एलबि कटुवाल
एक महान् इतिहासको जगमा हजारौँ सहिद, घाइते तथा जनयुद्धमा सहभागी हजारौँ कार्यकर्ताको त्याग र बलिदानबाट निर्माण भएको कम्युनिस्ट आन्दोलनलाई भ्रमको खेती गर्दै सञ्चालन गर्ने कम्युनिस्टका मुख्य नेताहरूले नै आज नेपालमा कम्युनिस्ट आन्दोलनलाई विघटनको सङ्घारमा पुर्याएका छन्।
जनयुद्धको चरण हुँदै २०६४ सालको संविधानसभा निर्वाचनमा अत्यधिक रुचाइएको, आशा र भरोसा गरिएको पार्टीले २०७० सालदेखि ओरालो यात्रा सुरु गर्यो र २०८२ सालमा विघटनको अवस्थामा पुग्यो। विभिन्न टुक्रा जोडेर एकताको नाममा खडा गरिए पनि अन्ततः सात /आठ सिटमा सीमित हुन पुग्यो। यसको वास्तविक कारण भनेकै सत्तामोह हो। जनतामाझ गरिएका बाचाबाट भाग्नु, जुन व्यवस्थालाई बदल्न जनतामाझ रहेर संघर्ष गरियो, त्यहीअनुसार जनताको अवस्था बदल्न नलाग्नु यसको मुख्य कारण हो।
सत्ताका लागि जे पनि गर्न तयार हुने, तर पार्टी निर्माणका लागि पार्टी कमिटीमै उठेका विषय, आलोचना तथा सुझावलाई ग्रहण नगर्ने; आलोचना गर्नेलाई नै दुश्मन ठान्ने र पार्टीबाट अलग हुन बाध्य पार्ने; ‘मबाहेक अरू कोही छैन’ भन्ने भाव र घमण्डले ओतप्रोत हुने प्रवृत्ति नै आज कम्युनिस्ट जनमत कमजोर हुनुको मुख्य कारण हो। हामीले विगतदेखि नै नेपाली कम्युनिस्ट इतिहासलाई गहिरो रूपमा हेर्ने हो भने पार्टीभित्र फरक मत राख्नेहरू नै पार्टी वा सहयात्रा छोड्न बाध्य भएको, अथवा छुट्टिएर गएको पाइन्छ। यस्तो किन भइरहेको छ भनेर गम्भीर समीक्षा गर्नुको साटो उल्टै खुसी मनाउने प्रवृत्ति अर्को मुख्य कारण बनेको छ।
त्यसैले अब नेपालमा कम्युनिस्ट आन्दोलनलाई बचाउने हो भने यी प्रवृत्तिहरूको अन्त्य अनिवार्य छ। बोली र शैली कम्युनिस्टको जस्तो तर व्यवहारमा कम्युनिस्टको सानो झिल्कोसम्म नदेखिने प्रवृत्तिको अन्त्य अनिवार्य छ। जनतालाई समृद्धिको सपना बाँडेर कम्युनिस्ट नेताहरू रातारात करोडपति हुने प्रवृत्तिको अन्त्य अनिवार्य छ। सहिद परिवार, घाइते तथा अपाङ्गहरूलाई ‘हामीले त्याग गरेको पार्टी हो’ भन्दै भ्रममा पारेर आफ्नो स्वार्थको रजाइँ चलाउने प्रवृत्तिको अन्त्य अनिवार्य छ।
त्यसपछि मात्र नयाँ ढङ्गले कम्युनिस्ट जनमतलाई पुनः उठाउन सकिन्छ। त्यसैका लागि आदरणीय नेता जनार्दन शर्माको नेतृत्वमा नेपालमा नयाँ ढङ्गले कम्युनिस्ट आन्दोलनलाई जागृत गर्ने सोचसहित ‘प्रगतिशील यात्रा’ तय भएको छ।
अहिले नेपालमा अवस्था यस्तो बनेको छ कि कम्युनिस्टको नाम सुन्न नसक्ने, कम्युनिस्टको झण्डा देख्न नसक्ने परिस्थिति सिर्जना भएको छ। कम्युनिस्ट भन्नेबित्तिकै लुट्ने, ठग्ने र सत्तामोहमा लठ्ठिनेहरू हुन् भन्ने बुझाइ निर्माण भएको छ। त्यसकारण नयाँ ढङ्गले कम्युनिस्ट जनमतलाई गोलबन्द गरेर उठाउनुको विकल्प छैन। त्यसैले हजारौँ सहिद परिवार, हजारौँ घाइते तथा अपाङ्ग र लाखौँ बेरोजगार युवाहरूका सपनालाई साकार पार्न नवीनतम सोच भएका, वामपन्थी विचार भएका र अग्रगामी सोच राख्ने शक्तिहरूलाई संगठित गर्दै कम्युनिस्टको नाममा लागेका कलङ्क र खराब प्रवृत्तिलाई सफा गर्ने तथा साँच्चिकै प्रगतिशील समाज तयार गर्ने उद्देश्यसहित यो ‘प्रगतिशील यात्रा’ तय भएको छ।
हामी कम्युनिस्ट नामका खराब प्रवृत्तिविरुद्ध लड्नेछौँ र समाजबादी लोकतन्त्र मार्फत वास्तविक वामपन्थी समाजको निर्माण गर्नेछौँ। मार्क्सवाद एउटा विज्ञान हो। यसलाई समयअनुसार नयाँ खोज, नयाँ व्याख्या र नयाँ प्रयोगको आवश्यकता हुन्छ। मार्क्सवादले समाजलाई दिशा निर्देश गर्नुपर्ने हुन्छ र त्यसका लागि सही नेतृत्वसँगै सही ढङ्गले रूपान्तरण सहितको विचार आवश्यक हुन्छ। तर यहाँ अवस्था उल्टो छ। मार्क्सवादलाई व्यक्तिगत स्वार्थपूर्तिको अखडा जस्तो बनाएर चित्रण गर्ने मनुवाहरू नै आफूलाई मार्क्सवादीको परिचय दिन अग्रसर हुन्छन्।
उनीहरूलाई न विचार निर्माणतर्फ ध्यान छ, न कार्यदिशा निर्माणतर्फ, न त गम्भीर छलफल गर्न नै तयार छन्। बस, जसरी हुन्छ सत्ताको नेतृत्वमा पुग्ने चिन्ताबाहेक अरू केही देखिँदैन। त्यसैले नेपालको वामपन्थी आन्दोलनलाई नयाँ विचार र नयाँ दिशासहित अगाडि बढाउन सुरु भएको ‘प्रगतिशील यात्रा’ नै अबको सही विकल्प हो।
यहाँ बहस गर्ने प्रशस्त ठाउँ छ। यहाँ छलफल गर्ने प्रशस्त ठाउँ छ। नेपालको वामपन्थी आन्दोलनलाई नयाँ ढङ्गले अगाडि बढाउन आवश्यक योजना प्रस्तुत गर्ने प्रशस्त ठाउँ छ। यहाँ कसैको आवाज दबाइँदैन, कसैलाई घेराबन्दी गरिँदैन। यहाँ खुला ठाउँ छ।
व्यापक र गहिरो छलफलले हामीलाई सही निष्कर्षमा पुर्याउनेछ। त्यसैले अहिले नेपालमा ‘प्रगतिशील यात्रा’को आवश्यकता छ सम्पुर्ण प्रगतिशील बिचारहरु गोलबन्द हुन आबस्यक छ। लेखक कटुवाल प्रलोपाको प्रदेश कमिटी सदस्य हुन ।

