हरि जिज्ञासु
एक दिन कलेजको इन्टरनल परिक्षा सकाएपछि एउटा कामले सिंहदरबारभित्र छिरेँ । सिंहदरबारभित्रको वातावरण बसन्त ऋतुमय भएको छ । राता सेता फूलहरु गजबले फूलेका छन् । बढो गजबले सजाइएका अग्ला र रसिला विभिन्न मन्त्रालयका भवनहरु सँधै हाँसिरहेका छन् जस्तो महसुस गरेँ । अग्ला र सुन्दर भवनभित्र विभिन्न मन्त्रीहरुलाई सिंहको रुपमा तुलना गरी, पक्कै पनि यी भवनभित्र मान्छे प्रजातिका ग्रजिने सिंहहरु बसेका छन् भन्ने कल्पना मनमा आयो ।

सिंहदरबारको गेट जोकोहीले सजिलै पार गर्न सक्दैन । गाउँ छोडेर सहर पसेका मान्छे नामका सिंहरुको बस्ती हो सिंहदरबार । यहाँ अनुमति विना गेट पार गर्न खोजेमा सिंहहरु ग्रजिन सक्छन् । यहाँ प्रवेश गर्नको लागि नेपाली नागरिकताको प्रमाण पत्रले समेत काम गर्दैन । आफन्तहरु सिंहदरबारभित्र कार्यरत नभएसम्म र केही जिम्मेवारी पदमा आफू नपुगेसम्म सर्बसाधरणले सिंहदरबार भित्रको दृष्य हेर्ने कल्पना अलि कम गर्नुपर्छ ।

गरिब, दुःखी र निमुखाहरु सिंहदरबारभित्रको दृष्यहरु देख्न नपाएर संसारबाट विदा हुन्छन् । मैले प्रायः धेरै विकट गाउँमा पुगेर ती बिकट गाउँका दर्दनाक अवस्थाको समेत अबलोकन गरेको छु । गरिबीले थला परेकी र जातिय छुवाछुतको कुसंस्कारमा आफूलाई संधै अछुत सम्झिरहेकी कालिकोटकी दलित बृढी आमाले एक पटक सिंहदरबारभित्र अबलोकन गर्नपाए कस्तो महसुस् गर्थिन होला ? सम्झिरहेँ ।
म एक मिडिया कर्मी अर्थात पत्रकार हुँ । पत्रकार पचिय पत्र देखाएपछि सिंहदरबार भित्रको आगँनमा पाइला टेक्न पाइन्छ । यो सुविधा पनि कहिले अन्त हुन्छ पत्तो छैन । पत्रकार परिचय पत्र देखाएर सिंहदरबार छिरेको थिएँ त्यो दिन पनि । असाध्यै सुन्दरताले भरिएको छ सिंहदरबारको आँगन । सुन्दर छन् मन्त्रीहरुले काम गर्ने भवनहरु । त्यहाँ सबै सुकिला मुकिला मान्छेहरुमात्र देख्न पाईन्छ । झुत्रे झाम्रे कपडा लगाएका र जीन्दगीदेखि थाकिसकेका व्यक्तिहरु त्यहाँ देखिदैनन् । सिंहदरबार बाहिरबाट धुलाम्ये भएर भित्र पस्दा एउटा छुट्टै विकसित देशमा पुगेको छु जस्तो महसुस् हुन्छ ।

मैले हजुरहरुको बीचमा अलि लामाचाक्ला कुरा गरेँ । यस्ता दुःख बिसाउने कुराहरु त कति छन् कति पछि फेरि कुनै समय लेख्दै गरम्ला । बोल्दै गरम्ला । बास्तवमा मैले हजुरहरुलाई दर्साउन खोजेको विषय बल्ल आउँदैछ । अरुबेला सिंहदरबार भित्र गएपछि आफ्नो काम सकाएर फर्किहाल्थेँ । त्यो दिन एक्कासी सिंहदरबार परिसरलाई सुन्दर बनाउनका लागि विन्दासले फूल गोडीरहेका केहि महिलाहरुलाई देखेँ । मनमा प्रश्न उठ्यो । यहाँ फूल गोड्ने काम कस्ता व्यक्तिले पाउँछन् ?, भ्याकेन्सी खुल्छ होला त ? यी फूल गोड्ने महिलाहरुले कति तलब पाउँछन् होला ?, ठीङ्ग उभिएर फूल गोड्ने केही महिलाहरुलाई हेर्दै गाउँमा एक डोको मैकै फलाउनको लागि ४ डोको मल बोकीरहेकी मेरी आमालाई सम्झेँ । फूल गोड्ने महिलाहरु बिन्दासले केही हतार नगरी काम गरीरहेका थिए । उनीहरुलाई कसैले यस्तो भएन, उस्तो भएन भन्दैन्थ्यो । तर गाउँमा मेरो आमालाई बाँझो बारी खन्न दुःख नगरेपछि भोकमारी र गरीबिले यस्तो भएन उस्तो भएन भन्थ्यो ।

सिंहदरबारको आँगनबाट सजिलो तरिकाले फूल गोडिरहेकी केही आमाहरुको हातहरु र जंगलमा सयौँ काडाँहरुले चिथोरेर धुजा धुजा परेका मेरो आमाका हात खुट्टा अनी कपडाहरु झलझल्ती आदमा आए । बेस्सरी सम्झीएँ आमालाई । अलिकति मन खिन्न भयो । आमाको स्वाभिमान देखेर खिन्न भएको मनलाई अलि हल्का पनि बनाएँ । मन मनै सोचेँ काम नगरेर बस्नै नसक्ने मेरि आमाले सिंह दरबारभित्रको फूल गोड्ने अबसर पाएको भए सिंहदरबारको सुन्दरताले अझै उचाई छुन्थ्यो होला । बाँजो बारीलाई कुटो कोदालोले खनेर मकै रोपी परिवार पाल्न सक्ने मेरी आमाले सुखविलासिताको गुलाफ फूललाई ढकमक्क बनाउन सक्दिनन् होला र ?

मनमा धेरै कुरा खेलेपछि । अलि पर गएर एक जना प्रहरीलाई सोधेँ सिंहदरबार भित्र फूल गोड्नको लागि के गर्नुपर्छ ? दुई जना प्रहरी संगै भएकाले संगै जवाफ दिए पावर चाहिन्छ । आफ्ना मान्छे हुनुपर्छ । करारमा भर्ति गर्ने हो । कतिखेर भ्याकेन्सी खुल्छ पत्तो हुँदैन । खाली हुने वित्तिकै आफ्नालाई राखिहाल्छन् । यो नेपाल हो सोझा र इमान्दारको कदर यहाँ हुँदैन । सिंहदरबारभित्र फूल गोड्नको लागि भ्याकेन्सी खुलेको छ भन्ने खबर कहिले सुन्नुभएको छ र ? दुई जना प्रहरीको हृदयविधारक केही कुरा सुने । पावर र पहुँच चाहिन्छ भन्ने कुरा त मनमा थियो । तर पनि सिंहदरबारभित्र कार्यरत प्रहरीसँग बोल्न पाएकोमा मन अलिकति हल्का भने भयो । त्यसकारण बाँझो बारी खनेर मकै फलाउन सक्ने मेरो बुवा आमाले सिंहदरबार भित्रको काम पाउने भए उनीहरुले कस्तो काम गर्थे होला ? कृपया यो बास्तविक कथा तपाईँ हामी सबैको आमाहरुको हो । हाम्रा आमाहरुले सिंहदरबार भित्रको फूल राम्ररी गोड्न सक्छन् तर अबसर पाउनुपर्छ । आफन्तबादको साइनो वडा कार्यालयबाट सिंहदरबारसम्म जोडिएको छ । वडाकार्यालयबाट सुरु हुन्छ कार्यालय सहयोगी समेत आफ्नो मान्छे राख्ने विधि । त्यसकारण यो नेपाल हो ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto