हरि जिज्ञासु
बाल्यकालमा घरबाट विद्यालय जान करिब एक घण्टा लाग्थ्यो । अहिले सम्झिँदा हामीले अध्ययन गर्ने विद्यालय, विद्यालयजस्तो थिएन । ढुङ्गा विच्छ्याएर अध्ययन गरेको अनुभव छ । करिब वि.सं. २०६० सालतिरको कुरा हो । नेपालगञ्जबाट डोल्पाको जुफाल विमानस्थलमा उडान भर्न उडेको जहाज हाम्रो गाउँमाथिबाट उड्थ्यो । हामी त्यही जहाज उडेको समयलाई विश्वास गरेर विद्यालयको यात्रा गथ्र्यौँ ।
बाबा–आमासँग पनि समय हेर्ने घडी हुँदैनथ्यो । उहाँहरूले पनि त्यही जहाज उडेको समयलाई हेरेर हामीलाई विद्यालय पठाउन तयार गर्नुहुन्थ्यो । कहिले डाँडामा झुल्किएको घाम, कहिले आकाशमा उडेको जहाज हाम्रो लागि समय हेर्ने घडी थिए । विद्यालय पुगेपछि घाम अस्ताउन लागेको डाँडालाई हामी समय मान्थ्यौँ ।
बाल्यकालमा गाउँमाथिबाट उडेको जहाजभित्र कति मान्छे होलान ? कस्ता मान्छेहरू होलान ? त्यो जहाज कसले र कसरी चलाउँछ होला ? यस्तै जिज्ञासा हुन्थ्यो । तर त्यो जहाजमा उड्ने सपना भने हामी कमै देख्थ्यौँ । समयले हामीलाई जहाजमा चढेर विदेश उड्ने बनायो । अहिले हाम्रा गाउँका धेरै युवाहरू जहाज चढेर डोल्पा पुगेका छैनन्, तर अन्तर्राष्ट्रिय विमानस्थलबाट रोजगारीका लागि विदेश उडेका छन् ।
कर्णालीका नागरिक क्षेत्रीय विमान चढेर एउटा जिल्लाबाट अर्को जिल्लामा पुग्न पाएका छैनन् । जहाज चढेर यात्रा गर्नका लागि नागरिकको आर्थिक स्तरमा सुधार हुन आवश्यक छ । जिल्ला सदरमुकामबाट प्रदेश राजधानी सुर्खेत पुग्न र त्यहाँबाट काठमाडौँ बसमा यात्रा गर्दा सस्तो टिकटको बस नागरिकलाई चाहिन्छ । कर्णालीका नागरिकले ढुक्कले जहाज खोज्ने वातावरण बनाउनका लागि त्यहाँका जनताको आर्थिक अवस्थामा सुधार हुनुपर्छ । त्यसपछि कर्णालीमा नेपाल नागरिक उड्डयन प्राधिकरणले नियमित जहाज उडाउन सक्छ ।

हाल कर्णालीका दश वटा जिल्लामा जम्मा सात वटा क्षेत्रीय विमानस्थल रहेका छन् । प्रदेश राजधानी सुर्खेतको सुर्खेत विमानस्थलबाट काठमाडौँ उडान भए पनि अधिकांश विमानस्थलमा नेपालगञ्जबाट उडान भर्ने गरिन्छ । त्यो पनि नियमित उडान हुने गरेको अवस्था छैन । कतिपय विमानस्थलमा हप्तामा दुई–तीनवटा उडान भर्ने गरेको पाइन्छ । डोल्पाको जुफाल विमानस्थल, जुम्ला विमानस्थल, हुम्लाको सिमकोट विमानस्थल लगायतका केही विमानस्थलमा भने नियमित उडान छ । तर पनि धेरै नागरिकसँग विमान चढ्न सक्ने क्षमता छैन । आपत–विपत्मा विमान चढ्न सक्ने क्षमता नागरिकमा हुनुपर्छ र त्यसको व्यवस्था राज्यले गर्नुपर्छ ।

वि.सं. २०३० सालमा स्थापना भएको रुकुम पश्चिमको चौरजहारी विमानस्थल बेवारिसे अवस्थामा छ । विभिन्न राजनीतिक दलका माननीयहरूले चौरजहारी विमानस्थल नियमित सुचारु गर्न पहल गर्ने आश्वासन त दिनुहुन्छ, तर उहाँहरूले कसरी नियमित सुचारु गर्नुपर्छ भन्ने भेउ पाउनुहुन्छ कि पाउनुहुन्न, त्यो थाहा छैन । वि.सं. २०५० तिर स्थापना भएको रुकुम पश्चिमको सल्ले विमानस्थलमा पनि नियमित उडान हुन सकिरहेको छैन । नेपालगञ्ज र काठमाडौँ उडान भर्ने गरे पनि यो नियमित छैन । किन नियमित छैन त भन्ने प्रश्नमा धेरै कुरा जोडिएका हुन्छन् । कुनै नेताले नियमित उडान सुचारु गर्नेछु भन्ने आश्वासनले मात्र सम्भव हुँदैन । यहाँ धेरै कुरा जोडिएका छन् ।

प्रदेश राजधानीसमेत रहेको दाङ जिल्लामा अवस्थित टरीगाउँ विमानस्थलमा समेत नियमित उडान नहुनुको कारण के हो त ? देशमा जहाज कम भएर हो ? विमानस्थलको क्षमता नभएर हो ? नागरिक उड्डयन प्राधिकरण नियमित घाटामा हुनुको कारण हो ? कि सजिलो तरिकाले भन्नुपर्दा नागरिकसँग सजिलै जहाजमा आवतजावत गर्ने क्षमता कम भएकाले हो ? त्यसकारण यी र यस्ता विषयमा सरोकारवाला पक्षले गम्भीर रूपमा ध्यान दिन आवश्यक छ ।

कसरी उडाउन सकिन्छ त कर्णालीमा नियमित जहाज ?
मलाई त के लाग्छ भने सरकारले नेपालको पर्यटन क्षेत्रमा भरपूर लगानी गरेमा मात्र पनि नेपाल समृद्धिको बाटोमा अघि बढ्न सक्छ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न र त्यहाँको दृश्य अवलोकन गर्नका लागि दैनिक हजारौँ पर्यटकहरू काठमाडौँ र रामेछापबाट जहाजमार्फत लुक्ला पुग्छन् । पर्यटन सिजनमा लुक्ला विमानस्थल निकै व्यस्त हुन्छ । यदि पर्यटन क्षेत्रमा लगानी बढाउने हो भने कर्णालीमा स्थापना भएका सबै विमानस्थलहरू नियमित सञ्चालनमा आउन सक्ने सम्भावना छ ।
कर्णालीको गरिबी गैरसरकारी संस्थालाई देखाउनुभन्दा त्यहाँको जनजीवन, संस्कृति र उत्पादनलाई विश्वका पर्यटकको दृष्टिकोणमा पार्नका लागि सरकारले विशेष पहल गर्नुपर्ने हुन्छ । कर्णालीका १० वटा जिल्लामध्ये पाँच वटा जिल्लाहरू हिमाली जिल्ला हुन् । डोल्पा जिल्लामा धौलागिरी, चुरेन, पुथा हिमचुली, मुकोट, काञ्जिरोवा, डाँफे शैल, अरनिको चुली लगायतका हिमाल छन् । अझै अरू हिमाल पत्ता लाग्न बाँकी छन् ।

त्यसैगरी हुम्ला जिल्लामा सैपाल हिमाल लगायतका हिमशृङ्खला छन् । जुम्ला जिल्लामा काञ्जिरोवा हिमाल, पातारासी लगायतका हिमाल छन् । मुगु र कालिकोट जिल्लामा काञ्जिरोवा हिमाल, कान्ति हिमाल, पचाल हिमाल लगायत अन्य हिमाल छन् । हिमालको आधार शिविरसम्म पुग्न विदेशी पर्यटकहरू काठमाडौँको त्रिभुवन विमानस्थलबाट दुई दिन बस चढेर पुग्न सक्ने अवस्था छैन । त्यसकारण पर्यटकका लागि विमानस्थल आवश्यक पर्छ ।

नेपाललाई प्रकृतिले उपहारका रूपमा हिमाल र तालहरू दिएको छ । कला र संस्कृति पनि हाम्रो लागि उपहार नै हुन् । अब हाम्रो हिमाल र हाम्रो कला–संस्कृतिलाई विश्वलाई देखाउन सकेमा पनि हामी आर्थिक रूपमा माथि उठ्न सक्छौँ । त्यसकारण कर्णालीमा पर्यटकलाई भुलाउन र उनीहरूको मन प्रफुल्ल बनाउन सक्ने धेरै सम्भावना छ् । नेपाल सरकारले यतातिर ध्यान दिन सकिरहेको छैन । नियमित रूपमा जहाज उडाउनका लागि त्यहाँको पर्यटन सम्भावनालाई देखाउन आवश्यक छ ।
मेरो बाल्यकाल, अर्थात् आजभन्दा करिब २० वर्षअघि, जहाँ मेरो गाउँमाथिबाट डोल्पाको जुफाल विमानस्थलका लागि जहाज उड्थ्यो । त्यहाँ सिजनको बेला विदेशी पर्यटकहरू शे–फोक्सुण्डो अवलोकन गरेर उच्च स्थानमा रहेको बस्ती छार्काभोट पुगेर मुस्ताङ निस्कन्थे । त्यो बेलामा मेरा बाबाले कुरा गरेको याद छ, “खैरे चलेको समयमा भारी पाइयो भने राम्रो कमाइ हुन्छ ।”

बाबाहरू कहिलेकाहीँ रुकुमबाट भारी बोक्न डोल्पा पुग्थे । उनीहरू खैरेको भारी बोक्न पाएकोमा खुसी हुन्थे । पूर्वका हिमाली क्षेत्रमा ट्रेकमा स्थानीयले पर्यटकहरूको भारी बोकेर जीविकोपार्जन गर्छन् । उनीहरू विदेशीहरूसँग हिँड्दा–हिँड्दै अंग्रेजी सिक्छन् । विस्तारै कतिपयको भारी बोक्दाबोक्दै चेतनास्तरमा परिवर्तन आउँछ । आयस्तर राम्रो हुँदै जान्छ । त्यस्तै कर्णालीलाई विशेष पर्यटनको क्षेत्रमा ध्यान दिएमा केही परिवर्तन पक्कै आउँछ । कर्णालीमा पर्यटनको सम्भावना धेरै छ ।
पर्यटनसँगै अन्य सम्भावना पनि छन्

नेपाल नागरिक उड्डयन प्राधिकरणले कर्णालीमा नियमित जहाज उडाउन सक्ने र कर्णालीवासीले नियमित जहाज चढ्न सक्ने अन्य सम्भावना पनि छन् । अर्गानिक कृषिका रूपमा कर्णाली चिनिन्छ । स्याउ, ओखर, सिमी, मार्सी चामल, टिमुर, अदुवा, बेसार लगायत अन्य धेरै अर्गानिक उत्पादनको वृद्धि गरेर त्यसलाई बजारीकरण गरेमा कर्णालीवासी नियमित जहाज चढ्न सक्छन् ।

त्यसैगरी मासुजन्य उत्पादनमा च्याङ्ग्रा, खसी, राँगा र लोकल कुखुरालाई व्यवस्थित रूपमा पालन गरी त्यसको बजारीकरण सहज रूपमा गर्न सक्ने हो भने पनि कर्णालीवासी नियमित जहाज चढ्न सक्छन् । तर यति भन्दैमा कृषकलाई मैले सरसर लेखेजस्तो सजिलो भने छैन । सम्भावना भए पनि कर्णालीवासीको अवस्था सरकारले बुझ्न सकेको छैन । कर्णालीवासीले पनि सम्भावना देखेका छैनन् । सरकार र नागरिकबीच विकास गर्ने तालमेल नमिलेपछि नियमित जहाज चढ्ने त त्यस्तै हो, खटारो बस चढेर हुम्लाबाट तीन दिनमा काठमाडौँ पुग्नुपर्ने त हो ।

किन अकालमै जान्छ कर्णालीवासीको ज्यान ?
भौगोलिक रूपमा कर्णाली काठमाडौँबाट धेरै टाढा छ । सुर्खेत विमानस्थल त व्यवस्थित छैन भने त्यहाँबाट हिमाली जिल्लाहरूतिर उड्ने जहाजहरूको अवस्था कस्तो होला ? त्यसमा त्यहाँका विमानस्थल कस्ता होलान्, एकपटक कल्पना गर्नुहोस् त । निकै बेहाल छ ।
म एकपटक विशेष कामले नेपालगञ्जबाट तारा एयरको जहाजमा डोल्पाको जुफाल विमानस्थलमा अवतरण गरेको छु । निकै पुरानो तारा जहाजको कुरा के गर्नु, गरी साध्यै छैन । भयो, नगरौँ । यदि कर्णालीका विमानस्थलमा नियमित जहाज उड्यो भने र देशको अर्थतन्त्र तथा तपाईंको अर्थतन्त्र बलियो भयो भने तपाईं आफैँ जहाज चढेपछि देख्नुहुन्छ ।

अब कुरा रह्यो कर्णालीका बिरामीको । भूगोल टाढा छ, नजिक गतिलो स्वास्थ्य चौकी छैन । कतिपय बिरामी त डोको र स्ट्रेचरमा बोकेर एक दिनपछि स्वास्थ्य चौकी पु¥याउँदा–पु¥याउँदै ज्यान गुमाउँछन् । कतिपय सुत्केरी महिलाको ज्यान त्यसैगरी जान्छ । ठूलै समस्या भएका बिरामीलाई तत्काल काठमाडौँ पु¥याउनुपर्ने अवस्था हुन्छ । त्यो बेला खै नियमित उडान ?
जहाज नउडेर घाँस उम्रिएको विमानस्थलले घाम तापेर बसेपछि बिरामीको ज्यान जाँदैन त ?

त्यसकारण कर्णालीको अर्थतन्त्र माथि उकास्नका लागि सरकार र नागरिक दुवै जिम्मेवार हुनुपर्छ । कर्णालीमा नियमित जहाज उड्न सक्ने अवस्था बन्नुपर्छ र नियमित जहाज चढ्न सक्ने नागरिक बन्नुपर्छ । अनि कर्णालीका दुःख कम हुन्छन् ।

यदि यस्तै हो भने त अझै धेरैको अकालमै ज्यान जान्छ, अझै धेरै अवसरहरू गुम्छन् । अझै तीन दिनको बस यात्रापछि काठमाडौँ पुग्नुपर्छ । यस्तै छ कर्णालीको पीडा ।

तर पनि केही छैन, कर्णालीमा जहाज नियमित उडाउनुपर्छ, विदेशी पर्यटकहरूलाई कर्णालीका हिमाल डुलाउनुपर्छ र हामी समृद्धिको यात्रामा यात्रा गरेर हिमाल चढ्नुपर्छ । यति सपना त कर्णालीका सबै युवाहरूले देख्यौँ । जय होस्।

फेसबुकमा प्रतिक्रिया दिनुहोस...