रुकुम पश्चिममा टेलिफोन नेटवर्कको पहुँच बढ्दै गएको छ । जिल्लाभर हाल १६ वटा टेलिफोन टावर मार्फत नेपाल टेलिकम रुकुम पश्चिमले फोन सेवा प्रदान गरिएको छ । नेपाल टेलिकम कार्यालय रुकुम पश्चिमका अनुसार हालै नयाँ टावरहरु पनि सञ्चालनमा आएका छन ।
टेलिकम कार्यालय रुकुम पश्चिमका प्रमुख कृष्णप्रसाद शर्माका अनुसार आठविसकोट नगरपालिकाको नेटीलेक, त्रिबेणीको पेउघा, चौरजहारी नगरपालिकाको खोलागाउ, त्रिबेणी गाउँपालिकाको खौला, मुसीकोट नगरपालिकाको चौखावाङमा टावर सञ्चालनमा आएका हुन । टावर सञ्चालनमा आएपछि त्यस क्षेत्रका सेवाग्राहीलाई गुणस्तरीय मोवाईल प्रयोगमा सहजता भएको छ ।

“जिल्लाका अझै दुई ठाउँमा मोवाईल टावर सञ्चालनमा आउन बाँकी छ” प्रमुख शर्माले भने, “यस आर्थिक बर्ष भित्रै सानीभेरीको दुली र आठविसकोटका दुई टावर पनि सञ्चालनमा आउछन ।” नेपाल टेलिकमका साथै साथै नीजि सेवाप्रदायक संस्था एनसेलले पनि जिल्लाका विभिन्न ठाउँमा टावर विस्तार गरेर सेवा दिईरहेको छ ।

ल्याण्डलाइन र इन्टरनेटको समस्या भने कायमै

जिल्लामा नेपाल टेलिकम मार्फत मोवाईल सेवाका लागि विभिन्न ठाउँमा टावर निर्माण गरेर सञ्चालन गरेपनि ल्याण्डलाइन, एडिएसएल तथा फाइवर नेटको माग उच्च भएपनि पुर्ति भने हुन सकेको छैन । नेपाल टेलिकम मार्फत हाल सदरमुकाम खलंगामा ४ सय ३१ वटा ल्याण्डलाइन र एडिएसएल वितरण गरिएको छ । त्यस्तै सोलाबाङ र चौरजहारीमा पनि केहि ल्याण्डलाईन वितरण गरेको छ । जिल्ला सदरमुकाम खलंगानै ल्याण्डलाइन र एडिएसएलको माग भएपनि क्षमता नभएको भन्दै कार्यालयले प्रदान गरेको छैन ।

पछिल्लो समय फाइवर इन्टरनेटको समेत माग बढेपनि सल्यानसम्म पुगेपनि रुकुम सदरमुकाम सम्म अझै पुगेको छैन । जिल्ला सदरमुकाम खलंगा सम्म टेलिकमको फाइवर इन्टरनेट विस्तारका लागि टेन्डर आह्वान भैरहेको भएपनि छिटोछरितो काम हुन नसकेको हो । ल्याण्डलाइन तथा इन्टरनेटको माग जिल्ला सदरमुकाम संगै स्थानीय तहका केन्द्रहरुमा रहेको छ । जिल्लामा भएको क्षमता अनुसार ल्याण्डलाइन र एडिएसएल वितरण गरिसकेको र बाँकी क्षेत्रमा विस्तारलागि टेलिकमको केन्द्र तथा प्रदेश कार्यालयबाट क्षमता विस्तारका लागि पहल गर्नुपर्ने कार्यालयले बताएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto