नेपाली काँगेस रुकुम पश्चिमले गाउँगाउँमा सेवादल गठन गर्ने भएको छ । पार्टीले मंगलबार सदरमुकाम खलंगामा पत्रकार सम्मेलनको आयोजना गरि यस्तो जानकारी दिएको हो । पार्टीको आन्तरिक बिशेष अभियान कार्यक्रमको सन्दर्भमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जिल्ला पार्टी सभापति प्रेमप्रकाश ओलीले काग्रेसले देशभरझै रुकुम पश्चिममा पनि गाउँगाउँमा सेवा दल गठन गरिने बताए ।
उनका अनुसार गाउँसमाजमा हुने विभिन्न घटना, बाढीपहिरो तथा अन्य नागरिकलाई सहायता गर्ने प्रयोजनार्थ सेवा दल गठन हुनेछन । त्यस्तै पत्रकार सम्मेलन मार्फत नेपाली काँग्रेस रुकुम पश्चिमले जागरणका लागि गाउँ गाउँमा जाने अभियान तयार पारिएको बताएको छ । केन्द्रीय कार्यालयले राष्ट्रव्यापी रुपमा सञ्चालन गर्न लागेको उक्त अभियानका लागि रुकुम पश्चिमा पार्टीका केन्द्रीय सदस्य कर्ण बहादुर बुढालाई रुकुम पश्चिममा पठाएको छ ।
यस अभियानले पार्टीको आन्तरिक समस्या हल हुनुका साथै थप व्यवस्थित र बलियो नेपाली काँग्रेस हुने दावी छ । कार्यक्रममा पूर्व राज्यमन्त्री गोपाल जि जंग शाहले अभियान मार्फत गाउँमा सत्ता गठबन्धनको अवस्था र कार्यकर्ताको मनोभावना बुझ्ने काम पनि हुने बताए ।