हरि जिज्ञासु
देशको राजनीतिमा पटक पटक उतारचढाव आइरहेको छ । अझ विशेषगरी नेपाली राजनीतिमा उतारचढाव आइरहनु कुनै नौलो कुरो होइन । स्थानीय तहको निर्वाचन सकिएको केही महिनाभित्रै प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन सुरु हुदैछ । स्थानीय तहको निवार्चन सकिएपछि निर्वाचित भएका जनप्रतिनिधिहरु अहिले कहाँ के गरिरहेका छन् अत्तोपत्तो छैन । निर्वाचन आसपासमा देश निर्वाचनमय हुन्छ । देशमा कसलाई जिताउने भन्ने विषयमा चर्चा चल्छ । चोक र गल्लीहरुमा जिन्दाबाद र मूर्दाबादको नारा चल्छ । निर्वाचनपछि जनप्रतिनिधि आआफ्नो ठाउँमा लाग्छन् । विकास सुन्य हुन्छ । जनप्रतिनिधिको पारिवारिक र आर्थिक हैसियतमा केही परिवर्तन देखिन्छ । जनता मंहगी र अभावको पीडाले छटपटिरहेका हुन्छन् ।

मंसिर ४ गते प्रदेशसभा र प्रतिनिधि सभाको चुनाव हुदैछ । नेताहरुले उम्मेदवारी दर्ता गराएर चुनावको तयारीमा जुटिरहेकाछन् । नेताहरुमा कसरी चुनाव जित्ने र सत्तामा पुग्ने भन्ने बाहेक देश विकासको सुन्दर शिद्धान्त मनमा छैन । चुनाव जितेर मन्त्री पद पट्काएका नेताहरु फेरि जिताउनुहोस् हजुर भन्दै गाउँ फर्केकाछन् । जनताले फेरि उनैलाई जिताउछन् त्यसपछि देशको भविश्य के त ? उनीहरुलाई नै जिताउनुपर्ने बाद्यता पनि छ । किनकि उनीहरु भन्दा छट्टु र भाँति पुर्याएर राजनीतिक कुरा गर्ने व्यक्ति अरु छैन पनि । मैले थाह पाउँदासम्म पनि धेरै निर्वाचन सफल भए तर निर्वाचनपछिको परिनाम मैले खासै देखेको छैन । निवार्चनपछि देशले केही मुहार फेर्छ भन्ने विचार धेरै नेपालीको मनमा आउँछ तर त्यो विचारमै सिमित हुन्छ ।
आउँदो मंसिर ४ गतेको निर्वाचनको लागि निर्वाचन आयोगले प्रतिनिधिसभाका उम्मेदवारले प्रति उम्मेदवार २५ लाख रुपैयाँदेखि ३३ लाख रुपैयाँसम्म तोकेको छ भने प्रदेशसभा निर्वाचनको लागि एक जना उम्मेदवारले १५ लाख रुपैयाँदेखि २३ लाख रुपैयाँसम्म खर्च गर्न पाइने भनिएको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचनको लागि २१ सय २८ जनाले प्रतिनिधिसभाको लागि उम्मेदवारी दर्ता गराएका छन् त्यस्तै गरी प्रदेश सभाका लागि २८ सय ४५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा नेताहरुले निवार्चन आयोगको मापदण्ड अनुसार खर्च गर्न पाए भनेपनि करिब १२ अर्ब रुकम खर्च गर्नेछन् । नेताहरुले गर्ने खर्च त व्यक्तिगत खर्च भयो । अनी निर्वाचन सफल बनाउनको लागि सरकारले निर्वाचन आयोगलाई १० अर्ब रुकम खर्च गर्नको लागि दिन्छ ।

निर्वाचन आयोगका तथ्य अनुसार करिब १ करोड ७९ लाख ८८ हजार ५७० जना योग्य मतदाता छन् । नेताहरुले गर्ने खर्च र मतदाताको संख्यालाई तुलना गर्दा एउटा मतको लागि करिब १ हजार २० रुपैँया जति खर्च हुने देखिन्छ । सरकारले गर्ने खर्च र नेताहरुले गर्ने औसत खर्चलाई जोड्दा करिब २२ अर्बजति निर्वाचनमा खर्च हुन्छ । जनतालाई चुनावि अभियानमा नेताहरुले कतिदिन फोगटमा डुलाउँछन् त्यसलाई पनि हिसाव गर्दा त अझ धेरै खर्च हुन्छ । त्यसैत नेपालको निर्वाचनप्रणाली खर्चिलो छ । जनतालेनै नेता चुनेर नेतृत्व गर्ने स्थानमा पुर्याउँदा त जनता खुसी हुनुपर्ने हो । जनताले नै राम्रो नेताहरुलाई निर्वाचन जिताउँ भनेर जनता नै जुमुराउँनुपर्ने हो । निर्वाचन नजिकिदै गर्दा जनतामा एकखालको उत्साह उत्पादन हुनुपर्ने हो तर छैन । निर्वाचनको समाचार सुन्ने वित्तिकै जनताको मनमा अहिले दिकदारी लाग्ने अबस्था भएको छ । करिब १ करोड ८० लाख योग्य मतदाता भएतापनि धेरै जनाले आफ्नो मत दिदैनन् । धेरै जना मत दिनको लागि आफ्नो सानो जागिर र पढाई छोडेर मत दिन गाउँ जाँदैनन् । धेरै वर्षपछि आउने निर्वाचनको लागि त जनताले खुसीसाथ मत दिन आतुर हुनुपर्ने होइन र ?

निर्वाचन नजिक आएपनि जनतामा निर्वाचनप्रतिको उत्साह छैन । निर्वाचनप्रतिको चासो जनतामा छैन । बुवाआमालाई कसरी ऋण खोजेर छोरोलाई विदेश पठाउने भन्ने चिन्ता छ । कक्षा १२ मा पढ्दै गरेका कलिला युवाहरुको मनले कसरी विदेश जाने भन्ने बाटो खोजिरहेको छ । लकडाउनपछि अधिकांस युवाहरु प्रदेशिएका छन् । गाउँघर युवा विहिन भएको छ । देशमा सकारात्मक परिवर्तन र देश विकासको विचारलाई बुज्न नसक्ने सामान्य किसान दाजुभाईहरुलाई मत दिन मात्र आउँछ । कसलाई र किन मत दिने भन्ने विषयलाई उनीहरुले गहिरो गरी बुज्न सक्दैनन् । युवाहरुले देशमा भविश्य नखोज्नुको पछाडीको दोस नेताहरुलाई नलागेर कसलाई लाग्छ त ? एउटै नेतालाई पटक पटक जिताएर संसदमा पठाउने तर त्यो नेताले जनताको लागि जति गर्नुपर्ने हो त्यति नगर्नुले पनि जनतामा निराशा छाएको हो । समग्रहमा भन्नुपर्दा जनताहरुमा पुराना नेताहरुदेखि दिकदारी लागिरहेको छ ।
आगामी मसिंर ४ गते हुने निर्वाचनमा सरकार र नेताहरु मिलेर धेरै खर्च गर्नेछन् । निर्वाचन सकिनेछ । निर्वाचनपछि निर्वाचितहरुले विजयजुलुस मनाउलान् । कोही प्रधानमन्त्री बन्लान् कोही मन्त्री भन्लान् । प्रधानमन्त्री र मन्त्री बनेकाहरुले देशको लागि गर्छन के ? निर्वाचित गराउने जनताका दुःखका लामा बाटाहरु के छोटा हुन्छन् त ?, विदेश जानको लागि जापानिज भाषा, कोरियन भाषा पढिरहेका युवाहरुले आफ्नै देशमा सुन्दर भविश्य देख्छन् त ?, अझै पनि बिजुली वत्ति, बाटो र झुलुगेँ पुलसमेत नबनेका गाउँहरु यी सबै पूर्वाधारहरु पुग्छन् त ? अहिलेसम्म हामीले जिताएर पठाएका नेताहरुले देशको निम्ति के गरे र कति गरे भन्ने कुराको तथ्य हामीसँग हुनुपर्ने हो तर छैन । गाउँदेखि सहरसम्मको दृष्यहरु हेर्दा देशको अबस्था चिन्ताजनक छ । मंहगी बढिरहेको छ । बनेका संरचनाहरु पनि भत्किसेका छन् । बाटोघाटहरुमा पुरै खाल्डाखुल्डी मात्रै छन् । बाटोमा भएका खाल्डागुल्डीको कारण बर्सेनी धेरै मानीहरुले सवारीदुर्घटनामा ज्यान गुमाएका छन् । के यस्ताखालका साना साना समस्याहरु आगामी मंसिर ४ गते हुने निर्वाचन पछि समाधान होलान त ?

कुनै पनि व्यक्ति चुनाव लडेर देशको नेतृत्व गर्ने स्थानमा पुग्ने भनेको सानो कुरो होइन । नेताहरुमा अलिकतिपनि देश र जनताको मुहार फेर्नुपर्छ र देशलाई इज्जतिलो तरिकाले संसारका अन्य देशको सामु चिनाउपर्छ भन्ने विचारले काम गर्ने हो भने धेरै ठूलो कुरो छैन । देश बनाउन सकिन्छ । देशका युवाहरुले भविश्य देशमै देख्नेछन् । खाडीमुलकमा पसिना बगाउँनुपर्नेछैन । युवाहरुले आफ्नो देशमा गरेको लगानीको सुनिश्चतता सरकारले गर्नसक्नु पर्ने हुन्छ । तर विडम्बना चुनाव जितेर सरकारमा पुगेका नेताहरुलाई मन्त्रीमण्डल विस्तार गर्दागर्दै वर्ष वित्छ । सत्तापक्षले प्रतिक्षको र प्रतिपक्षले सत्तापक्षको खोइरो खन्दै समय वित्छ । सानादेखि ठूलादलाहरुको साँठगाँठ नेताहरुसँग हुन्छ । भ्रष्टचारीहरु नेताहरुकै मिलेमतोमा मोटाउँदै जान्छन् । गरिब जनतालाई त्यहि भ्रष्टचारीहरुले चुसेर झन गरिब बनाईरहेका हुन्छन् । त्यसकारण मतदातानामवली हातमा समातेर मतदानकेन्द्रमा पुगी नेतालाई जिताएर सिंहदरबार धेरै पटक पुर्याईयो तर हामी जनताले चाहेजस्तो भएन । अब फेरि अर्को प्रश्न आउने निवार्चनपछि फेरि जनताले केही विकासको महसुस् गर्न पाउछन् त ?

पछिल्लो अबस्थामा स्वतन्त्र उम्मेदवारहरु जुरमुराएका छन् । स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारले राम्रै परिणाम हात पारे । स्वतन्त्र उम्मेदवारले सफलताप्राप्त गर्नुले जनताले केही नयाँ अनुहार देख्न चाहान्छन् भन्ने संकेत पनि हो । प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा पनि धेरै राजनीतिकदलहरु गठबन्दन बनाएर चुनाव लडिरहेका छन् । एमालेका नेता भिम रावल र घनश्याम भुसला टिकट पाएनन । भुसालले एमाले परित्याग गरेर स्वतन्त्रबाट मनोनयन पत्र पेश गरे । माओबादी केन्द्रका केही नेताहरुले टिकट पाएपनि चुनाव नलड्ने घोषणा गरेका छन् । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले चुनाव नलड्ने घोषना गरेर आफ्नो क्षेत्रबाट माओवादी केन्द्रका अध्यक्षलाई चुनाव लड्न लगाए । आफूले हार्न सक्ने डरले चुनाव नलडन् र जित्ने प्रचुर संभावना हुँदाहुदै पनि चुनाव नलड्न भनेको फरक कुरा हुन् । धेरै नेताहरुमा चुनाव हारिन्छकि भन्ने डर बढि छ । जनताले एउटै अनुहारलाई पटक पटक जिताउँदा पनि दिक्दारी लागेको हुनुपर्छ । अब अन्तमा हामीले जान्नुपर्ने कुरा के हो भने आगामी निर्वाचनपछि हाम्रो देशको मुहार फेरिन्छ त ?, देशका युवाहरुले देशमै सुन्दर भविश्य देख्छन् त ?, कर्णालीपारीकी सुत्केरी महिलाहरुले सहजसाथ बच्चा जन्माउन सक्ने अस्पताल पाउँछन् त ?, बिदेशमा पसिना बगाईरहेका छोरोछोरीको पीरले बाँचिरहेका बुढा बुवा आमाको मनमा शान्ति आउछ त ? देशको नागरिकले केही वर्ष धेरै ठूलो विकास चाहेका छैनन् । कोरिया, जापान जस्तो धेरै ठूलो विकास पनि जनताले तत्काल चाहेका छैनन् । जनताले सानो सानो विकासको परिकल्पाना गरेका छन् जुन अहिलेसम्म निर्वाचित भएर सत्तामा पुगेको नेताहरुले पुरा गर्न सकिरहेका छैनन् ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto