“जब संगठनभित्र लोकतन्त्र कमजोर हुन्छ, तब व्यक्तिपूजा बलियो हुन्छ। जब व्यक्तिपूजा बलियो हुन्छ, तब संगठन कमजोर बन्छ।”

धनवीर ओली 

समसामयिक राजनीतिक समीक्षा 
नेपालको कम्युनिष्ट आन्दोलन सात दशकभन्दा लामो इतिहास बोकेको आन्दोलन हो। यस आन्दोलनले निरंकुश शासनविरुद्ध संघर्ष गर्दै लोकतन्त्र, गणतन्त्र, संघीयता, समावेशिता र सामाजिक न्यायका पक्षमा महत्वपूर्ण योगदान दिएको छ। आज नेपालको राजनीतिक परिवर्तनका अधिकांश उपलब्धिहरूमा कम्युनिष्ट आन्दोलनको प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका रहेको तथ्य अस्वीकार गर्न सकिँदैन।
तर विडम्बना के छ भने, परिवर्तनको नेतृत्व गर्ने यही आन्दोलन आज आफैं गम्भीर वैचारिक, संगठनात्मक, नैतिक तथा राजनीतिक संकटबाट गुज्रिरहेको छ। पटक–पटकका विभाजन, अस्थिर एकता, व्यक्तिवाद, गुटवाद, सत्ता–केन्द्रित सोच तथा सिद्धान्तभन्दा स्वार्थलाई प्राथमिकता दिने प्रवृत्तिले कम्युनिष्ट आन्दोलनको विश्वसनीयतामाथि प्रश्न उठाएको छ।
आज आवश्यक कुरा विगतका गल्तीहरूको पुनरावृत्ति गर्नु होइन, बरु गम्भीर आत्मसमीक्षा गर्दै नयाँ ढंगले पुनर्गठन र रूपान्तरणको मार्ग खोज्नु हो।

१. माओवादी आन्दोलनको विभाजन र जनमानसमा परेको मनोवैज्ञानिक प्रभाव 
नेपालको इतिहासमा नेकपा (माओवादी) ले एउटा युगान्तकारी भूमिका निर्वाह गरेको थियो। दशकौंसम्म उपेक्षित, उत्पीडित र अधिकारविहीन वर्गका आवाजलाई राष्ट्रिय राजनीतिको केन्द्रमा ल्याउने काम माओवादी आन्दोलनले गर्‍यो। हजारौं युवाले परिवर्तनको सपना देखे, लाखौं जनताले नयाँ नेपालको आशा गरे।
तर आन्दोलनको शक्ति बढ्दै जाँदा वैचारिक बहसको ठाउँमा नेतृत्वबीचको अविश्वास, व्यक्तिगत महत्वाकांक्षा र संगठनात्मक कमजोरीहरू बढ्दै गए। परिणामस्वरूप माओवादी आन्दोलन पटक–पटक विभाजित भयो।
यसले जनतामा गहिरो मनोवैज्ञानिक असर पार्‍यो। जनताले प्रश्न गर्न थाले— यदि परिवर्तनको नेतृत्व गर्ने शक्तिहरू आफैं एक हुन सक्दैनन् भने उनीहरूले देशलाई कसरी एकताबद्ध बनाउने? यदि उनीहरू आफ्नै घोषणापत्र, आदर्श र प्रतिबद्धतामा टिक्न सक्दैनन् भने जनताले किन विश्वास गर्ने? फलस्वरूप कम्युनिष्ट आन्दोलनप्रतिको भावनात्मक आकर्षण कमजोर हुँदै गयो र राजनीतिक नेतृत्वप्रति अविश्वास बढ्दै गयो।

२. २०७५ सालको एमाले–माओवादी एकता : आशा र विघटनको कथा 
२०७५ सालमा तत्कालीन नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बीच भएको एकता नेपालको कम्युनिष्ट आन्दोलनको सबैभन्दा ठूलो राजनीतिक घटना थियो। जनताले यसलाई केवल दुई पार्टीको एकता मात्र होइन, राजनीतिक स्थायित्व, विकास र समृद्धिको सम्भावनाका रूपमा हेरेका थिए। त्यसपछिको निर्वाचनमा जनताले झण्डै दुईतिहाइ बहुमत दिएर उक्त एकतालाई अनुमोदन पनि गरे। जनताको अपेक्षा थियो कि अब देशमा स्थिर सरकार बन्नेछ, विकासले गति लिनेछ र राजनीतिक अस्थिरताको अन्त्य हुनेछ।
तर दुर्भाग्यवश वैचारिक स्पष्टता, संगठनात्मक एकरूपता तथा नेतृत्वबीचको विश्वासको अभावका कारण उक्त एकता टिक्न सकेन। अन्ततः पार्टी विभाजन भयो।
यस घटनाले जनतामा अत्यन्त नकारात्मक सन्देश प्रवाह गर्‍यो। जनताले महसुस गरे कि एकता सिद्धान्त, नीति र कार्यक्रमका आधारमा नभई सत्ता बाँडफाँट र राजनीतिक गणितका आधारमा गरिएको रहेछ। परिणामस्वरूप, “नेताहरू सत्ता र पदका लागि मात्र एक हुन्छन् र स्वार्थ नमिलेपछि फुट्छन्” भन्ने धारणा व्यापक रूपमा स्थापित भयो।
त्यसैले आज पनि जनताले जान्न चाहन्छन्— पार्टी किन एक भएको थियो? किन फुट्यो? गल्ती कहाँ भयो? र भविष्यमा त्यस्तो गल्ती दोहोरिन नदिन के गर्नुपर्छ?

३. एकता केवल गणितीय जोड होइन, वैचारिक संश्लेषण हुनुपर्छ 
कम्युनिष्ट आन्दोलनमा एकताको प्रश्न केवल संगठनात्मक प्रश्न होइन, यो दार्शनिक र वैचारिक प्रश्न पनि हो। मार्क्सवादी दृष्टिकोणले एकतालाई साझा वर्गीय उद्देश्य, साझा राजनीतिक कार्यक्रम र साझा संगठनात्मक संस्कृतिमा आधारित मान्दछ।
केवल सिट संख्या बढाउन, निर्वाचन जित्न वा ठूलो पार्टी निर्माण गर्न गरिएको एकता दीर्घकालीन हुन सक्दैन। भविष्यमा हुने कुनै पनि एकता निम्न आधारमा हुनुपर्छः । साझा वैचारिक दृष्टिकोण ।
स्पष्ट राजनीतिक कार्यक्रम ।
संगठनात्मक अनुशासन ।
नेतृत्वको सामूहिकता ।
पारदर्शी निर्णय प्रणाली ।
जनताप्रतिको उत्तरदायित्व ।
यी आधारबिना हुने एकता अर्को विभाजनको पूर्वतयारी मात्र बन्न सक्छ।

 

४. संगठनात्मक सिद्धान्तको संकट 
आज कम्युनिष्ट आन्दोलनको अर्को ठूलो समस्या संगठनात्मक सिद्धान्तको कमजोर कार्यान्वयन हो।
वर्षौंदेखि कम्युनिष्ट आन्दोलनले जनवादी केन्द्रीयता, आलोचना–आत्मआलोचना, सामूहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारीका सिद्धान्तलाई आफ्नो आधार मानेको छ। तर व्यवहारमा यी सिद्धान्तहरू क्रमशः कमजोर बन्दै गएका छन्। बैठकहरू औपचारिक बन्दै गएका छन्, बहसहरू सीमित हुँदै गएका छन् र निर्णय प्रक्रिया केही व्यक्तिमा केन्द्रित हुँदै गएको छ।
आलोचना गर्नेलाई विरोधी ठान्ने र आत्मआलोचनालाई कमजोरी ठान्ने संस्कृतिले संगठनभित्र सिर्जनात्मक बहसलाई कमजोर बनाएको छ। फलस्वरूप गल्तीहरू समयमै सच्याउने क्षमता पनि घट्दै गएको छ।

५. नवसामन्ती र नोकरशाही प्रवृत्तिको विस्तार 
कम्युनिष्ट आन्दोलनले सैद्धान्तिक रूपमा सामन्तवादको विरोध गर्‍यो। तर विडम्बना के छ भने, कतिपय कम्युनिष्ट संगठनभित्र नै नवसामन्ती प्रवृत्तिहरू विकसित भएका छन्। पदलाई विशेषाधिकारको स्रोत ठान्ने, नेता र कार्यकर्ताबीच दूरी बढाउने, आलोचनालाई अस्वीकार गर्ने, चाकडी संस्कृतिलाई प्रोत्साहन गर्ने, नातावाद, कृपावाद र परिवारवादलाई संस्थागत बनाउने प्रवृत्ति बढ्दो छ।
जब संगठनभित्र लोकतन्त्र कमजोर हुन्छ, तब व्यक्तिपूजा बलियो हुन्छ। जब व्यक्तिपूजा बलियो हुन्छ, तब संगठन कमजोर बन्छ।
कम्युनिष्ट आन्दोलनको नैतिक संकटको एउटा प्रमुख कारण यही हो।

६. बदलिएको समाज र पुरानो कार्यशैलीको सीमितता 

२१औँ शताब्दीको नेपाल २०औँ शताब्दीको नेपाल होइन। समाज बदलिएको छ, जनताको चेतना बदलिएको छ र सूचना प्रविधिले संसारलाई नै रूपान्तरण गरिदिएको छ। आजका युवाहरू केवल भाषण होइन, परिणाम खोज्छन्। उनीहरू केवल नाराले होइन, अवसरले आकर्षित हुन्छन्। त्यसैले कम्युनिष्ट आन्दोलनले आफ्ना कार्यक्रमहरूलाई नयाँ युगअनुकूल बनाउनुपर्छ। रोजगार सिर्जना, उद्यमशीलता, शिक्षा सुधार, डिजिटल अर्थतन्त्र, सुशासन, वैज्ञानिक अनुसन्धान, वातावरण संरक्षण, सामाजिक न्याय र राष्ट्रिय उत्पादन वृद्धिजस्ता विषयलाई आन्दोलनको केन्द्रमा ल्याउनुपर्छ।
पुराना भाषिक शैली, पुराना संगठनात्मक ढाँचा र पुरानै राजनीतिक व्यवहारले नयाँ पुस्तालाई आकर्षित गर्न सक्दैन।

 

७. लेनिनवादी संगठनात्मक सिद्धान्तको पुनर्स्मरण 

आजसम्म विश्व कम्युनिष्ट आन्दोलनमा लेनिनवादी संगठनात्मक सिद्धान्तको विकल्पका रूपमा कुनै सार्वभौम र प्रभावकारी सिद्धान्त स्थापित हुन सकेको छैन।
त्यसैले कम्युनिष्ट आन्दोलनले जनवादी केन्द्रीयता, आलोचना–आत्मआलोचना, सामूहिक नेतृत्व, अनुशासन, संगठनात्मक एकता र राजनीतिक स्पष्टताका आधारभूत मूल्यहरूलाई पुनः आत्मसात गर्नुपर्छ।
तर यसको अर्थ यान्त्रिक रूपमा पुरानो ढाँचा दोहोर्‍याउनु होइन। आधुनिक लोकतान्त्रिक अभ्यास, सूचना प्रविधि र पारदर्शितासँग संयोजन गर्दै ती सिद्धान्तहरूको नयाँ प्रयोग आवश्यक छ।

८. रूपान्तरण अरूलाई होइन, आफैंबाट सुरु गरौं

कम्युनिष्ट आन्दोलनको पुनर्जागरणको पहिलो शर्त आत्मसमीक्षा हो। आत्मसमीक्षाबिना सुधार सम्भव हुँदैन, र सुधारबिना पुनर्जागरण सम्भव हुँदैन।
त्यसैले आज आवश्यक छ ।
व्यक्तिवादभन्दा सामूहिकताको विकास ।
गुटवादभन्दा संगठनात्मक एकता ।
अवसरवादभन्दा सिद्धान्तनिष्ठा ।
पदलिप्साभन्दा सेवाभाव ।
नाराभन्दा परिणाममुखी कार्यशैली ।
सत्ता–केन्द्रित राजनीतिभन्दा जन–केन्द्रित राजनीति । रूपान्तरण अरूलाई दिने उपदेश होइन, आफूबाट सुरु गरिने प्रक्रिया हो।

९. निष्कर्ष :  बृहत्तर वाम एकताको ऐतिहासिक आवश्यकता

आज नेपालमा राजनीतिक ध्रुवीकरणको नयाँ चरण सुरु हुँदैछ। गणतन्त्र, संघीयता, समावेशिता र सामाजिक न्यायका उपलब्धिमाथि विभिन्न कोणबाट चुनौतीहरू देखिन थालेका छन्। यस्तो अवस्थामा परिवर्तनको पक्षमा उभिएका सबै वामपन्थी शक्तिहरूबीच न्यूनतम साझा कार्यक्रमका आधारमा सहकार्य, ध्रुवीकरण र बृहत्तर एकताको आवश्यकता झन् बढेको छ। तर त्यो एकता विगतझैं केवल सत्ता साझेदारीको सम्झौता हुनुहुँदैन। त्यो एकता विचार, नीति, कार्यक्रम, संगठनात्मक संस्कृति र जनउत्तरदायित्वमा आधारित हुनुपर्छ।

इतिहासले कम्युनिष्ट आन्दोलनलाई बारम्बार अवसर दिएको छ। अबको प्रश्न अवसर पाउने होइन, अवसरलाई सही ढंगले उपयोग गर्ने हो। यदि कम्युनिष्ट आन्दोलनले आफ्ना कमजोरीहरूको इमानदार आत्मसमीक्षा गर्दै आफूलाई समयानुकूल रूपान्तरण गर्न सक्यो भने यसको भविष्य अझै पनि उज्यालो हुन सक्छ। तर यदि विगतका गल्तीहरू दोहोरिँदै गए भने जनताले नयाँ विकल्प खोज्नेछन्, किनकि इतिहासले कसैको प्रतीक्षा गर्दैन।

फेसबुकमा प्रतिक्रिया दिनुहोस...