नारायणी उर्लिएर पुल छुँदा

Byआहा सञ्चार

२०८३ आश्विन १३, मंगलवार १५:३५ गते

पूर्ण ओली

रुकुम पश्चिम

असोज ११ गतेको बिहान नौ बज्दा आकाशमा बादल फाट्न सुरु गरिसकेको थियो । सजिलोसँग सास फेर्न समेत मौका नदिई चार दिनदेखि निरन्तर परेको वर्षाले थकित बनाएको मौसम एकाएक खुलेर घाम लाग्न थालेको थियो । पश्चिमी क्षेत्रमा अझै पनि भारीदेखि अति भारी वर्षा हुने भनेर मौसम विज्ञान विभागले सूचना जारी गर्न छोडेको थिएन । मोबाइलमा फोनको कल ब्याक टोनमा पनि सतर्क रहन जनचेतनामूलक घण्टी बजिरहेको थियो ।

चितवनतिरका साहित्यिक व्यक्तित्वहरूसँग भेट्ने धोको केही दिनदेखि मनमा थाँती रहेको थियो । गैँडाकोटस्थित आफ्नो घरमै आउन टङ्कराज ढकाल ‘तितेपाती’ले निम्तो गर्नुभएको थियो । उहाँको सँगसँगै गोविन्द विनोदीलाई पनि भेट्ने मन थियो तर उहाँको फोन उठिरहेको थिएन । भरतपुरको पिपलचोकदेखि गैँडाकोटसम्म हिँडेरै जान म थियो, तर जुवाइँले मान्नुभएन । अस्मिताको स्कुटीमा पुर्‍याइदिने हुनुभयो ।

नारायणघाट पुगेर नारायणीको पुलमा पुगेपछि मात्रै नदीको वास्तविक रूप देखियो । सातवटा ठुला नदी मिलेर बनेकोले नारायण नदीलाई सप्तगण्डकी नामले पनि चिनिन्छ । यसलाई नेपालकै सबैभन्दा गहिरो र तीव्र वेग भएको नदी भनेर पनि चिनिन्छ ।

पुलको मुखसम्म आइपुग्दा पनि नारायणी त्यति भयावह देखिएको थिएन । पुल सुरु भएदेखि दश पन्ध्र मिटरसम्म वरिपरिको बारमा अग्ला जस्तापाता ठड्याइएको हुँदा नदीलाई छेकिदिएको थियो । यदि त्यहीँबाट नारायणीको डरलाग्दो रूप देखेको भए सायद जुवाइँलाई यतैबाट फर्काइदिने थिएँ । तर पुलमा केही अगाडि बढिसकेपछि मात्र नदीको रौद्र रूप देखिएकोले अब फर्कन मिल्ने अवस्था थिएन ।

बिच पुलमा पुगेपछि नारायणी नदी नदी होइन दन्त्यकथाको राक्षसजस्तो सम्पूर्ण तागतका साथ पूरै बगरमा लडीबुडी गरेको जस्तो देखियो । यसभन्दा माथिका भेटेजतिका जीव निर्जीव सबै सोहोरेर ल्याइरहेको थियो र नारायणी नदीको निकै लामो पुलमा उक्लने प्रयत्न गर्दै थियो ।

पानीको रङ माटो र लेदोले कालो–खैरो भएको थियो । त्यसमा रूखका हाँगाहरू, सिङ्गै रूख, बगेर आएका काठका ठूला टुक्रा र चिनिन नसकिने संरचनाहरू मच्चिँदै, घुम्दै, एकआपसमा ठोक्किँदै तलतिर दौडिरहेका थिए । पानीको सतहमा बनेका भुमरीहरू एकछिन देखिन्थे, अर्कोछिन आफैँभित्र हराउँथे । हावाले भेलका बाछिटा उडाएर अनुहारमा हान्दा चिसोले ल्याइरहेको थियो । तलतिर हेर्दा आँखा रिङ्थे । जिउमा काँडा फुल्थे र मुटु काँप्थ्यो ।

त्यतिबेला मनमा एउटा अनिष्टले टाउको उठायो, यति ठूलो भेलले यो पुल थाम्ला त ?

निकै लामो पुललाई अड्याइरहेका पिलरहरूतिर हेरेँ । विशाल भेलका अगाडि ती पिलरहरू अस्वाभाविक रूपमा साना देखिन्थे । विभिन्न ठोस पदार्थले घनत्व बढाएको पानीले तिनलाई ठेलिरहेको थियो । वर्षौँदेखि जतिसुकै ठुलो भेललाई पनि पन्छाएर ठिङ्ग उभिएको पुल आज आफ्नै सामर्थ्यको परीक्षा दिइरहेको जस्तो लाग्यो । कल्पनामा एउटा पिलरलाई मनले ढाल्यो । त्यसपछि अर्को, अनि अर्को । त्यसपछि फलाम र कङ्क्रिटको सिङ्गो संरचना गर्ल्यामगुर्लुम भेलमा मिसिएको दृश्य आँखैअगाडि आउन थाल्यो । रसुवा बाढीले १ महिनापहिले यस्तै ३२ वटा पक्की पुलहरू बगाइदिएको थियो । वेत्रावतीको पुल र धादिङबेँसी जोड्ने पुल बगाएको युट्युब भिडियोहरू एकपछि अर्को गरी आँखामा नाच्न थाले ।

मनले तुरुन्तै कामना गर्‍योः त्यस्तो कहिल्यै नहोस् ।

जुवाइँले मलाई गैँडाकोटको मिलचोकनजिकै तितेपातीको घरमा छोड्नुभयो र फर्किनुभयो । उहाँ फर्किएपछि मेरो ध्यान फेरि पुलतिरै अड्कियो । केही बेरपछि अस्मितालाई फोन गरेर जुवाइँ घर पुग्नुभयो कि पुग्नुभएन भनेर सोधेँ । उहाँ अझै कोठामा नपुगेको खबरले मन झन् आत्तियो ।

यता तितेपातीले मलाई हार्दिकतापूर्वक स्वागत गर्दै आफ्नो घरभित्र लगेर कुराकानी सुरु गर्नुभयो । बाहिर नारायणी उर्लिरहेको थियो, भित्र नदी र बस्तीका कुरा चलिरहेका थिए ।

मैले गैँडाकोटको पूर्वतिरको बस्ती पूरै डुबानमा परेको बताएँ । उहाँले नदीको बाटोमै बस्ती बसाल्दा हुने जोखिमका उदाहरणहरू सुनाउन थाल्नुभयो । साउनको दोस्रो हप्तातिर वेत्रावती हुँदै गोसाइँकुण्ड पुगेर फर्किनुभएको आफ्नो यात्रा सुनाउनुभयो । देवीघाट, बट्टार, विदुर, वेत्रावती हुँदै देखेका दृश्यहरू शब्दमा उतार्नुभयो । सिन्धुपाल्चोकको जुरे पहिरोले सिँगै गाउँ नै बगाएर पुर्‍याएको क्षतिको प्रसङ्ग आयो । मेलम्चीले पुर्‍याएको अर्बौँको धनजनको क्षतिको कुरा आयो ।

उहाँको तर्क थियोः हाम्रा पुर्खाले नदी किनारमा खेत बनाए, तर बस्ती अलि माथि बसाए । अहिले हामी खेत र बस्तीको भेद नै मेट्दै नदीको सम्भावित बाटोमै घर बनाइरहेका छौँ ।

उहाँले दिएका उदाहरणहरूले मेरो मनलाई सम्झाउनुभन्दा झन् डर रोपिरहेका थिए ।

मेरो ध्यान बारम्बार नारायणीको पुलमा पुग्थ्यो । यतिखेरसम्म पुल बाँकी रहेको होला कि नहोला ? मनमा एउटै प्रश्न घुमिरहेको थियो ।

विनोदीलाई भेट्न चाहनुको कारण केवल भेटघाट थिएन । उहाँसँग साहित्यिक सम्बन्धको एउटा पुरानो भावनात्मक गाँठो पनि थियो । उहाँ उपचाररत हुँदा भवानी खतिवडाले उहाँका र आफ्ना पुस्तकहरू सङ्कलन गरेर बिक्री गरी आएको रकम उहाँको उपचारमा सहयोग गरिरहनुभएको थियो । त्यसै क्रममा मलाई पनि उहाँका पुस्तकहरू उपलब्ध गराइएका थिए । मैले रुकुममा साथीभाइलाई अनुरोध गरेर ती पुस्तकहरू बिक्री गराई रकम पठाइदिएको थिएँ । त्यो रकम पनि उहाँकै उपचारमा प्रयोग भएको थियो । आज भौतिक रूपमै भेटेर शुभकामना दिन चाहन्थेँ ।

तर बाहिर नारायणीले अर्को कथा लेखिरहेको थियो ।

तितेपातीसँग साहित्यिक संस्थाका गतिविधि, साहित्यकार र दलगत सम्बन्धका विषयमा पनि लामो कुराकानी भयो । उहाँले गैँडाकोट प्रज्ञा प्रतिष्ठानको आफूले देखेको अवस्था सुनाउनुभयो । प्रज्ञा सदस्यका रूपमा नियुक्त भएपछि पटकपटकका बैठकमा नबोलाइएको, कार्यक्रमबारे जानकारी नदिइएको र साहित्यिक भ्रमणमा समेत आफूलाई जानकारी नदिइएको उहाँको गुनासो थियो । संस्थाको नेतृत्व र गतिविधि दलगत प्रभावमा परेको आफ्नो बुझाइ सुनाउँदै उहाँले अन्ततः प्रज्ञा सदस्यबाट राजीनामा दिएको बताउनुभयो । आजभोलिका साहित्यकारहरू पनि कुनै न कुनै राजनीतिक दलसँग जोडिएर त्यहीअनुसार लेख्ने गरेको र त्यस्तो प्रवृत्ति आफूलाई मन नपर्ने बताउनुभयो ।

यी कुराहरू सुनाउँदा तितेपाती नै नारायणीको भेलमा रुपान्तरित भएको र आफूले नारायणीको पुलजस्तै सन्निकटबाट गडगडाहटका शब्दहरू सुनिरहेको जस्तो अनुभूति भयो । यही भेल उर्लिएर आफैँ भाँचिएँ भने ?

त्यसै कुराकानीका क्रममा तितेपातीले नारायणी पुलको इतिहास पनि सुनाउनुभयो ।

पुल बन्नुअघि नारायणी पार गर्ने यात्रुको भर डुँगामै थियो । पूर्वी र पश्चिमी नेपाल जोड्ने एउटा प्राकृतिक बाधा बनेर नदी उभिएको थियो । डुँगाबाट मान्छे वारपार हुन्थे, तर जोखिम कम थिएन । कतिले त्यही नदीमा ज्यान गुमाए, हिसाब छैन । पछि फेरी चल्यो । सवारी साधन पनि वारपार हुन थाले । तर त्यो सुविधा पनि सहज र सस्तो थिएन ।

धेरै वर्षपछि मात्र नारायणीमाथि पुल बन्न सक्यो । त्यो पुल केवल मान्छेहरू वारिबाट पारि पुग्ने कङ्क्रिट र फलामको पुल मात्र थिएन । त्यसले नदीले छुट्याएको भूगोललाई जोडेको थियो । पूर्व र पश्चिमलाई एउटै सडक सञ्जालमा ल्याइदिएको थियो । मानिसको यात्रा, सामानको ओसारपसार, व्यापार, रोजगारी र सम्बन्ध—सबैका लागि त्यो पुल एउटा जीवनरेखा बनेको थियो । यो पुल बनेदेखि नेपालको विकासले अर्को फड्को मारेको थियो ।

तर तितेपातीले पुलको आयु सकिएको कुरा पनि सुनाउनुभयो । निर्धारित आयु पूरा भइसकेको पुलमाथि वर्षौँदेखि सवारी गुडिरहेका थिए । उता नारायणी भने हरेक वर्ष आफ्नो पुरानो स्वभावसहित आउँथी । वृद्धावस्थाले जीर्ण र कमजोर बनिरहेको पुलसँग जिस्किन्थी । पौँठेजोरी खेल्थी । तर्साउनसम्म तर्साएर शरदतिर शान्त हुन्थी ।

तितेपातीका यी कुरा सुनेपछि बिहान देखेको दृश्य फेरि आँखाअगाडि आयो । यदि आज यही पुललाई केही भयो भने ?

पूर्व र पश्चिम फेरि अलग हुन सक्छन् । पूर्व पश्चिमको आत्मीय सम्बन्ध टुट्न सक्छ । समग्र विकासको गतिमा फेरि अर्को अवरोध सिर्जना हुनसक्छ । मानिसहरूलाई जोड्न दशकौँ लगाएर बनाइएको एउटा पुल एउटा यस पटकको भेलको अगाडि कमजोर हुन सक्छ । यस पटकको पौँठेजोरीमा नारायणीको अगाडि जीर्ण पुलले घुँडा टेक्ने अवस्था आउन सक्छ ।

बिहानको उर्लँदो नारायणी र जीर्ण भनिएको पुल सम्झँदा मेरो मुटु फेरि काँप्यो ।

केहीबेरपछि तितेपातीले आफूले लेखेको तस्बिरै तस्बिर नामको कृति दिनुभयो । नातिनीले हाम्रो तस्बिर खिचिदिइन् । भाउजूले फलफूल खुवाउनुभयो । त्यसपछि म भरतपुरतिर लागेँ । विनोदीसँग भेट हुने आशा अब मरिसकेको थियो । फर्कँदै गर्दा बारम्बार एउटै प्रश्न अगाडि आयोः के नारायणीको पुल बाँकी नै होला ? के म पारि पुगेर अभिभावकीय दायित्व पूरा गर्न सकुँला ?

तितेपातीको घरबाट नदी किनारतिर आइपुग्दा नारायणीको सतह बिहानभन्दा अझै माथि चढिसकेको रहेछ ।

पुलको मुखमा मानिसहरूको घुइँचो थियो । कोही डुबान भएको क्षेत्र हेर्दै थिए, कोही बाढी हेर्दै थिए, कोही पुलतिर हेरेर नढलोस् भनी कामना गर्दै थिए । सुरक्षाकर्मी र ट्राफिक प्रहरीहरू भारी सवारी रोक्नमै व्यस्त थिए । भ्याएसम्म यस्तो जोखिममा पुलमा नजानुहोस् भनेर यात्रीहरूलाई सम्झाइबुझाइ गरिरहेका थिए । हलुका सवारी मात्र पालैपालो मात्र पुल तर्न दिइरहेका थिए । पुलको छेउमा पारि जान नपाएका सवारी साधनको निकै बाक्लो र लामो पङ्क्ति थियो ।

धेरै सवारी साधनहरू र यात्रीहरू पुलको छेउबाटै फर्किरहेका थिए । तर मसँग भने फर्कने विकल्प थिएन ।

पारिपट्टि देवकुमारी र छोरी अस्मिताहरू थिए । अस्मिताको डेलिभरी नजिकिएको थियो । दुई दिनपछि हुने प्रसवका लागि आवश्यक व्यवस्थापन र सहयोगकै क्रममा म त्यहाँ आएको थिएँ । केही गरी पुल बन्द भयो र म यहीँ अड्किएँ भने उनीहरू के गर्लान् ? के सोच्लान् ? तसर्थ ट्राफिक प्रहरीको आँखा झुक्याएर भए पनि मैले पुल तर्नैपर्थ्यो ।

रौद्र रूप धारण गरेको नारायणीलाई फेरि हेरेँ । पानीको वेगले आँखा घुमाइरहेको थियो ।

पुलमाथि पाइला राख्नेबित्तिकै मनले अनायास भन्यो, ‘छिटो कुद् । वार कि पार भनेको यही हो । सके पुगियो, नसके सकियो ।’  मनको आदेशअनुसार हिम्मतसाथ अघि बढेँ । देब्रे हातमा मोबाइलको भिडियो खोलेर बाढीतिर सोझ्याउँदै हिँडे ।

भेलले सिर्जना गरेको वेगवान् बतासले टोपी नै उडाउने बल गरिरहेको थियो । भेलको बाछिटाले जिउका लुगा भिजाइरहेको थियो । पुलमुनिबाट उठेको गर्जनले वरिपरिको आवाजलाई दबाइरहेको थियो ।

मैले तल हेरेँ । त्यहाँ कालो बादल मडारिएझैँ मडारिइरहेको उन्मत्त शक्ति थियो ।

बोक्रा ताछिइसकेका तर जरैसित उखेलिएका बडेमानका रूखहरू बगिरहेका थिए । काठका ठूल्ठूला टुक्रा पानीमा ठोक्किँदै घुमिरहेका थिए । लेदोले भरिएका अनेकौँ संरचनाहरू भेलसँगै मच्चिइरहेका थिए । पानीका भुमरीहरू कहिले पुलका पिलरतिर धसिन्थे, कहिले एकाएक फन्को मारेर तलतिर हराउँथे ।

पुलका पिलरहरूतिर हेर्न मन लागेन । तर घरी घरी आँखा त्यतै जान्थे ।

ती पिलरहरूले त्यति ठूलो भार कसरी थामिरहेका होलान् भन्ने लाग्थ्यो । पानीको एउटा ठूलो लहर आउँदा पुल हल्का हल्लिएजस्तो लाग्थ्यो । सायद त्यो मेरो मनमा लुकेर बाहिर चिहाइरहेको डर थियो । सायद तीव्र गतिको हावाको कमाल थियो । सायद पुल साँच्चिकै हल्लिएको थियो । त्यो क्षण त्यसको सत्य छुट्याउने सामर्थ्य मसँग थिएन ।

म केवल हिँडिरहेको थिएँ । पुलमाथि । पुलमाथि होइन विशाल भेलको माथि माथि ।

भेलका छालहरू केही मिटर तलै भए पनि हात बढायो भने छोइहालिन्छ जस्तो । भेलको एउटा ठूलो छाल उचालियो भने पुलमाथि आइपुग्छ जस्तो । कुनै रूख पुलको पिलरमा ठोक्कियो भने त्यसको कम्पन मेरो खुट्टासम्म आइपुग्छ जस्तो ।

मलाई आफू हिँडिरहेको भन्दा पुलले मलाई बोकेर हिँडिरहेको जस्तो लाग्यो । एउटा मन भन्थ्यो छिटो अघि बढ् । अर्को मन भन्थ्यो ज्यान बचाउने भए खुरुक्क फर्किहाल् ।

तर फर्कनुभन्दा अगाडि बढ्नु नै उचित थियो । मनको आदेश शिरोपर गरेर अगाडि बढिरहेँ । बिच पुलतिर आइपुग्दा पछाडितिर हेरेँ । अगाडि हेरेँ । तल हेरेँ । चारैतिर पानीको साम्राज्य । लाग्यो म यतिखेर नारायणीको पुलमाथि होइन हावाले हल्लाइरहेको विशाल समुन्द्रमाथिको पानीजहाजमा छु ।

आधा पुल पार गरिसकेपछि भने मनमा केही साहस आयो—अब त पुल भाँचिन थाले पनि दौडेर पार गर्न सकिन्छ । अचम्म ! केही मिनेटअघि जसको हरेक पाइलामा मृत्युको डर मिसिएको थियो, त्यही पुलमा अब म अलि छिटो हिँड्न सक्ने भएको थिएँ ।

मैले मोबाइल हेरेँ । तर मोबाइल स्विचअफ भइसकेछ ! यतिखेर मोबाइलले पनि धोका दिएछ । वा मोबाइल खस्ने डरले बेसरी पक्रँदा स्विचअफ नै भयो होला ।

फेरि मोबाइल अन गरेँ । त्यसपछि भिडियो सुरु भयो । पुलको पल्लो छेउबाट नारायणीलाई कैद गर्दै आनन्दपूर्वक अगाडि बढ्न थालेँ ।

पुलको पल्लो किनारपट्टि बाढी हेर्ने रमिते मानिसहरूको भीड थियो । सबैको हात हातमा मोबाइलहरू तेर्सिरहेका थिए । कसैको हातमा क्यामेराहरू पनि थिए । धेरैको मोबाइलमा आफू पनि कैद भएको ठानी म मख्ख परेँ ।

पुलको रेलिङ समाप्त भएर नारायणघाटको सडक सुरु भयो । खुट्टाले जमिन छोएपछि बल्ल लाग्योः म बाँचेँ । एउटा महायुद्धमा शत्रु पक्षलाई पराजित गरेर फर्किएझैँ अनुभूति भयो ।

भूपिनले अस्ति नै भेट्ने आश्वासन दिनुभएको थियो । उहाँको सम्झना आयो । गोविन्दर विनोदीझैँ पो हुने हो कि भन्ने संशय पालेर फोन गरेँ । उहाँले घरमै भएको बताएपछि आँखा अस्पत्तालतिर मोडिएँ । मालपोत चोकमा भूपिन मलाई पर्खिरहनुभएको रहेछ । उहाँले आफ्नै बाइकमा राखेर एउटा चिया पसलमा लैजानुभयो ।

चियाको कप अगाडि राखेर हामी साहित्यका कुरा गर्न थाल्यौँ । उहाँले आफ्ना कृतिहरू र साहित्यिक यात्राबारे सुनाउनुभयो । हजार वर्षको निद्रा, सुफ्लाको हवाइजहाज, मैदारो, अप्पो दिवो भवः लगायतका कृतिको चर्चा परिचर्चा भयो । मैदारो मदन पुरस्कारका लागि छनोट भएको कृति पनि हो ।

मैले कवि डाँडाको प्रसङ्ग निकालेँ । उहाँले कवि डाँडाको अवस्थिति, त्यसको नामकरण र त्यहाँसँग जोडिएका कविहरूबारे बताउनुभयो । साहित्यकारहरूका बसाइँसराइका कुरा भए । मेरो साहित्यिक यात्राबारे पनि उहाँले सोध्नुभयो । मैले आफ्नो पछिल्लो अवस्थाबारे सुनाएँ ।

भूपिन वसन्तकालीन नारायणीझैँ सौम्य रूपमा प्रस्तुत हुनुभयो । उहाँका मधुर वाणीहरू शीतकालीन नारायणीको शान्त गतिले बगिरहेका थिए । भर्खर अगाडिको नारायणीको रौद्र रूप मैले चटक्कै बिर्सिएँ । सो ठाउँमा सयौँचोटि देखेको स्थिर र निलो नारायणीले प्रतिस्थापन गर्‍यो ।

चिया पिएर सकियो । म हिँडेरै पिपलचोक जाने विचारमा थिएँ तर उहाँले मान्दै मान्नुभएन । आफ्नो बाइकमा राखेर पिपलचोकसम्म छोडिदिनुभयो । भूपिनले समय निकालेर यतिसम्म सहयोग गर्नुहोला भन्ने विश्वास नै गरेको थिइनँ । स्मृतिभरि भूपिनसँगको भेटको मिठासले भरियो ।

भोलिपल्ट बिहानै उठेर नारायणी पुललाई केही भयो कि भनी समाचारहरू हेरेँ । नारायणी यथास्थितिमा फर्कँदै रहिछन् । नारायणीसँगको पौँठेजोरीमा फेरि पनि पूर्व र पश्चिम जोड्ने पुलले जित हासिल गरेछ । आफू बाँचेको भन्दा यो पुल बाँचेकोमा अत्यन्तै खुसी लाग्यो । लेखको कभर फोटो च्याटजीपीटी एआईबाट निर्माण गरिएको हो । 

 

फेसबुकमा प्रतिक्रिया दिनुहोस...