बालाराम शेर्पाली
रुकुम पूर्व
रुकुम पुर्वको भूमे गाउँपालिकाको पशु सेवा केन्द्रमा कार्यरत प्राविधिकहरु धेरै जसो किसानकै घरदैलोमा खट्ने गरेका छन । उनीहरु किसानहरुले पालेका पशुपन्छीहरुको उपचार गर्न घर आँगनमै गएर उपचार गर्न ब्यस्त देखिन्छन् । कृषि क्षेत्रको अभिन्न अंगको रुपमा रहेको पशुपालन व्यवसायमा उत्पन्न हुने निराकरण गरि व्यवसायलाई व्यवसायिक बनाउन प्राविधिकहरु घर आँगनमै गएर सेवा दिने गरेका हुन ।
विरामी पशुहरुको उपचारका लागि मात्र नभई पशुपालनको महत्व बुझाउनका लागि समेत गाउँ गाउँमा जाने गरेको भूमे गाउँपालिका पशु सेवा केन्द्रका प्रमुख नारायण ओलीले बताए । गाउँका किसानलाई जम्मा गरेर कृषि तथा पशुपालन व्यवसाय गर्न प्रेरित र किसानलाई जागरुक गर्ने काम गरेको उनको भनाई छ ।
भूमे गाउँपालिकाले बर्ष भरी १५ हजार बढि पशुपन्छीहरुको उपचार गरिसकेको छ । जसमा ८५ प्रतिशत पशुपन्छीको उपचार घरमै पुगेर गरिएको ओलीको भनाई रहेको छ । पशु सेवाका प्राविधिकहरु प्रत्येक वडाको गाउँ गाउँमा जाने र किसानको सेवा गर्ने गरेका छन । यसरी गाउँघरमै पुगेर सेवा गर्दा स्थानीय कृषकहरु खुसि भएका छन ।
हिजोआज बर्षातका कारण त्यस क्षेत्रमा सडक समेत अवरुद्ध भएका कारण प्राविधिकहरु लामो पैदल गरेर पनि किसानको घरमा जाने गरेको अर्का भूमे गाउँपालिका पशु प्राविधिक सहायक भुपेन्द्र शाहिले सुनाउछन ।