शेर बहादुर सेर्पाइली

प्राक्कथन,
यदि म भाग्यवादमा विस्वास गर्थेँ भने यो मामिलामा आफुलाई भाग्यमानी भन्थेँ; आजसम्म मेरो घरबाट कसैको लास उठेको छैन । मेरो कोही प्रियजनले मृत्युवरण गरेको छैन,मेरो आँखा अगाडी ऊ मान्छेबाट मुर्दा भएको छैन । म जन्मेदेखी मैले देख्दै आएका सबै आफन्तहरू कुशल छन् । खेप्नुजति पिडा मेरा बाआमाले खेपिसकेछन्, जानेहरू जति म जन्मिनु अघि गइसकेछन् । अति सम्भावित प्राणी, वृद्व र बालक ! घरको सबैभन्दा सानो बालक त मै थिएँ, हजुरबा र हजुरआमालाई त मेरा दाईहरूले पनि देखेनन् । बा र आमालाई त धिरमिर–धिरमिर सम्झना मात्रै छ रे । तसर्थ, संसारबाटै कोही प्रियजनले चटक्कै छोडी जानुको पिडाबोध मलाई भएको छैन,थिएन । त्यसपछीको संसार कस्तो हुन्छ ? मैले देखेको थिइनँ । भिडमा पनि आफुलाई एक्लै पाउने अवस्था सामना गरेको थिइनँ । सास किन र कसरी घाँटीमा आइ अड्किन्छ, चाल पाएको थिइनँ ।
यतिबेला यी सबै प्रयोगहरू ममा भइरहेका छन् । मलाई मेरो जीवनकै सबैभन्दा ठूलो मुस्किल परिरहेछ– उनको मृत्यु पत्याउँन । र उनि बेगरको संसार स्वीकार गर्न ।

प्रारम्भ,
ंत्यतिबेला हामीलाई एसएलसीको चटारो थियो । २०६९ सालको जाडो–ताका सबै निदाइसकेपछी सल्यानको कर्णाली गाउँमा रेडियोको ट्युनिङ बटारिरहँदा पहिलोपल्ट मैले उनलाई भेटेँ । र टक्क रोकिएँ । त्यतिबेला उनि भन्दै थिए–‘हाँसो थोरै आँसु धेरै..पिर छ आजपनि,पारी भोजराज वारी महावीर छ आजपनि ।’
मोटो,मिठो र कर्णप्रिय थियो उनको स्वर । नयाँलाई पनि बानी लागेजस्तै बाँधेर राख्नसक्ने जादुयी थियो उनको स्वर । बहकिने मनको फमर््याट खोजेस्तै थियो; पृथक । लाइभ कार्यक्रममा सहभागीहरूका मुक्तकका जवाफ मुक्तकमै दिने उनको क्षमतावान कदम प्रशंसनिय थियो । यसले जो–कोहीलाई पनि आकर्षित गथ्र्यो । र, मलाई पनि नगरिरहँन सकेन ।
सुन्दै जाँदा थाहा हुन्छ– पारीका भोजराज र वारीका महावीर विश्वकर्मा हुन्छन् । मेरो आफ्नै हकमा चैँ यहीँ कुराले पनि आत्मगौरवको र अपनत्वको फिल हुनु अस्वाभाविक होइन । हजारौँ बर्षदेखी हाम्रो समुदायलाई राज्यसत्ताले प्रताडित गर्दै पिँधमा पु¥याएको छ । जब झुक्किएर कोही अगाडी आइपुग्छ, तबको क्षण बडो नौलो लाग्छ । महावीर देशभरीका सयौँ रेडियोहरूले एकसाथ बजाउने कुनै चर्चित कार्यक्रमका प्रस्तोता थिए । करोडौँलाई एकसाथ सुनाउन सक्ने ठाउँमा पुगेका थिए ।
म किरोशावस्थामा थिएँ । माया र प्रेमका कुरामा रुचि हुनु स्वभाविक हुनेनै भयो । बहकिने मनको आगामी शृखलाको प्रतिक्षा हुन थाल्यो । पहिलोपल्ट उनले सुनाएको चरीको कथाले रुवाएको थियो । दोस्रो हप्ताको सोमबार साँझ बिबिसीपछि मेरो प्रतिक्षाकै समयमा उनी बहकिने मन लिएर आए । र कार्यक्रमको प्रारम्भमै भने–जसको बारेमा तपाईले यो एकहप्ता भरी कसै–न–कसैसँग कुरा गर्नुभएको,एउटा त्यस्तो रेडियो कार्यक्रम बहकिने मन लिएर आइसकेको छु म महावीर विस्वकर्मा ।
ओहो ! अरुले के गरे थाहा भएन, मैले त कुरा गरेकै हो । उनको कन्फिडेन्स्–लेभल साँच्चै अद्भुत लाग्यो ।
अर्को हप्ताको कार्यक्रमको प्रारम्भमा उनले भने, ‘यो एकहप्ता भरीमा साथीभाई,आफन्त वा अरुकोहीलाई सुन्न सुझाउनु भएको एउटा त्यस्तो रेडियो कार्यक्रम बहकिने मन लिएर आइसकेको छु म महावीर विश्वकर्मा ।’

ओहो ! उनको यो कुराले अचम्भित बनायो । अरुले के गरे थाहा भएन,मैले त सुझाएकै थिएँ । झनै अर्को हप्ता उनले भने–तपाईले आफ्नो मोबाईलमा रेकर्ड गरेर दोहो¥याइ–तेह्र¥याइ सुन्नु हुने एउटा त्यस्तो रेडियो कार्यक्रम बहकिने मन लिएर आइसकेको छु म महावीर विश्कर्मा ।
ल..! अब चैँ कुनै शंका बाँकी रहेन; यो मान्छे मनमा बसिसकेछ । दिन दुई र रात चार हुँदै बहकिने मनले यति प्रभावित बनायो कि, म पनि मुक्तककारका रुपमा दरिनँ थालेँ । यसको यात्रा २०७१ को ‘असारमा उर्लिएर धड्कन,बहकियो मन’ नामक मुक्तक संग्रह प्रकाशनसम्म पुग्यो । जसको भुमिकाको अन्तिममा मैले कृतज्ञता व्यक्त गर्दै लेखेको छु–रेडियो कार्यक्रम बहकिने मन र प्रस्तोता महावीर विश्वकर्मालाई सुनेर म मुक्तक लेख्न सक्ने भएँ,जसको कारण यो पुस्तक आज बजारमा आएको छ ।
त्यतिबेला सल्यानको कर्णाली गाउँमा भारतको हिमाचल प्रदेश मजदुरी गर्न गएका मान्छेहरू मार्फत लाभा र माइक्रोम्यासका क्याटक्याटे मोबाइलहरू भित्रिन थालेका थिए । मेमोरी कार्डमा भएका भिडियो हेर्न,गीत बजाउन र खासगरी रेडियो सुन्न ति प्रयोगमा आउँथे । फोनले काम गर्दैन थियो । इन्टरनेटको परिकल्पना सोच बाहिरको थियो ।
बहकिने मनको फेसबुक पेज खुलेको,आफुपनि फेसबुमा भएको कुरा महावीरले भन्न थाले । म त उनको फ्यान भइसकेको थिएँ । अवस्था बदलिएर म पनि इन्टरनेट र फेसबुकको पहुँचमा पुगेको पहिलो दिन मैले खोजेका चार पाँचओटा नाम मध्ये पहिलो नाम उनकै थियो— महावीर विश्कर्मा ।
इन्टरनेटले सजिलो बनाइदियो । उनलाई झन नजिक ल्याइदियो । चिन्न र बुझ्न भन सहज बनाइदियो । हामी फेसबुकमा साथी बनियौँ । उनका स्टाटसहरू पढ्ने र प्रतिक्रिया दिने म गरिरहन्थेँ । उनले मेरोमा पहिलोपल्ट रियाक्ट गरेको बखत मलाई वणर्नातीत खुसी मिलेको थियो ।
समय गतिशिल छ । संसारका सबै कुराहरू परिवर्तशील छन् । बहकिने र बहकाउने कुराबाट अघि बढ्दै हामी वैचारिक बहससम्म आइपुग्यौँ । पछिल्लो चरणमा बहकिने मन कार्यक्रम भन्दा पनि म उनको विचार र बाटोसँग नजिक र परिचित थिएँ । म उनको समर्थकको कित्तामा उभिएँ । रेडियो कार्यक्रम प्रस्तोता सँगसँगै सिनेमामा अभिनयको यात्रा थालेका उनि रिलको हिरो बन्ने दौडमा थिए । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालको केन्द्रिय सदस्य र जातव्यवस्था उन्मूलन मोर्चाको केन्द्रिय सचिवको भूमिका जब उनी उदाए, माइती घर मण्डला र नयाँ बानेश्वरको आन्दोलनको अग्रणी मोर्चामा जब देखिए, उनि रियल बने ।

प्रत्यक्ष संवाद गर्ने र उनलाई भेट्ने भन्दा–भन्दै निकै बर्षहरू फुत्किदै गए । मैले चिन्न थालेको निकै बर्षपछी मात्रै उनलाई फोन गर्ने गरेँ । त्यो पनि बिशेष कारणले मात्रै ।

आजभन्दा लगभग दुईबर्ष अघिको कुरा । उनले दिएको समय दिनको २÷३ बजेतिर सिरेटो चलिरहेपनि मोरङ्गमा गर्मीनैँ थियो । घर पछाडीको आँपको बगैचाको विशाल वृक्षको छहारीमा बसेर उनलाई फोन लगाएँ । रिङ बज्यो ।
हेलो..हजुर को बोल्नुभएको ? मेरो कानमा उनको त्यही आवाज गुञ्जियो जुन बर्षौ पहिले मेरो रेडियोमा गुञ्जिन्थ्यो । तर त्यो आवाज सबैको लागी थियो । यो भने मेरो लागी मात्रै । मलाई यो कुराले रोमाञ्चित बनायो ।
मैले अघि फेसबुकमा मेसेज गरेर फोन गर्छु भनेको थिएँ नि ! हो त्यहीँ मान्छे । मलाई ठ्याक्कै अरु केही भन्न आएन, यतिमात्रै भनेँ ।
अँ..,त्यो त होला ! तर यसरी धेरै साथीहरूले मेसेज गर्ने भएको कारणले मलाई ठ्याककै ठम्याउन मुस्किल पर्यो । हजुरले नाम भनिदिनु भयो भने मलाई अलिकति सजिलो होला कि ! आवाजलाई जतिसक्दो मुलायम बनाउँदै उनी अति शिष्टताका साथ बोले । ठ्याक्कै जसरी उनी स्रोताहरूसँग रेडियोमा बोल्थे ।

मैले नाम मात्रै हैन,आफ्नो सम्पूर्ण परिचय बताएँ । उनलाई बिषयवस्तुमा लिएर गएँ । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र जात व्यवस्था उन्मूलन मोर्चा सल्यानमा लैजाने बारेमा छलफल भयो । अन्तिममा उनले मेरो नाम र नम्बर डायरीमा टिपे र भने–शेर बहादुर जी ! हामी सम्पर्कमै रहनेछौँ । तपाईको क्षेत्रतिरबाट पनि थुप्रै साथीहरू सम्पर्कमा हुनुहुन्छ । तपाईको नम्बर म उहाँहरूलाई उपलब्ध गराउनेछु, उहाँहरूको नम्बर पनि तपाईलाई । म फोन गर्नेछु, है त !
२०७८ को कात्तिकमा सल्यानको थारमारेमा भएको साहित्य उत्सव र दलित नागरिम समाज बागचौरले गरेको प्रशिक्षण कार्यक्रममा उनी सहभागी हुन सल्यान आए । त्यतिबेला म रुकुममा थिएँ । उनिसँग भेट्ने उत्कट इच्छा हुदाहुदै पनि समय मिलाउन सकिएन । मन कुडियो । केही महिना पछि मलाई एउटा नयाँ नम्बरबाट फोन आयो । उताबाट आफुहरू सुर्खेतबाट यतिबेला बागचौरमा आइपुगेको र कमरेड महावीरले नम्बर दिएको बताउदै थिए । बोल्दै जाँदा केहीक्षणमा थाहा हुन्छ, पार्टीका कर्णाली संयोजक कमरेड सर्वजित पो हुनुहुँदोरहेछ । मैले चिनिहालेँ । तर हामी दुईको प्रत्यक्ष सम्पर्क पनि कमरेड महावीरकै माध्यमबाट भयो । जात व्यवस्था उन्मूलन मोर्चाको बाग्लुङ्ग जिल्ला कमिटी बनाइसकेपछी कमरेड महावीर पश्चिम रुकुम आउदै थिए । रुकुममा कमरेड विवेक लगायत टिमले तयारी थालिसकेको थियो । सल्यानबाट म पनि गएँ । महावीरको र मेरो पहिलो भेट पश्चिम रुकुमको खलंगामा कमरेड विवेकको घरमा भयो ।
म पुग्दा समय तिन÷चार जति भएको हुनुपर्छ । विवेक र उनी टटेलाबाट भर्खरै नुहाइ–धुवाइ गरेर आइपुगेका थिए । कपडा सुकाइसकेर बिच आँगनमा उभिएका उनले फुङ्ग भएको कपालमा तेल लगाउन हात टाउकोतिर लिनु अघि मलाई दिएका थिए । हामीले हात मिलायौँ । उनले कपालमा तेल घसे । जाडोको महिना थियो । चिसोको असरले छालाको अवस्था असन्तुलित हुनु सामान्य थियो । त्यतिबेला उनको अनुहार फुस्रो थियो । अघिदेखी उनलाई निरन्तर कसैको फोन आइरहेको थियो । कसैले भेट्न खोजिरहेको र बजारकै कुनै कफी सपमा अघिदेखी पर्खिएर बसेको उनले हामीलाई बताए । विवेक उनी र म बराहटाकुरा देखी सिधै उँभो जिप्रका किनारका सिडी उक्लिन थाल्यौँ । बिचमा पुगिसकेपछी एकछिन उभिएर मतिर हेर्दै भने–अनि शेरबहादुर जी ! परिवारमा को–को हुनुहुन्छ नि ?

election adv.

मैले आफ्नो बारेमा बताएँ । उनले चकित पर्दै हामीलाई हेरेर भने–देख्नु भयो नि तपाईहरूले ! लक्ष्मी जीको बुवाआमाले बिद्रोह गरेर अन्तरजातिय बिबाह गरेको कारण तपाईहरूले आफ्नो पालामा त्यो समस्या झेल्नुपरेन । एउटा न एउटा पुस्ताले बिद्रोह गर्नैपर्छ । हामीसँग त पाइला–पाइलामा विभेद खेपेक अनुभवहरू छन्, भोलीको पुस्ताका लागी आज हामी लड्नैपर्छ । यति भनेर उनि सिडी उक्लिनँ थाले । कालिकाथान किनारको कफी सपमा हामी गयौँ । कालो जुत्ता,कालो पेन्ट,कालो हुडी र कालै कपाललाई कुम–कुमसम्म पार्नुभए’की आफुलाई अनेरास्वीयुको जिल्ला उपाध्यक्ष बताउने एक युवती हुनुहँुदोरहेछ, अघि फोन गर्ने । उहाँसँगको सामान्य शिष्टाचार पछि हामी बस्यौँ । कमरेड महावीर र म चिया र कफी नलिने कित्तामा उभ्भिसकेपछी हामी दुईको लागी तातो पानी आउने भयो । उनलाई आफ्ना साथीहरूले पनि भेट्न चाहिरहेको बताउँदै युवतीले कता हो, फोन गर्न थालिन् । अर्कोपट्टि बसिरहेका तिनजना पुरुषहरू हामीलाई हेर्दै खासखुस गरिरहेका थिए । महावीरलाई हेर्दै एकजना बोलिहाल्यो–उहाँको त बोली कता सुने–सुनेजस्तो लाग्छ त ! उहाँ बहकिने मनको प्रस्तोता महावीर विश्वकर्मा हो । युवती बोलिन् । उनिहरू ट्वा परे । रेडियो कार्यक्रम बहकिने मन अत्याधिक सुन्ने जिल्लामा पथ्र्यो,रुकुम । कार्यक्रममा सहभागीहरूको तथ्याङकले पनि यही देखाउँछ । पाइलै पिच्छे प्रशंसकहरू थिए,यहाँ । त्यसपछी त्यहाँ फोटो सेसन सुरु भइहाल्यो । एकजना खुसी हुदै भने–मेरी श्रीमती तपाईको ठूलो फ्यान हो । तपाईसँगको यो फोटो साँझ म उसलाई देखाउँछु । कफी सपबाट हामी निस्कियौँ । अबको उनको काम बहकिने मनको आगामी शृङखलाको निम्ति यहीँका मुक्तककार कर्ण बहादुर खत्री ’आइडिया’जीको इन्टरभियु लिनुपर्ने उनले बताए । आकाशमा घाम डुबिसकेको थियो । विवेकले हामीलाई जिप्रका रोडकै घारीपट्टि रहेको माटोको घरको माथिल्लो तलाको एउटा अँध्यारो कोठामा लिएर गए । त्यही भेटिए— कर्ण बहादुर खत्री आइडिया । उनी शारीरिक हिसाबले बिशेष क्षमताका रहेछन्, हामीलाई कुरेर खाटमा बसिरहेका रहेछन् । भाइपनि आजै घर गएको र भुँइभरी कसिङ्गर,जुठाभाँडा र कोठाको अवस्था रुग्न भएको भन्दै हामीलाई देख्नसाथ उनी साँघुरिए । हामी पनि यही धरातलबाट आएको भन्दै उनको छेउमा गएर उनको वरिपरी हामी बस्यौँ र उनलाई सहज बनायौँ । महावीर बोले–आइडिया जि ! खै तपाईले कार्यक्रममा वाचन गर्ने भनेर ठिक पार्नुभएका पन्ध्र मुक्तक हेरौँ त !”

आइडियाजीले मुुक्तकहरूको लामै सुची दिए । त्यसमध्ये महावीरले केही–केही हटाइदिए र भने–आइडीया जी ! कुनै जात,धर्म,समुदाय,लिङ्ग र व्यक्ति विशेषलाई आक्षेप लगाउने किसिमका कुनै रचना बहकिने मनबाट वाचन हुनुहुदैन भनेर हामी सजग छौँ । अब मैले छानिदिएकाबाट हजुरले जुन–जुन वाचन गरेपनि हुन्छ, है त !
इन्टरभियु ससिकेपछी आइडियाजीसँग हामी फोटो खिचेर छुट्टियौँ । बाहिर पुरै अध्यारो भइसकेको थियो । सडक भरी बत्तिहरू बलिरहेका थिए । कालिकाथान, बालमन्दिर,माथिल्लोबजार,नेपाल राष्ट बैंक हुँदै हामी तिनजना गफ गर्दै खलंगाको तल्लोबजारमा हिडिरहेका थियौँ । उनको बाग्लुङ्गदेखी रुकुमसम्मको यात्रा कस्तो रह्यो भन्ने मेरो जिज्ञासामा जवाफ दिदै उनी बोले–‘म त हिजै आइपुग्ने भनेको मान्छे, काँक्री भन्ने ठाउँमा आइपुग्दा गाडी बिग्रियो । फोनले पनि काम नगर्ने ठाउँ रहेछ । बल्लतल्ल नेटवर्क दिने ठाउँमा आइपुगियो र सबैलाई सम्पर्क गरियो । नजिकै एउटा होटेल रहेछ,त्यही बसेँ । कोठामा दुईतिन ओटा खाट थिए ।

राती सुतिरहेको बेला कोही ढोका हान्न आइपुग्यो । नौलो ठाउँ डर–डर लाग्यो । जे पो होला,ढोका उघारेँ । एकजना मान्छे रहेछ, सुत्न आएको भनेर कोठामा छि¥यो । मलाई अचम्म लाग्यो यहाँको सिस्टम, एउटा गेष्टलाई एउटा रुम पो दिनुपर्ने, तर एउटा खाट दिइदो रहेछ । नचिनेको मान्छेसँग एउटै रुममा कसरी सुत्नु ! सुरक्षाको दृष्टिकोणले यो विल्कूल ठिक होइन । तर बाध्यता थियो । तत्क्षण आफु कस्तो अवस्थामा रहेको बारेमा आफन्त साथीभाइहरूलाई गु्रपमा मेसेज छोडिदिएँ । र उसँग परिचय गर्नथालेँ । ऊ पनि मजस्तै रहेछ, अलपत्र परेर आएको । बोल्दै गएपछी राम्रै साथी बन्यो ।’ के–के किनमेलको गर्नुछ भन्दै विवेक पसल तिर पसे । हामी दुईजना कुरा गर्दै धिमा गतिमा रोक्किदै–हिड्दै गरिरहेका थियौँ । महावीरले भने–शेर बहादुर जी ! यहाँपछी कार्यक्रम दाङ्गमा छ । तपाईका चिनजानका साथीहरूलाई सम्पर्कमा आउन भन्नोस् है ! महावीर अध्ययनशील उत्तिकै छन् । धारा प्रवाह बोल्न सक्छन् । तार्किक क्षमता पनि छ । कम्युनिजम र जातव्यवस्थालाई यतिबेला गम्भिर तरिकाले अध्ययन गरिरहेका विद्यार्थी पनि हुन् । मैले किताबका कुरा निकालेँ । पार्टी संयोजक आहुतिको पछिल्लो पुस्तक जातवार्ता पढ्नैपर्ने र आफुले केहीप्रति लिएर आएको र साथीहरूलाई बाँड्ने उनले बताए । आहुतिका नयाँ घर,स्खलन,गहँुगोरो अफ्रिका र नेपालमा वर्णव्यवस्था र वर्ग संघर्ष आफुले पढिसकेको र जातवार्ता पढ्दै गरेको बताउँदै मैले भनेँ–कमरेड ! कम्युनिजम र जातव्यवस्थालाई बुझ्न कुन–कुन पुस्तक पढ्न्पर्ने होला ? तपाईलाई थाहा भएसम्म भनिदिनोस् है ।
उनले आफ्नो मोबाइलको नोट एप खोले । केही किताबका सुची देखाए । मैले पढिसकेका जति औल्याएँ । ति हटाएर बाँकी कपी गरेर मलाई म्यासेन्जरमा पेस्ट गरिदिए । जो अहिले पनि त्यहाँ सुरक्षित छ । घरमा पुग्नासाथ विवेकले आँगनमा आगो जोडे । आगो ताप्दै केहीबेर आइडियाजीका मुक्तक र उहाँले सुनाएको उहाँको साहित्य यात्रा,बहकिने मन, जसका सहभागी र त्यसमा प्राप्त हुने मुक्तकको स्तरता र भोली हुने जातव्यवस्था उन्मूलन मोर्चा रुकुम(पश्चिम)को प्रथम जिल्ला भेलाबारे छलफल गरियौँ । विवेकले भोलीको भेलाको केही पूर्व तयारी र महावीरले साढेआठ बजेको फेसबुक लाइभको तयारी गर्न थाले । म भोली भेलामै भेट्टिने वाचा गर्दै त्यो दिन त्यहाँबाट बागबजार फर्किएँ ।
भोलिपल्ट एघार बजे होटेल एसियनको सभाहल पुग्दा थुप्रै साथीहरू जम्मा भइसकेका थिए । गेटदेखीनैँ साथीहरूले संकेत सहित महावीर विश्कर्मालाई भेट्न जाने यता भनेर लेखेका पर्चाहरू हलसम्मै टाँसिसकेका थिए । उनको नाम मात्रै सुनेका मान्छेहरू पनि त्यो देखेर आइरहेका थिए । विवेकको दौडधुप जारी थियो । महावीर हलको अगाडी साइडतिर बसेर ल्याप्टपमा केही लेखिरहेजस्ता देखिन्थे । म पुग्नासाथ मलाई देखाउँदै एकजना अपरिचित मान्छेलाई भने–हाम्रो सल्यानको मित्र शेर बहादुर जी भनेको उहाँ नैँ हो ।
अपरिचित आएर मलाई हात दिए,मैले हात मिलाएँ । उनलाई देखाउँदै महावीरले मलाई भने–मोर्चाको कर्णाली संयोजक निश्चल परियार उहाँ नै हो ।
ओहो ! निश्चल !!

नदेखे पनि निश्चलको बारेमा म अलिअलि जान्दथेँ । हामीले राम्रोसँग एक–अर्कासँग परिचय गरियौँ । सल्यानमा मोर्चाको प्रथम जिल्ला भेला हालै सम्पन्न भइसकेको र पार्टीको प्रथम जिल्ला भेला गर्ने तयारीबारे छलफल गरियौँ । होटेल एसियनको सभाहलमा कार्यक्रम प्रारम्भ भयो । भेलाको संयोजन विवेक विश्कर्माले गर्नुभयो । सामान्य औपचारिकता पछि मासलाई कन्ट्रोल गर्दै महावीर धाराप्रवाह बोल्न थाले । सारा हल शान्त भयो । उनले भनेको एउटा कुरा म हरेक दिन स्मरण गरिरहन्छु, साथीहरू ! हाम्रो मुक्तीको निम्ति हामी क्रान्ती र बिद्रोहको अग्रणी मोर्चामा आउन अपरिहार्य छ । अबको दश बर्षपछी आहुतिजस्ता दश जना लिडर यही बिचबाट जन्मिनुपर्छ । भेलाका सम्पूर्ण कार्यक्रमहरू सकिए । विवेकको संयोजकत्वमा मोर्चाको जिल्ला कमिटी गठन भयो । गाडीहरू छुटिसकेको कारण उनको त्यहदिन दाङ्ग फकिर्ने योजना रद्द भयो ।
झिमझिम पानी पर्न थाल्यो । मोर्चाका रुकुम जिल्ला कमिटी सदस्य तथा पार्टीका रुकुम जिल्ला सचिव कमरेड कमलको फर्निचरमा हामी आयौँ । जाडो थियो । कमलले फर्निचर भित्रै केही ठाउँ खाली गरे । त्यहाँ आगो जोडे । हामी छ जना जति थियौँ । गोलबद्व भएर हामी उभिएर आगो तापिरहेका थियौँ । बस्नलाई एउटा काठको कुर्सी र एउटा सानो बेन्च मात्रै भेटिए । मैले त्यो कुर्सी बस्नुस् भन्दै कमरेड महावीरलाई दिएँ । तर उनि अलि आक्रोशित मुद्रामा देखिए–त्यो कुर्सी मलाई किन दिनुभएको ? तपाई बस्नु न । तपाई पनि उभिरहनु भएको त छ नि ! म को नैँ हुँ र ! म त भुँइमा भए नि बसिहाल्छु नि !
मैले पुनः एकपल्ट आग्रह गरेँ । उनले बस्न मानेनन् । बरु साथीहरूलाई बेन्चतिर व्यवस्थापन गरेर आफु आरामले भुँइमा बसे । विवेकले सबैतिर हेर्दै भने–पिउने पानी पनि आफै सारेर बस्नु हुन्छ, खाएको थाली पनि आफै धुनुहुन्छ । अरुलाई धुन दिनुहुन्न । हामीले उहाँबाट धेरै कुरा सिक्नुछ । साँच्चिकै कम्युनिष्ट भएर बाँच्न सिक्नु छ ।
विवेकले ठिकै भने । कमरेड महावीर साँच्चिकै अनुसरणीय पात्र हुन् । त्यो दिन म कुर्सीमा बसेँ,केही साथीहरू बेञ्चमा र महावीर लगायत केही साथीहरू भुँइमा । त्यो पललाई कसैले क्यामेरामा कैद गरिदिएको छ । त्यो अवस्थाको,त्यतिबेलाको त्यो फोटो अझै पनि मेरो मोबइलमा सुरक्षित छ । बिचमा धुवाँ पत्ताइरहेको छ । कमरेड निश्चलको उतापट्टि बसेका महावीर मन्द मुस्कुराइरहेका छन् । कमरेड कमलको आग्रहमा कसैले कालो चिया ल्याएर दियो; र त्यसमा चोबल्ने चिज पनि । मैले चिया मात्रै लिएँ । म अघिदेखी हत्तारिरहेको थिएँ । उठ्दै भनेँ–कमरेडहरू ! अब म जान्छु । कमरेड महावीरको गाडी छुट्यो । दाङ्गको कार्यक्रम भ्याउन गाह्रो हुन्छ कि भनेर छट्पट्टिरहनुभएको छ । विवेकले महावीर तिर हेर्दै भने–कमरेड ! आज शेर बहादुरजीसँग तपाई सल्यानसम्म जानुस् । त्यहाँबाट दाङ्ग पुग्न छिटो पनि सजिलो पनि । ओहो ! साथीहरूलाई जानकारी रहेनछ । मैले आफु सिम्रतुसम्म मात्रै जान लागेको कुरा बताएँ । र हिडेँ । छुट्टिनेबेला महावीरलाई भनेको थिएँ, भोली तपाई गाडीमा गइरहँदा सिम्रुतु भन्ने ठाउँ आयो भने मलाई फोन गर्नुहोला, म त्यहीँ भेट्टिनेछु ।

उपसंहार,
२०७९ मंसिर ५ गतेको साँझ सुत्नलाई मोबाइल स्लिपमा राख्नै आँट्दा फेसबुकमा उनको एउटा पोस्ट टुप्लुक्क आइपुग्यो । स्टुडियो भित्र रातो हाफ सर्ट लगाएर उभिएको फोटोको माथि क्याप्सनमा उनले लेखेमा थिए–आफ्नो विचार प्रष्टसँग राख्ने हो । विचार मिल्नेहरू जोडिदै जान्छन्,नमिल्नेहरू छोडिदै । यो आवश्यक छ जीवनमा । सबैको प्रिय बन्न खोजेर हुँदैन । यदि कोही त्यस्तो बन्न खोज्छ भने त्यो दोगला हुन्छ । यसमा रियाक्ट गरेर सुतेको म, जब बिहान आँखा खुल्नासाथ मोबाइलमा कमरेड जसिन्द्रको त्यो पोस्ट देखेँ; अत्तालिदै उठेँ ।
र, एकैछिमै सुरु भइहाल्यो– अलविदा र श्रद्वाञ्जलीको बर्षा । सारा संसारले एकसाथ उद्वघोष ग¥यो— अब महावीर विश्कर्मा हामी माझ रहेनन् । मलाई भाउन्न छुटेर आयो । अगाडीको धरती भासिएजस्तै भयो । आँखाका दृश्यहरू धुमिल बने । ओहो ! मृत्यु यति सजिलै छ ? मृत्यु यति नजिकै छ ? मृत्यु यति अनिश्चय छ ? प्रिय कमरेड ! तिमीले भन्ने गरेजस्तै, सम्हाल्नै गाह्रो भइरहेको छ झन, बहकिने मन । तिमीसँग त गर्न बाँकी धेरै सहकार्यहरू थिए । तिमीलाई त सुनाउन बाँकी धेरै कुराहरू थिए । तिमीलाई त सोध्न बाँकी धेरै प्रश्नहरू थिए । हो.., डियर कमरेड !

आखिर त्यो दिन सिआइएनको स्टुडियोमा के भएको थियो ? जहाँ लाइभ कार्यक्रममै तिमी डाको छोडेर त्यतिधेरै रोएका थियौ । दोस्रोपल्ट तिमीलाई त्यहाँबाट कसले गलहत्याएको थियो ? बहकिने मनको पोको बोकेर तिमी त्यहाँबाट रुँदै निस्किएका थियौ । तिमीलाई त सुनाउन बाँकी थियो– दुरदराजको कर्णालीमा बसेर त्यतिबेला तिमी सँगसँगै हामी पनि रोएका थियौँ । तिमीबाट प्रभावित भएर मैले लेखेको मुक्तक संग्रह जो आजभन्दा आठबर्ष पहिलेनै प्रकाशनमा आइसकेको छ, जसको भूमिकामा मैले तिम्रो नाममा शबदहरू खर्चिएको छु,जो कुरा मैले तिमीलाई भेटमा पनि भनिनँ, जो तिमीलाई कुनैदिन सुटुक्क उपहार दिन मन थियो । अस्ति भर्खर, बाइक बिग्रिएर बसमा यात्रा गरिरहँदा मेरो एकघण्टाको यात्रा अवधी भरी बसमा कुनै गीत बजेन, तिम्रै रेर्कडेड् कार्यक्रम बहकिने मन बजेको थियो,मैले खुसी हुँदै त्यो माहोललाई मोबाइलमा रेकर्ड गरेको थिएँ, जो तिमीलाई सेन्ट गरिदिन मात्रै बाँकी थियो । र अँ, तिमीलाई नबिर्सी सोध्न मन थियो—तिमीले यतिधेरै प्रेम कसलाई गरेका थियौ ?

डियर कमरेड ! वैज्ञानिक समाजवाद निर्माण र जातव्यवस्था उन्मूलनको यात्रामा सँगसँगै हिड्ने मन थियो । तर अब हामी तिमीलाई बाटोभरी स्मरण गरिरहने छौँ, मिस गरिरहनेछौँ । अतः हामीलाई थाहा छ,तिमी साह्रै इमान्दार मान्छे छौ । तिमी झुट बोल्न सक्दैनौ । २०७९ साल कात्तिक २८ गतेको बहकिने मनको त्यो शृङ्खलाबाट जाने बेलामा अन्तिममा तिमीले भनेका छौ–जान्छु । अर्कोहप्ता आउँछु नि ! नमस्कार ।
तिमी मेरो प्रिय भएको कारण । कतै बिर्सिएयौ कि भनेर तिमीलाई स्मरण गराउँन यति शब्द खर्चिएको हुँ । तिमीले माथी भनेजस्तै, तिमी पक्कै आउँछौ नि हैन ?

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto