बन्न दिनु हुदैन बल्कि आफू पोख्त र सिर्जनशील बनेर यसलाई केवल सहयोगी वा साध्यको रूपमा मात्र प्रयोग गर्नुपर्छ।
अन्ततः देशलाई सही दिशामा लैजाने र स्वाभिमानी तथा आत्मनिर्भर नागरिक तयार पार्ने हो भने शिक्षा नीति र पाठ्यक्रममा तत्काल दूरगामी सुधार गर्नुको विकल्प छैन। प्रविधिको अन्धो अनुकरण र परनिर्भरता त्यागेर आफ्नै पसिना, आफ्नै बुद्धि र आफ्नै सिर्जनशीलतामा विश्वास गर्ने सुदृढ समाज निर्माण गर्नु नै आजको ऐतिहासिक आवश्यकता हो। पाठ्यक्रममा ५० प्रतिशत प्रयोगात्मक र व्यावहारिक शिक्षालाई अनिवार्य स्थान दिँदै नीतिगत प्रतिबद्धतालाई इमानदारीसाथ कार्यान्वयन गर्न सके मात्र हामीले प्रविधिको यो पासोबाट उम्कन र आफ्ना भावी सन्ततिलाई सक्षम, स्वावलम्बन तथा सिर्जनशील रूपमा उभ्याउन सक्नेछौ।

