नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत रुकुम पश्चिम जिल्लाका प्रदेश सभा क्षेत्रीय कार्यसमिति तथा नगरपालिका र गाउँपालिका कार्यसमिति सभापतिमा सर्वसम्मत नेतृत्व चयन भएको छ । शेरबहादुर देउवा नेतृत्वको नेपाली काँग्रेसले घोषणा गरेको महाधिबेशन अन्र्तगत रुकुम पश्चिमका प्रदेशसभा र पालिकाहरुमा नयाँ निर्वाचन गरेर नामावली घोषणा गरिएको हो ।
नेपाली कांग्रेस जिल्ला निर्वाचन समिति रुकुम पश्चिमले जारी गरेको सूचनाअनुसार अधिवेशनबाट प्रदेश सभा क्षेत्रीय सभापतिमा क्षेत्र नं. ‘क’ बाट हर्क बहादुर केसी र क्षेत्र नं. ‘ख’ बाट वीर बहादुर खड्का चयन भएका छन् ।

त्यस्तै, पालिका कार्यसमिति सभापतिमा मुसिकोट नगरपालिकाबाट श्रीकुमार शर्मा, चौरजहारी नगरपालिकाबाट मोहन विक्रम थापा, आठबीसकोट नगरपालिकाबाट नौलु जैसी, बाँफिकोट गाउँपालिकाबाट दिनेश कुमार देवकोटा, सानीभेरी गाउँपालिकाबाट यज्ञ बहादुर ओली र त्रिवेणी गाउँपालिकाबाट राजेश खड्का सर्वसम्मत निर्वाचित भएका छन् ।
जिल्ला निर्वाचन अधिकृत विष्णु बहादुर बुढाथोकीद्वारा हस्ताक्षरित सूचनामा प्रदेश सभा क्षेत्रीय कार्यसमिति र नगरपालिका तथा गाउँपालिका कार्यसमिति सभापतिहरू सर्वसम्मत रूपमा निर्वाचित भएको उल्लेख गरिएको छ ।

कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनलाई लक्षित गर्दै जिल्लामा पार्टीका विभिन्न तहका अधिवेशन तथा संगठनात्मक गतिविधि अघि बढिरहेका बेला क्षेत्रीय र पालिका तहमा नेतृत्व चयन भएको हो । सर्वसम्मत नेतृत्व चयनले जिल्लामा पार्टीको संगठन विस्तार, आन्तरिक समन्वय र आगामी राजनीतिक गतिविधिलाई व्यवस्थित गर्न सहयोग पुग्ने महाधिबेशन प्रतिनिधी यज्ञ विष्टले आहा सञ्चारलाई जानकारी दिए ।

यो पनि पढ्नुहोस

नेपाली काँग्रेस रुकुम पश्चिमको जिल्ला सभापतिमा विष्ट

फेसबुकमा प्रतिक्रिया दिनुहोस...