रुकुम पश्चिमबाट प्रकाशित भैरहेको आहा सञ्चार साप्ताहिक पुनः क वर्गमा वर्गीकरण भएको छ । प्रेस काउन्सिल नेपालले आईतबार सार्वजनिक गरेको दुई आर्थिक वर्षको नतिजा अनुसार आहा सञ्चार क वर्गमा वर्गीकरण परेको हो । प्रेस काउन्सिल ऐन, २०४८ को दफा १० बमोजिम गठित पत्रपत्रिका वितरण सम्परीक्षण समितिको वर्गीकरण प्रतिवेदनको आधारमा आर्थिक वर्ग २०७५/०७६ र २०७६/०७७ को वर्गीकरणको नतिजा सार्वजनिक गरिएको हो ।

जिल्लाबाट विगत ९ वर्षदेखि प्रकाशित हुदै आईरहेको आहा सञ्चार आर्थिक वर्ष २०७१।७२ मा पहिलो पटक वर्गीकरणमा परेको थियो भने तीन आर्थिक वर्षदेखि निरन्तर क वर्गमा पर्दै आएको छ । आहा सञ्चार साप्ताहिक रुकुम पश्चिमबाट प्रकाशित भएर क वर्गमा वर्गीकरणमा पर्ने स्थानीय पहिलो पत्रिका हो । त्यस्तै कर्णाली प्रदेशबाट हाल प्रकाशित हुने साप्ताहिक पत्रपत्रिकामा पनि क वर्गमा पर्ने आहा सञ्चार एकमात्र साप्ताहिक पत्रिका हो । जिल्लाको अग्रणी र प्रभावशाली छापा माध्यमको रुपमा आफ्नो पहुँच वनाएको आहा सञ्चार साप्ताहिकले आहा सञ्चार डटकम नामक अनलाइन पनि सञ्चालन गर्दै आएको छ । आहा सञ्चार साप्ताहिक क वर्गमा परेको अवसरमा पत्रिकाका प्रकाशक तथा प्रधान सम्पादक मेगराज खड्काले पाठक, ग्राहक, सरकारी तथा गैरसरकारी विज्ञापनदाता, लेखक, कर्मचारी लगायत सहयोग र सहकार्य गर्ने सबै व्यक्ति तथा निकायलाई धन्यबाद दिएका छन ।

यस्तो छ देशभरको नतिजा
पत्रपत्रिका वर्गीकरणका लागि प्रेस काउन्सिल नेपालले प्रत्येक वर्ग आवश्यक कागजात सहित आबेदन मा गर्दै आएको छ । जस अनुसार आर्थिक वर्ष २०७५/०७६ को वर्गीकरणको लागिे ८ सय ८३ वटा पत्रपत्रिकाले आवेदन दिएका थिए । जसमा प्रदेशस्तरमा १ सय ६६, राष्ट्रियस्तरमा १ सय ६५ र स्थानीयस्तरमा ५ सय ५२ पत्रपत्रिका रहेका थिए । जसमा क वर्गमा २ सय १९, ख वर्गमा ४ सय ७६, ग वर्गमा १ सय ३७ र घ वर्गमा १५ पत्रपत्रिका रहेका छन । त्यस्तै अनियमित प्रकाशन, नियमित भएर पनि कागजात नपुगेका र हुबहु तथ वर्ग कायम नभएका ३६ वटा पत्रपत्रिका रहेका छन ।

त्यस्तै आर्थिक वर्ष २०७६/०७७ को वर्गीकरणको लागि आवेदन दिने ८ सय ७८ पत्रपत्रिका रहेका थिए । जसमा प्रदेशस्तरमा १ सय ६९, राष्ट्रियस्तरमा १ सय ४९ र स्थानीयस्तरमा ५ सय ६० पत्रपत्रिका रहेका थिए । जसमा क वर्गमा २ सय ३९, ख वर्गमा ४ सय ३१, ग वर्गमा १ सय ६३ र अनियमित प्रकाशन, नियमित भएर पनि कागजात नपुगेका र हुबहु तथ वर्ग कायम नभएका ४५ वटा पत्रपत्रिका रहेका छन ।

  • पत्रपत्रिका वर्गीकरणको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस ।
फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto