रुकुम पश्चिमको सबैभन्दा पुरानो शितलपोखरी–झुल्खेत सडकखण्ड दुई दशकपछि कालोपत्रे गर्न लागिएको छ । कृषि सडक ट्रयाकका रुपमा निर्माण कार्य शुरु गरिएको सडकखण्डमा दुई दशकपछि कालोपत्रे गर्न लागिएको हो । लामो समयपछि कालोपत्रे हुन थालेपछि त्यहाँ स्थानीयहरु खुसी भएका छन । जिल्लाकै पहिलो कृषि सडक शितलपोखरी–झुल्खेत सडकखण्डको निर्माण कार्य अन्तिम चरणमा पुगेसंगै कालोपत्रे गर्ने तयारी थालिएको छ । एसियाली विकास बैंक (एडिबी) को सहयोगमा शितलपोखरी झुल्खेत हुँदै रुकुम रोल्पाको सिमाना तिलाडाँडा संग जोड्ने सडकलाई कालोपत्रे गर्न लागिएको हो ।
दुईदशक अघि कृषि सडकको रुपमा ट्रयाक खोल्ने काम शुरु गरिएपनि १८ किलोमिटर सडकखण्डको ग्राभेल कार्यले पूर्णता पाएसंगै कालोपत्रे गर्ने तयारी भएको छ । भौगोलिक कठिनाईका कारण दुईदशक समय बितिसक्दा पनि हाल सडक निर्माण कार्य अन्तिम चरणमा पुगेकाले सो सडकलाई स्थानीयबासीले आफ्नो भविष्य संग जोडिएर हेरेको स्थानीय जनप्रतिनिधी बसन्त खड्काले बताए । शितलपोखरी–झुल्खेत सडकखण्डको कालोपत्रे गर्ने जिम्मा पि. एच. शंकरमाली जेभीले लिएको छ । ग्रामीण सडक सञ्जाल सुधार आयोजना मार्फत निर्माण भईरहेको शितलपोखरी–झुल्खेत सडक खण्डको हाल ८० प्रतिशत काम पूरा भईसेकेको बताईएको छ ।
आयोजना प्रमुख टंक प्रसाद खनालले चालू वर्षको अन्त्य सम्म शितलपोखरी–झुल्खेत सडकखण्डले पूर्णता पाउने छ । शितलपोखरी–झुल्खेत सडकखण्ड विस्तारका लागि यसअघि विभिन्न निकायको सहयोग रहँदै आएको थियो । तर यस सडकखण्डले समयमै पूर्णता नपाउँदा २०७५ देखि ग्रामीण सडक सञ्जाल सुधार आयोजनाले एसियाली विकास बैंकको ३८ करोड रिण सहयोगमा यसको निर्माण कार्य अगाडि बढाएको छ ।
भिडियोमा हेर्न तलको युट्युव लिंकमा क्लिक गर्नुहोस
फेसबुक प्रतिक्रियाहरु