विश्वकै लोकप्रिय भिडियो साझेदारी मञ्च युट्युबले सामग्री निर्माता तथा आफ्नो साझेदार कार्यक्रममा आबद्ध व्यक्तिका लागि लागू हुने आम्दानीसम्बन्धी नियममा महत्वपूर्ण परिवर्तन गरेको छ । नयाँ व्यवस्थाअनुसार युट्युबको साझेदार कार्यक्रममा आबद्ध सामग्री निर्माताले २०८३ माघ १७ गतेभित्र नयाँ सर्त स्वीकार गर्नुपर्ने भएको छ ।
युट्युबले आफ्ना सामग्री निर्मातालाई पठाएको सूचनामार्फत लामो भिडियो, प्रत्यक्ष प्रसारण तथा छोटा भिडियोबाट हुने आम्दानीसँग सम्बन्धित नयाँ सर्तहरू स्वीकार गर्न आग्रह गरेको हो । तोकिएको समयभित्र नयाँ सर्त स्वीकार नगरे आम्दानीमा अवरोध आउन सक्ने युट्युबले जनाएको छ ।

नयाँ व्यवस्थाअनुसार लामो भिडियो तथा प्रत्यक्ष प्रसारणमा देखाइने विज्ञापन र युट्युबको सशुल्क सेवा प्रयोग गर्ने दर्शकबाट प्राप्त हुने आम्दानीमा सहभागी हुन सम्बन्धित सर्त स्वीकार गर्नुपर्नेछ । त्यसैगरी छोटा भिडियोमा देखाइने विज्ञापन तथा सशुल्क सेवाबाट प्राप्त हुने आम्दानीका लागि पनि छुट्टै सर्त स्वीकार गर्नुपर्ने व्यवस्था गरिएको छ ।
युट्युबले पछिल्लो परिवर्तन सामग्री सिर्जना तथा डिजिटल बजारमा आएको परिवर्तनअनुसार गरिएको जनाएको छ । कम्पनीका अनुसार नयाँ नियमले सामग्री निर्मातामा गरिँदै आएको कुल लगानी घटाउने छैन । बरुसन् २०२७ मा सन् २०२६ को तुलनामा अझ बढी रकम सामग्री निर्मातालाई भुक्तानी गर्ने अपेक्षा गरिएको युट्युबको भनाइ छ ।

छोटा भिडियोमा नयाँ मापदण्ड

युट्युबले छोटा भिडियोबाट हुने आम्दानीको संरचनामा पनि महत्वपूर्ण परिवर्तन गरेको छ । नयाँ व्यवस्थाअनुसार छोटा भिडियोको सिर्जनाकर्ता कोषबाट मासिक आम्दानीमा सहभागी हुन ९० दिनमा एक करोड योग्य दृश्य पूरा गर्नुपर्नेछ ।
यसका अतिरिक्त युट्युबले नियमित रूपमा छोटा भिडियो उत्पादन गर्ने सामग्री निर्मातालाई प्रोत्साहन गर्न नयाँ बोनस कार्यक्रमसमेत ल्याउने तयारी गरेको छ । साझेदार कार्यक्रममा आबद्ध योग्य सामग्री निर्मातालाई छोटा भिडियो उत्पादनको निरन्तरताका आधारमा बोनस कार्यक्रममा सहभागी हुन निमन्त्रणा आउन सक्ने बताइएको छ ।
यसका लागि कुनै महिनामा छोटा भिडियोको सिर्जनाकर्ता कोषबाट आम्दानी प्राप्त गर्न आवश्यक दृश्य पूरा नगरेका सामग्री निर्माताले समेत बोनस कार्यक्रममार्फत आम्दानीको अवसर पाउन सक्नेछन् ।

नयाँलाई प्रवेश झन् कठिन
युट्युबले साझेदार कार्यक्रममा नयाँ सामग्री निर्माता प्रवेश गर्न आवश्यक मापदण्डसमेत बढाएको छ । अब विज्ञापन तथा युट्युबको सशुल्क सेवाबाट आम्दानीमा सहभागी हुन नयाँ सामग्री निर्माताले ८ हजार घण्टा दर्शक समय वा ९० दिनमा दुई करोड छोटा भिडियो दृश्य पूरा गर्नुपर्ने व्यवस्था गरिएको छ । यद्यपि हालैदेखि साझेदार कार्यक्रममा आबद्ध भइसकेका सामग्री निर्मातालाई नयाँ प्रवेश मापदण्डले असर नगर्ने युट्युबले स्पष्ट पारेको छ । उनीहरूले पुनः उक्त लक्ष्य पूरा गर्नुपर्ने छैन ।

निष्क्रिय च्यानललाई केही सहजता
युट्युबले लामो समयसम्म निष्क्रिय रहने च्यानलका सम्बन्धमा भने केही सहज व्यवस्था गरेको छ । साझेदार कार्यक्रममा आबद्ध भएर लामो समयसम्म सक्रिय नरहने च्यानलका लागि लागू हुने कार्यसम्पादनसम्बन्धी मापदण्ड घटाइने तथा कार्यक्रमबाट हटाउनुअघि दिइने अतिरिक्त समय बढाइने भएको छ । त्यस्तै, लक्षित छोटा भिडियो विज्ञापनबाट प्रत्यक्ष आम्दानी गर्ने व्यवस्था र दर्शकबाट प्राप्त आर्थिक सहयोगसम्बन्धी सम्झौतालाई नयाँ सर्तअनुसार एकरूप बनाउनेलगायतका परिवर्तन पनि गरिएको छ । दर्शकबाट प्राप्त आर्थिक सहयोगमा सामग्री निर्माता र युट्युबबीच हुने आम्दानी बाँडफाँटको दरमा भने परिवर्तन नगरिएको युट्युबले जनाएको छ ।

युट्युबको पछिल्लो निर्णयले नयाँ सामग्री निर्माताका लागि आम्दानीको बाटो केही चुनौतीपूर्ण बनाएको भए पनि नियमित र मौलिक सामग्री उत्पादन गर्ने पुराना सामग्री निर्मातालाई भने निरन्तरताको अवसर कायमै राखेको देखिन्छ । विशेषगरी नेपालमा छोटा भिडियोमार्फत आम्दानी गरिरहेका सामग्री निर्माताका लागि नयाँ दृश्य सीमा र बोनससम्बन्धी व्यवस्था महत्वपूर्ण बन्ने देखिएको छ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस...