रुकुम पश्चिमको चौरजहारी नगरपालिका प्रमुख विशाल शर्माले ५ युनिट सम्म खानेपानी उपभोग गरेवापत खानेपानी शुल्क तिर्न नपर्ने वताएका छन । विजयश्वरी चौरजहारी सुख्खा खानेपानी तथा सरसफाई संस्थाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा वोल्दै नगर प्रमुख शर्माले यस्तो वताएका हुन ।
पछिल्लो समयमा उपभोक्ताहरुले खानेपानीको महशुल महंगो भएको गुनासो गरेसंगै ५ युनिट सम्मको खानेपानीको महसुल नगर सरकारले खानेपानी कार्यालयलाई भुक्तानी गर्ने र उपभोक्ताहरुले निशुल्क रुपमा खानेपानी प्रयोग गर्नपाउने उनको भनाई छ ।
अन्तरक्रिया कार्यक्रममा सहभागी उपभोक्ताहरु मध्य सामुदायिक विद्यालयका शिक्षकहरुले सामुदायिक विद्यालयमा वितरण गरिएको खानेपानी पनि निशुल्क गर्नुपर्ने भनाई राखेपछि नगरप्रमुख शर्माले सामुदायिक विद्यालय, स्वास्थ्य संस्था र वडा कार्यालयहरुमा पनि निशुुल्क रुपमा खानेपानी वितरण गर्ने र त्यसको शुल्क नगर सरकारले तिर्ने प्रतिवद्धता जनाए । भेरि नदिवाट लिफटिंग गरी वितरण गरिएको खानेपानी चौरजहारी नगरपालिकाको वडा नम्वर १ नाखिरा, लामिछानेगाउँ, घारिगाउँ,पुरानो वजार, वडा नम्वर २ को नयाँवजार, त्रिवेणी वजार,रुकुमेगाउँ, र वडा नम्वर ३ को स्यालखोला,टाटागाउँ, घारीकापाखा लगाएतका टोलमा वितरण गरिएको छ ।
खानेपानी संस्थाले यस अघि समुदायको लागि ० देखि ७ युनिट सम्म प्रतियुनिट रु ३ सय, ८ देखि १२ सम्म थप रु ६०, १३ देखि १७ रु १३०, १८ देखि २५ सम्म रु १८०, २६ देखि ५० सम्म रु २२५, ५१ देखि ७५ सम्म रु २६०, र ७५ देखि १०० युनिट सम्मको खानेपानी महशुल रु ३०० रहेको थियो ।
त्यसैगरी सरकारी कार्यालयको लागि ० देखि १५ युनिट सम्मको खानेपानी महशुल रु २०००, १६ देखि २५ सम्म थप रु १५० र २६ युनिट देखि माथि रु ३०० रहेको थियो । संघ संस्थाको हकमा ० देखि १५ युनिट सम्म रु १०००, १६ देखि २५ युनिट सम्म थप रु १०० र २६ युनिट भन्दा माथि रु २०० रकम निर्धारण गरिएको खानेपानी संस्थाका सचिव तुलाराम सुनारले वताए । करिव १२ सय उपभोक्ता रहेको ३ वडामा यस अघि वर्षेनी खानेपानीको काकाकुल हुदै आईरहेको थियो ।