बालाराम शेर्पाली
बाल मैत्री किशोर किशोरी समुह भुमे गाउँ पालिका वडा नम्बर ३ क्याङसिको आयोजनामा बालविवाह न्यूनिकरण र बाल अधिकार सम्बन्धी जनचेतनामुलक सडक नाटक गरिएको छ । किशोर किशोरी समूहको प्रस्तुतीमा बाल विवाह न्यूनीकरण र बाल अधिकार सम्बन्धी जनचेतनामुलक सडक नाटक प्रदर्शन गरिएको हो । किशोरी समुहका अध्यक्ष बिपना रोका मगरका अनुसार बालविवाहको कारण बालक तथा बालिकाको शिक्षा, स्वास्थ्य र उनीहरूको जीवन तथा परिवारमा पर्न सक्ने असरको बारेमा विद्यालयका बालबालिकालाई जानकारी दिने उद्देश्यले यो सडक नाटक प्रदर्शनी गरिएको हो ।
सानै उमेरमा हुने प्रेम सम्बन्ध, त्यसमा परिवारको असहमति, प्रेम सम्बन्धले ति बालबालिकाको शिक्षमा परेको नकारात्मक असर र समग्रमा कलिलै उमेरमा आमा बन्दा बालिकाको स्वास्थ्यमा परेको दीर्घकालीन असर र त्यसको कारण बालिकाको मृत्यु भएको बारेमा नाटक प्रदर्शन गरिएको हो ।
वडा नम्बर ३ लाई बालबिबाह मुक्त वडा बनाउन पनि यस नाटकले सहयोग पुग्ने अपेक्षा आयोजकको रहेको छ ।
कार्यक्रममा वडा सदस्य अर्थलाल रोका, विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भान्देउ रोका, शहिद वासु स्मृति नमुना आधारभूत विद्यालयकी शिक्षिका मन्जु बुढा रोका र नेपाल जनजागरण मञ्च रुकुम पूर्व कर्मचारी नविन चौधरी, मोहोन कुमारी बुढा लगायत स्थानीयहरुको सहभागीता रहेको थियो ।