रुकुम पश्चिमका ६ स्थानीय तह मध्य ४ स्थानीय तहको मतगणना जारी रहेको छ भने दुई स्थानीय तहमा मतगणना अझै शुरु हुन सकेको छैन । मतगणना शुरु भएका ४ स्थानीय तह मध्य दुई स्थानीय तहमा काग्रेस एमाले गठबन्धन अगाडि छ भने दुई ठाउँ नेकपा माओवादी केन्द्र अगाडि रहेको छ । रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा नेपाली काग्रेसका उम्मेदवारको अग्रता रहेको छ ।

जसमा नेपाली काग्रेसबाट प्रमुखमा उम्मेदवार महेन्द्र केसीले ५६७ मत ल्याउदा नेकपा माओवादी केन्द्रका उम्मेदवार बशन्त शर्माले ४२३ मत प्राप्त गरेका छन । त्यस्तै उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार थलबहादुर ओलीले ४६५ मत ल्याउदा नेकपा एकिकृत समाजवादीका उपप्रमुख उम्मेदवार बिमलकुमार पुनले ३५६ मत प्राप्त गरेका छन । १ नम्बर वडाबाट मतगणना शुरु भएको मुसीकोटमा वडा अध्यक्षमा पनि काग्रेसकै अग्रता छ । मुसीकोटमा काग्रेस एमाले र माओवादी एकिकृत समाजवादीको गठबन्धन छ । त्यस्तै चौरजहारी नगरपालिकामा पनि काग्रेस एमाले गठबन्धनकै अग्रता रहेको छ । जहाँ गठबन्धनका उम्मेदवार प्रेमबहादुर ओलीले १ सय ४ र नेकपा माओवादी केन्द्रका उम्मेदवार पुष्प बादीले ८७ मत ल्याएका छन । त्यस्तै उप्रमुखमा माओवादी केन्द्रका इश्वरीकुमारी शर्माले ९२ र नेकपा एमालेका टंकप्रसाद ओली ९१ मत प्राप्त रहेको छ ।

सानीभेरी गाउँपालिकामा नेकपा माओवादी केन्द्रको अग्रता रहेको छ । जहाँ माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार विर्खबहादुर विष्टले १ हजार ३२ मत ल्याउदा काग्रेसका उम्मेदवार गोरखप्रसाद चन्दले ४ सय ८२ मत ल्याएका छ । त्यस्तै उपाध्यक्षका नेकपा माओवादी केन्द्रका उम्मेदवार कमला रोकाले १ हजार ३५ र एमालेका उम्मेदवार प्रकाश खड्काले ३ सय ७ मत प्राप्त गरेका छन । जहाँ पनि काग्रेस एमालेको गठबन्धन छ भने माओवादी केन्द्र एक्लै रहेको छ । सानीभेरी गाउँपालिका १ र २ नम्बर वडामा माओवादीका अध्यक्ष उम्मेदवार सहित प्यानल विजयी समेत भएको छ ।

त्यस्तै जिल्लाको त्रिबेणी गाउँपालिकामा पनि नेकपा माओवादी केन्द्रकै अग्रता छ । जहाँ माओवादी केन्द्रको अध्यक्ष पदका उम्मेदवार गणेशबहादुर केसीले ३ सय २७ मत प्राप्त गरेका छन भने काग्रेसका अमरसिंह खड्काले १ सय ३६ मत प्राप्त गरेका छन । उपप्रमुखमा माओवादीकी राजकुमारी रेउलेले ३ सय २४ र काग्रेसकी सृष्टीकुमारी बाँठाले १ सय ३५ मत प्राप्त गरेकी छिन । रुकुम पश्चिमको आठविसकोट नगरपालिकाका सबै वडाबाट मतपेटिकाहरु समयमै निर्वाचन अधिकृतको कार्यालयमा नआईसकेका कारण मतगणना शुरु भएको छैन भने बाँफिकोट गाउँपालिकामा मतदानको दिन काग्रेस उम्मेदवार जनककुमार बाँठा चढेको गाडिको ठक्करबाट एकजनाको मृत्यु भएपछि विवादका कारण मतगणना हुन सकेको छैन । जसका लागि सर्बदलिय बैठक बसेर छलफल भैरहेको बताईएको छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto