आफुलाई लोकतन्त्रवादी भन्ने दलहरु, राजावादी दलहरु र पहिचानवादी, बैकल्पिक शक्ति भनिने दलहरुमा पनि सिद्धान्त, बिचार र ब्यवहारको बीचमा धेरै असंगति देखिएका छन् । यहिबाटै पार्टीभित्र बिकृति र बिसंगतिहरु पैदा हुन्छन् । जसले गर्दा जनतामा बितृष्णा पैदा हुनुको पहिलो कारण यो हो ।
उपेन्द्रलाल कामी
विषय प्रवेश
नेपालको राजनीतिक इतिहासमा व्यवस्था परिवर्तनको लागी जनतालाई संगठित गरेर निकै ठुलो भूमिका निर्वाह गर्दै आएका राजनीतिक पार्टी र तीनका नेताहरुमा जनताको बितृष्णा बढ्दो क्रममा देखिदै गइरहेको छ । यसो हुनुमा पार्टीहरुको आन्तरिक पक्ष बढी जिम्मेबार छ या बाह्य शक्ति राष्ट्रहरुको राजनीतिक चलखेल एवं हस्तक्षेपले र समाजमा मौलाएको अराजनीतिक अराजक प्रवृत्तिले पार्टीहरुको मौलिक सारतत्व नै हराउने गरि प्रभावित गरिदिएको छ भन्ने कुराको आ–आफ्नै कोणबाट जतिपनि तर्क–बहस गर्न सकिएला तर हरेक बस्तुको बिकास वा बिनाशमा निर्णायक तत्व भनेको आन्तरिक नै हुने बिज्ञानसम्मत तथ्य भएको हुँदा राजनीतिक पार्टीहरुको हकमा पनि यो कुरा लागु हुन्छ । यहाँनेर नेपालका राजनीतिक दलहरुमा देखिएको बिकृति र बिसंगतिले गर्दा जनतामा बढ्दै गइरहेको बितृष्णामा पार्टीहरु भित्र मौलाइरहेको आन्तरिक समस्या तथा कमजोरी पक्षको बारेमा केही चिरफार गर्ने प्रयास गरिएको छ ।
(क) सिद्धान्त र ब्यवहारमा देखिएको असंंगति
राजनीतिक पार्टी संगठन निर्माणको पहिलो शर्त आदर्श सिद्धान्तप्रतिको निष्ठा र विचारमा स्पष्टता नै हो । तर यहाँ देखिएको के छ भने जसले पद र प्रतिष्ठालाई प्राप्त गर्न खोज्दछ ऊसंग निष्ठा हुदैन र जो संग निष्ठा छ उसले पद र प्रतिष्ठा प्राप्त गर्न सकेको हुदैन । पार्टीमा निष्ठा र प्रतिष्ठा बीचको अन्तरबिरोध त छ नै त्यसमा अर्को समस्या सिद्धान्त, विचार र व्यवहारको बीचमा देखिने असंगतिहरु पनि निकै उदेक लाग्दा देखिएका छन् । जस्तैः– कम्युनिष्ट पार्टीको आदर्श सिद्धान्तमा समानता, सामुहिकता, द्वन्दात्मक भौतिवादको बैज्ञानिक बिश्वदृष्टिकोण, सर्वहारा श्रमजीवी मजदूर–किसान वर्गको वर्गीय पक्षधरता र देशभक्तिमा आधारित सर्वहारा मजदूर वर्गको अन्तराष्ट्रियतावाद नै आधारभूत मूल्यमान्यता हुन । सत्तामा जानको लागी हतियारबद्ध लडाइँ लडेपनि या शान्तिपूर्ण तरिकाबाट चुनावी प्रतिस्पर्धा गरेपनि सरकारमा हुँदा वा नहुँदा कम्युनिष्ट पार्टीले लागु गर्ने यि पाँचवटा आधारभूत सैद्धान्तिक मूल्यमान्यता नै हुन । तर ब्यवहार हेर्ने हो भने एकाध बाहेक कतैपनि यि मूल्यमान्यतासंग मेल खाएको देखिदैनन् । यस्तै समस्या आफुलाई लोकतन्त्रवादी भन्ने दलहरु, राजावादी दलहरु र पहिचानवादी, बैकल्पिक शक्ति भनिने दलहरुमा पनि सिद्धान्त, बिचार र ब्यवहारको बीचमा धेरै असंगति देखिएका छन् । यहिबाटै पार्टीभित्र बिकृति र बिसंगतिहरु पैदा हुन्छन् । जसले गर्दा जनतामा बितृष्णा पैदा हुनुको पहिलो कारण यो हो ।
(ख) स्थीरता र गतिशीलतामा समान्जस्यता नहुनु
मानिस यस्तो स्वभावको प्राणी हो जसको आयु कतिदिन बाँच्ने भन्ने ग्यारेन्टी हुदैन तर उसलाई कम्तीमा एकसय बर्षसम्म टिक्ने खालको घर चाहिन्छ । राजनीतिक पार्टी पनि एउटा सिद्धान्त, विचारको घर जस्तै हो । राजनीतिक पार्टीको सदस्य र त्यस पाटीप्रति आस्था राख्ने शुभचिन्तक जनताले पाटीको आयु चीरस्थायी एवं स्थीरता भएको हेर्न चाहन्छन् । त्यतिमात्र नभइ जनताको दुख÷सुखमा साथ दिने खालको जनपक्षीय नीति तथा कार्यक्रमहरु लिएर चलायमान एवं गतिशिल भएको पनि हेर्न चाहन्छन् ।
नेपालका राजनीतिक पार्टीहरुमा देखिने स्थिरता भनेको कोही नेपालको सबैभन्दा पुरानो लोकतान्त्रिक र चीरस्थायी प्रकृतिको पार्टी जस्तो देखिएता पनि यथास्थितिवादको बैचारिक राजनीतिको गोलचक्करमा फसेका छन् भने कोही अग्रगामी राजनीतिक एजेण्डा बोकेर गतिशिलताको नाममा पार्टी बनाउने र फुटाएर भत्काउने, एकता गर्दै फेरि बनाउने अनि भत्काउने राउटे शैलीको अस्थायी तथा अस्थीरता भएका पार्टीहरुले गर्दा पार्टीको औचित्यमाथि नै गम्भीर प्रश्नचिन्ह खडा भएको छ । स्थीरता र गतिशीलतालाई सहि ढंगले लागु नगर्दा कोही झुटमा रमाउने, कोही गुटमा रमाउने र कोही फुटमा रमाउने प्रवृत्तिले जनतामा पार्टीप्रति बितृष्णा जाग्ने दोश्रो कारण याृ बनेको छ ।
(ग) बस्तुगत परिस्थिती र आत्मगत स्थितीको बीचमा दरार
राजनीतिक पार्टीहरुको लागी चाहिने दर्शन, सिद्धान्त, बिचार र राजनीतिक कार्यदिशाको साथै अर्को महत्वपूर्ण बिषय हो राजनीतिक एजेण्डामा उठाउने सवाल र त्यस सवालमा संगठनले गर्ने जनपरिचालन । नेपालका मौजुदा राजनीतिक पार्टीहरुले अहिलेसम्म ब्यवस्था परिवर्तनको राजनीतिक संघर्षमा तत्कालिन तथा दीर्घकालिन सवालहरु उठाएर संगठन र जनपरिचालन गर्न सफल भएका छन तर जनताको आर्थिक अवस्था परिवर्तनको संघर्षमा केहीले सवाल त उठाएका छन् तर योजना बनाएर संगठन तथा जनपरिचालन गर्न सकेका छैनन् । बस्तुगत परिस्थितीले बिकास र समृद्धिको यात्रामा राजनीतिक पार्टीहरुले संगठन र जनपरिचालन गर्र्नुपर्ने माग गरिरहेको छ तर नेपालका राजनीतिक पार्टीहरुको आत्मगत स्थिती तयार बनेको छैन । भाषणबाजीमा मात्रै ठुला–ठुला बिकास र समृद्धिका मिठा कुरा गर्नेमै पार्टीहरुको राजनीतिक एजेण्डा सिमित भएको छ । ठोस परिस्थितीको ठोस बिश्लेशन गरेर अगाडी बढ्न नसक्नुमा बस्तुगत परिस्थिती र पार्टीहरुको आत्मगत स्थितीको बीचमा निकै ठुलो दरार देखिएको छ । जनतामा पार्टीप्रति बितृष्णा जाग्नुमा यो तेश्रो कारण बनेको छ
(घ) सुशासन एवं बित्तीय अनुशासनको कमी
सुशासन भन्ने बित्तिकै भ्रष्टाचारमुक्त असल शासन प्रणालीको नीति, संरचना, संस्कार र कार्यशैलीलाई जनाउछ । भ्रष्टाचार भन्ने बित्तिकै आर्थिक पाटोलाई नै देख्ने गरिएको भएता पनि यो सोंच, संस्कार, आचरण, मनोबिज्ञानसंग अभिन्न रुपले जोडिएको हुन्छ । बित्तिय अनुशासन पनि सुशासनसंग जोडिएको एउटा महत्वपूर्ण बिषय हो । बित्तिय अनुशासनभित्र पारदर्शिता, जवाफदेहीता, मितब्ययीता विश्वसनीयता लगायतका बिषयहरु जोडिर आउछन् । सत्ताको बागडोर सम्हाल्ने राजनीतिक पार्टीहरुले पार्टीभित्र सुशासन र बित्तिय अनुशासन कायम नगरी सरकारमा गएर मात्र लागु गर्छु भन्नु आफ्नो घरभित्र दुर्घन्धित बनाएर फोहर सफा नगरी सार्वजनिक स्थलमा गएर सरसफाइ गर्ने अभियान चलाउन खोजे जस्तै हो । सुशासनयुक्त राजनीतिक पार्टी चलाउने नीति–बिधि र संरचना नहुनु, आर्थिक श्रोतहरुको सहि ब्यवस्थापन गरेर जनलेखा परिक्षण मार्फत पारदर्शिता अपनाउने, जवाफदेही हुने, मितब्ययी बन्ने र बिश्वसनीयता कायम गर्ने बिषयमा पनि ध्यान दिन नसक्दा जनतामा पार्टीप्रति बितृष्णा पैदा हुने यो चौथो कारण बनेको छ ।
(ङ) उत्पादन र ब्यवस्थापनमा ध्यान नदिनु
राजनीतिक पार्टीहरुले ब्यवस्था परिवर्तनको लागी राजनीतिक संघर्ष एवं क्रान्तिमा एकल रुपमा र साझा एजेण्डामा संयुक्त मोर्चा बनाएर आफ्ना नेता, कार्यकर्ता र जनतालाई परिचालन गर्न सफल भएता पनि यो करिब दुई दशकको अवधीमा पार्टीहरुले अवस्था परिवर्तन गर्ने विकास र समृद्धिको यात्रामा देशलाई अगाडी बढाउनुपर्छ भन्ने कुरा पार्टीको दस्तावेजमा मात्र सिमित राखेका छन् । आफ्नो पार्टीका हजारौ युवा कार्यकर्ताहरु रोजगारका लागी बिदेश पलायल हुँदापनि अझै गम्भीर बन्न सकेका छैनन् । बिदेशबाट पठाएको रेमिट्यान्स र बैदेशिक शक्ति राष्ट्रले दिने अनुदानबाट नेपालको सरकार संचालन गर्नुपर्ने बिडम्वनाको अवस्था छ । उत्पादन र बिकास–निर्माण कार्यमा सक्रिय भाग लिने युवा जनशक्ति बिदेशतिर ओइरो लाग्न थालेपछि प्रतिपक्ष पार्टीले सवाल उठाएर संसदबाट सरकारको खोइरो खन्ने र सरकारमा रहेका मन्त्रीहरु प्रतिपक्षको आवाज सुनेर पनि बहिरो बन्ने संसदीय राजनीतिको नियति पनि नेपाली जनताले प्रत्यक्ष भोगरिहेका छन् ।
यदि अब राष्ट्रको प्रमुख एजेण्डा जनताको अवस्था परिबर्तन गर्नेतिरको यात्रा नै हो भने ब्यवस्था परिवर्तनमा सहयात्रा गरेका राजनीतिक पार्टीहरुले सझा एजेण्डा बनाएर जनतामा नयाँ जागरण ल्याउने गरि पार्टीका शिर्ष नेताहरुले नै उत्पादनको प्रत्यक्ष कमाण्डगर्ने गरि उदाहरणका लागी ने.क.पा. एमालेका अध्यक्ष के.पि. ओलीले आफ्ना एकहजार श्रमजीवि युवा कार्यकर्ताहरुलाई परिचालन गरेर झापामा ब्यवसायिक चिया खेती गर्ने, काँग्रेसका सभापति शेर ब देउवाले डढेल्धुरामा आठसय युवा कार्यकर्ताहरुलाई परिचालन गरेर फलफूल खेती गर्ने, माओवादीका अध्यक्ष प्रचण्डले चितवनमा पाँचसय कार्यकर्तालाई परिचालन गरेर धान खेती गर्ने, ज.स.पा.का अध्यक्ष उपेन्द्र यादवले तीनसय कार्यकर्तालाई परिचालन गरेर बीरगंजमा उद्योग संचालन गर्ने, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एकसय कार्यकर्ता परिचालन गरेर मधेसमा माछापालन गर्ने, ने.स.पा.का अध्यक्ष बाबुराम भट्टराईले पचासजना कार्यकर्ताहरुलाई परिचालन गरेर गोरखामा पशुपालन गर्ने, रा.स्व.पा.का अध्यक्ष रवी लामिछानेले चारसय जना कार्यकर्ता परिचालन गरेर चितवनमा देशैभरीका सुकुम्वासी गरिब किसानहरुलाई लिएर नमुना बस्ती बसाल्ने र सबै पार्टीका बिभिन्न तहका नेताहरुले केन्द्रदेखि वडासम्म उत्पादन र ब्यवस्थापनको योजना बनाएर युवा कार्यकर्ताहरुलाई परिचालन गर्नसकेको भए नेपालमा निकै ठुलो जनजागरण आउने थियो र पार्टीहरुप्रति जनताको आकर्षण पनि बढ्दै जाने थियो । उत्पादन र ब्यवस्थापनमा प्रतिस्पर्धा नभइ देशको ढुकुटी रित्याउने गरि संसदबाट सरकार ढाल्ने र बनाउने खेलमा मात्रै पार्टीहरुको होडबाजी चल्नुले जनतामा पार्टीहरुप्रति बितृष्णा बढ्नुको पाँचौ कारण यो बनेको छ ।
(च) बैकल्पिक शक्ति भनिनेहरु पनि दिशा बिहिन
पुराना राजनीतिक दलहरुले जनताको अवस्था परिवर्तन गर्न सकेनन् र नेपालमा बैकल्पिक राजनीतिक शक्तिको आवश्यकता छ भन्ने तार्किक बिश्लेशन गरेर डा. बाबुराम भट्टराईको नेतृत्वमा सञ्चालन भएको नयाँ शक्ति अभियानबाट पार्टी निर्माण गदै नयाँ जागरण ल्याएर अन्ततः बिर्सजनको दिशातिर जानु, रबिन्द्र मिश्रले निर्माण गरेको विवेकशील साझा पार्टीको नेतृत्व नै राजावादी पार्टी रा.प्र.पा. नेपालमा गएर बिलय हुनु, पछिल्लो पटक चमत्कारिक रुपमा उदाएका रवि लामिछानेको नेतृत्वमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको मूल नेतृत्व नै बिभिन्न अपराधिक काण्डमा मुछिएर बिवादित हुनुको साथै यि पार्टीहरुले चौबाटोमा असन्तुष्ट, अराजकहरुको भिड जम्मा गरेर बिरोधमा उतार्ने र चौबाटोबाटै यताउती लागेर हराउने खालको दिशा बिहिन राजनीतिको यात्रा गर्दै आइरहेका छन् । बैकल्पिक शक्ति भनिने नयाँ पार्टीहरुको दिशा बिहिन यात्राले पनि पार्टी नै बिसर्जन हुने खालको स्थितीले गर्दा जनतामा पार्टीहरुप्रति बितृष्णा जाग्नुको छैटौं कारण यो बनेको छ ।
उपसंहार
समग्रमा भन्दा नेपालका पुराना लोकतान्त्रिक र कम्युनिष्ट भनिने पार्टीहरुले जनताको अवस्था परिवर्तनका लागी जागरण ल्याउने खालको संस्थागत रुपले राजनीतिक गतिबिधिहरु सञ्चालन गर्न सकेका छैनन । न त बैकल्पिक शक्ति भनिने पार्टीहरुले नै जनतामा बिश्वास पैदा हुनेगरि जागरण ल्याउन सकेका छन् । फेरिपनि देशका मौजुदा यिनै राजनीतिक पार्टीहरुमा भर परेर जानुपर्ने बाध्यता छ । बैदेशिक शक्ति राष्ट्रहरुको अस्वभाबिक चलखेल र राजनीतिक हस्तक्षेपलाई नियन्त्रण गर्न अहिलेका मौजुदा राजनिितक पार्टीका नेताहरुले साझा सहमतिको एजेण्डा बनाएर जनतामा पुर्नजागरण ल्याउनुको बिकल्प छैन ।
