सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको चुनाव गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले चुनावको मिति घोषणासंगै उक्त मितिमा एकै चरणमा निर्वाचन सम्पन्न गर्ने निर्णय गरेको हो । अघिल्लो हप्ता प्रधानमन्त्री देउवासँग भेटेका निर्वाचन आयोगका पदाधिकारीहरूले जेठ ५ गते अगावै स्थानीय तहको चुनाव सम्पन्न गर्नुपर्ने सुझाव दिएका थिए । चुनावको मिति घोषणा संगै गाउँशहर चुनावमय भएको छ । दलका नेता तथा कार्यकर्ता र सुवेच्छुकहरु आआफ्नो पार्टीको प्रचारप्रसारमा लागेका छन । त्यस्तैले कहिले आफ्नो उम्मेदवारी सामाजिक सञ्जाल मार्फत घोषणा गर्न थालेका छन भने केहिले अवको आफ्नो स्थानीय तह तथा वडाहरुको संभावित उम्मेदवार को हुन सक्छ भनेर छलफल गर्न थालेका छन ।
आयोगले माग्यो स्थानीय तहसंग आवश्यक सामग्रीको विवरण
सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै निर्वाचन आयोगले स्थानीय तहहरुसँग चुनावमा आवश्यक भौतिक सामग्रीको विवरण मागेको छ । आयोगले सोमबार विज्ञप्ति जारी गर्दै निर्वाचन कार्यालयका लागि आवश्यक भवन, परिवहनका साधन, फर्निचर लगायतका सामग्रीको व्यवस्थापनको प्रक्रिया सुरु गरेको हो । आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत आवश्यक सामग्रीका लागि स्थानीय तहसँग विवरणका लागि पत्राचार गरेको हो । त्यस्तै निर्वाचन आयोगले चुनावको मिति घोषणा भएसंगै मतदाता नामावली संकलन कार्य समेत बन्द गरेको छ । आयोगका अनुसार चुनावको मिति तोकिएको दिनसम्म १८ वर्ष पुगेका व्यक्तिहरूले चुनावमा मत हाल्न पाउनेछन । निर्वाचन आयोगले आगामी डेढ सातामा मतदाता नामावलीलाई अन्तिम रूप दिने जनाएको छ । अघिल्लो पटक करिब आठ अर्ब रुपियाँमा स्थानीय तहको चुनाव सम्पन्न गरेको निर्वाचन आयोगले यसपालि निर्वाचन गराउन करिब १२ अर्ब रुपियाँसम्म लाग्न सक्ने बताएको छ । यसअघि २०७४ सालमा तीन चरणमा स्थानीय तहको निर्वाचन गरिएको थियो ।
पार्टी प्रवेश तथा चुनावी गतिविधी शुरु
सरकारले चनाव घोषणा संगै रुकुम पश्चिममा पनि पार्टी प्रवेश गराउने लगायतका चुनावी गतिविधिहरु शुरु भएका छन । सरकारले स्थानीय तहको चुनावको मिति घोषणा गरेसँगै देशभर चुनावी माहोल तातिन थालेको हो । यसैक्रममा रुकुम(पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर १२ मा मंगलबार दुइ जनाले नेपाली काँग्रेस र नेकपा एमाले परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रबेश गरेका छन् । प्रवेश गर्नेमा नेपाली काँग्रेसका क्रियाशिल सदस्य कुलदेव ओली र नेकपा एमाले गाउँ कमिटी सदस्य यामबहादुर ओली रहेका छन् । नेपाली काँग्रेस र नेकपा एमाले परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रबेश गर्ने दुबै जनालाई नेकपा माओवादी केन्द्रका नेता देबीलाल गौतम, गोबिन्द रोका र धिरन सिर्पालीले स्वागत गरेका थिए ।
त्यस्तै जिल्लाका विभिन्न स्थानीय तह तथा वडाहरुमा नेकपा माओवादी केन्द्रले भेला तथा प्रशिक्षण कार्यक्रमहरुको आयोजना गरेको छ । जिल्लाको सानीभेरी, बाँफिकोट लगायतका विभिन्न वडामा गाउँ तथा टोल भेला र छलफल जारी राखेको हो ।
त्यस्तै नेपाली काग्रेस रुकुम पश्चिमले पनि जिल्लाको छिवाङमा कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा सहभागी नेपाली कांग्रेस कर्णाली प्रदेशका महामन्त्री कृष्णबहादुर रोकायले स्थानीय तहको चुनावको तयारीमा लाग्न कार्यकर्ताहरुलाई आग्रह गरे । शनिबार नेपाली कांग्रेस मुसिकोट नगरपालिका वडा नम्बर १३ को पार्टि कार्यालय उद्घाटन गर्नुहुदै महामन्त्री रोकायले अब सबै नेता तथा कार्यकर्ताहरु स्थानीय तहको चुनाव तर्फ केन्द्रीत हुन आग्रह गरे । गुटउपगुटले पार्टीलाई असर हुने भन्दै त्यसलाई त्यागेर चुनावमा लाग्न उनले आग्रह गरे ।