बिक्रम पालुङ्वा
जन्मसँगै जीवन आइसक्यो । सफलताको कुनै न कुनै पिरामिड बनाएर त्यसको टुप्पामा पुग्नुछ, तर यी दुई खाडलको बीचमा पुल लगाउने काम शिक्षा, सीप र गुणहरूले गर्दछ । अनेक विकल्पहरूको जञ्जालमा त्यो कुन पिरामिड चैं आफ्नो सही पिरामिड होला ? आफू अनुकूल सही चिन्न सक्नु र त्यसैमा केन्द्रित हुन सक्नु अर्को महान् सकस छँदैछ ।

त्यो सही पिरामिड चिन्नु आफैंलाई चिन्नु हो । आफ्नो सही काम र साथी चिन्नु हो । जीवनभर नाम र दाम कमाउने सही साधन जुटाउनु हो । जीवनयात्रामा सही गन्तव्यतर्फ लम्कनु हो । एक सार्थक जीवन बाँच्नु हो । जीवनयात्रामा समय बितेको पत्तै नपाई समय बिताउनु हो । हातको काममा मस्त रमाउनु हो । सबैभन्दा प्यारो काममा तन, मन, र धन सुम्पिनु हो । समग्रमा, आफैंलाई चिन्नु एक प्रकारले धनी र सुखी बन्नु हो ।
हामी सबै बा–आमा आफू पनि धनी र सुखी बन्न चाहन्छौं अनि आफ्ना सन्तानहरूलार्ई पनि त्यस्तै बनाउन चाहन्छौं । तर कसरी ? यसमा स्कुलघरको भूमिका कति ? घरस्कुलको भूमिका कति ? बाआमाको भूमिका कति ? शिक्षकहरूको भूमिका कति ? वरिपरिको समाज र समग्र देशको वातावरणको भूमिका कति ? हामी यी सबै भूमिकामा किन झन् भन्दा झन् कमजोर र असफल बन्दैछौं त ?

१. पहिलो शिक्षक बा, आमा र घर ः
संसारको सबैभन्दा महान् शिक्षक बा–आमा नै हुन् र सबैभन्दा महान् विद्यालय घर नै हो । यसमा कुनै द्विविधा नै छैन । घरलाई महान् विद्यालय बनाउन र आफू महान् गुरु हुन कुनै डिग्री चाहिंदैन । हरेक विषय जान्नु र सिकाउन सक्नु पनि पर्दैन । घरको र बाआमाको पाठ्यक्रम भनेको नै सही संस्कार, विचार, आत्मविश्वास, सकारात्मक भावनाको विकास गर्नु मात्र हो ।
यो काम घरस्कुलले गर्न सकेन भने अब स्कुलघरको जग त्यसै कमजोर बन्दै जान्छ । आजका हरेक बा–आमा यो काम गर्न अक्षम बन्दै गइरहेका छन् । समयको बाध्यताले वा अज्ञानताले वा जानेर पनि गर्न नसकेर वा निरन्तरता दिन नसकेर । यो घरमा गर्न नसक्नु, घर कमजोर बन्नु हो, छोराछोरी कमजोर बन्नु हो, स्कुल कमजोर बन्नु हो, शिक्षक कमजोर बन्नु हो, समाज कमजोर बन्नु हो र समग्रमा देश कमजोर बन्नु हो । शिक्षाविद् गिजुभाईले त्यसै भनेका होइनन् कि घरमा बिग्रेको बच्चालार्ई भगवानले पनि सुधार्न सक्दैनन् ।

आजको समय र सुख–सुविधाका अनेक साधनहरूको सहज उपलब्धता, अनेक विकल्पको जञ्जाल, वरिपरिका मानिसहरूसँगको तुलना गर्ने आदत, जति कमाए पनि नपुग्ने र जति खर्च गरे पनि नअघाउने प्रवृत्ति, नयाँ नयाँ वस्तुहरूको निरन्तर उत्पादन र विज्ञापन, इन्टरनेट र सञ्चारको सहजताले मारेको सिर्जनशीलता आदिका कारणले हरेक बा–आमा व्यस्त र बाध्य बन्दै गएका छन् । सन्तानहरूसँगको दूरी बढ्दै गएको छ । न विचारको आदानप्रदान प्रशस्त छ, न भावनाको साटासाट । पुस्तैनी खाल्डो झन् भन्दा झन् फराकिलो बन्दैछ ।
सबैभन्दा खतरनाक त भावनाको डोरी चुँडिइसकेको छ । बा–आमाको मिहिनेत, परिश्रम, पसिना सन्तानले बुझ्नै छोडिसके । बा–आमामा अलिअलि बचेको भावना पनि समयको चाप र तापले सुकाइसक्यो । सन्तानका लागि बा–आमा पैसा कमाउने मेसिन मात्रै बन्दै गए । धेरै कमाउने होडले र बाध्यताले परिवार विस्तारै विखण्डित हुँदै गएको छ । बा एकातिर, आमा अर्कातिर अनि सन्तान अर्कैतिर । अब, घर कसरी घर बन्न सक्ला र ? अनि सन्तान सही र असल सन्तान कसरी हुन सक्लान् र ? अनि बा–आमा कसरी सफल बा–आमा बन्न सक्लान् र ? अनि यसरी घरमै र मूलमै बिग्रिइसकेको विद्यार्थीलाई आजका स्कुल अनि आजका शिक्षकहरूले कसरी सपार्न सक्छन् ? यस्ता जीवनहरू साँच्चै नै बनाउँछु भनेर कुन स्कुलले काम गर्न सक्ला ? कुन शिक्षकहरूमा यो भावना भरिएर कक्षाकोठामा पसेका होलान् ? प्रश्न कोमल छ र कठोर पनि । त्यसैले त अब सबै स्कुलहरू कमजोर र असफल बन्दै गइरहेका छन् । निष्कर्षमा भन्न सकिन्छ, घर कमजोर त भर कमजोर ।

२. पत्रु दुई चिजको बढ्दो प्रभाव
आजको समस्या दुई पत्रु चिजहरूको हो । पत्रु खाना, अनि विद्युतीय पत्रु । दुवै चिजहरूको हरेक घरमा हैकम । जता निस्कियो, त्यतै प्याकेटका पत्रु खानेकुरा झुण्डिएका हुन्छन् । त्यसमा बालबालिकाको ध्यान त्यसै जाने नै भयो । त्यसको स्वादमा जिब्रोको बानी परेपछि, घरमा बनाएको जस्तै उत्तम खानाको पनि स्वाद नआउने । एक दिन, दुई दिन अनि हर दिन ।
भएभरका प्याकेटका पत्रु चिजहरू हाम्रो अर्बाैं पर्ने इन्जिनमा हालेपछि के होला ? विस्तारै पेट डस्टबिनमा परिणत हुन्छ । दुई लाखको मोटरसाइकलमा तेल हाल्दा पनि दश चोटि शुद्धता सोच्ने हामी अर्ब खर्बको शरीररूपी इन्जिनमा केही नसोची जे पनि घुसाइहाल्छौं । तब, नतिजा के होला ?
ब्रेनमा जत्तिकै न्युरोन्सहरू भएको दोस्रो ब्रेन हो, पेट । त्यो कमजोर बन्दै गएपछि दिमाग पनि स्वतः कमजोर बन्दै जान्छ नै । अनि स्कुलले के गरोस् ? शिक्षकहरूले के गरुन् ? पत्रु खानाले विद्यार्थीको पेट कमजोर त अरू सबै कमजोर । घरस्कुल कमजोर अनि स्कुलघर कमजोर ।
आजको युगमा, मोबाइल, समयको वरदान हो । यो अर्को एक भगवान नै हो । तर योे अभिशाप पनि बन्दैछ । सही प्रयोग गर्न नजानेर अनि नसकेर । पत्रु सूचनाहरूको जञ्जालमा त्यसै अल्झिएर, समय खेर फालेर । अनेक पत्रुहरूको बीचबाट सही चिज छान्न नसकेर अनि त्यसमै रुमलिएर समय नष्ट गरेर ।
यो विद्युतीय पत्रु साधनहरू हामीलार्ई नभई नहुने तर भएर पनि सपार्ने भन्दा बढी बिगार्ने छन् । कुनै समयमा टीभी थियो, आज आएर मोबाइल भएको छ । त्यसमा जे आउँछ, दिमागमा सिधै घुसाउँछ । हामीले उसलार्ई चलाउनुपर्ने तर त्यसले हामीलाई बढी चलाउन थालेको छ । प्रक्रिया उल्टो भएको छ ।
त्यसमा पनि हाम्रा बालबालिका मात्र होइन, वयस्क र बा–आमा नै त्यसको लतमा नराम्ररी फँसिसकेका छन् । घरको वरिपरिको वातावरण जस्तो छ, सन्तान त्यस्तै बन्ने न हुन् । वरिपरिको वातावरणमा बालबालिकाले जे देख्छन्, त्यसैको सिको गर्ने न हुन् ।

अग्रजहरूले किताब समातेको देखे पो, त्यही सिक्छन्, मोबाइलका पत्रु चिजमा रमाएको अनि मुस्कुराएको देखेपछि, उनीहरू पनि त्यस्तै खोज्छन् । अर्को मूल समस्याको चुरो यही हो । घर र स्कुल दुवै कमजोर बनाउनेको अनि सबैलाई पत्रु बनाउनेको ।
निकै घरहरू भित्र पसेर हेर्दा यो सबै प्रमाणित भयो । कुनै पनि घरको बैठक कोठामा, न कुनै पुस्तकको ¥याक भित्तामा छ, न कुनै गतिलो पुस्तक टेबलमा । अनि घरमा कताबाट सही बानीको विकास हुन्छ ? कसरी सही वातावरण बन्छ ? अलिकति फुर्सद भयो भने बा–आमाको हातमा कि त्यही मोबाइल हुन्छ कि टिभीको रिमोट । दिनरात सन्तानले त्यै मात्र देखेपछि के होला ? के सिक्लान् ?
कुनै घरको भित्तामा लाखौं पर्ने टीभी हुन्छ । सोफाको दाम सोध्नै पर्दैन । नयाँ डिजाइनको अनि आधुनिक र उन्नतस्तरको । कार्पेट पनि त्यस्तै सुहाउँदो । पर्दा र फर्निचरहरू पनि जोडी मिल्ने । चिटिक्क परेका भित्ते दराजहरू अनि त्यसमा सजाएर राखेका लाखौं पर्ने सजावटका सामग्रीहरू । यसो नियाल्दा लाग्छ कि यो कुनै सानो म्युजियम नै हो । अलि पारखीहरूको घरमा अर्को कुनामा एक रक्सीको बार पनि रहेको हुन्छ ।
अनुमान लगाउँदा त्यहाँ पाँच दश लाखका विभिन्न प्रकारका रक्सीहरूको प्रकार प्रदर्शनमा रहेको सहजै लख काट्न सकिन्छ । घरमा गफ लाखका हैन, करोडका मात्र गरिन्छन् । बालबालिकाहरू ती सबै कुरा जहिल्यै देखिरहन्छन् र सुनिरहन्छन् । के सिक्छन् ? के बुझ्छन् ? बा एक कुनामा मोबाइलमा मस्त । आमाको अवस्था त्यस्तै । अनि बालबालिका पनि आ–आफ्ना पत्रु भगवानहरूसित मस्त । कता होमवर्क ? कता ज्ञान, गुण, सीप र संस्कार ? कता अध्ययन, खोज, चिन्तन ? कता मानवता, दया, प्रेम, धर्म ? कता संस्कृति, कता प्रकृति, कता सिर्जना र प्रविधि, कता समाज अनि कता देश ?
अर्को घरको हाल अर्कै छ । बा–आमाको एक मम र चाउमिनको होटल छ । होटल सँगैको एक कोठा छ । होटलमा बिहानैदेखि अनेक प्रकारका मानिसहरूको आउने–जाने चल्छ । तिनीहरू अनेक प्रकारका बोलीवचन, सोच र आदत बोकेका हुन्छन् । आउँछन्, बस्छन्, खान्छन्, बोल्छन् अनि जान्छन् । टाँसिएको कोठामा बसेर गृहकार्य गरिरहेका केटाकेटीहरू ती सबै राम्रा–नराम्रा कुरा सुन्छन् र सिक्छन् । राम्रा थोरै सुन्छन् र बिर्सन्छन् तर नराम्रा दश कुरा कलिलो दिमागमा बोक्छन् र बोकिरहन्छन् । बा–आमाको बाध्यता, आफ्नो र सन्तानको मुखमा माड हाल्नुहुन्छ । कताको संस्कार ? कताको सीप र सही गुण ? कताको सही अभिभावकत्व ?

तिनै बालबालिका पढ्ने स्कुलहरू बाख्राको खोर जस्ता हुन्छन् । त्यहाँका शिक्षकहरू कि समय बिताउन आएका छन् कि राजनैतिक भ¥याङ टेक्न, त कोही मात्र व्यापार चलाउन, द्रव्य फलाउन । अधिकांश शिक्षक नयाँ जीवनहरूलार्ई आकार दिन अनि देश बनाउन आएका छैनन् । सोचको स्तर त्यो उचाइको कहिल्यै भएन, आएन । तब कसरी सही शिक्षा टुसाउला ? सही सीप र गुणहरूको गुबो पसाउला ?
दुई नमूना र उदाहरण घरको अवस्था हेरेर सहजै अनुमान गर्न सकिन्छ । घर र वातावरण प्रतिकूल, खाना प्रतिकूल, सोचको बीउ रोप्ने विद्युतीय खुराक पत्रु र प्रतिकूल अनि स्कुलले र शिक्षकहरूले मात्र के गर्न सक्छन् ? उनीहरू पनि विस्तारै कमजोर र असफल बन्नुको विकल्प नै छैन । हुँदैछ, त्यस्तै नै ।
यी दुई पत्रु चिजहरूको लतबाट जोगाउन नसके विद्यार्थीको पेट गरिब, दिमाग गरिब अनि घर पनि गरिब, विद्यालय पनि गरिब । समाज र देश त झन् हरिकंगाल । हुँदै, यस्तै छ अब । विस्तारै ।

३. विद्यालयको प्रकार र बढ्दो असमानता
मात्र बीस वर्ष अघिसम्म निकै धनीमानीका छोराछोरी र साधारण जनताका छोराछोरी झण्डै उस्तै र एकै प्रकारका स्कुलहरूमा पढ्थे । त्यसवेला पनि असमानता त थियो नै तर आजको जस्तो ठूलो र फराकिलो खाडल थिएन । तर आज सरकार झन् भन्दा झन् कमजोर हुनाले र शिक्षामा महत्व नदिनाले, सार्वजनिक शिक्षाको अवस्था दिनानुदिन दयनीय बन्दै गइरहेको छ । त्यो गुणस्तरको खाडललार्ई केही हदसम्म संस्थागत शैक्षिक संस्थाहरूले पुरेको छ । धानेको छ । तर त्यसमा पनि असमानता र अर्को खाडल निस्केको छ ।
कुनै संस्थागत विद्यालयहरू न्यूनतम पूर्वाधार नभएका, बाख्राको खोर बनाउन नसुहाउने पनि छन् भने कुनै तारे होटल जस्ता । औंलामा गन्न सक्नेले त ती तारे होटल जस्तामा खर्च गर्न सक्लान् तर बाँकी बहुसंख्यकले गर्ने के त ? सकी–नसकी भए पनि देखासिखी गर्दैछ तारे, पाँचतारे, चारतारे, तीनतारे, दुईतारे, एकतारे गर्दै तिनै बाख्रा खोरेसम्ममा पनि छोराछोरी नपठाई हुन्न । किनकि सामुदायिकहरूको हालत अकल्पनीय भयो । समाजको सोच त्यसरी नै बन्दै गयो । सामुदायिक स्कुल भनेको अति दुःखी गरिबहरूले मात्र पढाउने थलोको रूपमा विचार विकसित भयो । अतः त्यस्तै बन्दै गयो । तब, एक प्रतिशत गुणस्तर अनि बाँकी मध्यम र निम्नस्तर के होला ? समग्रमा, सम्पूर्ण शिक्षा पद्धति नै कमजोर अनि असफल ।
थोरै मात्र बालबालिक नजिकैको तारे स्कुलमा पढ्छन् । चिटिक्क अनि टक्क परेर जाने–आउने गर्छन् । स्कुलमा महिनै पिच्छे पचासौं हजार फि तिर्छन् । त्यस्ता स्कुलमा, अभिभावक शिक्षा निरन्तर दिइन्छ । शिक्षकहरूलार्ई पनि तालिम निरन्तर दिइन्छ, पढ्न लगाइन्छ, निरन्तर सिकाइन्छ । विद्यार्थीलाई पनि नयाँ नयाँ प्रयोग गरिन्छ, खोजिन्छ अनि सिकाइन्छ ।

केही थान पुस्तकबाट घोकाउने मात्र भन्दा पनि जीवन–जगत् र समयानुकूल र व्यावहारिक शिक्षामा जोड लगाउन कोसिस गरिन्छ । त्यसरी हुर्काइएका र सिकाइएका जनशक्ति आफ्नो देशमा जतै खाडल देख्छन् । आफूलाई समाज अनि देशका लागि योग्य देख्दैनन् र रोज्छन् अमेरिका अनि अष्ट्रेलिया । सक्दो छिटो । उनीहरूको घर बन्छ, अझ राम्रो बन्छ तर समाज र देशलार्ई योगदान न्यून रहन्छ । उनीहरू उतै पढ्छन्, कमाउँछन्, घरजम गर्छन्, बस्छन् अनि रमाउँछन् । विरलै मात्र देश फर्कन्छन् ।
त्यसैले त हाल नेपालमा स्कुलहरू भन्नाले तारे हैनन् अरू बाँकी मात्र बुझिन्छन् अनि तिनको हालत दिनानुदिन कमजोर बन्दैछ । न न्यूनतम भौतिक संरचना, न भोक भएका शिक्षक, न तिनलार्ई कुनै तालिम, न कुनै नवीन सोच र प्रयोग, तब विस्तारै सबै कमजोर र असफल बन्दैछन् । जुन विद्यालय, विद्यालय जस्ता छन्, तिनीहरू यो देशका लागि छैनन् । त्यहाँबाट निस्केका जनशक्ति अरू कसैको लागि मात्र योग्य छन् । जुन विद्यालयहरू र विद्यार्थी यो देशका लागि छन्, त्यहाँको गुणस्तर कतै काम नलाग्ने छ । तब, नयाँ पुस्ता पनि के पो गरुन् ? अलमलमा हुन्छन् र अन्तिम विकल्प कतै न कतैको हली बन्नुलार्ई नै लिन्छन् । आफ्नो देश र आफ्नाको भर नदेखेपछि अर्काको देश र शहरको रहरले हैन, बाध्यता बोकेर घरबाट पर लाग्छन्, भाग्छन् ।

४. प्रधानाध्यापक र शिक्षकहरूको निरन्तर सिकाइ नहुनु
घरमा बा–आमाले सकेसम्म नमूना स्वरूप पढेर बालबालिकालार्ई देखाउने हो, बानीको विकास गराउनको लागि । तर स्कुलमा त सबै शिक्षकहरूले निरन्तर साँच्चैको अध्ययन गर्नैपर्छ । निभेका वा बल्न नसकिरहेका मैनबत्तीहरू बाल्नको लागि, शिक्षकहरूले आफू बल्नैपर्छ । निभेको वा नबलेको शिक्षकले, अर्को बत्ती कसरी सल्काउन सक्छ ? दश वर्ष अगाडि धार लगाएको हतियारले आज पनि निरन्तर कसरी रूख काटिरहन सक्छ ? बीचमा निरन्तर धार नलगाइकन ? भएको यस्तै छ ।
धेरै स्कुलहरूका प्रधानाध्यापक र सञ्चालकहरू त झन् सिकाइ के हो ? शिक्षा के हो ? यसमा भएका पुराना र नयाँ प्रयोगहरू के छन् ? यसको महत्व कति छ ? बालमनोविज्ञान र विकास के हो ? उमेर, समय, समाज, देश अनुसार सिकाइ कसरी हुुन्छ ? आदि कुराहरूबारे फिटिक्कै चिन्तित र परिचित नभएका व्यावसायिक मानिसहरू मात्र पनि छन् । उनीहरूले विद्यालय र शिक्षाको भित्री मर्म कसरी बुझ्लान् ? अनि कसरी नयाँ उपाय र हरेक चुरो समस्याहरूको समाधान खोज्लान् ?
आजको शिक्षा निकै परिवर्तित भइसकेको छ । अब घोकाउने र कोच्याउने हैन । भोक जगाउने, भावना जागृत गर्ने, आत्मबल बढाउने, साहस भर्ने, दया माया र सहकार्यको भावना भर्ने र आफैं अनुभव गर्न दिनेको समय आयो । थोरै ज्ञान र धेरै काम सिकाउने समय आयो । थोरै सिक्ने तर सिकेको कुरालाई जोड्न सक्ने बनाउनु नै आजको आवश्यकता हो । सही ज्ञान वा अनुभवको ज्ञान त्यसैलाई भनिन्छ । तर यी सबै कुराहरूको चिन्तन र प्रयोग खै ? हामी निकै पछि छौं र प्रविधि र समय धेरै अगाडि गइसकेको छ । हामी अपडेटेड हुन नसकेपछि आउटडेटेड भइसकेका छौं ।
धेरैभन्दा धेरै सूचनाहरू संकलन गर्नु मात्र जान्ने हुनु हो भन्ने भ्रम हट्दै गएको छ । थोरै संकलित सूचनाहरूलार्ई जोडेर कुनै नयाँ सिर्जनात्मक र तुरुन्तै प्रयोगमा आउन सक्ने र बिक्री गर्न मिल्ने एप्समा परिणत गर्न सक्ने विद्यार्थी चाहिन्छ अब । अब भोगी मात्र हैन र जोगी मात्र हैन । दुवैको योग गराउन सक्ने योगीको उत्पादन गर्न सक्ने शिक्षक र विद्यालय चाहिन्छ । त्यो सर्वाङ्गीण विकास गराउने शिक्षक र प्रधानाध्यापक अनि विद्यालय संस्थापक कस्तो हुनुपर्ला ? प्रतिप्रश्न फेरि तेर्सिन्छ । के उसले आफूलार्ई निरन्तर धार लगाइरहनुपर्दैन ? गरेको खोइ ?

एक नर्सरी कक्षामा पढ्ने बालबालिकाले वर्षभरिमा कम्तीमा पाँच पुस्तकहरू पढेर सक्छन् तर तिनै बालबालिका पढाउने शिक्षकले वर्षभरिमा कुनै एक गतिलो पुस्तक पनि नपढेपछि हाल के होला ? मोबाइलमै समय गयो, सिर्जनशीलता टाढाको भयो भने जस्तो अवस्था छ । तीन वर्षका देखि दश वर्षका बालबालिका पढाउन झन् निकै पोख्त शिक्षकको आवश्यकता पर्छ तर त्यो जग बसाइदिने शिक्षक नै झोडझाडवाला परेपछि ती सन्ततिको हाल के होला ? तिनको भविष्यको चाल के होला ? आज, राम्रा र सक्षम मान्छे कोही पनि शिक्षक बन्न चाहन्नन् । कामचलाउ र भुत्ते मानिसहरू शिक्षकको रूपमा विद्यालय जस्तो पवित्र ठाउँमा छिरेर केही गरे जस्तो गर्न थाले के होला ? भएको यस्तै छ । तब, स्कूल कमजोर नबनेर को बन्ला ?
एक आमाले पनि एक सन्तानलार्ई नौ महिना पेटमा हुर्काउँछिन् । जन्माएर तीन वर्षसम्म चाकर गर्छिन् । बच्चाले भाषा सिक्छ । आदत सिक्छ । सोचले बीजारोपण गर्छ । भावनाको जरो पनि गाडिन्छ । आमाको बोली उसको बोली बन्छ, आमाको सोच र भावना उसकै भावना र सोच हुन्छ । बा–आमा र घरको दृश्य देखेर, उसको समग्र व्यक्तित्वको आकार बन्न थाल्छ । त्यो बालक स्कुल गएर कक्षा दश पुग्ने वेलासम्म पनि ती दुवै बाबु–आमाले दिनको आधा घन्टा पनि आफ्नो सिकाइमा लगाउँदैनन् र नमूना देखाउँदैनन् ।

तब, त्यो बच्चाले के देखेर सिकोस् ? फुर्सद भयो कि शिक्षकको अनि बा–आमाको हातमा कि मोबाइल छ कि टिभीको रिमोट । बच्चाले के सिकोस् ? कि उसले मात्र सिक्ने हो ? उसले मात्र पढ्ने हो ? उसले मात्र गृहकार्यको भारी घरमा पनि ल्याएर झोक्रने हो ? शिक्षकको गृहकार्य के ? बा–आमाको गृहकार्य हुन्न र ? प्रधानाध्यापकले पनि केही सिक्नु र सिकिरहनुपर्र्दैन र ? उनीहरूको गृहकार्य चैं के त ?
यस्तै चिजहरूको असमानता र बेमेल वातावरण देखेर अहिलेका बालबालिका पढाइमा तिक्तता भेट्दैछन् र त्यसको कर्मकाण्डबाट झन् भन्दा झन् टाढा भाग्न खोज्दैछन् । अन्ततः सबै कमजोर अनि सबै गरिब । विद्यार्थी, बा–आमा, शिक्षक, स्कुल, समाज अनि देश ।

५. चालीस मिनेटको पिरियड र सीमित समय
जुन समयदेखि यो हिमवत्खण्ड र भारतवर्ष भनिएको भूभागमा विदेशीहरूको आधिपत्य र आक्रमण सुरु भयो, त्यस समयदेखि शिक्षाको प्रकार अरूको निर्देशनमा गयो । मुगल शासकहरूले नालन्दा र तक्षशिलाको तागत जलाए, नाश गरे र मासे । गुरुकुल र त्यसको पद्धतिमा प्रहार गरे । टाठाबाठाहरूले त्यसमा फेरि थप नियम लादे र महिला र केही मानिसहरूलाई वञ्चित गरे ।
आफ्नो स्वार्थ र शक्तिको लागि धेरैलाई कमजोर बनाएर आफू टिकिरहन अनेक विभेदी नियम लादे । शक्तिले सत्यको शास्त्र बनाउँदै गयो । लेखाउँदै गयो । गलत इतिहास लेखिन थाल्यो । विभेदी र त्रुटिपूर्ण सत्यहरू स्थापित हुनथाले । अनेक कर्मकाण्डहरूको बहानामा अरूलाई कमजोर बनाउँदै तिनैमाथि शासन गर्न थालियो । तिनै कमजोरीहरू केलाउँदै वैदेशिक हस्तक्षेप बढ्न थाल्यो । जब, भारतमा विलियम एडम्स र टीबी म्याकुले आए, तब समग्र गुरुकुल शिक्षा कमजोर बन्दै गयो । बेकामको बन्दै गयो । अन्त्यमा गैरकानुनी बनाएर बन्द गराइन थालियो ।
गुरुकुलहरूको राम्रो पक्षहरूलाई समयानुकूल परिमार्जित गर्दै लैजान जरूरी थियो । नराम्रा कर्मकाण्ड र विभेदहरू हटाउनुपर्ने थियो । गलत, शक्ति र सत्ताका लागि लादिएका ऐन कानुन विस्थापित गर्नुथियो । तर तिनमा न सुधार गरियो, न युगौंदेखि प्रयोग गर्दै प्रमाणित तथ्यहरूको, सीप र राम्रा गुणहरूको संरक्षण गर्न सकियो । धेरै राम्रा कुराहरू मासिएर गए । एक पुस्तामा सीमित भए ।

election adv.

धेरै कुराहरू लिखित रूपमा पनि आइसकेका थिएनन् । मौखिक रूपमा पुस्तान्तरण हुँदै आएका कुरामा, एक ठूलो पूर्णविराम लाग्यो । नयाँ पुस्ता अधकल्चे बने । न कुनै कुरा पूरै थाहा छ, न त्यसको कुनै कारण थाहा छ । अनि सुरु भयो, बिरालो बाँधेर श्राद्ध गर्ने परिपाटी । आज आएर, अलि अग्लो कदको मानिसले जे भन्यो, त्वम शरणम् गर्ने दिन आए । आजको शिक्षा पद्धति, अरू कसैले लादेको चिज हो । हाम्रो मौलिक र राम्रो चिज हैन । न अरूको परिपाटी हाम्रो आवश्यकता र वातावरण अनुकूल छ । नक्कल गरेर हामी कतै न कतैका बन्दै गयौं । नतिजा, अहिले घाम जस्तै छर्लङ्ग छ ।
आजको पश्चिमा सामूहिक र आधुनिक शिक्षा पद्धतिको जग औद्योगिक युगको सुरुवात भएपछि भएको हो । त्यसभन्दा अघि पनि मानिस अध्ययन गर्थे तर थोरैले मात्र । कि त्यसको महत्व बुझेका राजारजौटाका सन्तानहरू थिए, जसलाई थप ज्ञान, राज्य सञ्चालन गर्न आवश्यक पर्थ्यो, कि ती सन्त र ज्ञानी मानिसहरू जसले स्वाध्यायनको महत्व बुझेका हुन्थे ।

जब उद्योगहरू सुरु भए, त्यसमा काम गर्ने मानिसहरूमा केही सीप र खुबीको आवश्यकता पर्न थाल्यो, तब सामूहिक रूपमा तालिम केन्द्र सुरु भए । तिनै तालिम केन्द, स्कुलका रूपमा रूपान्तरित भए । विभिन्न प्रयोग र परिमार्जन हुँदै आजको रूपसम्ममा आएका हुन् । यो पश्चिमा पद्धतिको सुरुवातलाई पु्रसियन मोडल अनि रकफेलर मोडल भनिन्छ । रकफेलर भन्थे कि हामीलाई कुनै नयाँ कुराको चिन्तन गर्ने दार्शनिक चाहिने हैन, हामीलाई अह्राएको काम खुरुखुरु गर्ने कामदार मात्र चाहिएको हो । यी स्कुलहरूको उत्पादन त्यसैको लागि हो । यी विद्यार्थी समाजका लागि र देशका लागि कम तर कारखानाका लागि बढी हुन् । त्यसमा थप शिक्षाको कारखाने महत्व एन्ड्रु कार्नेगीले बुझे र अझ व्यापक सुरु गरे ।
फ्रेडरिक टि. गेट्सले साधारण शिक्षाको रूपरेखा कोरे । त्यो नाम नै काफी थियो । साधारण शिक्षा । साक्षर बनाउने शिक्षा । आजको हाम्रो मूल मन्त्र त्यै छ । यसको मूल नारा छ स्वतन्त्र इच्छालाई मार, काममा हात अघि सार । त्यो एक प्रकारको प्रमाणित दासता उत्पादन गर्ने अर्को कारखाना थियो ।
आज हामी त्यसैको अलिकति परिमार्जित रूप अक्षरशः पालना गरेर झन् भन्दा झन् कमजोर बन्दैछौं । फेल हुँदैछौं । अझ, आजको सञ्चारको र प्रविधिको युगमा । हामी झन् मानिसबाट अझ कमजोर द्रव्य संकलन गर्ने मेसिनमा रूपान्तरण हुँदैछौं ।

के यो चालीस मिनेटको समयमा हामी गणित विज्ञ बनेर निस्कन सक्छौं ? दश वर्षसम्म, गणित पढे जस्तो मात्र गरेर हामी के सिक्दैछौं ? के बन्दैछौं ? मेसिन घोकाइ र अलमल बढी, अनि उपयोगी ज्ञान कम । पहिलेको गुरुकुल पद्धतिमा गणितको अध्ययन कम्तीमा ६ महिनादेखि केही वर्षसम्म निरन्तर हुन्थ्यो । त्यसमा एक स्तरसम्म पु¥याएर मात्र छोडिन्थ्यो । त्यसपछि, अर्को विद्यामा पारंगत बनाइन्थ्यो । कसैले गणितमा नै बढी रुचि देखायो भने उसले त्यसमा थप ध्यान र अभ्यास गर्ने गर्थ्यो ।

यसरी ब्रतबन्ध गरेर गुरुकुल पसेको आठ वर्षका बालबालिका बीस तथा पच्चीस वर्ष ब्रह्मचर्य पालना गर्दै ज्ञानआर्जनमा लगाउँथे । आफ्नो रुचि अनुसारको विद्यामा थप विशेषज्ञता हासिल गर्थे भने १६ देखि ८४ प्रकारका विद्याहरूमा अभ्यास गर्थे । तिनीहरूमध्येमा घोडचढी, धनुर्विद्या, रसायन, खगोल, ज्योतिषदेखि तन्त्रमन्त्र र अनेक धातुका र अरू कालिगडी र साधनाहरू पनि समावेश हुन्थे । थोरै खोज र अध्ययन गर्दा त्यो समयमा के थियो, कस्तो थियो थाहा पाउन सकिन्छ ।

तर आज चालीस मिनेटमा फेरिने विषयगत ज्ञानको पित्को चाटेर के बन्ने होला ? एउटाको स्वाद थाहा नपाउँदै अर्को चिज चपाउनुपर्छ । यो कतै हैन, जतै गलत छ । थप, त्यसमा पनि भोक मार्ने अरू चिज छन्– होमवर्क र परीक्षा । कक्षा सात वा आठसम्म, होमवर्क र परीक्षा आजको रूपमा जे छ त्यसले फाइदा कम र हानि बढी गरेको छ । अक्षरा स्कुलकी प्राचार्य, अञ्जु भट्टराई लेख्छिन् कि यो होमवर्क र परीक्षाको कर्मकाण्डले बालबालिकालाई पढाइ र सिकाइबाट वितृष्णा पैदा गरिरहेको छ । यसको प्रकार र तौरतरिकामा हामीले तुरुन्त परिवर्तन गर्न सकेनौं भने, झन् भन्दा झन् बालबालिका सिकाइबाट टाढा हुँदै जानेछन् । यसमा धेरै सत्यता छ ।

यसरी आफ्नो माटो, हावापानी, समाज र संस्कार सुहाउँदो शिक्षा चटक्कै भुलेर हु–बहु अरूको नक्कल गरेर हामी पुग्ने आजको अवस्था नै हो । डिग्री हातमा, तर विना कुनै सीप र गुणको । अनि बेरोजगार । अनि कसैको हली । राज्यसत्तामा पुगेकाहरू पनि कसैको हली । कर्मचारीहरू पनि उनैको हली । जनता, झन् सबैको हली । कसैको मेसिनको कर्क र पार्टपुर्जा जस्तै । निर्देशन र चाबी अनुसार हल्लिरहने । कमजोर । असफल । भन्न सकिन्छ– ‘६ महिना गणितमा ध्यान, अनि न मिल्छ अनुभवको ज्ञान ।’

६. विविध अवतारलाई एउटै आहार
विविधता यो पृथ्वीको सार हो । पशुमा, वनस्पतिमा, चरामा, माटोमा वा ढुङ्गामा वा मानिसहरूमा । सबैमा । सबैको आ–आफ्नो महत्व छ । रुचि छ । बानी छ । स्वभाव छ । भोजन छ । बाँच्ने तरिका छ । सबै आ–आफ्नै प्राकृतिक गुणहरू समातेर बाँचेका छन् । तर मानिस अलि बढी बाठो भएर बढी कृत्रिम बन्दै गयो ।
यसको अतिपन, उसैको विनाश हो । यो पक्का छ । यो कारिन्दा शिक्षा वा कारखाने शिक्षा, त्यो विविधता मास्ने र सबैलाई साझा रूख चढाउने र उल्लु बनाउने खेल भन्दा अरू केही होइन । हामी पनि त्यसैको शिकार भयौं र अरूलाई पनि हामी त्यही दोहो¥याइरहेका छौं । यहाँ के भइरहेको छ भने ‘भिन्न रूप, भिन्न रुचि, तर एउटै आहार कोची कोची !’

एउटै कक्षामा तीस अनि चालीस बच्चाहरू राखेर भेडाको हुल दौडाए जस्तो कुदाएपछि कसरी विविधता देखिन्छ ? बिचरा त्यो शिक्षकले चालीस मिनेटमा के के पो गरेर भ्याउनु होला ? हरेक बच्चा चिन्न थाल्ने कि कोर्स दौडाउन थाल्ने ? गृहकार्य नदिउँ त अभिभावकको ख्याउँ ख्याउँ ? दिएर कहिले त्यसलाई नियालेर परीक्षण गर्ने ? सरकार र पाठ्यक्रमको निर्देशन पनि मान्नै प¥यो ? प्रशासनको आदेश पालना गर्नै प¥यो । यहाँ केही प्रष्ट छैन । बोल्न कोही सकेको छैन । तर समस्या अवश्य छ । यसरी हुँदै हुन्न ।हरेक बालबालिका अनेक प्रकारका बीउ हुन् । एउटै ड्याङमा अनेक बीउको ब्याड बनाएपछि के होला ? एकै आमाका दुरुस्तै स्वरूप भएका जुम्ल्याहा सन्तानका त फरक–फरक रुचि र स्वभाव हुन्छ ।
सबैलाई एउटै आहार, एउटै खोर । एउटै ब्याड, एकै ठाउँमा गज्याङगुजुङ रोपेपछि के होला ? त्यो फरकपन छुट्याउने कसले ? फुर्सद कसलाई ? त्यो छुट्याउने ज्ञान आवश्यक पर्छ कि पर्दैन ? बाहिरको संसार नियाल्न सक्ने र आफैंभित्रको ब्रह्माण्ड चियाउन सक्ने सन्तति कसरी तयार पार्ने ? सोच्न आवश्यक छ । यही चुरो काम गर्न नसकेर राज्य असफल हुँदैछ, समाज, विद्यालय अनि हरेक घर ।

७. आत्मनिर्भर समय तर परनिर्भर शिक्षापद्धति
आजको समय कसैमा निर्भर हुने हैन, आफैंमा अनि आफ्नै मन, मुटु अनि पाखुराको बलमा केन्द्रित हुने समय आयो । समूह बनाउने र समूहभित्रको सही समन्वय गरेर ठूलो काम फत्ते गर्ने समय आयो । आफ्नो तस्बिर आफैं खिच्ने समय आयो । अरू कसैमा निर्भर हुनै पर्दैन । न सीप सिक्नमा, न कुनै गहिरो ज्ञान लिनमा ।
एलन मस्क आफैं अध्ययन गरेर रकेट वैज्ञानिक बन्न सक्छन् भने हाम्रा बालबालिका पनि आफूले चाहेको विज्ञ आफैं बन्न सक्छन् । पुराना जमानाका अनि आफ्नो हतियारमा वर्षौंसम्म पनि धार लगाउन नभ्याउने र नलाउने शिक्षकले आजको यो सेल्फी पुस्तालाई के अनि कसरी सिकाउन सकोस् ? त्यसैले त शिक्षक र विद्यालय पुराना र रुचि नभएका मानिस र स्थानका रूपमा विकसित हुँदैछन् । कमजोर अनि झन् कमजोर र अन्त्यमा असफल बन्दै जाँदैछन् । अब विद्यार्थीमा थप भार थपिएको छ । आफ्नो अध्ययन आफैं गर्ने । आफैंबाट आत्मअनुशासित बन्ने । सम्पूर्ण चिजहरूको व्यवस्थापन आफैं गर्ने । आफ्नो रुचिको काम, साथी र अवसरहरू आफैं खोज्ने । आफ्नो सोच र भावनाको ब्याट्रीको चार्ज सकिए आफैं रिचार्ज गर्ने । आफ्नो उत्प्रेरक आफैं बन्ने ।
सबैको भूमिका आफैंमा सार्ने र सबैको कर्म आफैंमा भर्ने । नत्र कुनै आशा, सहयोग र समाधान बाहिर कतैबाट नआउने भयो । सबै सहयोगहरू नै आफैं कमजोर र मेसिन बन्न थाले । बा–आमा कमजोर । घर कमजोर । शिक्षक कमजोर । विद्यालय कमजोर । समाज कमजोर अनि देश र समग्र वातावरण कमजोर । समग्र सिक्ने र सिकाउने पद्धति नै कमजोर ।

८. घट्दो पढाइप्रतिको प्रेम
आजका मानिसलाई छिटो नतिजा पाउने र रमाउने होडले जकडेको छ । मानिसमा पढाइको धैर्य नै छैन । पढाइ त एक प्रकारले ध्यान हो । तीन घन्टा कुनै पुस्तक समातेर त्यसमा झोक्रन सक्नु नै सबैभन्दा ठूलो ध्यानको एक विधि हो । तर आजको प्रविधिको युगले हरेक मानिसको सोच र ध्यानलाई खण्डित गरेको छ । टुक्रे बनाएको छ । तीन सेकेन्डमा नयाँ स्वाद खोज्ने बनाएको छ । अधैर्य पारेको छ । यसलाई एक प्रकारको मानसिक समस्या पनि ठानिन्छ । त्यसलाई अंग्रेजीमा एटेन्सन डेफिसिट हाइपरएक्टिभिटी डिसअर्डर – एडीएचडी– भनिन्छ ।
हरेक घर, विद्यालय, शिक्षक, बालबालिका सबै यसको धेरै थोरै शिकार बनिसकेका छन् । समस्याग्रस्त नहुञ्जेलसम्म बाहिर देखा नपरेको मात्र हो । भित्रभित्रै यसले सबैलाई खाइसकेको छ । कोभिडपछिको समयमा झन् यसको असर व्यापक देखिन थालेको हो । त्यो समयमा मानिस फुर्सदमा भए र त्यसैको नशामा थाहै नपाई झरे, परे ।
अनलाइन कक्षाको असर भर्खर प्रकाशित कक्षा १२ को नतिजामा पनि छर्लङ्ग भएको छ । ५० प्रतिशत उच्च शिक्षा पढ्न नपाउने भएर निस्केका छन् । धेरैले त एक अनुच्छेद नेपाली र अंग्रेजी खरर्र पढ्न पनि सक्दैनन् । यो हालत कसरी भयो ? चिन्तन गर्न र समाधान खोज्न तुरुन्त आवश्यक छ !
दूध खाए कहिले कहिले, रक्सी खाए अहिले भन्ने उखान यता पनि परिमार्जित भएर आइसकेको छ– किताब पढे कहिले कहिले, काम गरे अहिले । छिटो छिटो कमाउनुछ अनि रमाउनुछ । तर अध्ययनमा त त्यस्तो हुन्न । सुखार्थीलाई विद्या कहाँ, विद्यार्थीलार्ई सुख कहाँ ? पुरानो गुरुकुलको प्रसिद्ध भनाइ आज लागु कतै हुन्न । सुख खोज्ने शिक्षक अनि झन् सुख खोज्ने विद्यार्थी भएपछि, स्कुलहरू पनि झन् भन्दा झन् सुखमुखी बन्दै गएका छन् । सुख सँगै खर्च पनि बढेको छ । त्यो खर्च जुटाउन बाउआमा अठार घन्टा जोतिएका छन् अनि घोटिएका छन् । तर नतिजा भने न्यून छ ।
अन्त्यमा, खाने विद्यार्थीले हुन्छ । भोक उसैमा जाग्नुपर्छ । सुखले भोक जगाउँदैन । कोच्याएर भोक मर्दैन । काँधमा बोकेको बाघले मृग पनि मार्दैन । हुँदै, त्यस्तै छ । अनि अन्त्यमा, विद्यार्थी असफल त बा–आमा असफल । अनि शिक्षक असफल र विद्यालय पनि असफल । हामी यतै जाँदैछौं । यसमा आमूल सुधार नगर्ने हो भने अझै तल झर्दैछौं ।

९. बाहिरबाट भर्ने हैन, भित्रैबाट गर्ने भोकको कमी
बाहिरबाट जति भरे पनि केही हुन्न । जगले हैन, बाल्टीले खन्याए पनि केही हुन्न । टोलका शिक्षकको ठाउँमा विदेशका प्रोफेसर ल्याएर भर्न लगाए पनि केही हुन्न । वास्तवमा अनुभवको ज्ञान मात्र सही ज्ञान हो भनिन्छ । अनुभव गर्न काम गर्नुपर्छ । कामको भोक, भित्रबाट नै टुसाउनुपर्छ । भित्रैबाट आफैं नै, त्यसको मूल फुट्नुपर्छ । त्यो मूल फुट्ने बनाउन घर, बा–आमा, शिक्षक र विद्यालयले हरेक बच्चाको जरुवा मूल के हो ? चिन्न सक्नुपर्छ । चिनाउन सक्नुपर्छ । त्यसको लागि सही वातावरण बनाइदिन कोसिस गर्नैपर्छ ।
तर त्यसरी हरेक बच्चाको भित्रको भाव चिन्न खोज्ने शिक्षक र विद्यालय आज भेटिन्छन् त ? यो सुखार्थी समयमा त्यो सबै झन्झट व्यहोर्ने कसैलाई फुर्सद छैन । भीडमा सबै कुद्दछन् अनि जो अगाडि अगाडि जान्छ, उसैको विज्ञापन हुन्छ, काँधमा बोकिन्छ । बाँकी बीचमा कुद्ने र पछाडि पर्ने, पछाडि नै परिरहन्छन् । तिनको उद्धार गर्ने फुर्सद कसैमा हुन्न !

अनि तीस जनामा पाँच जना सफल, बाँकी असफल वा कामचलाउ । यसले अन्ततः स्कुल कमजोर र असफल बनाउँदै लगेको छ । बा–आमाको दुःख र मर्म बुझ्ने भावना, शिक्षक र विद्यालयको कर्म बुझ्ने भावना कुनै विद्यार्थीमा छैन आज । भावनात्मक रूपमा सबैलाई मारिसकेको छ यो समय र यसको प्रविधिले । सबै खहरे खोलामा मरेको माछा झैं भइसकेका छन् । तर ज्ञान र सफलता त भावना र त्यसको तीव्रता हो । वेग हो । त्यो भावना खै ? त्यसको वेग खै ? त्यसको तीव्रता खै ?

१०. भौतिक र आध्यात्मिकतामा असन्तुलन
मानिस बढी विज्ञान र भौतिक चिजहरूमा आकर्षित भयो र हरेक कुरामा तर्क खोज्न थाल्यो । तर दया, माया, प्रेम, सद्भाव, विश्वास साथै समग्र आध्यात्मिकता बिर्संदै गयो । भुल्दै गयो । यो ब्रह्माण्डमा जतै ऊर्जा छ तर अदृश्य रूपमा मात्र । प्रकाश ऊर्जा हो । वायु ऊर्जा हो । विचार ऊर्जा हो । दया, प्रेम र विश्वास पनि ऊर्जा हुन् ।
तत्व र ऊर्जामा खासै भिन्नता नै छैन । तत्व भित्र ऊर्जा हुन्छ अनि ऊर्जा भित्र तत्व । वास्तवमा हरेक तत्व भनेको नै ऊर्जाको पुञ्ज हो । हामीले यो ऊर्जाको भाव कम बुझ्नाले सन्तुलन बिग्रँदै गएको छ ।
दृश्य र भौतिक चिजको मोहले सबैलार्ई बढी तान्यो । मानिस, अर्को एक मेसिन बन्यो । मानिस भित्र हुने आफ्नो गुणहरू विस्तारै गुमाउन थालेपछि, मानिस जिनिस जस्तै बन्न थाल्यो । जिनिसको न भावना हुन्छ, न दया र प्रेम । तर सिकाइ त जिनिस हैन । घोटेर पिलाउन पनि सकिन्न । यो त भावना हो, विश्वास हो । भौतिकशास्त्री मोहम्मद अब्दुल्ला अनुमान लगाउनुहुन्छ कि यो पूरै ब्रह्माण्डमा लगभग ८० प्रतिशत डार्क इजर्जी वा ऊर्जापुञ्ज छ र बाँकी २० प्रतिशत मात्र तत्व छ । हालसम्म पनि त्यो ऊर्जा के हो प्रष्ट नभएपछि वैज्ञानिकहरूले त्यसलार्ई डार्क इनर्जी भनिदिएका छन् । हामीलाई चलाउने ऊर्जा पनि त्यस्तै होला । अनुमान गर्नै कठिन । तर एउटा कुरा निश्चित छ कि यसको सन्तुलन विस्तारै बिग्रँदै गइरहेको छ । हामीले थोरै र कम महत्वको केही चिज पाउन, धेरै गुमाउँदैछौं । यसले समग्र सन्तुलन बिगार्दैछ । थोरै सचेत बन्ने वेला आएको छ, फेरि सन्तुलन मिलाउनका लागि । लेखक पालुङ्वा कचनकवल –७ झापा घर भई हाल विजयश्वरी स्कूल रुकुम पश्चिममा कार्यरत छन ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto