नेपाल पत्रकार महासंघ रुकुम पश्चिम शाखाको बार्षिक साधारणसभा आगामी पुस २ गते सदरमुकाम खलंगामा गर्ने निर्णय गरेको छ । सोमबार खलंगामा बसेको नेपाल पत्रकार महासंघ रुकुम शाखाको सातौं पूर्ण वैठकले यस्तो निर्णय गरेको छ । पुस पहिलो साता सुर्खेतमा नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा गर्ने निर्णय भएसंगै देशभरका शाखाहरुले धमाधम बार्षिक साधारणसभाहरु गरिरहेका छन ।
जसअनुसार नेपाल पत्रकार महासंघ रुकुम शाखाले पनि सातौं बार्षिक साधारण सभा २०७९ पुस २ गते मुसिकोटमा भव्यताका साथ सम्पन्न गर्ने निर्णय गरेको नेपाल पत्रकार महासंघ रुकुम शाखाका अध्यक्ष लक्ष्मण केसीले जानकारी दिए । उनका अनुसार साधारणसभा सम्पन्न गर्न सदस्यता नविकरण तथा वितरण जस्ता कार्यहरुलाई पनि तिब्रता दिईएको छ । जस अनुसार निर्णय रुकुम शाखाबाट साधारण सदस्यता प्राप्त गर्नुभएका सदस्यहरुले सदस्यता नविकरण र नयाँ सदस्यता लिनको लागि २०७९ मंसिर २९ गतेभित्र आवश्यक कागजात सहित आवेदन दिन अनुरोध गर्ने निर्णय पनि गरिएको छ । जसका लागि शाखाका उपाध्यक्ष गोपाल रेग्मीको संयोजकत्वमा शाखाका सचिव हिरा परियार र सदस्य संगम देवकोटा सदस्य रहेको सदस्यता नविकरण तथा सिफारिस समिति गठन गरिएको छ । त्यस्तै शाखाको आर्थिक वर्ष २०७८÷०७९ को लेखापरिक्षण साधारणसभा अघि नै गर्न शाखाका कोषाध्यक्ष ज्ञानु शर्मा गौतमको संयोजकत्वमा एक समिति गठन गरियो ।
त्यस्तै साधारणसभाको अवसरमा विभिन्न व्यक्ति तथा निकायलाई सम्मान तथा पुरस्कार प्रदान गर्नको लागि शाखाका सह–सचिव नारायण ओलीको संयोजकत्वमा शाखाका सदस्यहरु परिचन्द्र खत्री, दिपेन्द्र महतारा र छिमा केसी रहेको सम्मान तथा पुरस्कार छनौट सिफारिस समिति गठन गरेको छ । साधारणसभामा आर्थिक तथा सांगठनिक प्रतिबेदन पेश हुनका साथै समसामयिक प्रस्ताव समेत पारित गर्नेछ । त्यस्तैगरी जिल्लाका संचारकर्मी र संचार माध्यामको क्षमता विकासका लागि विधागत रुपमा तालिम संचालन गर्ने र सो तालिम सञ्चालनमा सहयोगका लागि जिल्लाका स्थानीय तहहरुलाई अनुरोध गर्ने पनि निर्णय गरेको छ ।
बैठकले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा यस जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य जनार्दन शर्मा, प्रदेशसभा सदस्यद्वय महेन्द्र केसी र राजकुमार शर्मालाई हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना व्यक्त समेत गरेको छ । त्यस्तै गत कार्तिक १३ गतेका दिन यस शाखाको आयोजनामा भएको ‘निर्वाचन आचारसंहिता विषयक सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम’ को लागि सहयोग गर्ने युनिक एफ.एम. ९७.६ मेघाहर्ज र रेडियो आफ्नो एम.एम. ९०.४ मेघाहर्जलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ ।
