गणेश सिर्पाली
कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकास मन्त्री रातो कामीले संबिधान कार्यान्वयनका लागि राज्य सेवाको बिकेन्द्रीकरण गर्नुपर्ने बताएका छन । संघियताको मुल बिषय भनेकै बिकेन्द्रीकरण भएको भन्दै उनले राज्य स्रोतलाई स्थानीय तह सम्म पुर्याउने र नागरिकहरु आत्मनिर्भर बन्न सके मात्र संघियता कार्यान्वयन भएको महसुस हुने बताए ।
आफ्नो गृह जिल्ला रुकुम पश्चिमको आठबिसकोटमा आयोजित नापी र मालपोत कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । उक्त कार्यक्रममा बोल्दै उनले माटोको मुल्य बढाउन उत्पादन बढाउनुपर्ने तर्क गरे । आत्मनिर्भर अर्थतन्त्रका लागि हरेक नागरिक उत्पादनमा जोडिनुपर्ने भन्दै उनले उत्पादनमा लाग्न आह्वान समेत गरे । कार्यक्रमलाई बोल्दै आठबिसकोट नगरपालिकाका प्रमुख रबी केसीले जनतालाई सजिलो होस् भनेर नापी र मालपोत कार्यालय सदरमुकाम बाहिर पहिलो पटक आठबिसकोटमा ल्याईएको बताए । कार्यक्रममा नेकपा एमालेका नेता दिनेश चन्द, नेपाली काँग्रेसका जिल्ला सचीव तारक बहादुर शाही र नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य गंगाराम चनरा र नेकपा समाजवादीका प्रदेश कमिटी सदस्य बीरबहादुर शाहीले पनि उद्घाटन कार्यक्रममा आआफ्नो धारणा राखेका थिए ।
आठविसकोट कार्यालयमा आजै नापीमा तुलसीराम भुसाल र मालपोत कार्यालयमा निलध्वज पाण्डेले कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका छन । २०७८ चैत्र १७ गतेको मन्त्रीस्तरीय बैठकले रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा शाखा स्थापना गर्ने निर्णय गरेको थियो ।