घनश्याम खड्का
रुकुम पश्चिम
रुकुम पश्चिमको मुसिकोट नगरपालिका १३ चौतारामा रहेको महेन्द्र माध्यामिक विद्यालयले विद्यालयमा अध्ययनरत विद्यार्थीबाट निर्माण भएका सूचना प्रविधि तथा विज्ञान संग सम्बन्धित सामग्रीको प्रदर्शनी गरेको छ । विद्यालयमा कक्षा ६ देखि कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुद्वारा बनाइएका विभिन्न बहुउपयोगी उपकरणहरुको प्रदर्शनी गरिएको हो ।
मंगलबार विद्यालय परिसरमा विद्यालयमा अध्ययनरत ५० जना विद्यार्थीले ७ दिन लगाएर तयार गरेको विज्ञान र प्रविधिसँग जोडिएका सामाग्रीहरु अवलोकनका लागि राखिएको थियो । विज्ञान पुस्तकमा अध्ययन गरेका सैद्धान्तिक सिकाईलाई व्यवहारमा उतारेर देखाउनका लागि एक दिने प्रयोगात्मक विज्ञान प्रदर्शनी आयोजना गरिएको महेन्द्र माध्यामिक विद्यालयका प्रधानाध्यापक झलक पुनले जानकारी दिए । उनका अनुसार आगामी बिद्यार्थीले निर्माण गरेका सामग्रीहरु पनि बजारमा विक्रिवितरणका लागि पनि पठाउने योजना गरेको छ ।
विज्ञान प्रदर्शनीमा सहभागी विद्यार्थीले विद्युतीय सेन्सर डस्टविन, अटोमेटिक ट्याप, मकै छोडाउने मेसिन, घरमा कोहि नभएको बेला संकेत दिने साइरन, ट्याङकीमा पानी भरिन लागेको संकेत दिने मेसिन, अटोमेटिक स्टेट लाईट, पावर ब्याक, रिमोड कन्ट्रोल गाडी र मोबाईलबाट अन्य विजुली बत्ति, पखांलाई बाल्न वा निभाउन सकिने लगायतका सामग्री तयार पारेका छन ।
