हरि जिज्ञासु
म उमेरले सानै थिएँ । तर जनयुद्धका केही अवशेषहरू आज पनि स्मृतिमा ताजा छन् । मेरो गाउँ स्याँलाखदी, रुकुम जिल्लाको एउटा अनकन्टार क्षेत्र हो । त्यो समय जोकोही सजिलै पुग्न सक्ने ठाउँ थिएन । तर माओवादी कार्यकर्ता र जनमुक्ति सेना भने हाम्रो गाउँसम्म आइपुग्थे ।
त्यतिबेला म जनयुद्ध बुझ्दिनथेँ, तर गाउँमा आउने नयाँ मान्छेहरू चिन्न थालिसकेको थिएँ । हाम्रो गाउँका धेरै घरपरिवार गरिबीको रेखामुनि थिए । चामल दुर्लभ थियो । गहुँको रोटी, मकैको ढिँडो र सिस्नु नै मुख्य खाना हुन्थे । दिनभरि काम गरेर थाक्नुभएकी मेरी आमाले राति भान्सा गर्दै गर्दा अचानक नयाँ मान्छे देखापर्थे र भन्थे, “आमा, बास पाइन्छ कि ?”
घरमा खानेकुरा थोरै भए पनि आमालाई कहिल्यै रिसाएको देखिनँ । जे थियो, त्यही दिनुहुन्थ्यो । आएका कार्यकर्ताले त्यही खान्थे । त्यो समयको गरिबी र आतिथ्य आज सम्झँदा पनि मन छोइरहन्छ ।

माओवादी पार्टी विस्तारका क्रममा चन्दा संकलन हुन्थ्यो । आर्थिक अवस्थाअनुसार रकम तोकिएको हुन्थ्यो, अलि हुनेलाई बढी, नहुनेलाई कम । हाम्रो घरबाट बाबाले पाँच सय तिरिदिनुभएको याद छ । मामाघरको बाजेले हजार तिरिदिँदा हामीलाई उहाँ धनी हुनुहुन्छ जस्तो लाग्थ्यो । बालापनको सोच थियो, हाँसो लाग्छ अहिले सम्झँदा ।

गाउँमा माओवादी कार्यकर्ताहरू धेरै थिए । धेरैको घरमा रेडियो हुन्थ्यो । बेला –बेला स्कुलमा नाटक देखाइन्थ्यो, पुत्ला जलाइन्थ्यो । पार्टी कारबाहीमा परेकाहरूलाई श्रममा लगाइन्थ्यो । उनीहरूले खुब काम गर्थे । गाउँमा दुःख थियो, तर परिवर्तनका कुरा हुन्थे । घरका भित्तामा “सामन्तवाद मुर्दाबाद”, “भारतीय विस्तारवाद मुर्दाबाद” जस्ता नारा लेखिएका हुन्थे । मलाई अलिअलि पढ्न आउँथ्यो, ती नारा पढ्दा अच्चम र गर्व महसुस हुन्थ्यो ।

जातीय विभेद गर्ने सामन्तहरू पनि देखिन्थे, तर गहिरोसँग बुझ्ने उमेर थिएन । यति भने स्पष्ट थियो, गाउँका मानिसहरूमा क्रान्तिकारी चेतना पलाउँदै थियो । मेरी आमा पनि आफ्नै तरिकाले क्रान्तिकारी हुनुहुन्थ्यो । म उहाँलाई “जै” भनेर बोलाउँथेँ, तर उहाँ “आमा भन” भनेर पिट्नुहुन्थ्यो । त्यो पनि परिवर्तनकै एउटा रूप थियो । हा हा !
एक समय आमा गम्भीर बिरामी हुनुभयो । त्यही बेला बाबालाई अभियानमा पठाइयो । १५ दिन, एक महिना लामो अभियान हुन्थ्यो । कोही फर्कन्थे, कोही जनमुक्ति सेनामा भर्ती हुन्थे । आमा बिरामी, बाबा अभियानमा, त्यो समय मैले धेरै दुःख महसुस गरेको छु ।
आमाकी सानी बहिनी सपना सिला खारा घटामा सहिद हुनुभयो । त्येतिखे जनयुद्धमा सहिद भएकाहरुको चिठी रातो अक्षरले लेखिएको हुन्थ्यो । त्यो चिठी कसले आमाको हात्मा थमाआयो । केही दिदीबहिनीहरु झुप्प वरपर बसेका थिए । आमाले चिठी पढ्न मलाई लगाउनुभयो । आमा रोएको अहिले पनि याद आउँछ ।

रेडियोबाट जनयुद्धका समाचार सुन्ने कार्यकर्ताहरूको अनुहार आज पनि आँखा अगाडि आउँछ । मेरा बाबा–आमासँग रेडियो सुन्ने फुर्सद थिएन, तर केही कार्यकर्ताको पार्टीप्रतिको निष्ठा सम्झँदा अहिले पनि अचम्म लाग्छ ।

म सानो हुँदा जनार्दन शर्मा नजिक पुगेको सम्झना छ । सम्भवतः डोल्पाको दुनै आक्रमणतर्फ जाँदै गरेको जनमुक्ति सेना हाम्रो गाउँमा दुई–तीन दिन बसेको थियो । हरेक घरमा २५ जनासम्म जनमुक्ति सेना बसालिएको थियो ।

हाम्रो घरमा पनि त्यत्तिकै जना सुते । उनीहरूका कपडा र अवस्था देख्दा युद्धको कठोरता झल्किन्थ्यो । घाइतेहरू थिए, डाक्टर पनि थिए । हिमालय माध्यमिक विद्यालयको आँगनमा बन्दुकसहित परेड खेलेको दृश्य अझै सम्झनामा छ । बालमनले त्यो दृश्य रमाइलो मानेको थियो । स्कुल नजिकैको एउटा घरमा कमाण्डर जनार्दन शर्मा (प्रभाकर) बस्नुभएको थियो । झुप्प दाह्री, नमिलेको कपाल, जनमुक्ति सेनाको पोशाक—गाउँमा उहाँको चर्चा हुन्थ्यो । म उहाँ नजिक जान खोज्थेँ, तर त्यो बेला उहाँ को हुनुहुन्छ भन्ने बुझ्ने चेतना मसँग थिएन ।

प्रचण्डको नाम मैले रेडियोमा मात्रै सुनेँ, देखेको थिइनँ । रुकुमले प्रचण्डसहित माओवादीका शीर्ष नेताहरूलाई आश्रय दिएको इतिहास छ । माओवादी आन्दोलनले रुकुमेली मात्र होइन, देशकै चेतनालाई फराकिलो बनाएको यथार्थलाई नकार्न सकिँदैन । रुकुमेली जनता र देशले त्यो त्याग र बलिदान कहिल्यै भुल्नु हुँदैन ।
आजको सन्दर्भमा आउँदा, जनार्दन शर्माले नेपाली कम्युनिष्ट पार्टी छोडेर नयाँ राजनीतिक यात्रा रोज्नुभएको छ । यसलाई कसैले सैद्धान्तिक विचलन ठान्न सक्छन्, कसैले समयअनुकूल निर्णय । नेपाली राजनीति निरन्तर परिवर्तनशील छ । जिल्लाको नेता भएकाले जनार्दनले रुकुमका समस्या बुझेका छन् र सत्तामा रहँदा केही सहानुभूतिको काम गरेकै छन् । यति भन्दैमा सबै समस्या समाधान भयो भन्न सकिँदैन ।

अर्कोतर्फ, प्रचण्डको नेतृत्वमा रहेको नेपाली कम्युनिष्ट पार्टीले देशलाई दिएको राजनीतिक चेतना पनि बिर्सन मिल्दैन । जनयुद्धको इतिहास, त्याग र बलिदानसँग जोडिएको पार्टीप्रति सम्मान राख्नु आवश्यक छ ।

आज रुकुमेली जनतामाझ एउटा स्वभाविक द्विविधा छ, मूल पार्टीलाई साथ दिने कि जिल्लाको अनुभवी नेतालाई । यो निर्णय भावनाले मात्र होइन, गम्भीर विवेकले लिनुपर्ने बेला हो । अहिलेलाई सबै पक्षले आपसी सत्रुता त्यागेर जिल्लाको हितलाई केन्द्रमा राख्नु जरुरी छ ।

अन्ततः राजनीति व्यक्तिभन्दा ठूलो कुरा हो । जनार्दन हुन्, प्रचण्ड हुन् वा अरू कुनै नेतृत्व, जनताको पक्षमा जसको नीति र कर्म असल छ, त्यसलाई साथ दिनु नै जनताको कर्तव्य हुनेछ । यही चेतनाले रुकुम र देशलाई सही दिशामा अघि बढाउने विश्वास गर्न सकिन्छ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस...