नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति जाजरकोटले रुकुम पश्चिमको चौरजहारी रहेको ब्लड बैंकलाई ६ पोका रक्तदान गरेको छ । संगठनले रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्वर १ स्याउलीवजार नाखिरामा अवस्थित नेपाल रेडक्रस सोसाईटी चौरजहारीद्वारा सञ्चालित ब्लड बैंकमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

संगठनले शहिद मनोज झपेन्द्र सुरेन्द्र स्मृति दिवसको सन्दर्भमा रक्तदान कार्यक्रम आयोजना गरेको वताएको छ । नेपाल निजामती कर्मचारी संगठनमा आवद्ध ६ जना कर्मचारीहरुले ६ पोका रक्तदान गरेको रेडक्रस उपशाखा चौरजहारीका सभापति तेज वहादुर वटालाले जानकारी दिए । चौरजहारीमा साउन १ गतेबाट सुरु भएको ब्लड बैंकले जाजरकोट, रुकुम पश्चिम, सल्यान, रुकुम पूर्व, डोल्पा लगायतका जिल्लाका बिरामीहरुको लागि सेवा दिने भएकोले जाजरकोटबाट चौरजहारीमा आएर रक्तदान गरिएको संगठनले जनाएको छ ।

विभिन्न समयमा कर्मचारी आन्दोलनमा शहादत प्राप्त गरेका खोटाङका मनोज जोशी, कास्कीका झपेन्द्र कार्की र मुगु जिल्लाका सुरेन्द्र बि.क.को सम्झनामा हरेक वर्षको साउन १५ गते नेपाल निजामती कर्मचारी संगठनले शहिद स्मृति दिवस मनाउँदै आएको छ । रक्तदान गर्ने रक्तदाताहरुलाई ब्लड बैंकको तर्फबाट नेपाल रेडक्रस सोसाईटी चौरजहारीले सम्मान समेत गरेको रेडक्रस सोसाइटी चौरजहारीका कोषाध्यक्ष गोपाल लामिछानेले जानकारी दिए । ६ जना उनीहरुले एवी पोजेटिभ समुहको ३ पोका, ए पोजेटीभ समुहको रगत २ पोका र १ पोका बी पोजेटीभ समुहको रगतदान गरेको उपशाखा चौरजहारीका सचिव वसन्त भण्डारीले वताए ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto